Dabali News

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने

२६ असार

काठमाडौं । पुनः सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी थालेको छ ।

झन्डै ढेड देशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेका छन् ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको वैठकदलले उद्योग सञ्चालनको लागि तयारी अगाडी बढाउन भन्दै ७ सदस्य अध्ययन कार्यदल गठन गरेको छ । कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नुपर्ने छ ।

वैठकमा उद्योग मन्त्री मातृका प्रसाद यादव सहितको टोली र नेपाली सेनाका कायम मुकायम प्रधान सेनापति पूर्णचन्द्र थापा सहितको वैठकले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । उद्योगलाई जसरी भए पनि सञ्चालन गर्नु पर्छ भनेर काम अगाडी बढेको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले बताए ।

कार्यदलमा नेपाली सेनाको क्षेत्रबाट मेकानिकल, मार्केटिङ्ग र टेक्सटाईल सम्बन्धी ज्ञान भएका तीन जना अधिकृत स्तरका कर्मचारी, मन्त्रालयको तर्पmबाट प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल ईन्जिनियर, अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञको रुपमा मन्त्रालयबाट मनोनित एक जना मेकानिकल ईन्जिनियर गरी जम्मा ७ जना रहने बताइएको छ ।

कार्यदलले उद्योगको मिल मेशिनरी र पूर्वाधारको अवस्थाबारे अध्ययन गर्ने र उक्त उद्योग कसरी सञ्चालन गर्न सकिन्छ भनेर उद्योग संचालनको मोडालिटी बारेमा पनि सुझाब पेश गर्ने छ । साथसाथै, यसको सञ्चालनको लागि सरकार, सेना वा अन्य क्षेत्रबाट कसरी लगानी गर्ने र यसको मोडालिटी कस्तो हुने भन्ने बारेमा पनि कार्यदलले सरकारलाई सुझाव दिने छ । हाल उद्योगको आर्थिक, प्राविधिक, तथा काननुनी लगायका विषयमा पनि विस्तृत अध्ययन गर्ने बताइएको छ ।

यस अघिको सररकाले पनि यस उद्योग सञ्चालन गर्ने भनेर प्रकृया अगाडी बढाएको थियो । तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग सञ्चालन गर्ने भन्दै राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पुष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्य अध्ययन टोलीसमेत गठन गरेको थियो ।

हेटौंडा कपडा उद्योग चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३६ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योग २०५७ सालमा बन्द भएको थियो । २०४८ सालमा तत्कालीन सरकारले हेटौंडा कपडा उद्योग निजीकरण गर्ने निर्णय गरेको थियो । सरकारले उद्योगलाई अलपत्र अवस्थामा पारेपछि उद्योग बन्द हुन पुगेको थियो ।

उद्योग करिब ८ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमध्ये २ सय ५६ आफ्नै स्वामित्वको र बाँकी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हो । यस क्षेत्रमा साना-ठूला गरी झन्डै ३० घरटहरा छन् । उद्योग सञ्चालन हुदा १५ सयभन्दा बढीलाई रोजगारी दिएको थियो । स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर बनाएको थियो । हाल उद्योगमा कुरुवा मात्र छन् ।

केही सयम अघिको सरकारी तथ्यांक अनुसार यस उद्योगमा लुम (कोरा कपडा बुन्ने मेसिन) चार सय ८४ वटा रहेका थिए । टेलरिङ, बाइन्डिङ, प्रिन्टिङ गर्ने मेसिनले करिब २५ सय मेट्रिक टन धागो र झन्डै तीन करोड मिटर कपडा उत्पादन गथ्र्यों । उद्योगमा दुईवटा ठूला डाइङ मेसिनको भवन सहित अन्य भौतिक संचरना रहेको छ ।

सुरुमा नेपाली सेनाले उद्योग सञ्चालन गर्ने प्रस्ताव उद्योग मन्त्रालयमा गरेको थियो । रक्षा मन्त्रालय मार्फत उद्योग चलाउने विभिन्न मोडालिटी पनि प्रस्तुत गरेको थियो । सेनाका झन्डै १ लाखजनाका लागि कम्ब्याक्ट पोसाक बनाउने योजना त्यो बेला सेनाको थियो । मन्त्रालयमा प्रस्तुत योजनाअनुसार सशस्त्र र नेपाल प्रहरी तथा सरकारी कर्मचारीका नियमित पोसाकसमेत बुन्ने लक्ष्य सेनाको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]