Dabali News

Ad

शेरबहादुरजीको अबकाे काम त इतिहास रच्ने मात्र हो

१३आैं महाधिवेशनबाट शेरबहादुरजी सभापति र तपाईं महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसमा गुटउपगुट सकियो भन्नुभयो तर संसदीय दलको निर्वाचनमा समूह बनाएरै फेरि दुई पक्षबीच प्रतिस्पर्धा भयो । खै कसरी भयो त नेपाली कांग्रेस एकढिक्का ?
 
होइन । कुनै पनि लोकतान्त्रिक पद्धतिमा ग्रुपिजम् हुन्छ, हुनसक्छ । लोकतान्त्रिक अभ्यास गर्दा विचारमा विमति रहनसक्छ । विचारका गुटहरु हुनसक्छन् । तसर्थ ग्रुपिजम् अमेरिकाजस्तो उच्च लोकतान्त्रिक अभ्यास भएको देशमा पनि हुन्छ । मेरो भनाइ के हो भने विचारको गुटबन्दी हुनु राम्रो पनि हो किनभने एउटा भिन्न विचार हुन्छ जसको विपक्षमा अर्को पनि । तीमध्ये जुन विचार मन पर्छ, तपाईंले त्यसैको प्रतिनिधित्व गर्नुहुन्छ । जब विगतमा पार्टी फुट्यो, त्यसबेला नेपाली कांग्रेसको शक्ति एकदमै कमजोर भयो । फेरि एकचोटि पार्टी जुट्यो अनि १२औं महाधिवेशनमा हामीले भन्यौं– एकताको सन्देश दिऊँ । त्यतिबेला नारा पनि थियो ‘एकताको महाधिवेशन ।’ तर, त्यो नारा यथार्थमा परिणत हुन सकेन । फेरि १३औं महाधिवेशनमा दुईटा गुट थिए, तीमध्ये एउटाबाट सभापति, अर्कोबाट महामन्त्री र कोषाध्यक्ष निर्वाचित भए । यसबाट के देखिन्छ भने करिव तीन हजार दुई सय महाधिवेशन प्रतिनिधिहरुको मतले सन्तुलित परिणाम दिएको दिएको छ । हामीले यसलाई प्रतिनिधिहरुको पार्टी एकढिक्का हुनुपर्छ भन्ने सन्देश हो भनेर बुझ्नुपर्छ । त्यति मात्र होइन, यसको अर्थ र मेरो पहिलेदेखिको भनाइ पनि व्यक्तिगत गुटको अन्त्य हुनुपर्छ भन्ने हो । मैले तत्कालीन अवस्थामा गिरिजाप्रसाद कोइरालालाई पनि पटक–पटक शेरबहादुरजीसँग भेटाएँ, आदरणीय सुशील कोइरालाज्यूलाई पनि भनें– पार्टी मिलेको खण्डमा आउँदा चुनौतीको सामना कांग्रेसले राम्रोसँग गर्न सक्छ । त्यसैगरी १३औं महाधिवेशन सकिएपछि पार्टी सभापतिले एकताको सन्देश दिने भनिरहनुभएको छ, त्यो अत्यन्त राम्रो पनि हो । हुन त आगामी दिनमा सभापतिजीको भूमिका महामन्त्री, कोषाध्यक्षलगायतका केन्द्रीय समितिभित्रको छलफल एवम् निर्णय लिने बेला के हुन्छ, त्यसले हाम्रो भूमिका पनि निर्धारण गर्छ र त्यसले ग्रुपिजम् छ कि छैन भनेर स्पस्ट गर्ला ।
 
