Dabali News

अमेरिकी बिजेता ट्रम्पले सिंगापुरमा किमसँग हारे

कुरा उट्पट्याङ्ग तालले शुरु गरौँ। शक्तिशाली मान्छेले मलमूत्र बिसर्जन गरेको पनि समाचार बन्दो रहेछ । उत्तर कोरियाका सर्वोच्च नेता कीम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक वार्तामा आफ्नो शौचालय समेत बोकेर पुगे । यो अविस्वासको पराकाष्ठा हो ।

कीमलाई चेतना थियो, सिंगापुरमा उनले ट्रम्पसँग खाना खाँदै गरेको वार्तामा खाएको कुरा पचाएपछि सीआईएले उनको बिश्टाको विश्लेषण गर्नेछ । त्यसबाट किमलाई लागेको सम्भावित ब्याधिको आधारमा अमेरिकाले उनको आयुको लेखाजोखा गर्नेछ । त्यतिमात्र होईन, रोगका आधारमा उनको कस्तो खान्कीमा कस्तो पदार्थ मिसाउँदा उनको मृत्युको दिन द्रुत गतिमा नजिक्याउन सकिन्छ, सीआईएले यसको पनि लेखाजोखा राख्नेछ ।

अमरिकी यो गुप्तचर संस्थाले क्युवाका फिडेल कास्त्रोलाई अट्ठाईस पटक मार्ने चेष्टा गरेको हो । त्यसैले सिंगापुर वार्ताको पूर्वसन्ध्यामा निकालिएको गोलमटोल संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुअघि किमले प्रयोग गर्ने कलमलाई उत्तर कोरियाली ‘फरेन्सिक’ विशेषज्ञहरुले सेतो पन्जा लगाएर ओल्टाईपल्टाई जाँचबुझ गरे । त्यसपछि उनीहरुले कुनै बिशेष रसायनमा भिजेको कपासको टुक्राले त्यो कलमलाई पुछपाछ पनि गरे । किमको हातमा पुग्दा त्यो कलम ‘स्यानिटाईज्ड’ भइसकेको थियो ।

शरीरको भाषा

ट्रम्प र कीमको वार्ताले विश्व शान्तिको प्रयासमा कति टेवा दियो, अथवा दिएन ? आगामी दिनमा राजनीतिक बिश्लेषकहरु अनि विदेश नीतिका पण्डितहरु भत्ता खाएर व्यस्त हुनेछन । टेलिभिजनहरुमा विश्लेषण जारी छ । बोल्ने र लेख्ने टाउकाहरुले बोले र लेखे बापत पैसा पाउँछन् । यो क्रम रोकिने छैन । तर मलाई बीबीसी टेलिभिजनले बनाएको एउटा कार्यक्रमले आकर्षित गर्यो ।

त्यो कार्यक्रममा कुनै राजनीतिक वा रणनीतिक विवेचना भएन । त्यहाँ भनियो, “ट्रम्प र कीमले तेह्र सेकेण्ड हात मिलाए । बीबीसीकी यी संचालिका भन्छिन, “ यसपटक ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रडो सेतो घरमा आउँदाको जस्तो हात तानातान गरेनन । ट्रम्प–कीमसँग सौम्य रुपमा प्रस्तुत भए । उनले कीमलाई धाप पनि मारे । कीमले आफू भन्दा दोब्बर उमेरका ट्रम्पलाई तलदेखि माथिसम्म हेरे । अनि उनले पनि ट्रम्पलाई अर्को धाप दिए । उनले दुई राष्ट्राध्यक्षका बीच बाञ्छित बराबरीको सम्बन्ध कायम गरि छोडे ।”

ट्रम्पले नेटो संगठनका सदस्य राष्ट्रका नेताहरुसँग भेट्दा उनको एक प्रकारको आक्रामक हात मिलाई हुने गर्थ्यो । किमलाई भेट्दा उनको ‘बडी ल्याङ्ग्वेज’ रसियाका राष्ट्रपति भ्लादिमीर पुटीनलाई भेट्दाको जस्तै थियो । लाघुताभाषले ग्रस्त !

