Dabali News

ओली-प्रचण्ड प्रतिक्रान्तिका नाइके भए, जनयुद्धको स्तरबाट प्रतिवाद गर्न बन्दुक उठाउँछौंः बिमल

एमालेसँग भएको एकतालाई बहिस्कार गर्दै तत्कालिन माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले जनयुद्धकालिन नेकपा (माओवादी) ब्यूँताएका छन् । बिमल अधिकारीको संयोजकत्वमा नयाँ पार्टीको घोषणा गरिएको छ । संयोजक अधिकारीसँग अनलाइन डबलीले गरेको कुराकानीको मुख्य अंशः

तपाईँहरु एमालेसँगको एकतामा किन जानु भएन ?

खासमा त्यो एकता नभएर माओवादी केन्द्रको एमालेकरण थियो । जनयुद्धको मूल्य मान्यता, त्याग र बलिदानीमाथि प्रचण्डसहितका शिर्ष नेताहरुले गद्दारी गरे । एमालेको जनविरोधी नीति र सिद्धान्त स्वीकार गर्न पुगे ।

अर्को कुरा यो एकता निरंकुश शैलीमा गरियो । केपी ओली र प्रचण्डको सत्ता स्वार्थ पूरा गर्ने गरी एकता गरियो । एकताको लागि आवश्यक पर्ने वैचारिक, सांगठानिक र आगामी कार्यक्रमबारे कुनै छलफल नै नगरी एकता गरियो । पार्टी एकताको आधार सत्ता नेताहरु र उनका परिवारको सत्तामा सुरक्षित गर्ने गरी गरियो । एमाले र माओवादी केन्द्रको एकता सत्ता स्वार्थको लागि गरिएको एकता हो । यी दुबै कुरा माक्र्सवादका आधारभूत सिद्धान्त विरोधी थिए । त्यसैले हामीले एकतालाई बहिस्कार गरेका हौं ।

एमाले र माओवादी केन्द्रको एकतापछि क्रान्तिकारी पार्टी बनेको, अब समाजवादी क्रान्ति गर्ने कुरा गर्नुभएको छ नी ?

पहिलो कुरा एमाले कम्युनिस्ट पार्टी नै थिएन । उ त काँग्रेसभन्दा पनि तल्लो स्तरको सामाजिक फासिवादी पार्टी हो । त्यहाँ फासिवादकै अभ्यास भइरहेको थियो । अब प्रचण्डको नेतृत्वमा माओवादी नेताहरुले एमालेको फासिवादलाई स्वीकार गरे । अनि कसरी हुन्छ त्यो कम्युनिस्ट र क्रान्तिकारी पार्टी । सामाजिक फासिवादको अभ्यास गरिरहेको पार्टी र नेताले समाजवादी क्रान्ति गर्नु भनेको दुनियाँले नपत्ताउने कुरा हो ।

ओली र प्रचण्डले दस्तावेजमा के लेखे भन्दापनि उनीहरुले व्यवहारमा के अभ्यास गरिरहेका छन् भन्ने कुरा मुख्य हो । उनीहरु मिलेर सत्तामा जाने भ्रष्टाचार गर्ने नातागोताको हितमा सत्तालाई उपयोग गर्ने मुख्य काम हुनेछ । ओली र प्रचण्डले कम्युनिस्टका आधारभूत सिद्धान्त विरुद्ध गइरहेका छन् । अब उनीहरुको पार्टी कम्युनिस्ट पार्टी नै होइन । त्यसैले त्यसबाट अपेक्षा गर्नु बेकार छ ।

तपाईँहरु यो कुरा पार्टी एकता भएपछि मात्रै थाहा पाउनु भयो ?

होइन, हामीले एमालेसँगको एकताको विरोध सुरुदेखि नै गर्दै आएका थियौँ । गत असोजबाट हामीले एमालेसँग होइन माओवादी घटकसँग एकता गर्नुपर्छ भन्दै व्यापक छलफल गरेका थियौँ । प्रचण्डले माओवादी केन्द्रलाई आफ्नो नीजि कम्पनीजस्तै गरी चलाएका थिए । त्यहाँ उनले जे चाए त्यही हुन्थ्यो । विचार र राजनीतिमा गरिने कुनै पनि बहसलाई निषेध गरिन्थ्यो । उनको हस् भन्नेको सम्मान हुन्थ्यो ।
माओवादी केन्द्रमा प्रचण्डको सिण्डिकेट थियो । त्यसलाई केही नेताहरुलाई स्वीकार गरेका थिए । धेरै साथीहरु सुरुदेखि नै एमालेसँगको एकताको विरोध गरिरहेका थिए ।

तपाईँले पार्टीको नाम जनयुद्धकालिन नाम राख्नुभयो, यसको केही अर्थ छ ?