यो त महाधिवेशनका कुरा भयो, फेरि संसदीय दलको चुनावमा पनि तीनै गुटबीचको प्रतिस्पर्धा किन नि ?
दलको निर्वाचन हुने बेला पनि तिनै दुई गुट प्रतिस्पर्धामा उत्रे, तपाईंले भनेको ठीक हो । अब आगामी आन्तरिक चुनौती हुन् या अन्य चुनौतीको सामना गर्न पार्टी एक हुनु राम्रो हो । मलाई लाग्छ– शेरबहादुर देउवाजीको अब त इतिहास रच्ने मात्र काम हो किनभने तीन–तीन चोटि प्रधानमन्त्री भइसक्नुभयो, भविष्यमा फेरि बन्न सक्नुहुन्छ । उहाँले इतिहास रच्न अब पार्टीलाई एक बनाएर लैजानुपर्छ । जुन मेरो पनि अभिप्राय हो कि म एउटा क्याटालिस्ट बन्न चाहन्छु, सबैलाई जोडेर अगाडि बढौं । कांग्रेसको भविष्य अत्यन्त राम्रो छ । कांग्रेसको भविष्य राम्रो हुनु भनेको यो राष्ट्रको भविष्य राम्रो हुनु हो । हाम्रासामु थुप्रै चुनौतीहरु छन् । पहिलो, संविधानलाई कार्यान्वयन गर्ने ठूलो चुनौती छ । दोस्रो, भुइँचालोले यत्रो क्षति पुर्याएको छ, जसको पुनर्निर्माण र व्यवस्थापनका लागि कांग्रेसले अत्यन्त गम्भीर भएर रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ । तेस्रो, विकासका कुराहरु छन् । परिवर्तनको पक्षमा जहिले पनि नेपाली कांग्रेस उठेको हो । अहिलेको माग, जनताको चाहना र हाम्रो संघर्ष भनेको पनि विकासका लागि नै हो । जबसम्म राजनीतिक स्थिरताको वातावरण बन्दैन तबसम्म विकास हुन सक्दैन । तसर्थ नेपाली कांग्रेसले यस्तो भूमिका खेल्नुपर्यो कि जसले राजनीतिक स्थिरताको बाटो अपनाउन सकोस् । यति मात्र होइन, अहिलेका महत्वपूर्ण समस्यामध्ये प्रान्तहरुको सीमाङ्कनको सवालमा, मधेशवादीहरुका असन्तुष्टि र मुद्दाहरुको सवालमा संविधानमा देखिएका केही त्रुटिहरु सम्बोधन गरी नयाँ परिवर्तनको बाटो लिने हो भने अहिले पनि एकताको विकल्प छैन । सबै एक ठाउँमा उभिनैपर्छ, जसका लागि सन्तुलित किसिमको राजनीति आवश्यक छ । यसो गर्दा राजनीतिक स्थिरता हुन्छ अनि त्यसको धरातलमा टेकेर हामी परिवर्तन र विकास गर्न सक्छौं । यी सबै चुनौतीहरु सामना गर्न नेपाली कांग्रेस एकढिक्का हुनुपर्छ, अहिले कांग्रेस त्यो बाटोमा अग्रसर भइरहेको छ ।
 
कांग्रेसमा देउवाको उदयपश्चत धेरैले कोइराला परिवारको विरासत तोडियो भनेर टिप्पणी गरिरहेका बेला कोइराला परिवारबाटै तपाईं महामन्त्री निर्वाचित हुनुभएको छ, यसबारे तपाईंको विश्लेषण के छ ?
 
तपाईंलाई म स्मरण गराउँ, २०४६ सालको आन्दोलनताका शेरबहादुरजी बेलायतमा हुनुहुन्थ्यो । त्यसबेला टेलिफोनमा सम्पर्क गरेर मैले नै भनेको थिएँ– शेरबहादुरजी, फर्केर आउनुहोस् नेपालमा । यहाँ प्रजातन्त्र आइसक्यो, तपाईंको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ, बीपी कोइरालाले पत्याएको मान्छे हो तपाईं । मैले त्यसो भन्दा उहाँले मान्नुभएन । पछि गिरिजाप्रसाद कोइरालाले उहाँसँग सम्पर्क गर्नुभयो, त्यसपछि देउवाजी तत्कालै फर्केर आउनुभयो र गृहमन्त्री समेत बन्नुभयो । त्यसकारण अहिले शेरबहादुरजीको उदय भयो भन्नुभन्दा पनि अहिलेको अवस्थामा देउवाजी सभापति बन्नुभयो भनेर बुझ्नु सही हुन्छ । अहिले ‘प्याराडाइम सिफ्ट’ भएपछि उहाँको काँधमा ठूलो जिम्मेवारी आएको छ । देउवाजीले फेरि पहिलेकैजस्तो गु्रपको राजनीति मात्रै गर्नुभो भने उहाँको राजनीतिकै अन्त्य हुन्छ । इतिहासले धेरै ठाउँमा देखाइसक्या छ, मैले उदाहरण दिइरहनु पर्दैन । उहाँको धेरै पहिलेदेखिको चाहना थियो कि एकचोटी नेपाली कांग्रेसको सभापति बन्ने । त्यो उहाँले पाइसक्नु भयो । अब आफ्नो ग्रुप मात्र नभनी अर्को ग्रुप, अझ भनौं रामचन्द्र दाइले नेतृत्व गरेको पक्षलाई पनि समेटेर देउवाजीले सिङ्गै कांग्रेसको नेतृत्व गर्न सक्नुपर्छ । रामचन्द्र दाइ अत्यन्तै पुरानो मान्छे हो, लामो अनुभव छ उहाँसँग । फेरि पनि पार्टीमा विकृति आयो, पार्टीभित्र यो पक्ष र ऊ पक्ष भन्ने व्यवहार रहिरह्यो भने आउँदा दिनमा नेपाली कांग्रेसलाई ठूलो क्षति पुग्छ । त्यो अवस्थामा हामीले सामना गर्नुपर्ने अहिलेका जे–जस्ता चुनौतीहरु छन्, तिनको समना गर्न सकिँदैन ।
 
