Dabali News

बुढीगण्डकीको मुआब्जा ४ अर्ब ३८ करोड निकासा

२५ असार

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोरखातर्फका बासिन्दालाई मुआब्जाका लागि चालु वर्ष ४ अर्ब ३८ करोड रुपैयाँ निकासा भएको छ ।

यो वर्ष फुजेलका १ हजार १ सय ७९, नाम्जुङका ४ सय ६७ र बुंकोटका ५ सय २३ प्रभावितको खातामा रकम निकासा भएको हो । आर्थिक वर्ष ०७४-७५ मा वितरणका लागि ५ अर्ब रुपैयाँ निकासा हुने भएको थियो । बाँकी रहेको रकम निकासाका लागि अन्तिम तयारी भइरहेका आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्वास तथा पुनःस्थापना इकाइका प्रमुख कृष्ण कार्कीले बताए ।

चालु आर्थिक वर्षमा जग्गाको मात्र मुआब्जा वितरण गरेको इकाइले आगामी आर्थिक वर्ष डुबानमा पर्ने घर, गोठ र फलफूलको पनि लगत संकलनको तयारी गरेको छ । ‘आरूघाट बजार क्षेत्रको मुआब्जा निर्धारण हुन सकेको छैन,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘आगामी साउनको सुरुबाटै घरगोठ, फलफूल र रूखको लगत संकलन गर्ने अनि आरूघाट बजारको मुआब्जा निर्धारण गर्ने काम सुरु गरिहाल्छौं ।’ डुबान प्रभावितलाई वितरणका लागि यो वर्ष प्राप्त हुने भनिएको रकम सबै निकासा हुने बताए । गत वर्ष बाँकी रहेको ४० करोड र यस वर्ष निकासा भएको ५ अर्ब रकम सबै वितरण गरिसक्ने इकाइले जनाएको छ ।

‘हामीसँग १ अर्ब ६ करोड रुपैयाँ छ,’ उनले भने, ‘बोर्लाङका केही डुबानपीडितलाई यसै महिना खातामा रकम जम्मा गर्ने तयारीमा छौं ।’ बाँकी रकम मुआब्जा निकासा नभएका फुजेल, नाम्जुङ र बुंकोटका प्रभावितलाई वितरण गर्न लागिएको बताए । गत वर्ष घ्याल्चोक, भुम्लिचोक र दुर्बङका प्रभावितलाई झन्डै तीन अर्ब रुपैयाँ वितरण भएको थियो । धादिङ र गोरखातर्फ डुबान क्षेत्रका व्यक्तिगत जग्गाको मुआब्जा वितरणका लागि मात्र ३२ अर्ब लाग्ने इकाइले जनाएको छ ।

‘घर गोठ, फलफूल सबैको मुआब्जा दिँदा करिब ४५ अर्ब लाग्ने हाम्रो अनुमान हो,’ इकाइका प्रमुख कार्कीले भने । १२ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माणका लागि धादिङ र गोरखातर्फको करिब ५८ हजार रोपनी निजी जग्गा अधिग्रहण गर्न मुआब्जा वितरण भइरहेको छ ।

आयोजनाका कारण गोरखातर्फ साबिकको १४ र धादिङतर्फ १३ गाविसका बासिन्दा पूर्णरूपमा प्रभावित हुने छन् । आयोजना निर्माणका क्रममा ३ हजार ५ सय ६० घरधुरी पूर्णरूपमा विस्थापित हुने तथ्यांक छ ।
‘पुनर्वास र पुनः स्थापना हुने क्षेत्रको जग्गा जोड्दा अधिग्रहण हुने क्षेत्रफल अझै बढ्छ,’ प्रमुख कार्कीले भने । पुनर्वासका लागि २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । वर्षैैपिच्छे मुआब्जा रकम वितरण गर्दा ढिला पाउनेहरूले घाटा पर्ने भन्दै आयोजनामा गुनासो गर्ने गरेका छन् । मुआब्जा ढिला पाउनेहरूले मूल्यवृद्घि गरेर दिन पनि माग गर्दै आएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]