लेखकः मिश्र

नयाँ ट्रम्प पार्टी

एक साता अघि अमेरिकी हाउस अफ कांग्रेसका रिपब्लिकन सभामुख जोन वेनरले कुनै एउटा अखबारमा अन्तर्वार्ता दिँदा भने, “अब यो मुलुकमा रिपब्लिकन पार्टीको अवशेष पनि बाँकी छैन । यो डोनाल्ड ट्रम्प पार्टीमा रुपान्तरित भइसक्यो । यो पार्टीमा अब तपाईंले अब्राहम लिंकनको पदचाप सुन्न पाउनुहुने छैन ।”जोन वेनर निराश छन् । आफ्नो अवकाशको समय उनी अमेरिकन स्पिरिट ब्रान्डको चुरोट तान्छन् । अलिअलि वाईन पिउँछन् । आफ्नो बराण्डामा बसेर अत्मप्रवन्चना गर्दै भन्छन, “हामीले चाहेको रिपब्लिकन पार्टीको मूल्य र मान्यता जोगाउन सकिएन ।”

जोन वेनर पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा सभामुख थिए । उनले ओबामालाई कहिल्यै सहयोग गरेनन् । “के आज ट्रम्पको जगजगी हुँदा सभामुखका हैसियतले उनलाई सहयोग गर्ने सम्भावना थियो त ?” यो प्रश्नको जवाफमा उनी भन्छन, “म चाँडै अवकाश लिन्थें होला ।”
डोनाल्ड ट्रम्पले अहिलेका सभामुखलाई पनि भीरको खोंचमा लगेर जाकिदिएका छन् । उनी रिपबलिकन पार्टीको परम्परागत मूल्य र मान्यतालाई कायम राख्न असमर्थ सावित भए । डोनाल्ड ट्रम्पको उदय पछिको एक बर्ष नहुँदै उनले राजनीतिबाट सन्यास लिने घोषणा गरिसके ।

बरफको पर्खालमा बिष्फोट

अमेरिकी नेताहरुले शत्रुलाई मित्र तुल्याएको उदाहरण छ । अमेरिकाले कुनैबेला बेलायती उपनिवेश बिरुद्ध स्वाधीनता संग्राम लडेको हो । आज बेलायत अमेरिकाको सर्वाधिक विश्वसनीय सहयात्री हो । डोनाल्ड ट्रम्पका पुर्खाले आर्जेको जर्मनी बिरुद्ध अमेरिकाले युद्ध लडेकै हो ।

जापानमा हिरोसीमा र नागासाकीमा मानव ईतिहासको कलंकका रुपमा आणविक बम खसालेकै हो । भियतनाममा कहिल्यै जित्न नसकिने युद्ध लडेकै हो । आज यी सबै मुलुकहरु अमेरिकाको सामरिक पोल्टोमा अटाएका छन् । तर उत्तर कोरिया अमेरिकाको नितम्बमा घोच्ने एउटा यस्तो काँडा हो, जसको बिऊ तेत्तिसौं अमेरिकी राष्ट्रपतिका रुपमा ह्यारी ट्रुम्यानले सन् १९५३ मा रोपेका हुन् । उनीपछि अमेरिकामा एक दर्जन राष्ट्रपति फेरीए, तर उत्तर कोरियालाई सम्बोधन गर्ने साहस कसैले गरेन् । वास्तवमा यो साहस होईन, रणनीति थियो । अमेरिकाको उत्तर कोरियाली रणनीतिको केन्द्रमा यो एकलकाटे मुलुक होईन, चीन थियो ।

अहिले अचानक, डोनाल्ड ट्रम्पले उत्तर कोरिया नामको बरफको पर्खाल भत्काउने चेष्टा गरेका छन् । उनले किमसँग बिदावारी भइसकेपछि एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यसो पनि भने, “उत्तर कोरियाली जनता कीमलाई माया गर्छन ।” तर उनकै अधिनस्थ संस्था सीआईए भन्छ, “त्यहाँका जनता उनीसँग त्रस्त छन् । चीनसँग बढी सामिप्य राखेको आरोपमा उनले आफ्नै काकालाई तोपले उडाए । आफ्नो सत्तामा व्यवधान हुने डरले आफना दाईलाई मलेशियामा नाटकीय ढंगले हत्या गरे । त्यहाँका जनता भोका छन् । तर, आफ्ना नेताको गुनगान गाउँन विवश छन् । नत्र, उनीहरु आफना परिवारलाई छोडेर निर्जन श्रम शिविरमा जान बाध्य हुनेछन ।”