जे भए पनि देउवाको विजयपछि कांग्रेसमा कोइरालाहरुको धरोहर त ढलेकै हो नि, होइन र ?
 
तपाईंले धरोहरका कुरा उठाउनुभयो, मैले पटक–पटक भन्ने गरेको छु– कोइरालाको धरोहर भनेको रगतको होइन, विचारको धरोहर हो । त्यसैले बीपीको विचार जसले लिन्छ, धरोहर उसैले समात्छ । मेरो राजनीतिमा प्रवेशको पहिलो प्रेरणा कृष्णप्रसाद कोइराला हुनुहुन्छ किनभने उहाँले एउटा परिवर्तन खोज्नुभयो । त्यति धनाढ्य व्यक्ति हुँदाहुँदै पनि यो राष्ट्रमा यति प्रयत्न गर्नुभयो, अन्तमा यही सेन्ट्रल जेलमा उहाँको मृत्यु भयो र बीपीले त्यसलाई एउटा राजनीतिक रङ्ग दिनुभयो, एउटा सिद्धान्त दिनुभयो । कृष्णप्रसाद कोइरालाले सामाजिक परिवर्तन हुनुपर्यो, एउटाले मात्र खुशी भएर हुँदैन, नेपाली जनता खुशी हुनुपर्यो भन्ने ठान्नुभयो । त्यसबेला उहाँ राजनीतिक रुपमा सचेत हुनुहुन्नथ्यो तर पनि एउटा आन्दोलनको र प्रेरणाको रुपमा उहाँले योगदान दिनुभयो, जो एउटा इतिहास हो । पछि परिवर्तनका पक्षमा आफ्ना छोरालाई शिक्षादीक्षा दिई आन्दोलनमा लाग्न प्रेरित गर्नुभयो । त्यसलाई बीपीले उचाईमा पुर्याउनुभएको हो । त्यसैले त्यो विचारको राजनीति हो । यसर्थ, कोइरालाहरुको विरासत तोडियो भन्ने टिप्पणी सुन्दा मलाई अनौठो लाग्छ । जुन विचारको उत्पत्ति कृष्णप्रसाद कोइरालाले गराउनुभयो त्यो त अनन्तकालसम्म रहन्छ ।
 
पार्टीभित्र क्रियाशील समानान्तर गुटहरुमध्ये एउटाबाट सभापति र अर्कोबाट महामन्त्री चुनिएपछि कांग्रेस झन् जाम हुने र अनिर्णयको बन्दी बन्ने राजनीतिक विश्लेषण गलत हो र ?
 
