Dabali News

रोनाल्डोको पेनाल्टी रोक्ने गोलकिपर अलिरेजा एक छाक खानको लागि सडकमा झाडु लगाउँथे

१५ असार

काठमाडौँ । रुसमा जारी विश्वकप फुटवलमा इरानका गोलकिपर अलिरेजा बैरानबन्द चर्चाको शिखरमा छन् । उनले सोमबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी रोकेपछि चर्चा भएको हो । विश्वभरीका मिडियाले बैरानबन्दको चर्चा गरेसँगै क्षणभरमै विश्वका हजारौं फुटवलप्रेमीको प्रिय बने । उनी गरिब परिवारबाट आएका खेलाडी हुन् ।

बैरानबन्दको जन्म इरानको लोरिस्थान प्रान्तको साराबाइस क्षेत्रका एक घुमन्ते परिवारमा भएको थियो । उनको परिवार आफ्ना भेडाहरुको चरन क्षेत्रको खोजीमा देशभरि डुलिरहन्थ्यो । अलिजेरा जेठा छोरा भएकाले परिवारले छोराले काममा सघाओस् भन्ने चाहाना राख्नु स्वभाविक हो । उनले पनि भेडा चराउने काम पाए । त्यसबाट जब उनलाई फुर्सद मिल्थ्यो उनी साथीहरुसँग फुटबल र स्थानीय भाषामा ‘दाल परान’ भनिने खेल खेल्न कुद्थे ।

दाल परान ढुंगालाई टाढासम्म फाल्ने खेल हो । साथीहरुबीच कसले ढुंगा कति टाढा फाल्ने भन्ने प्रतिस्पर्धा चल्थ्यो । झट्ट सुन्दा लाग्छ फुटबलसँग यस खेलको कुनै साइनो छैन तर यही खेल उनको जीवनको टर्निङ प्वाइन्ट सावित भयो । बैरानबन्द १२ वर्षको हुँदा उनको परिवार साराबाइसमा बस्न थालेको थियो । जहाँ उनले स्थानीय स्तरका स–सना टोलीहरुसँग फुटबल खेल्ने मौका पाए । उनी सुरुमा स्ट्राइकर थिए । एक दिन उनको टोलीका गोलकिपर घाइते भए । त्यसपछि टोलीका कप्तानले उनलाई किपरको भूमिका दिए ।

दुईवटा काठहरु ठड्याएको बीचमा उनलाई उभिनु थियो र आफूतिर आएको बल बचाउनु थियो । स्ट्राइकरको भागदौडभन्दा उनलाई यो काम सजिलो लाग्यो । उनले सधैँ गोलकिपर बन्ने निर्णय लिए ।

रोनाल्डोको पेनाल्टी बचाउँदाको क्षण

बुबालाई भने छोरा फुटबल खेलेर बरालिएको पटक्कै मन परेको थिएन् । “अन्य इरानियनका अभिभावक जस्तै मेरा बुबा फुटबललाई काम ठान्नु हुन्नथ्यो । उहाँ मैले पनि परिवारलाई काममा सघाओस् भन्ने चाहानुहन्थ्यो । उहाँले कयौं पटक मेरो जर्सी र ग्लोब्स च्यातिदिनु भयो । तर, म रोकिइनँ मैले खाली हातले नै पनि गोलकिपिङ गरेँ” विगत स्मरण गर्दै बैरानबन्द भने । उनको फुटबल मोहप्रति परिवारको साथ नभएपछि एकदिन उनले घर छाड्ने निर्णयमा पुगे । राजधानी तेहरानका ठूला क्लबबाट फुटबल खेल्ने सपना साँच्दै उनी छिमेकीसँग पैसा सापटी मागेर तेहरानको बस चढे ।

जुन बसमा उनी चढेका थिए, त्यही बसमा तेहरानको एक क्लबका प्रशिक्षक होसिन फैजपनि रहेछन् । कुराकानीका क्रममा बैरानबन्दले आफूलाई फुटबल खेल्न वातावरण मिलाइदिन अनुरोध गरे । प्रशिक्षकले मिलाइदिने तर २ लाख तोमेन (इरानको मुद्रा) शुल्क लाग्ने बताए । एक सुक्को पनि नभएका उनले पैसा तिर्न सक्ने कुरै भएन ।

