Dabali News

तिमीहरु युद्ध र क्रान्ति चाहन्छौं भने हामी पनि तयार छौंः विप्लव

रातदिन शान्तिको नारा उराल्ने केपी ओलीको सरकार अधिकारको माग गर्ने सबै, विशेषतः हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीविरुद्ध फासिस्ट दमनमा उत्रिएको छ । उक्त दमनको कानुनविद्, मावनअधिकारवादी, नागरिक समाज, राजनीतिक पार्टीहरू सबैले विरोध र भत्र्सना गरिरहेका छन् । यो प्रशंसनीय कुरा हो । तर केपी सरकारले जुन दमन गरिरहेको छ यो दमन गर्नुको खास कारणले कस्तो परिस्थिति निम्त्याउला भन्ने कुरा गम्भीर छ ।

केपी ओली सरकारले आजसम्म हाम्रो पार्टीका सयौँजना नेता-कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । दर्जनौँ कमरेडहरूलाई हिरासतमा बन्दी बनाइरहेको छ । शान्तिपूर्णभन्दा शान्तिपूर्ण कार्यक्रमहरूमा पनि हस्तक्षेप गरेर गिरफ्तार गरिरहेको छ । कलाकारहरूका सांस्कृतिक कार्यक्रमहरूमा देशैभरि हस्तक्षेप गर्दै मुगुको गमगढीमा त हवाईफायर गर्ने, अश्रुग्याँस फाल्ने, घाइते बनाउने र गिरफ्तार गर्ने कामसम्म गर्न पुग्यो । मजदुर, विद्यार्थी, युवा, सुकुमबासीजस्ता जनवर्गीय सङ्गठनहरूलाई समेत प्रतिबन्धजस्तै गरिएको छ । अदालतहरूमा समेत सङ्कटकालहरूमा भन्दा तल पुगेर पार्टीका केन्द्रीय सदस्य कमरेड किरण, युवा अध्यक्ष बाबुराम राई, आरबीएम कमरेड आकाशलगायतलाई पटकपटक अदालत परिसरभित्रैबाट गिरफ्तार गरेर बन्दी बनाइरहेको छ । तीनजना पोलिटब्युरो सदस्यहरू पदम राई, भरत बम र ओम पुन, महिला सङ्घकी महासचिव कमरेड धीरेन्द्रा उपाध्यायलाई पार्टीमा प्रवेश गरेका कमरेडहरूलाई प्रवेश कार्यक्रम स्थलबाट गिरफ्तार गरेर हिरासतमा राखिरहेको छ । युद्ध भैरहेको छैन तर जनतालाई युद्धको अनुभूति भैरहेको छ । जनयुद्धभित्र पनि जनताको बीचमा सांस्कृतिक कार्यक्रम र सभाहरू गर्न सकिने अवस्था रहेको थियो । यहाँ त त्यो पनि दिइरहेको छैन । यसरी दमन किन गरिरहेको छ यो फासिस्ट सरकारले ?

केपी सरकार यति फासिस्ट बन्नुको पहिलो, कारण केपीले जनतामा लोकप्रिय नाराहरू दिएर चुनाव जितेको थियो, राष्ट्रवाद र जनवादका नाराहरू निकालेको थियो । यी केवल बनावटी नाराहरूबाहेक केही थिएनन् । चुनाव जित्नका लागि मात्र लगाइएका नाराहरू थिए । सरकारमा पुगिसकेपछि उसले लगाएका कुनै पनि नाराहरू पूरा गर्ने अवस्थामा ओली सरकार छैन । बरु सरकारमा नपुग्दै राष्ट्रघात लिप्त हुन पुग्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र अरुण- ३ को शिलान्यास विगतका सम्झौताहरूको एकमुष्ट सहमति, सेना-प्रहरीको बेइज्जतीसम्म पुग्दा नाङ्गो हुन पुगेको छ । त्यसलाई जनताले विरोध गरेपछि त्यहाँबाट ध्यान अन्यत्र मोड्न बनावटी शान्तिसुरक्षाको मुद्दा बनाएर हामीमाथि दमन गर्न पुगेको छ । यो आफ्नो बदनामीलाई ढाकछोप गरेर विषय मोड्ने बेकारको प्रयत्न मात्र हो ।

