Dabali News

ओली-प्रचण्ड पेरिस कम्युनका हत्यारासँग मिलेका ‘मिलेराँ’जस्तै

आखिर यही ३ जेठ २०७५ मा एमाले र माकेको विधिवत एकीकरण हुन पुगेको छ । यद्यपि उनीहरुले एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखेका छन् । परन्तु त्यो सारमा एकीकरण नभई माकेको एमालेमा विलय नै हो । यो कुरा उनीहरुद्वारा संयुक्त रुपमा जारी गरिएको वक्तव्य हेर्दा राम्रोसित पुष्टि हुन्छ ।

एमाले–माकेद्वारा संयुक्त घोषणाका रुपमा जारी वक्तव्यमा पर्टीको नाम, सैद्धान्तिक तथा राजनीतिक मान्यता, पथप्रदर्शक सिद्धान्त लगायतका विषयबारे संक्षिप्तमा उल्लेख गरिएको छ । ओली र प्रचण्डद्वारा हस्ताक्षरित सो संयुक्त घोषणा वक्तव्यमा भनिएको छः

– “आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विधिवत एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेका छौं ।”
– “नेकपा (एमाले)ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको २१औ शताब्दीमा जनवाद सम्बन्धी सैद्धान्तिक तथा राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मूख जनताको जनवादका रुपमा अगाडि बढाइने छ ।”

– “नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत् श्रेष्ठता हासिल गर्ने, संविधानको सर्बोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवाधिकार एवं मौलिकहकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरुद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संबैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतामा प्रतिवद्ध छ ।”
– “हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ ।”

(एमाले–माओवादी एकीकरणको संयुक्त घोषणा, नयाँ पत्रिका, ४ जेठ २०७५)

सो घोषणापत्रका उक्त भनाइ र त्यसको समग्र सारबारे केही व्याख्या गर्न जरुरी छ । यो बेला नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासमा गम्भीर प्रकारमा विश्वासघात र गद्दारी गर्दै आएका एमाले र माकेका सैद्धान्तिक तथा राजनीतिक विचलन र उनीहरुको पार्टीमा विद्यमान दक्षिणपन्थी संशोधनवाद तथा पश्चगामी राजनीतिक प्रवृत्तिबारे थप स्पष्ट हुन आवश्यक छ । यस सन्दर्भमा निम्न विषयमा विशेष ध्यानदिन जरुरी छ :

पहिलो : मार्क्सवादको भ्रष्टीकरण । माक्र्सवाद कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिद्धान्त हो । आज त्यो मार्क्सवाद–लेनिनवाद–माओवादका रुपमा विकसित हुन पुगेको छ । संशोधनवादले त्यस प्रकारको पथप्रदर्शक सिद्धान्तको विरोध तथा तोडमरोड गर्दछ । संशोधनवादले मालेमाका द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष, बलप्रयोग र सर्वहारावर्गको अधिनायकत्व लगायतका सिद्धान्तको तोडमोड तथा भ्रष्टीकरण गर्दै आएको छ । एमालेले माओवाद वा माओविचार मान्दैन । त्यसले मार्क्सवाद–लेनिनवाद मानेको बहाना गर्दछ । अहिले माके पनि माओवाद परित्याग गरी मार्क्सवाद–लेनिनवाद मात्र मान्ने ठाउँमा पुगेको छ र उनीहरुको एकीकृत पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने कुरा बताइएको छ । वस्तुतः एकातिर माओवाद बिना आज माक्र्सवाद–लेनिनवाद अधुरो हुन्छ भने अर्कोतिर माक्र्सवाद–लेनिनवाद–माओवाद मानेको बहाना गरेर पनि काम लाग्दैन । वर्तमान सन्दर्भमा सच्चा कम्युनिस्ट बन्नका लागि मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग तथा विकासको प्रक्रियामा दृढतापूर्वक लाग्न द्वन्द्वात्मक तथा भौतिकवाद, वर्गसंघर्ष, बलप्रयोग, सर्वहारा अधिनायकत्व, साम्यवाद जस्ता वैज्ञानिक सिद्धान्तलाई अवलम्वन गर्न अनिवार्य रुपमा आवश्यक हुन्छ । आज एमाले र माकेको जुन एकीकरण भएको छ, त्यसले सारतत्वमा मालेमाको परित्याग र संशोधनवादलाई अवलम्बन गरेको कुरा सुस्पष्ट छ ।

दोस्रो : नयाँ जनवादको परित्याग । हिंजो एमालेले र आज माकेले नयाँ जनवादलाई परित्याग गरी संसदवादलाई स्वीकार गर्न पुगेका छन् । आज ती दुवैका लागि संसदीय बहुदलीय व्यवस्था स्वीकार्य बन्न गएको छ । उनीहरु दुवैले नेपालमा पुँजीवादी जनवादी वा नयाँ जनवादी क्रान्ति पुरा भइसकेको राग अलाप्त छन् । नेपाल जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक देशमा जनवादी क्रान्तिको कार्यभार सामन्तवाद र साम्राज्यवाद÷विस्तारवाद दुवैका विरुद्ध परिलक्षित हुने कुरा स्पष्ट छ । परन्तु, उनीहरु राजतन्त्रको अन्त्य भएपछि सामन्तवाद सम्पूर्ण रुपमा अन्त भएको कुरा गर्दछन् । उनीहरुले जनवादी क्रान्तिका लागि साम्राज्यवाद र विस्तारवादको विरोध गर्नुपर्ने अनिवार्यतालाई नकार्दछन् । उनीहरु नेपालमा नोकरशाही तथा दलाल पुँजीवादको वर्चस्वलाई यथावतै राख्न र संसदवादलाई चिरस्थायी बनाउन चाहन्छन् ।