बैरानबन्दसँग न पैसा थियो, न त बस्ने ठाउँ नै । देशका विभिन्न ठाउँबाट राजधानीमा आएका गरिबहरु प्रायः तेहरानस्थित आज्दी टावरमा सुतेर रात काट्थे । उनको सुरुको बासस्थान पनि त्यही बन्यो ।

रोनाल्डोको पेनाल्टी बचाएपछि

एकदिन उनलाई एक जना युवा व्यापारीले आफ्नो घरमा बैरानबन्दलाई बस्न एक कोठा दिने भए । बदलामा उनले काममा सघाउनु पथ्र्यो । केही दिन उनी उक्त व्यापारीलाई काम सघाउँदै बसे । तर, उनको मन केही दिनमै परिवर्तन भयो । फुटबलर बन्ने सपना बोकेर तेहरान आएका आफू त्यस्तो काममा अल्झेर बस्न मन लागेन । उनले छोडे । फेरि बसमा भेटिएका प्रशिक्षक फैजको क्लब पुगे । “म क्लबको ढोकामा सुतेको थिएँ । जब बिहान उठेँ मानिसहरुले मेरो शरीरमा सिक्काहरु फालेका थिए, उनले सम्झदै भने, “उनीहरुले मलाई भिखारी सम्झेछन् । जे भएपनि त्यसदिन धेरैपछि मैले मिठो नास्ता खान पाएँ” बैरानबन्दले भने ।

बैरानबन्द नियमित क्लबको ढोकामा आएर फुटबल हेरेको देखेपछि अन्ततः फैजले उनलाई निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाइदिए । क्लबका कप्तानलाई सघाउन पनि भने । केही काम नपाउँदा सुरुका दुई हप्ता उनले त्यही कप्तानका घरमा बिताए । त्यसपछि उनले अर्का क्लबका सहकर्मी खेलाडीको बुबाको कपडा उद्योगमा काम गर्न थाले । दिउँसो प्रशिक्षण र काम गर्ने उनी राती त्यही उद्योगमा सुत्थे ।
अलिरेजाको अर्को काम थियो, कार धुने । उचाई ज्यादा भएकाले ‘एसयुभी’ जस्ता ठूला कारहरु धुन उनी स्पेसलिष्ट भएर निस्के । एकदिन इरानका लिजेन्ड खेलाडी तथा बिजनेशम्यान अली डेई उनकोमा कार धुन आइपुगे । डेईले उनको फुटबलर बन्ने सपनामा केही सहयोग गर्लान् भनेर साथीहरुले अलिरेजालाई डेईसँग कुरा गरी हेर्न सुझाव दिए । तर उनले कुरा गरेनन् । उनी आफैँ आफ्नो बाटो आफै कोर्न चाहान्थे ।
“मलाई थाहा थियो, यदि मैले डेईसँग कुरा गरेको भए, उनले अवश्य मलाई सहयोग गर्थे । तर उनीसँग कुरा गर्न र मेरो अवस्था बताउन मलाई अप्ठ्यारो लाग्यो” बैरानबन्दले भने । केही समय पछि ‘नेफ्ट इ तेहरान’ का प्रशिक्षकले उनको प्रतिभा बुझेर आफ्नो क्लबमा लगे । सुरुमा त क्लबले उनलाई बस्नका लागि कोठा उपलब्ध गराएको थियो पछि उनीहरुले अब तिमी यहाँ बस्न सक्दैनौं भनेर कोठा खाली गर्न भने । कोठा नदिए पनि क्लबले उनको प्रशिक्षणमा भने बाधा पुर्याएन ।