दोस्रो, एमाले र माके मिलेर सरकार बनाएपछि त्यसमा पनि पार्टी एकता गरेपछि कम्युनिस्टहरूको मुख्य शक्ति बन्न सकिन्छ, अरू सबैलाई लपेट्न सकिन्छ साथै प्रतिपक्षलाई पनि कमजोर बनाउन सकिन्छ भन्ने उसमा एउटा भ्रम थियो । जनताको पूरै समर्थन प्राप्त हुन्छ भन्ने बुझाइ ओली र प्रचण्डहरूले पालेका थिए । तर यो पनि उनीहरूको मनको खुल्दुली मात्र हुन पुग्यो । स्थिति उल्टो भयो । त्यसमा पनि माओवादी केन्द्र पूरै असफल भयो । उनीहरूको सरकारले न जनताको मन जित्न सकेको छ, न त एकताले सबैलाई खुसी बनाउन सक्यो । बरु माओवादी केन्द्रभित्रका इमानदार नेता र कार्यकर्ता त्यसबाट पूरै असन्तुष्ट हुन पुगे । प्रचण्डहरूले व्यावहारिक रूपमा जनता, क्रान्ति, पार्टी र श्रमिक वर्गलाई धोका दिएकै रहेछ भन्ने निष्कर्षमा उनीहरू सजिलै पुगे र एकताको लहर उनीहरूतिर होइन, क्रान्तिकारीहरूतिर सर्यो । त्यसको मुख्य केन्द्र हाम्रो पार्टी हुन पुग्यो । देशभरिबाट नेता–कार्यकर्ताहरू एकातिर ध्र्रुवीकृत हुन थाल्नुभयो । सहरमा पनि एउटा लहर देखापर्यो । विशेषगरी माओवादी केन्द्रका नेता प्रचण्डको इसारामा केपी ओलीको सरकारले हामीमाथि दमन गर्नुको एउटा कारण यो हुनसक्छ ।

तेस्रो कुरा, केपी-प्रचण्ड मिलेपछि शान्तिबाहेक अरू केही हुनेछैन भनेर खुब फलाकेका थिए । तर शान्ति केपी-प्रचण्ड मिलेर हुने होइन भन्ने उनीहरूले बुझ्नै सकेनन् । शान्तिका निम्ति नेपाली श्रमिक जनताको अधिकार-जीवन नयाँ बन्नुपर्छ, देश स्वाधीन बनाउनुपर्छ, जनता उत्पीडनमा पर्ने, महँगीले बासै उठाउने, विदेशमा बेचिएर बिजोग बन्ने, देशका नदीनाला बेचेर खाने, अधिकार खोज्ने जनतालाई दमन गर्ने अनि शान्तिको नारा भट्ट्याउने ! यो कहिल्यै पनि सम्भव नहुने विषय हो । नेपाली सचेत जनता केपी र प्रचण्डका बाँधा गुलाम होइनन् जे गरेर पनि सहेर बस्ने । उनीहरूका जनघात, राष्ट्रघातका विरुद्ध जनताको आक्रोश बढ्न थालेपछि र हाम्रो पार्टीले त्यसको सशक्त प्रतिरोध गर्न थालेपछि जनताका बीचमा सिद्धिने आतङ्कले यो दमन गरिरहेको देखिन्छ ।

चौथो कुरा, देशमा सबैभन्दा भ्रष्टाचार गरेर रातारात करोडपति र अर्बपति बन्नेमा माओवादी केन्द्र र प्रचण्डका मान्छेहरू अग्रपङ्क्तिमा छन् । उनीहरूले कतिसम्म गरेका छन् भने स्थानीय जनतालाई सोधेपछि थाहा हुन्छ एउटै बाटोमा दुईपटक बजेट पारेर सबै पैसा खाएका छन् । आफ्ना भाइभतिजाका नाममा ठेक्कापट्टा चलाएर पुख्र्यौली ठेकेदारहरूलाई माथ गरिरहेका छन् । देशका ठूला प्रोजेक्टहरूबाट करोडौँ कमिसन खाएर ढाडिएका छन् । तस्करी र कमिसनमा टुप्पीसम्म डुबेका छन् । जमिनदारको जमिन बेचेर–खाएर आफैँ जमिनदार र सुदखोर भएका छन् । कतिसम्म भने जनमुक्ति सेनाको चार अर्ब रुपैयाँ हिनामिना गरेर जुकाजस्तो भएका छन् । केपीको सन्तान झन् सनातनदेखि कमिसन र भ्रष्टाचारमा डुबेको तत्व हो । ‘केपीले भ्रष्टाचार गर्दैन, म पनि गर्दिनँ र हुन पनि दिन्नँ’ भनेको त ‘हजार मुसा खाएर बिरालो कासी गएको’ कुराजस्तो मात्र हो । यो सबैविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले कारबाही अगाडि बढाउन थालेपछि जनतामा समाप्त हुने डरले हामीविरुद्ध यो दमन गरिएको छ ।