डोनाल्ड ट्रम्पका लागि यस्ता कुराले खासै अर्थ राख्दैन । उनको ब्रह्माण्डको केन्द्रमा उनी स्वयं छन् । उनले बाराक ओबामाको पालाका सिआईए, एफबीआई र बाँकी अरु सत्र ओटा संस्थाका रिपोर्टलाई धोती लगाईसकेका छन् । डोनाल्ड ट्रम्प सिंगापुरमा भएको कीमसँगको वार्तापछि कुनै न कुनै किसिमको एउटा ‘डील’ लिएर घर फर्किन चाहन्थे ।

दौत्य सम्बन्ध समेत नरहेको दुई मुलुकका बीचमा संसारलाई देखाउने गरि वार्ताको मन्चन भयो । ट्रम्पले आफ्नो मुलुकका लागि शुन्य हात पारे । किमले विश्वका सामु आफ्नो हैसियत स्थापित गरे । अलग थलग मुलुकको नाती पुस्ताले विश्वको सर्वाधिक शक्तिशाली बाजेपुस्तालाई कुटनीतिक रुपले परास्त गरिदियो ।

ट्रम्पले किमसँग हस्ताक्षर गरेको कागजमा सैद्दान्तिक बाहेक कुनै व्यवहारिक सहमति छैन । किमका बाजे कीम ईल सुंगले पनि अमेरिकासँग यस्तै केही चाहेका थिए । उनले सकेनन् । किमका बाबुकीम जोङ्ग ईलले पनि प्रयास नगरेका होईनन् । तर अमेरिकाका तत्कालीन कुनै पनि राष्ट्रपतिले उनलाई त्यो स्तरको पहिचान दिएनन । स्विट्जर्ल्यान्ड़मा पढेका अहिलेका नाती पुस्ते नेता अंग्रेजीमा प्रखर छन् । तर उनले ट्रम्पसँग आफ्नो भाषामा कुरा गरे । दौत्य सम्बन्ध समेत नरहेको दुई मुलुकका बीचमा संसारलाई देखाउने गरि वार्ताको मन्चन भयो । ट्रम्पले आफ्नो मुलुकका लागि शुन्य हात पारे ।

असफल प्रयासको पृष्ठभूमि

सन् २०१६को फेब्रुअरी, जर्मनीको बर्लीनामा चीसो थियो । अमेरिकी विदेश विभागका कर्मचारी, गुप्तचर संस्थाका सदस्यहरु र उत्तर कोरियाली प्रतिनिधिहरुबीच एउटा बैठक भयो । त्यसको एक महिना पछी न्युजविक पत्रिकाका जोनाथन बोर्डरले यो कुरा प्रकाशित गरे ।
अमेरिका यो कुरा विश्वलाई थाहा नहोस् भन्ने चाहन्थ्यो । त्यो बैठकमा उत्तर कोरियाले अमेरिकासँग सम्बन्ध सुधार गर्ने आफ्नो आकांक्षा प्रस्तुत गरेको थियो । ओबामाको अडान थियो, पहिले उत्तर कोरियाले निशर्त रुपमा आफ्नो आणविक परिक्षण त्याग गर्नु जरुरी छ । ओबामाले सन् २००९ मा कार्यभार सम्भाल्नु अघिनै उत्तर कोरियाले पहिलो परिक्षण गरिसकेको थियो ।

त्यतिबेला तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुशले कुनै प्रतिक्रिया नै दिएनन । उनी आफ्नो दोश्रो कार्यकालको अन्तिम चरणमा थिए। त्यसभन्दा अघि बील क्लीण्टनले पनि उत्तर कोरिया संग वार्ता गर्ने प्रयास गरेका थिए । तर त्यो पनि विफल भएको ईतिहास थियो। ओबामाले यस पृष्ठभूमिमा आँट गरेनन। त्यसको केही दिनपछि उत्तर कोरियाले चौथो पटक ‘हाईड्रोजन बम’ को सफल परिक्षन गरेर ओबामालाई बिना बोलीको जवाफ दियो ।