त्यहाँबाट निस्केपछि उनले पिज्जा पसलमा काम गर्न थाले । दिनभरि काम गरेर राति उनी त्यही पसलमा सुत्थे। एकदिन उनी सामू अप्ठारो अवस्था आइपुग्यो । उनले क्लबमा प्रशिक्षक तथा कसैलाई पनि आफू पिज्जा पसलमा काम गर्छु भनेका थिएनन्। एक दिन क्लबका प्रशिक्षक उनी काम गर्ने पसलमा पिज्जा लिन आइपुगेका थिए। अलिरेजा प्रशिक्षकका अघि देखा पर्न चाहादैँन थिए तर पसलका मालिकले उनलाई जबर्जस्ती प्रशिक्षककोमा पिज्जा पुर्याउन लगाएपछि बैरानबन्दले त्यहाँको काम छाडे ।

राति सुत्ने व्यवस्थासहितको काम पाउनु अप्ठारो थियो । त्यसैले रातभरी गर्नुपर्ने र जहाँ सुतेपनि हुने सडक सरसफाइको काम उनले रोजे ।कहिले कहीँ त उनले ठूलो पार्कमा एक्लै झाडु लगाउनु पथ्र्यो । रातभरी झाडु लगाउँदा त्यसले बैरानबन्दलाई फिट रहन सहयोग पुग्थ्यो ।त्यहीबेला अर्को टोलीसँग प्रशिक्षण गरेको र घाइते भएको थाहा पाएपछि नेफ्ट क्लबले उनलाई निकाली दियो । त्यहाँबाट मलिन अनुहार लगाउँदै उनी होमा फुटबल क्लबमा पुगे । त्यहाँका प्रशिक्षकले बैरानबन्दलाई लिएनन् । निराश बनेका उनी आफ्ना सपनाहरु मरिरहेको महसुस गर्न थालेका थिए ।

एक दिन नेफ्ट क्लबका यू–२३ का प्रशिक्षकले बैरानबन्दलाई बोलाए र अन्य क्लबसँग आवद्ध नभएको भए क्लब फर्कन सक्छौ भन्ने अफर गरे । सपनाहरु तुहिएको महसुस गरिरहेका उनलाई ढुंगा खोज्दा देउता मिले जस्तो भयो । उनी फेरि पुरानै क्लबमा फर्किए । “त्यो मेरो भाग्य थियो होला कि मलाई होमा क्लबले लिएन् म आज जहाँ छु । सायद होमामा भएको भए यहाँ आइपुग्दैन थिएँ होला” बैरानबन्दले भने ।
बैरानबन्दको कडाकडा मेहनत सुरु भयो । उनी एकपछि अर्को गर्दै सफल हुँदै गए । लगत्तै उनी इरानको राष्ट्रिय यू–२३ टोलीमा परे ।

त्यसपछि क्लबको पहिलो रोजाईका गोलकिपर पनि।यहीबेला उनलाई बाल्यकालमा खेल्ने ढुंगा फाल्ने खेल अर्थात ‘दाल परान’ले चर्चा बटुल्न सघाउ पुर्यायो । उनले २०१४ मा एक खेलका दौरान गोलपोस्टमा बल समाउँदै ७० मिटर टाढा हातले फालेका थिए। जुन अन्य गोलकिपर भन्दा निकै लामो दुरी थियो। उनले फालेको बल सहकर्मीले अर्को गोलपोस्ट नजिकै ग्रहण गर्दै गोल गरेपछि उनको चर्चा अन्तराष्ट्रिय मिडियामा व्यापक बनेको थियो ।

अन्ततः २०१५ मा अलिरेजा इरानको राष्ट्रिय टोलीको पहिलो रोजाईको गोलकिपर बने । विश्वकप छनोटमा उनले १२ वटा क्लिनसिट गर्दै इरानलाई रसिया विश्वकपमा छनोट गराएका बैरानबन्द भन्छन्, “मेलै मेरो सपना पूरा गर्न धेरै अप्ठारो झेलेको छ ु। म तिनीहरुलाई कहिलै बिर्सनेछैन किन कि ती दिनहरुका कारण नै आज म यहाँ छु ।” बैरानबन्दको फुटवलमा सफलतासँगै उनको आफ्नो परिवारको घुमन्ते यात्रालाई पूर्णविराम लगाएका छन् ।

  • (द गार्जियनबाट अनुवाद)
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]