मलाई त्यस्तो लाग्दैन । एकातिर हामी संसदमा प्रतिपक्षमै बसेका छौं फेरि हामी पार्टीभित्र पनि प्रतिपक्षमा बसौं त ? मैले अघि नै भनिसकें नि पार्टीलाई एकढिक्का पारेर अगाडि लैजाने मेरो लक्ष्य हो । मैले पहिले एउटा शब्द प्रयोग गरें, ‘क्याटालिस्ट’ । म पार्टीलाई एक ठाउँमा उभ्याउन त्यो भूमिका निर्वाह गर्छु । मलाई लाग्छ, शेरबहादुरजीको मनशाय पनि त्यही हो किनभने उहाँका अभिव्यक्तिहरु पार्टीलाई एकढिक्का बनाउँछु भनेर नै आइरहेका छन् । हुन त सभापति भइसकेपछि उहाँको कार्यशैली कुन किसिमको हुने हो, त्यो त हेर्न बाँकी नै छ । तर, चुनौतीहरुलाई हेरेर पनि आगामी दिनमा पार्टीमा एकमत हुने सम्भावना धेरै बलियो छ । दुई–तीन गुटमा विभाजित भएर गयौं भने पार्टी कमजोर हुन्छ र हामी गन्तव्यमा पुग्न सक्दैनौं । त्यो अवस्थामा राष्ट्र नै कमजोर भएर जान्छ ।
 
तपाईंले त महाधिवेशनको मुखैमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा कांग्रेस चुकिसक्यो अब ती कुरामा नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ भन्नुभयो । यसरी तपाईंले भन्न खोज्नुभएको कुरा के हो ? अलि प्रस्ट पारिदिनोस् न ।
 
हा–हा–हा… । मैले महाधिवेशनको पूर्वसन्ध्यामा भनेको के थिएँ भने महाधिवेशन भनेको सबै विषयमा विचार–विमर्श र बहस–छलफल गरी नयाँ निष्कर्ष निकाल्ने थलो हो । यो बेला हामीले गत ७० वर्षमा गरेका महत्वपूर्ण निर्णयहरुबारे पुनरावलोकन गर्न सक्छौं र गर्नु आवश्यक छ । यो रिभ्यु, रिट्रिट र रिइभ्याल्युएसनको समय हो । उदारहणका लागि २७ सालमा बीपी कोइरालाले बन्दुक उठाउनुभयो, त्यो ठीक थियो कि थिएन ? हामीले त्यसको समीक्षा गर्ने कि नगर्ने ? बीपीले सबै ठीक गरे भनेर त उहाँका व्यवहार नदेखेको, नसुनेको मान्छेले मात्र भन्छ । तर, एउटा लोकतान्त्रिक व्यक्तिले हरेक कुरामा प्रश्न उठाउँछ । यो किन जरुरी छ भने त्यसको निष्कर्षमा टेकेर नै हामी अगाडि जान सक्छौं । तपाईंले भन्न खोज्नुभएको अर्थमा मैले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका विरुद्धमा टीकाटिप्पणी गरेको छैन । पुनरावलोकन गर्नुपर्छ भनेको किन हो भने हाम्रो १३औं महाधिवेशन अत्यन्त महत्वपूर्ण समयमा सम्पन्न भयो । लामो समयपछि हामी सबै एक ठाउँमा जम्मा भयौं, त्यो बेला सबै कुराको एक–एक गरी समीक्षा हुनुपर्थ्यो । विगतको समीक्षा नगरी भविष्यलाई अँगाल्न सकिँदैन । त्यसैले सोही सन्दर्भमा मैले ती कुरा उठाएको थिएँ । हो, महत्वपूर्ण विषयहरु छन्, जस्तो– हिन्दू राष्ट्रको कुरा । नेपाल ७० वर्षदेखि अस्थिरताको बन्दी छ । यही अस्थिरताका कारण देशमा विकास हुन सकेको छैन । अहिले अतिवादी शक्तिहरु, बन्दुकधारी शक्तिहरु नेपालभित्र छन्, जसले अवसर खोजिरहेका छन् । कुनै विषय उठाएर मुलुकलाई अझै अस्थिरतातर्फ धकेलिदियो भने हामी अर्को दस वर्ष पछाडि धकेलिन्छौं । यसर्थ, हामीले राजनीतिक स्थिरता, शान्तिको वातावरण सिर्जना गर्नु आवश्यक छ ।
 
जेहोस्, तपाईं आफैंले हस्ताक्षर गरेको वर्तमान संविधानप्रति उतिसारो सन्तुष्ट हुनुहुन्न, होइन ?
 