ओबामाले धैर्य गरे । सन् २०१२ को उत्तर कोरीयाली भुखमरी पछि ओबामाले उत्तर कोरियालाई अर्को नयाँ प्रस्ताव पठाए । आणविक क्रियाकलाप बन्द गर्ने शर्तमा अमेरिका उत्तर कोरियालाई २ लाख ४० हजार टन खाद्यन्न पठाउन तयार भयो । यसको जवाफमा उत्तर कोरियाले तेश्रो आणविक परिक्षण गर्यो ।

सन् २०१५ मा ओबामाले ईरानसँग आणविक अप्रसार सन्धी गरेपछि अमरिकाले उत्तर कोरियासँग पनि त्यस्तै सन्धी गर्न सकिने अभिप्रायले नरम सन्देश पठायो । जवाफमा उत्तर कोरियाले चौथो आणविक परिक्षण गर्यो । ओबामाले उत्तर कोरियामाथि थप नाकाबन्दीको घोषणा गरे ।

चासो र चिन्ता

दक्षिण कोरिया र जापान उत्तर कोरियाको आक्रामक व्यवहारबाट त्रस्त छन् । यो दोश्रो विश्व युद्धपछि जापानको पराजय र कोरियाली युद्धपछि यो प्रायद्वीपमा कथित शान्ति स्थापना गर्ने नाममा यस भेगका जनतालाई पश्चिमाहरुले दिएको यो गजबको उपहार हो । कोरियाली प्रायद्वीप शीत युद्धको अहिलेसम्मको ताजा शिकार हो । तत्कालीन सोभियत संघले अगष्ट १९४५ मा कोरियालाई जापानको दासताबाट मुक्त गरेपछि पाँच बर्षको अन्तरालमा उत्तर कम्युनिष्ट भन्दै रसियाको भागमा पुग्यो । कोरियाको दक्षिण प्रजातान्त्रिक अमेरिकाको शरणमा पुग्यो । अमेरिकालाई यस भेगबाट आफ्नो सैन्य शक्तिको आधारमा रसिया र चीनलाई सन्तुलनमा राख्न सजिलो भयो ।

डोनाल्ड ट्रम्पले किमसँगको वार्ता पछि एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा आफ्ना सैन्य अधिकारीहरुसंग सल्लाह नै नगरि अब दक्षिण कोरिया र अमेरिका बीच हुँदै आएको संयुक्त सैन्य अभ्यास बन्द हुने संकेत दिए। यसले उनको आफनी रक्षा बिभाग ‘पेण्टागन’ मात्र होईन, दक्षिण कोरिया र जापानमा समेत नकारात्मक तरंग उत्पन्न गरेको छ ।

दक्षिण कोरियाबाट प्रकाशित कोरिया हेराल्डले आफ्नो सम्पादकीयमा भनेको छ, ‘डोनाल्ड ट्रम्प धूर्त तर मूर्ख खेलाडी हुन् । उनी आफ्नो सुविधाका लागि लाखौँ मान्छेको जीवन संकटमा पार्न किञ्चित धक मान्दैनन ।”

डोनाल्ड ट्रम्पलाई भोट दिने उनका तथाकथित ‘भोट बेस’ डोनाल्ड ट्रम्पभन्दा फरक छैन । यो एउटा यस्तो वर्ग हो, जो आप्रवासीलाई बिनाकारण घृणा गर्छ । कालाहरुलाई मान्छे गन्दैन । एउटा शिख सरदार र बीन लादेनको पगरीबीचको अन्तर बुझ्दैन । यो वर्ग दुई छाक म्याक्डोनाल्डको चीज बर्गर र कोक पाए सन्तुष्ट हुन्छ । ट्रम्पको प्रिय आहार पनि यही हो । ट्रम्प सिंगापुरमा हारे, तर अमेरिकामा उनी बिजेता हुन् ।

  • पिएसजे टिभीबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]