Dabali News

‘टयाक्स हेवन’ सबैभन्दा बढी वेस्टइन्डिजबाट आयो

३० जेष्ठ

काठमाडौं । नेपाल भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये सबैभन्दा बढी रकम कर छल्न सुरक्षित स्थान (टयाक्स हेवन) मुलुक वेस्टइन्डिजबाट आएको छ ।

राष्ट्र बैंकले गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ सम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार कुल लगानीको करिब साढे ४६ प्रतिशत एफडीआई वेस्टइन्डिज (ब्रिटिस भर्जिन आइल्यान्ड) भित्रिएको छ ।

दोस्रो र तेस्रो नम्बरका विदेशी लगानीकर्ता भारत र चीनका हन् । कर नै तिर्नु नपर्ने, आम्दानीको स्रोत नखोजिने र सेल कम्पनी खडा गर्न सजिलो मानिने मुलुकबाट धेरै विदेशी लगानी भित्रिएको देखिन्छ ।

अध्ययन प्रतिवेदनअनुसार गत असारसम्म ३९ वटा राष्ट्रबाट २५२ वटा कम्पनीमा एफडीआई भित्रिएको छ । यी कम्पनीहरूमा हालसम्म १ खर्ब ५१ अर्ब रुपैयाँ विदेशी लगानी रहेको छ । आर्थिक वर्ष ०७२–७३ को अन्त्यसम्मको कुल एफडीआईमध्ये ६२ अर्ब ८० करोड रुपैयाँ वेस्टइन्डिजको हो । यो कुल एफडीआईको ४५.६३ प्रतिशत हो ।

यो राष्ट्रबाट आएको लगानीमध्ये सेवा क्षेत्रमा बढी आकर्षण देखिन्छ । भारतबाट २७ अर्ब ३० करोड, चीनबाट १० अर्ब ८ करोड, सिंगापुरबाट ७ अर्ब १ करोड र अन्यबाट १० अर्ब रुपैयाँ लगानीमा रहेको प्रतिवेदनमा उल्लेख छ । मुलुक भित्रिने एफडीआईमध्ये चुक्ता पुँजीको आधारमा भारत र चीनबाट धेरै लगानी आएको देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए ।

वेस्टइन्डिजबाहेक अन्य टयाक्स हेवन मुलुकहरूबाट समेत विदेशी लगानी भित्रिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ठूला लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनी नै नभएको मुलुकबाट नेपालमा सबैभन्दा बढी विदेशी रकम भित्रिएको तथ्यांक सुनाउँदा यसबारेमा जानकार अधिकारीहरूले लगानीलाई शंकाको घेरामा राख्नुपर्ने बताएका छन् ।

नेपालमा ‘टयाक्स हेवन’ मा सेल कम्पनी खडा गरी लगानी भित्र्याउने प्रवृत्ति बढ्दो छ । सेल कम्पनी भन्नाले भौतिक उपस्थितिबिनाको संस्था हो । यस्तो कम्पनीको आफ्नै मौलिक व्यापार व्यवसाय हुँदैन । सम्पत्ति तथा दायित्वसमेत हुँदैन । ठेगाना र नाम मात्रै हुन्छ ।

कतिपय कम्पनीले कार्यालयसमेत स्थापना गर्दैनन् कानुनी प्रक्रिया पूरा गरी कागजी रूपमा वैधानिकताका लागि सरकारी निकाय तथा कम्पनी रजिस्ट्रारमा दर्ता गरिन्छ । कम्पनी अपारदर्शी कारोबार गर्नेहरूले खासगरी कर नलाग्ने वा कम लाग्ने, सम्पत्तिको स्रोतमाथिको निगरानी कम भएका मुलुकहरूमा दर्ता गरिन्छ ।

यस्तै कम्पनीहरू खडा गरी विभिन्न देशमा विदेशी लगानी भित्र्याउने मुलुकका रूपमा वेस्टइन्डिज विश्वभर चर्चित छ । वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी नाफा गर्ने नेपालको दूरसञ्चार कम्पनी एनसेलमा पनि वेस्टइन्डिजमै सेल कम्पनीमार्फत नेपालमा लगानी गरीएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा एनसेल ८० प्रतिशत लगानीकर्ता वेस्टइन्डिजस्थित सेन्ट किट्स एण्ड नेभिसमा दर्ता रहेको रेनोल्ड होल्डिङको नाममा छ । रेनोल्ड होल्डिङ पनि सेल कम्पनी हो ।

पछिल्लो समय एनसेलमा भएको खरिद बिक्रीमा यो कम्पनी (रेनोल्ड) दर्ता भएकै मुलुकमा कारोबार गरी नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर हेरफेर नगरी कर छल्ने योजना सर्वाजनिक भएको छ । राष्ट्र बैंकको विगत ५ वर्षको तुलनामा विदेशी लगानी करिब १ खर्ब रुपैयाँले बढी हो ।

आर्थिक वर्ष ०६९-७० मा ५२ अर्ब रुपैयाँ एफडीआई आएको थियो । राष्ट्र बैंकले ती कम्पनीहरूमा विदेशबाट लगानीका रूपमा आएको ऋण र सञ्चित रकमलाई जोडेर आउट स्टयान्डिङ एफडीआई गणना गरेको हो ।
उल्लिखित सबै रकम विदेशबाट लगानीका रूपमा भित्रिएको होइन । विदेशी लगानी रहेका उद्योगहरूले कमाएर पुनः लगानी गरेको रकम पनि यसमा समावेश छ ।

राष्ट्र बैंकले गरेको अध्ययनमा ०७२-७३ सम्मको तथ्यांक मात्र समावेश गरिएको छ । उक्त अवधिसम्म १ खर्ब ३७ अर्ब रुपैयाँ मुलुक भित्रिएको छ ।  यो त्यति बेलाको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ६.१ प्रतिशत हो । ‘पछिल्ला वर्षहरूमा एफडीआई बढ्दो क्रममा छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘कुल एफडीआईमध्ये करिब २ तिहाइ सञ्चित कोषका रूपमा रहेको देखिन्छ ।’

क्षेत्रगत रूपमा विश्लेषण गर्दा सेवा क्षेत्रमा सबैभन्दा बढी करिब ७१ प्रतिशत एफडीआई आएको छ । त्यसपछिको रोजाइमा औद्योगिक क्षेत्र परेको छ । सोही अवधिमा कुल एफडीआईको साढे २८ प्रतिशत औद्योगिक क्षेत्रमा आएको देखिन्छ । कृषि क्षेत्रमा सबैभन्दा कम ०.४ प्रतिशत मात्र एफडीआई भित्रिएको प्रतिवेदनले देखाएको छ । विदेशी लगानी रहेका कम्पनीहरूमध्ये ३७ उत्पादनमूलक क्षेत्रका रहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]