Dabali News

निकुञ्ज छलेर रेलमार्ग डीपीआर बनाइने

२९ जेष्ठ

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व पश्चिम विद्युतीय रेलको नयाँ रुट कायम गर्न विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाइने भएको छ ।

संरक्षित क्षेत्रबाट रेल गुडदा त्यसले दुर्लभ वन्यजन्तुको बासस्थान प्रभावित हुने भएकाले नयाँ रुटका लागि डीपीआर बनाइने भएको हो ।

विभागका वरिष्ठ डिभिजन इन्जिनियर प्रकाशराज उपाध्यायले आउँदो साताभित्रै डीपीआर तयार गर्नका लागि प्रक्रिया सुरु हुने बताए । निजगढ, हेटौंडा, भरतपुर हुँदै नवलपरासी निस्कने रेलमार्गका लागि नयाँ डीपीआर हुन लागेको हो ।

‘अहिले हामीले बुटवलदेखि पश्चिम गड्डाचौकीसम्मको काम गरिरहेका छौँ । बुटवलभन्दा पूर्वमा सर्भे र डीपीआरका सबै कामहरू पूरा भइसकेका छन् । तर, पहिले सर्भे गर्दा चितवन निकुञ्ज हुँदै रेल जाने भन्ने थियो । यसो भएमा वन्यजन्तुको बासस्थलमा व्यापक असर पर्छ भनेपछि नयाँ रुट खोज्नुपरेको हो,’ उनले भने ।

पुरानो रुट रौतहटबाट बाराको सिमरा हुँदै ठोरी आएर चितवन छिर्दथ्यो । पहिलाको डिजाइन अनुसार रेलले बगईदेखि अमुवासम्म र वनकट्टादेखि ध्रुव पोस्टसम्म चितवन निकुञ्जको जंगल छिचोल्नुपर्थ्यो । ‘निकुञ्जले यसको विकल्प खोज्न भनेपछि हामीले विचार गर्नुपरेको हो । हाम्रो अध्ययनले पनि निर्माण भइसकेपछि भन्दा पनि निर्माणका क्रममा निकुञ्ज क्षेत्र प्रभावित हुने देखियो ।’ भने ।

यस्तो निष्कर्षपछि विभागले रौतहटबाट निजगढ हुँदै हेटौंडा जाने र त्यहाँबाट चितवनतर्फ नयाँ रुट ल्याउन खोजेको छ । ‘चितवनमा लोथर हुँदै छिर्ने रेल टाँडी र सौराहाको बीचोबीच बीसहजारी तालको दक्षिणबाट भरतपुर निस्कने छ ।’ अहिले जाने नयाँ रुटले पनि चितवन निकुञ्जलाई चुरे र महाभारत पर्वतसँग जोड्ने जैविक मार्ग बरन्डाभार जंगललाई छिचोल्ने छ । अन्तर्राष्ट्रिय महत्तवको सिमसार क्षेत्रको रूपमा रहेको बीसहजारी ताल नजिकबाट रेल मार्ग जाने छ ।

‘बरन्डाभार जंगल हुँदै बाघ, गैंडालगायत धेरैथरी वन्यजन्तु ओहोरदोहोर गर्छन् । चराहरूका लागि प्रख्यात २० हजारी ताल पनि यही क्षेत्रमा छ । त्यसैले हामीले रेलमार्ग लैजाँदा पूर्वपश्चिम राजमार्गभन्दा ५ सय मिटर तलबाट लैजान राम्रो हुने सुझाव दिएका छौँ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत अर्यालले भने ।

चितवन निकुञ्ज विश्वमा दुर्लभ मानिएका बाघ र गैंडाको मुख्य बासस्थल हो । यो निकुञ्जलाई संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । त्यसैले रेलमार्ग जाँदा निकुञ्जलाई कुनै असर नपरोस् भन्ने माग निकुञ्ज प्रशासनको मात्रै नभएर चितवनका राजनीतिक दल र अन्य संरक्षणकर्मीहरूको छ ।

सम्भाव्यता अध्ययन भइसकेको नयाँ रुटको डीपीआरका लागि यही साता प्रक्रिया सुरु हुने रेल विभागका वरिष्ठ डिई उपाध्यायले बताए । पूर्वपश्चिम विद्युतीय रेलमार्ग ९ सय ४५ किलोमिटर लामो हुने छ । उक्त मार्गमा प्रतिघण्टा २ सय किलोमिटरका दरले रेल गुड्ने छ ।

‘डिजाइन र डीपीआरको काम आउँदो नोभेम्बर महिनासम्म पूरा हुने अवस्था छ । अहिले बर्दिबासबाट पश्चिमतर्फ निर्माण कार्य सुरु नै भएको छ । त्यहाँ संरचनाको काम भएको छ । लालबन्दीदेखि पश्चिम निजगढसम्म आउँदो वर्ष काम सुरु हुने तयारी छ ’ उनले भने ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]