कुरा त्यसो होइन । आउँदा दिनहरुमा तपाईंले यस्ता विषय उठाउनुपर्यो, जसको बागडोर तपाईंकै हातमा होस् । त्यसो भएन भने त्यसको हाइज्याक अर्कै अतिवादी तत्वले गर्न सक्छ । अहिलेको अवस्थामा शान्ति, स्थिरताका लागि ६ सय १ जना मिलेर मुलुकलाई नयाँ संविधान दिइयो । ती ६ सय १ मध्ये एउटा म पनि हुँ । त्यो संविधानमा भएका सम्पूर्ण व्यवस्थाहरुलाई स्वीकारेर नै मैले हस्ताक्षर गरेको हुँ । झन्डै ९० प्रतिशतले हस्ताक्षर गरेको अर्थ ती सबैले त्यसलाई स्वीकारेका हुन् नि । त्यसमा केही त्रुटि होलान्, आउँदा दिनहरुमा कुन–कुन विषयमा हामीले प्रवेश गर्नुपर्छ र कस्तो परिस्थितिमा हामी प्रवेश गर्छौं भन्ने त भविष्यले नै बताउला । संविधान कार्यान्वयनको पक्ष सबल बनाउन दुई–चार वटा चुनाव गरेर जानुपर्छ अनि लोकतन्त्र बलियो हुन्छ । मेरो भनाइ धेरैचोटि राखिसकेको छु ।
 
अहिलेको कांग्रेस बीपीको आदर्शभन्दा निकै पर पुगिसक्यो भनेर कांग्रेसकै धेरै नेताले बारम्बार भनिरहेका छन् नि ?
 
होइन । २०३३ सालमा राष्ट्रियता खतरामा छ भनेर बीपी कोइरालाले मेलमिलापको नीति लिएर आउनुभयो । त्यसबेला उहाँलाई फाँसी पनि हुनसक्थ्यो तर पनि उहाँ आउनुभयो । उहाँको एकदम साधारण माग थियो– जनताले बालिग मताधिकारको प्रयोग गर्न पाउनुपर्छ । अर्थात्, चुनावमार्फत जनताले आफ्ना प्रतिनिधि चुन्न पाउने बहुदलीय व्यवस्था हुनुपर्छ । उहाँले आफू पहिलो पल्ट प्रधानमन्त्री भएका बेला विकेन्द्रीकरणको नीति अगाडि सार्नु भएको थियो । त्यही विकेन्द्रीकरण गर्नुपर्छ भन्ने कुरालाई नै बिस्तारै विकसित गर्दै अहिले हामीले संघीयताको कुरा ल्यायौं । उहाँको मन्त्रीमण्डल जति समावेशी थियो, मलाई लाग्छ– आजसम्मका अरु मन्त्रीमण्डल त्यस्ता छैनन् । त्यही बेलादेखि बीपीले पार्टीभित्र समावेशीकरणको कुरा गर्नुभयो, त्यो कुरा आज संविधानमार्फत सुरक्षित भएको छ । अत्यन्तै राम्रो संविधान आएको छ तर अब कार्यान्वनका लागि हामी कसरी अगाडि जाने भन्ने चुनौती हाम्रासामु बाँकी छ ।
 
तपाईं त बेलाबेला ‘प्रतिगमन’ को त्रास पनि देखाइरहनु हुन्छ नि ? किन त्यसो गर्नुभएको ?
 
तपाईं यसलाई चेतावनी नठान्नुस्, म सावधानीका लागि दृष्टान्त दिन चाहन्छु– अहिले पनि लोकतन्त्र खतरामा छ । हाम्रै क्रियाकलापले गर्दा भोलि अतिवादी शक्तिहरु सल्बलाउन सक्छन् । जुन कुरा बीपीले पनि भन्नुभएको थियो कि यस्तो परिस्थिति आउँछ, जब अतिवादी शक्तिहरु सबै एक ठाउँमा उभिन्छन्, त्यो बेला फेरि लोकतन्त्र खतरामा पर्छ । त्यसैले अहिलेको अवस्थामा सबैले यो संविधानलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने दिशातिर लाग्नुप¥यो । मैले अघि पनि भनें– शान्ति, लोकतन्त्र र विकासका लागि सबैभन्दा पहिले संविधान नै कार्यान्वयन गर्नुपर्छ । जबसम्म प्रान्तीय, स्थानीय वा आम निर्वाचन हुँदैन, तबसम्म लोकतन्त्रले जरो गाड्दैन र संविधानको प्रतिफल पनि देखिन सक्दैन । भारतमा नै झन्डैझन्डै ७० वर्ष भइसक्यो यो अभ्यास भएको । त्यसैले संसारको लार्जेस्ट डेमोक्रेसी भन्छन् भारतलाई । हामीले त भर्खर एउटा नयाँ संविधान पाएका छौं । यसलाई कार्यान्वयन गर्न धेरै समय लाग्ला । प्रान्तको सीमांकनका कुरा बाँकी नै छन्, प्रान्तलाई सक्षम बनाउन सक्नुप¥यो । यी चुनौती कायमै छन् । नेपाल कति दिन गरिबीको रेखामुनि बसिरहने ? यत्रा स्रोत–साधन छन् तैपनि हामी यो अवस्थामा छौं । त्यसैले हामीलाई अहिले चाहिएको छ विकास र स्थिरता अनि त्यसका लागि संविधानको कार्यान्वयन ।
 