दुःखको कुरा, केपी–प्रचण्डको यो दमन बेकार छ । न दमनद्वारा छद्म राष्ट्रवादले छोपेको राष्ट्रघाती अनुहारको कालोमोसो सफा हुनेछ, उनीहरूको राष्ट्रघाती, जनघाती अपराधले नै न चोखिने अवस्था हुन्छ, न हामीमाथिको दमनबाट केपी—प्रचण्ड, विशेषतः माओवादी केन्द्रवालाहरूको विघटन नै रोकिनेवाला छ, न त हामीमाथिको दमनबाट उनीहरूको विघटन रोकिनेवाला छ । हामी प्रत्यक्ष जनतामा छौँ । आजसम्म हामीलाई असहयोग गर्ने र हाम्रो अभियानलाई सही नठान्ने जनता कोही भेटेका छैनौँ । उनीहरूलाई नधिक्कार्ने र नथुक्ने जनता नै छैनन् । जनयुद्धको रापमा खारिएका कार्यकर्ता र जनताले उनीहरूको नकच्चरो वचनलाई राम्रोसँग बुझिसकेका छन् । बुझेका छैनन् कि भनेर उनीहरूले भ्रम छर्न खोज्नु भनेको उनीहरू आफैँ भ्रममा पर्नेबाहेक अरू केही पनि कुरा होइन । त्यसैगरी हामीमाथि दमन गरेर हाम्रो वरिपरि गोलबन्द र ध्रुवीकृत हुने जनता रोकिएलान् भन्ने कल्पना पनि नगरे हुन्छ । राणा शासन, पञ्चायती दमन र जनयुद्धमा सङ्कटकाल लगाउँदा जनताले हामीलाई निरन्तर साथ दिइरहेको ताजा इतिहास साक्षी छ । दमनबाट कहिल्यै पनि जनताले हामीलाई साथ छोड्ने वा साथ नदिने भन्ने कल्पनै छैन । हामीले गरिरहेको सङ्घर्ष एकीकृत जनक्रान्ति पनि हाम्रो कुरा होइन । यो जनता र देशका लागि हो, मुक्तिका लागि हो । क्रान्ति भन्ने यो हाम्रो लागि हैन, जनताको मुक्ति र अधिकारकै लागि हो र यो देशको मुक्तिको कुरा हो ।

जनताले कस्ताकस्ता तानाशाहलाई त गल्र्यामगुर्लुम ढाले भने केपी–प्रचण्डको ढल्न लागेको सत्तालाई ढाल्न सकिन्छ भन्ने कुरा जनताले बुझेका छन् । प्रस्टसँग भन्नुपर्दा प्रचण्डको सरकारले हाम्रो पार्टी र जनताका विरुद्ध निरन्तर दमन चलाएर एक प्रकारले युद्ध छेडेको छ । यसले हामीलाई ‘कि गर कि मर’ को स्थितिमा धकेल्दैछ । सायद यसमा माओवादी केन्द्रका केही विचलित र भ्रष्टहरूको विशेष भूमिका होला वा बेलाबखत हामीबाट भागेका गद्दारहरूको भूमिका हुनसक्ला ।

हामी जनतालाई स्पष्टसँग भन्छौँ– हामीले देश र जनताको हक र मुक्तिको आवाज उठाउनु दोष हैन । हामीले दलाल पुँजीपतिका विरुद्ध आवाज उठाउनु अपराध हैन । हामीले जनताको जीवनमा समस्या परेका महँगी, भ्रष्टाचार र कमिसनको विरोध गर्नु दोष हैन । जनताको प्रतिनिधि पार्टी हुनुको नाताले यो हाम्रो जिम्मेवारी र अधिकार हो । हामीलाई थाहा छ- सत्ताको तर मारेर, जनताको जीवन चुसेर आरामदायी जीवन भोगिरहेकाहरूलाई ठूलो हुनसक्ला तर हामी यी सबै सहन तयार छौँ । राणा, पञ्चायत र दस वर्षको जनयुद्धमा नढलेको जीवन तिम्रो दमनले कदापि ढल्नेछैन । यो कुनै छोड्ने कुरा होइन, तिमीहरू पनि छोडिने छैनौ । माओले भन्नुभएजस्तै क्रान्तिको विरुद्धमा जानु भनेको आफ्नै खुट्टामा गोली हान्नुजस्तै हो । परन्तु न यो दलाल पुँजीवादी सत्ता, न त तिम्रो पुँजीवादी सरकारको दमन सहन सम्भव छ । सायद तिनीहरूलाई थाहै छ दमनको जबाफ विद्रोह हो । युद्धको प्रतिरोध क्रान्ति हो । नेपालमा दलाल पुँजीवादी सत्ता रहेसम्म र साम्राज्यवादी हस्तक्षेप रहेसम्म युद्ध र क्रान्ति अनिवार्य छ । तिमीहरू त्यही चाहन्छौ भने हामी पनि त्यसका लागि तयार नै छौँ ।

  • रातोखबरबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]