Dabali News

कैलालीका ताल सुकेर जलपक्षी संकटमा पर्दै

२१ असार

कैलाली । प्राकृतिक तालतलैया सुक्दै गएपछि जल पक्षी संकटमा पर्दै गएका छन् ।

हरिहांँस, कैले टाउके हाँस, लक्टा, मालक हांँस लगायतका चरा खतरामा परेका छन् । कैलालीका प्राकृतिक ताल सुक्दै गएर बगरमा परिणत हुन थालेका छन् । भजनी नगरपालिकामा करिब ८० बिघा क्षेत्रफलमा रहेको प्राकृतिक पुरैना ताल पुरिएको छ । यो तालमा बाह्रै महिना सारसका जोडी देखिन्थे । ताल सुकेपछि सारस पनि लोप भएका हुन् ।

थरीथरीका चराचुरुङ्गी र वनस्पति पाइने यो ताल पुरिएपछि स्थानीयले जग्गा अतिक्रमण गरी खेतीपाती सुरु गरेका छन् । तालको पानी सुक्दै गएपछि चराले खाने प्रजातिका कीराफट्यांग्रा पनि कम हुँदै जाने हुँदा जलपक्षी पनि संकटमा पर्दै गएका संरक्षणकर्मीहरू बताउँछन् ।
संरक्षणकर्मी हिरूलाल डगौराले भने, ‘प्राकृतिक तालमा व्यवसायिक माछापालन गर्दा तालमा रहेका झार निकालिदिन्छन् ।

त्यो झार भएको ठाउँमा ताल बाहिरको माटो आउँँदा बिस्तारै तालको सतह माथि आउँछ र ताल पुरिँदै जान्छ ।’ प्राकृतिक तालको उचित संरक्षण हुन नसक्दा अधिकांश पुरिने क्रममा रहेको छ । ‘तालको पानी बर्सेनि कम हुँदै गएको पाइन्छ । धेरै त पुरिएर खेल मैदान र खेतबारी बनेका छन् ’ उनले भने ।

तालको पानी सुक्दै जाने र तालका झारपात निकालिदिँदा चराको आहारा नहुने भएपछि विशेषगरी जलपक्षी संकटमा परेको छ । ‘कैलालीका घोडाघोडी लगायतका तालमा अति दुर्लभ चरा पाइने भएकाले चराको विशेष क्षेत्र बनाएर संरक्षण गर्न जरुरी रहेको उनको भनाई छ ।

उनका अनुसार सन् २००३ मा घोडाघोडी तालमा हरिहाँसको संख्या १ हजार गणना गरिएको थियो । यसको पछिल्लो संख्या घटेर ३ सय ६० गणना गरिएको छ । रामसार सूचीमा परेको घोडाघोडी तालमा जलपक्षीको हालत यस्तो छ । अरू तालमा चराको हालत कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ । चराको बासस्थान विनाश, विषादीको प्रयोग, घाँसपात कटान तथा आगो लगाइनु, चराको सिकार गरिनु लगायतका कारणले चरा बचाउन चुनौती थपिँदै गएको उनले बताए ।

प्राकृतिक तालमा गरिएको व्यावसायिक माछापालनका लागि पूरै ताल सुकाएर माछा मार्ने चलन रहेकाले पनि चरा संरक्षणका लागि झन् चुनौती रहेको बताए । उनले भने, ‘तालको पूरै पानी सुकाउँदा चराको बासस्थान र खानपान पूरै नष्ट हुन्छ । चरा कसरी बाँच्छ ?’ कैलालीको घोडाघोडी ताल क्षेत्रमा २ सय २६ प्रजातिका चराहरू पाइने र ती मध्ये ३१ प्रजातिका साइबेरियन आगन्तुक चरा आउने गरेका छन् ।

घाँसे मैदान पनि सकिँदै गएपछि साना जातका चरा पनि खतरामा पर्दै गएको र साना चराका लागि रहेका कतिपय घाँसे मैदान मानव बस्तीमा परिणत भएका छन् । घाँसे मैदानमा ठूला हुने जातका रूख रोपिएपछि मैदान मासिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]