Dabali News

‘थानेश्वर भुसाल उद्धार अभियान’ ले ४३ लाख ब्लड मनी तिरेर स्वदेश फर्कायो

२७ जेष्ठ

काठमाडौं । नवलपरासीको मध्यबिन्दु-४ का थानेश्वर भुसाल शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा निकै खुसी भए ।

वृद्ध आमा, दिदी, भाईलगायत आफन्तलाई भेटेलगत्तै उनले स्वदेशमा पाइला टेक्न पाएकोमा निकै खुसी लागेको प्रतिक्रिया दिए ।

११ वर्षअघि (सन् २०११ मा ) साउदी अरबको जेद्दा पुगेका भुसाल करिब ५ वर्ष त्यहाँको जेल बसेर शुक्रबार राति घर फर्केका छन् । उनले चलाइरहेको गाडीलाई पछाडिबाट आइरहेको अर्को ट्रकले ठक्कर दिँदा २ साउदी नागरिकको ज्यान गएको थियो ।

उनको गाडी धकेलिएर साउदी नागरिकको ज्यान गएपछि अदालतले भुसाललाई दोषी ठहर गरेको थियो । अदालतले मृतकका परिवारलाई १ लाख ५० हजार रियाल (करिब ४३ लाख रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

राजधानीको इनोभेटिभ मेनपावरलाई १ लाख १० हजार रुपैयाँ बुझाएर साउदी पुगेका भुसालको त्यो रकम बुझाउने हैसियत थिएन । ‘जेलमा परेपछि नेपाल फर्कन पाइएला जस्तो लागेको थिएन ।’ उनले भने, ‘साथीभाईको सहयोगमा स्वदेश फर्कन पाएपछि दोस्रो जीवन पाए जस्तो लागेको छ ।’

भुसाल जेल परेपछि वृद्ध बुवा, आमाले उद्धारका लागि गरेका अनेक प्रयास स्वरुप प्रवासी नेपाली समन्वय समितिले ‘थानेश्वर भुसाल उद्धार अभियान’ चलाएको थियो । सोही अभियान अन्तर्गत दाताको सहयोगमा आवश्यक रकम संकलन भएपछि भुसाल घर फर्कन पाए ।

उनी अब वैदेशिक रोजगारीमा नजाने बताएका छन् । उनले वैदेशिक रोजगारीमा जान मरिहत्ते गर्ने युवालाई बुझेर मात्र विदेश जान सल्लाह दिए । ‘विदेशमा पैसा फल्ने रुख छैन,’ उनले भने, ‘विदेशमा गर्ने मेहनत नेपालमा गर्ने हो भने धेरै प्रगति गर्न सकिन्छ ।’

वैदेशिक रोजगारीमा जानै परे कुन कम्पनी र कुन देशमा जाने हो राम्रोसँग बुझेर मात्र प्रक्रिया थाल्नुपर्ने भुसालको सुझाव छ । भुसालले जेलमा तुच्छ व्यवहार खेप्नु परेको बताए । ‘जेलमा रहँदा हेपाहा व्यवहार हुन्थ्यो,’ उनले भने, ‘जेलमा रहँदा बिरामी पनि भएँ । तर, उनीहरूले उपचारमा ध्यान दिएनन् । लामो समय जेलमा बस्दा ढाडको रोग निस्केको छ ।’

बिहे गरेको केही महिनामै साउदी पुगेका भुसाल जेल परेपछि पत्नी अन्यत्रै हिँडे्काले अब चाँडै विहे गर्ने उनको योजना छ । ‘अब विहे गरेपछि वृद्धा बुवा, आमाको सेवा गर्ने छु ।’ उनले भने । ११ वर्षपछि छोरा घर फर्कंदा आमा यमकला निकै हर्षित थिइन् । उनले पनि अब छोरालाई वैदेशिक रोजगारीमा पठाउने चाहना नभएको बताइन् ।

‘अब म सकेसम्म छोरालाई जुन पायो त्यही कम्पनीमा काम गर्न पठाउने पक्षमा छैन’ उनले भनिन्, ‘छोरालाई देशमै केही गर्न जोड दिने छु ।’ भुसाललाई साउदी कम्पनीले सवारी चालक अनुमति पत्र नलिँदै गाडी चलाउन लगाएको थियो । जेल परेपछि भने त्यो कम्पनीले कुनै सहयोग नगरेको भुसालले बताए । मासिक १ हजार ५ सय रियाल पारिश्रमिक दिने सम्झौता गरेको कम्पनीले सुरुमा पारिश्रमिक दिए पनि पछि नदिएको उनको भनाई छ ।

कम्पनीकै कामको सिलसिलामा दुर्घटना भए पनि जेल परेपछि कम्पनी मालिक कहिल्यै भेट्न नआएको उनले बताए । उनलाई उद्दारमा सघाएको समितिले उद्दार अभियानको क्रममा ४७ लाख ५१ हजार २ सय ८१ रुपैयाँ संकलन भएको र जसमध्ये ४० लाख ९८ हजार रुपैयाँ जेद्दा पठाइएको जनाएको छ । संकलन भएकोमध्ये ६ लाख ५३ हजार ६ सय ८१ रुपैयाँ समितिको खातामा रहेको अध्यक्ष कुलप्रसाद कार्कीले जनाए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]