नाममा ठूलो अर्थ छ । जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने यो पार्टीको मुख्य काम हो । नामसँग जनयुद्धमा नेता, कार्यकर्ता र जनताको बलिदानी, त्याग, सहिदका सपना र जनताको अपेक्षालाई मर्न दिने छैनौं । त्यसैको लागि हामीले जनयुद्ध सुरु गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नाम राखेका हौँ ।

एमालेहरुले प्रचण्डलाई पैसामा किनेर जनयुद्धको आदर्श, मूल्य मान्यता र उद्देश्य किने । प्रचण्ड र ओली पूरै प्रतिक्रान्तिकारी भएर जनतामाथि फासिवादी सत्ता लाद्न लागेका छन्, जनयुद्धको स्तरबाट त्यसको प्रतिवाद गर्न हामीले जनयुद्धकालिन पार्टीलाई ब्यूँताएका हौँ ।

कति जना हुनुहुन्छ ब्यूँताइएको जनयुद्धकालिन पार्टीमा ?

हामी तीन जना पोलिट्ब्यूरो सदस्य र ११ जना केन्द्रीय सदस्यसहित हजारौं माओवादी नेता, कार्यकर्ता छौँ, सँगै लाखौं समर्थक र शुभचिन्तक र मुक्तिकामी जनता छन् । अहिले मेरो नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाएका छौं । देशैभरीबाट धेरै साथीहरुले फोन गरिसक्नु भएको छ । तत्कालिन माओवादी केन्द्रका क्रान्तिकारी साथीहरुलाई समेटेर अगाडि बढ्‌‍छौं ।

पार्टीको आगामी कार्यक्रम के हुन्छ ?

मैले अघि पनि भनेँ । जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने हाम्रो मुख्य काम हो । प्रचण्डले आफैसँगै चिहानमा पुर्याएको क्रान्तिको यात्रालाई पुनः जारी राख्ने हामीले प्रतिवद्धता गरेका छौंँ । त्यसको लागि क्रान्तिकारी विचार र पार्टी निर्माणको अभियान सुरु गरेका छौँ ।

अबको चार महिलना हामी संगठन सुदृढ र विस्तार गर्छौं । त्यसपछि थप कार्यक्रम घोषणा गर्नेछौं । बल प्रयोगको सिद्धान्तमा जनयुद्धका बाँकी काम पूरा गर्ने हामी पार्टीको मुख्य उद्देश्य हो ।

बल प्रयोग भनेको, बन्दुक बोक्ने भन्नु भएको हो ?

हो, पार्टी बल प्रयोगमा जाने भएपछि बन्दुक बोक्ने कुरा लुकाउनु पर्दैन । ओली र प्रचण्ड प्रतिक्रान्तिका नाइके भए । नेपालमा एक पटक फेरि जनताले बन्दुक बोक्ने अवस्था आउँछ । त्यसको नेतृत्व हामीले गर्छौैँ ।

अन्य माओवादी घटकसँग कस्तो सम्बन्ध हुन्छ ?

हाम्रो मुख्य मित्रशक्ति विप्लव कमरेडले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र किरण कमरेडले नेतृत्व गरेको क्रान्तिकारी माओवादी हुन् । त्यसैगरी कमरेड गोपाल किरातीले पुर्नगठन गरेको माओवादी केन्द्र पनि हाम्रो मित्रशक्ति हो । तर, उहाँले माओवादी केन्द्र हुँदै भएका राजनीतिक र वैचारिक गम्भीर गल्तीलाई सच्चाउनु हुन्छ कि नाई हामी छलफल गर्छौँ । तत्कालिन माकेकै अनुसरण गर्नु भएमा उहाँसँग सहकार्य हुँदैन । विगतमा भएका भुललाई सुधार गरेर अगाडि बढ्न तयार हुनुभएमा सहकार्य गर्न तयार छौँ ।

संघर्षको हिसाबले अहिले कमरेड किरण र विप्लवसँग सहकार्य हुन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]