Dabali News

प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्री स्टारको विजयी सुरुआत

३१ जेष्ठ

काठमाडौं । चिर परिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई १-० को गोलले पराजित गर्दै थ्री स्टारले ललित स्मृति यु-१८ फुटबलमा विजयी सुरुआत गरेको छ ।

पहिलो खेलमा नै कठिन प्रतिद्वन्द्वी मनाङलाई पराजित गर्न थ्री स्टार टीकाराज गुरुङले निर्णायक गोल गरेका थिए । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा भएको खेलमा थ्री स्टारका गुरुङले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक दोस्रो हाफमा दुवै टोलीले उत्कृष्ट खेल खेले । जितका लागि संघर्ष गरिरहेको मनाङले दोस्रो हाफमा केही सुन्दर मौका सिर्जना गरे पनि गोल गर्न नसक्दा पहिलो खेलमा नै पराजित हुनुपरेको हो ।

बुधबार सम्पन्न अर्को खेलमा समूह ‘डी’ को फ्रेन्ड्स क्लबले सुदूरपश्चिमको टोलीलाई १-० गोलले पराजित गर्दै ललित स्मृति यु-१८ फुटबल विजयी सुरुआत गर्याे । पहिलो खेलमा सुखद नतिजा हात पार्न फ्रेन्ड्सका लागि सन्देश न्यौपानले खेलको १०औं मिनेटमा गोल गरेका थिए । उक्त गोल फ्रेन्ड्सका लागि निर्णायक बन्यो । दोस्रो हाफमा मध्यम खेल पस्किएको सुदूरपश्चिमले १-० को स्थितिलाई उल्टाउन संघर्ष गरे पनि गोल फर्काउन भने सकेन र पहिलो खेलमा नै पराजय भोग्यो ।

खेलको अन्त्यतिर केही आक्रामक देखिएको सुदूरपश्चिमले केही सुन्दर मौका सिर्जना गरे पनि अग्रपंक्तिका खेलाडीले सही सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको हो । काठमाडौंका १२ तथा मोफसलका ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा बिहीबार समूह ‘डी’ का दुई खेल हुने छन् ।

पहिलो खेलमा लुम्बिनीले विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्ने छ भने दोस्रो खेल सरस्वती र नवप्रवेशी न्युरोड टिम (एनआरटी) बीच हुने छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने छ ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]