ठूलठूला चुनौती छन्, सामना गर्न सकिँदैन भन्ने चिन्ता हो त तपाईंको ?
 
निश्चय नै हाम्रा सामु ठूलठूला चुनौतीहरु छन् । हामीले मधेशी समस्याको समाधान खोज्नु छ । हुन त धेरैजसो समस्या समाधानका लागि पूर्वप्रधानमन्त्री सुशील कोइरालाले द्वार खोलिदिनुभएको थियो– जनसंख्याको आधारमा क्षेत्र निर्धारण, समावेशी र समानुपातिक हुनुपर्छ भनेर । जो मधेशीहरुको माग पनि हो । सीमाङ्कनका अप्ठ्यारा सम्बोधनका लागि मधेशी दलहरु, नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीसहितका मुख्य तीनटा दललगायत सबै बसेर गम्भीर छलफल हुनुपर्यो । त्यसो गर्दा हामी सजिलै टुंगोमा पुगौंला भन्ने ममा विश्वास छ ।
 
कांग्रेस प्रतिपक्षमा छ, वर्तमान सरकारको कार्यशैली र क्रियाकलापको मूल्यांकन कसरी गरिरहेको तपाईंको पार्टीले ?
 
त्यही त, मैले पटकपटक भनें नि अहिले त्यति सजिलो राजनीतिक परिस्थिति छैन भनेर । तिनको समाधान एक्लो कांग्रेसले गर्न सक्दैन । समाधानका लागि त सबै दलबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता हुन्छ । प्रतिपक्षमा बसिसकेपछि विरोधका लागि विरोध गर्नुभन्दा रचनात्मक प्रतिपक्षी बन्नुपर्छ भन्ने मेरो धारणा छ । जब लोकतन्त्र बलियो हुँदै जान्छ अनि प्रतिपक्षको भूमिका पनि अर्कै प्रकारको हुन्छ । यो कुरा सत्य हो कि अहिलेको अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले कालोबजारीतर्फ जति ध्यान दिनुपथ्र्यो त्यति दिएको देखिँदैन । नाका खुल्दाखुल्दै पनि कालोबजारीको चर्को समस्या कायमै छ । मधेशी दलहरुले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्छौं भनिरहेका छन् । शायद यस सम्बन्धमा सरकार र सरोकारवालाबीच गम्भीर छलफल भएको छैन कि ? भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि पनि सोच्नुपर्ने छ । यी समास्या समाधानका लागि अरु दलहरुसँग पनि वार्ता गर्न सक्नुपर्यो नि । अहिले हामीले खालि आलोचना मात्रै गरेर हुँदैन, भोलि शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दा पनि सम्पूर्ण दोष कांग्रेसलाई लाग्छ । त्यसैले अहिलेको राजनीतिलाई सन्तुलनमा ल्याउन सबै दलहरुसँग संवाद गरेर निर्णय लिनुपर्ने आवश्यकता छ । यसर्थ म विरोधका लागि विरोध गर्नकै लागि प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको सरकारको आलोचना गर्ने पक्षमा छैन । तर, सतर्क चाहिँ गराइदिनुपर्छ– यावत् चुनौतीहरुको सम्बोधन कसरी गर्ने हो ? सरकारले समयमै सोच्नुपर्यो ।
 
तपाईं यसो भन्नुहुन्छ तर कांग्रेसकै कतिपय प्रभावशाली नेताहरुले यो सरकार बेकम्मा भइसक्यो, अब कांग्रेसको नेतृत्वमा सरकार नबनाई देशमा कुनै काम अघि बढ्दैन भनिरहेका छन् नि ?
 
