Dabali News

रामारोशनबासी भन्छन्-प्रचण्डको अगाडि बोलेको पूरा नगरेपछि अर्थमन्त्रीलाई कालोझण्डा देखाएका हौँ

१८ असार

अछाम । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरालाई आफ्नै गाउँलले कालोझण्डा देखाएका छन् । रामारोशन गाउँपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुन अछामको मुजाबगर बजार पुगेका मन्त्रीलाई आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ता र स्थानीयबासीले कालोझण्डा देखाएका हुन् ।

तत्कालिन माओवादी केन्द्रका अध्यक्ष हुँदै रामारोशन पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अगाडि गरेको प्रतिवद्धताअनुसार मन्त्री बोहोराले रामारोशनको विकासको लागि बजेट नछुट्याएको आफूहरुले कालोझण्डा देखाएको स्थानीयले सुशील साउदले बताएका छन् ।

रामारोशनबासीको अगाडि प्रचण्डले के भनेका थिए ?

हेलिकोप्टर चढेर अछामको बिनायक हुँदै प्रचण्ड रामारोशन क्षेत्र पुगे । त्यहाँ भेटघात तथा जनसभामा पहिला आफूले नाम मात्रै सुनेको प्रचण्डले रामारोशन साच्चिकै पर्यटकीय क्षेत्र भएको बताए । उनले यहाँका जनताले जनयुद्धमा गरेको त्याग र बलिदानीबारे आफूलाई जानकारी भएको बताउँदै त्यसलाई सरकारको तर्फबाट सम्बोधन गर्ने बताए ।

“धेरै पहिलेदेखि यहाँ आउने योजना थियो तर अहिले आउने मौका मिलेको छ । यहाँका जनता र कार्यकर्ताले जनयुद्धमा खेलेको भूमिकाबारे जानकारी छ । त्यही भूमिकाले गणतन्त्र आएको छ । हाम्रो सरकार बनेको छ । प्रदेशका नेता र अर्थमन्त्री यहाँ हुनुहुन्छ । यहाँका जनताको योगदानलाई सम्बोधन हुने गरी बजेट र कार्यक्रम ल्याउन निर्देशन दिन्छु । साथै, म आफै पनि रामारोशन क्षेत्रको विकासको लागि केन्द्रबाट पनि पहल गर्नेछु” प्रचण्डले रामारोशनबासीलाई आश्वासन दिँदै भनेका थिए ।

त्यसगरी प्रचण्डले सम्बोधनको क्रममा भने, “केन्द्रको अधिकार प्रदेशमा आएको छ । रामारोशनसम्म पर्यटक सहजै पुग्ने बनाइयो भने यस क्षेत्रले मुहार फेर्छ । त्यसको लागि अर्थमन्त्री बोहोराजीले योजना बनाउनु होला । जनयुद्धमा तपाईँहरुले बगाएको रगत र पसिनाबाट नै कोही सांसद र कोही मन्त्री भएका छन् उहाँहरुले तपाईँहरुको आदेशअनुसार काम गर्नुहुन्छ ।”

प्रचण्डपछि बोलेका मन्त्री बोहोराले आफूले जनताको मर्मअनुसार नै बजेट तथा योजना बनाउने प्रतिवद्धता जाहेर गरेका थिए । उनले रामारोशनको विकासको लागि दुई लेनको सडक र पर्यटन विकासको गुरुयोजनासहित बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पर्यटकलाई सहज बनाउने प्रतिवद्धता जाहेर गरेका थिए । “रामारोशन पर्यटकीय क्षेत्र हो, यहाँको भौतिक पूर्वाधार विकासको लागि बजेटको व्यवस्था गर्नेछु” मन्त्री बोहोराले भनेका थिए । तर, मन्त्री बोहोराले आफूले गरेको प्रतिवद्धताअनुसार बजेट तथा कार्यक्रम नल्याएको स्थानीय खड्क रोकायाले बताए ।

मन्त्री बोहोराले आफ्ना खल्तीबाट घरघर कनिके बजेट बाँडेको पूर्व माओवादी केन्द्रका स्थानीय नेता रोकायाले बताए । “मन्त्री बोहोराले कमिसन खाएर घरघर साना तिना (कनिके) बजेटमा ल्याएका छन् । यसले दिर्घकालिन नकारात्मक प्रभाव पार्नेछ । यसमा पुर्नविचार गर्न सुझाव दिँदा उहाँले उल्टै रामारोशनबासीको अपमान हुने गरी अभिव्यक्ति दिनु भएको छ” रोकायले भने ।

मन्त्री बोहोराले प्रचण्डको अगाडि बोलेको बचन पूरा नगरेको भन्दै रामारोशन क्षेत्रका स्थानीयले चर्को विरोध गर्दै आएका छन् । मन्त्रीले आफ्नो टोलमा कनिका छरेजस्तै गरेर १४ करोड बजेट छुट्याएका छन् । घरघरमा पानीका धारा छन् त्यही खाने पानीको योजना, जहाँ हिउँद वर्षा सिँचाईको सुविधा छ त्यही सिँचाई योजनाको नाममा बजेट छुट्याएको रामारोशनका स्थानीय बिर्ख भण्डारीले अनलाइन डबलीसँग भने ।

मन्त्री बोहोराले खराब नियतका साथ बजेट छुट्याइएको भन्दै भण्डारीले कनिके भन्दा पनि दिर्घकालिन प्रभाव पार्ने खाले योजनामा बजेट छुट्याउनु पर्ने माग गरेका छन् । सोही मागबारे गर्न खोजिएको छलफलमा सहभागी हुन नमानेपछि स्थानीयले कालोझण्डा देखाउँदै मुजाबगरबाट लखेटेका हुन् ।

अहिले रामारोशन क्षेत्रमा ‘कनिका छर्ने अर्थमन्त्री चाहिँदैन, रामारोशनलाई उपेक्षा गर्न पाइदैन’ भन्दै नारा लगाईरहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]