Dabali News

पोखराको फूलबारी रिसोर्ट पुनः सञ्चालनमा आउँदै

२१ असार

पोखरा । गएको भदौ अन्तिमदेखि बन्द पाँचतारे स्तरको ‘फूलबारी रिसोर्ट’ पुनः सञ्चालनको तयारीमा छ ।

व्यवस्थापनले विदेशी चेनलाई सम्पूर्ण जिम्मेवारी दिएर रिसोर्ट चलाउने तयारी गरेको हो । रिसोर्टका महाप्रबन्धक समीर कपिलले विदेशी चेनलाई जिम्मा दिएर रिसोर्ट चलाउने तयारी गरेको छ । ‘विदेशी चेन होटलसँग सम्झौताको तयारी भएको छ । सम्पूर्ण जिम्मेवारी लिने गरी रिसोर्ट चलाउन दिन्छौं, केही समयभित्र सम्झौता हुने छ । रिसोर्ट बन्द भए पनि हामी चुप लागेर बसेका थिएनौं, सञ्चालनको प्रक्रियामै थियौं’ उनले भने ।

आफैंले चलाउँदा समस्या हुनसक्ने भएकाले विदेशीलाई जिम्मा दिएकोे उनले बताए । ‘आगामी याममा रिसोर्ट सञ्चालन गर्ने लक्ष्य छ,चेन होटलसंँग सम्झौताको अन्तिम तयारी भएको छ । कहिलेदेखि सञ्चालन हुन्छ भन्ने सम्झौतापछि मात्र थाहा हुन्छ ।’ आगामी पर्यटक याम अक्टोबरबाट रिसोर्ट चलाउने लक्ष्य रहेको बताइएको छ ।

विदेशी समूहलाई जिम्मा दिँदा बजारीकरणमा सहज हुने भएकाले ‘चेन होटलले सञ्चालन गर्दा पाहुना पनि आफैं ल्याउँछ । आफैं बजारीकरण गर्ने भएकाले सहज हुन्छ,’ उनले भने, ‘अहिलेको व्यवस्थापनले सञ्चालन गर्दा बजारीकरणमा समस्या हुन्छ । नेपालका ट्राभल एजेन्सीको भरमा मात्र रहेर चलाउन कठिन हुन्छ ।’ रिसोर्ट जिम्मा लिने चेनको नाम भने खुलाइएको छैन । महाप्रवन्धक कपिलका अनुसार लामो समय बन्द रहेको रिर्सोट पुनः सञ्चालपछि राम्रो व्यवस्थापन गर्नुपर्ने बताए । लामो समय बन्द हुँदा रिसोर्टका संरचना बिग्रेको र मर्मत गर्नुपर्ने भएकाले पनि ४÷५ महिना समय लाग्ने बताइएको छ ।

‘मर्मत गर्न करिब ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । सम्झौतापछि मर्मत सुरु हुने छ,’उनले भने । पोखराको रिसोर्ट व्यक्तिको मात्र नभई मुलुककै सम्पत्ति हो । यत्तिको पुर्वाधारसहितको रिसोर्ट बनाउन अब कम्तिमा ५-६ अर्ब रुपैयाँ र पाँच वर्ष अवधि लाग्ने बताईन्छ ।

विभिन्न माग राखेर मजदुरले महिनौंसम्म हडताल गरेपछि व्यवस्थापनले कर्मचारीलाई दिनुपर्ने सबै रकम दिएर बिदा गरेको थियो । मजदुर आन्दोलनका कारण औपचारिक रुपमा बन्द हुनुअघि पनि रिर्सोटमा महिनौंदेखि पाहुना राखिएको थिएन । बन्द हुनुअघि झन्डै ६ महिना कर्मचारीको आन्दोलन चलेको थियो । ‘२-४ जना कर्मचारी त्यो बेला निकाल्न नसक्दा हामीले रिसोर्ट नै बन्द गर्नुपरेको थियो ।’ उनले भने । औपचारिक रुपमा रिसोर्ट बन्द गर्दा कार्यरत सबै ११७ जना कर्मचारीले पाउनुपर्ने सबै सुविधा दिएर बिदाइ गरिएको थियो ।

पोखराको मात्र नभई सिंगो प्रदेश र मुलुककै सम्पत्ति भएकाले पनि फूलबारी सञ्चालनमा ल्याउन व्यावस्थापनलाई अनुरोध गरेको उनले बताए । पोखरामा गुणस्तरीय पाहुना भित्रयाउनका लागि पनि यस्ता पूर्वाधार चाहिने उनको भनाई छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]