एक्लो कांग्रेसले के गर्न सक्छ ? कि त हामीसँग दुईतिहाई हुनुपर्थ्यो । नेपाली कांग्रेस सरकारमा गए पनि सरकार त बहुमतकै हुन सक्छ । त्यस्तो सरकारमा मधेशी पार्टीहरु, माओवादी अथवा एमाले पनि अटाउन सक्छ । तर, दुईतिहाईको सरकार नभएसम्म समस्याको समाधान गर्न कठिल हुन्छ । कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले उसैले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने भनाइ त यथार्थ र स्वाभाविक कुरा नै हो । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई आफैंले नेतृत्व गरेको सरकारमा आउन आग्रह गरिरहनु भएको छ । म के भन्न चाहन्छु भने कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, हाम्रो नेतृत्वमा सर्वदलीय सरकार बनाउँ अनि ओलीजीहरु पनि हाम्रो नेतृत्वको सरकारमा आउन तयार हुनोस् । एउटा भनाइ छ– तपाईं कुनै समस्याको समाधान होइन भने तपाईं स्वयम् नै समस्या हो । सबै यथार्थलाई बुझेर अगाडिका दिनमा हामीले कदम चाल्नुपर्छ, चाल्छौं ।
 
त्यसो भए ओली सरकारको दिनगन्ती सुरु भयो भनेर बुझ्दा भो ?
 
तपाईंहरु पत्रकारिता गर्ने र हामी राजनीति गर्नेहरुलाई एकदमै सनसनीपूर्ण समाचार चाहिन्छ । मेरो भनाइ चाहिँ के हो भने अहिले नेपाल अत्यन्तै संवेदनशील र गम्भीर अवस्थामा छ । भारतसँगको सम्बन्ध पनि एकदमै चिसिएको छ । अहिले राष्ट्रियतासँग गाँसिएका कुरामा सम्पूर्ण नेपाल र नेपाली एक भएर लाग्नुपर्छ नकि विरोध गरेर समस्याको सम्बोधन हुन्छ । त्यसैले यतिबेला कांग्रेसले सत्ताधारी हुन हतार गर्नुभन्दा रचनात्मक प्रतिपक्षको भूमिका खेलेमा नेपालले निकास, स्थिरता र समृद्धि पाउँछ ।
 
अन्त्यमा, तपाईं बीपी कोइरालाका सुपुत्र हुनुहुन्छ । बीपीका बराबरी महत्वका दुईथरी व्यक्तित्व छन्– एउटा राजनीतिक र अर्को साहित्यिक । उहाँका राजनीतिक उत्तराधिकारी त धेरै नै देखापरे तर साहित्यिक उत्तराधिकारीको खडेरी पर्यो भनिन्छ, तपाईं के भन्नुहुन्छ ?
 
तपार्इंले भनेको ठीक हो । बीपीजस्तो मान्छे नेपालमा फेरि जन्मिन्छन् या जन्मिँदैनन्, भन्न सकिँदैन । उहाँको साहित्यिक पाटोबाट धेरै व्यक्तिहरु प्रभावित हुनुभएको थियो । भारतका ठूलठूला साहित्यकारहरु र भारतीय जेलमा बस्दा पनि धेरैजना प्रेरित हुनुभएको थियो । उहाँका उपन्यास, आत्मवृत्तान्त र जेलजीवनलगायत थुपै्र विधा एवं विषयका पुस्तकहरु छापिए, सबैलाई थाहा नै छ । म नाम लिन चाहन्छु प्रदिप गिरिजीको । उहाँले बीपी र उहाँको जीवन, साहित्यका बारेमा थुप्रै लेखिराख्नु भएको छ । भर्खर मात्रै पनि गिरिजीका राम्रा लेखहरु मैले पढ्न पाएँ । म साहित्कार होइन, एउटा डाक्टर हुँ, डाक्टरी पेशामा लागेर नै काम गरियो । साहित्यप्रति रुचि राख्छु तर बीपीको जस्तो साहित्यिक कला, भावना, भाषा र मस्तिष्क ममा छैन ।
 
प्रस्तुतिः केदार गौतम/टीकाराम सुनार
 
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com