एमाले तथा माकेको संयुक्त वक्तव्यमा समाज उन्मुख जनताको जनवाद भनेर अर्को एउटा विभ्रम खडा गरिएको छ । उनीहरुले एकातिर नेपालमा जनवादी क्रान्ति पूरा भयो अव संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन गर्नुपर्छ भनेर र अर्कोतिर अमूर्त भाषामा समाजवाद उन्मुख जनताको जनवादको कुरा गरेर एकैसाथ द्वैतवाद, सारसंग्रहवाद र निर्लज्ज प्रकारको अवसरवादको अभ्यास गर्न पुगेका छन् । यसरी पारिभाषिक पदावलीको दुरुपयोग गर्नु संशोधनवादको एउटा मूल विशेषता बन्न गएको छ ।

तेस्रोः प्रतिगामी राज्यसत्ताको समर्थन । क्रान्तिको स्वरुप वर्गीय हुन्छ र त्यो राज्यसत्ता प्राप्तिको प्रश्नसँग जोडिएको छ । क्रान्तिलाई परिभाषित गर्दै र त्यसलाई राज्यसत्तासँग जोड्दै लेनिनले भन्नुभएको थियो– “राज्यसत्ता एक वर्गको हातबाट अर्को वर्गको हातमा पुग्नु क्रान्तिको पहिलो, प्रमुख, आधारभूत लक्षण हो ।” (व्ला.इ.लेनिन संकलित रचनाएँ दश खण्डों मे खण्ड ६, पृ. ३२७, प्रगति प्रकाशन मास्को १९८३) । उक्त भनाइ अनुसार उत्पीडक वर्गको हातबाट उत्पीडित वर्गको हातमा राज्यसत्ता पुग्नु क्रान्तिको मूल लक्षण हो । परन्तु, माके र एमाले लेनिनका उक्त विचारसित सहमत छैनन् । दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्त वर्गीय अधिनायकत्वमा आधारित वर्तमान पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थालाई कायमै राख्नका लागि वर्तमान संविधानको कार्यान्वयन गर्नु उनीहरुको एकीकृत पार्टीको प्रमुख वैचारिक तथा राजनीतिक उद्देश्य बन्न गएको छ ।

राज्यसत्ताको कुरा गर्दा राज्यमेशिनरीमाथि पनि ध्यानदिन जरुरी छ । माक्र्सले भन्नुभएको थियो– क्रान्तिको निम्ति पुरानो राज्यमेशिनरीलाई ध्वस्त पार्नु अनिवार्य रुपमा आवश्यक हुन्छ । परन्तु, दक्षिणपन्थी संशोधनवादीहरुले यस तर्फ ध्यान दिंदैनन् । एमाले तथा माके दुवैले पुरानो राज्यमेशिनरीलाई यथावत् राखेर क्रान्ति पूरा भयो भन्दछन् र उनीहरुको एकीकृत पार्टीको मान्यता पनि त्यही नै छ । यो पुरै माक्र्सवाद विरोधी धारणा हो ।

चौथोः गणतन्त्रको स्वरुप र युगको सन्दर्भ । गणतन्त्रको प्रश्न युगको प्रश्नसित जोडिएको छ । हिजो सामन्तवादका विरुद्ध परिलक्षित पुँजीवादी जनवादी क्रान्तिको प्रक्रियामा लोकतान्त्रिक गणतन्त्र प्रगतिशील कदम थियो । परन्तु, पेरिस कम्युनको परिघटना, पुँजीपतिवर्गको प्रतिक्रियावादमा पतन, रुसमा सम्पन्न १९०५ एवम् १९१७ का पुँजीवादी तथा समाजवादी क्रान्तिका अनुभव र साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको नयाँ युगको उदय पश्चात् लोकतान्त्रिक गणतन्त्रले प्रतिक्रियावादी रुप लिएको छ । परन्तु, माके र एमालेले यो कुरा पटक्कै बुझ्न चाहेनन् ।

लेनिन भन्नुहुन्छ– “विश्व घटनाक्रम र सम्पूर्ण रुसी राजतन्त्रवादीहरुको अंग्रेज–फ्रान्सिसी तथा अमेरिकी साम्राज्यवादसँगको गठबन्धनबाट प्राप्त कटु शिक्षाहरुले व्यवहारमा के प्रमाणित गरिरहेका छन् भने लोकतान्त्रिक गणतन्त्र भनेको बुर्जुृवा लोकतान्त्रिक गणतन्त्र नै हो, जुन गणतन्त्र साम्राज्यवादले इतिहासका सामु तेस्र्याएका समस्याहरुको दृष्टिकोणबाट कालातीत भैसकेको छ । तिनले के देखाउँछन् भने विश्वका हरेक विकसित देशहरुमा या त सोभियत सरकारले जित्छ या अति प्रतिक्रियावादी साम्राज्यवाद, साना तथा कमजोर राष्ट्रहरुको घाँटी अठ्याइराखेको र विश्वभरि प्रतिक्रियावादलाई पुनस्र्थापित गरिराखेकोे अति क्रूर साम्राज्यवाद, लोकतान्त्रिक गणतन्त्रको स्वरुपलाई प्रयोग गर्ने कलामा पुरा निपुर्णता हासिल गरेको अंग्रेज–अमेरिकी साम्राज्यवादले भन्ने कुराको अब अर्को विकल्प छैन ।” (Lenin’s Collected Works, Progress Publishers, Moscow, Volume 28, 1974, page 189) । यहाँ लोकतान्त्रिक गणतन्त्रलाई इतिहासको दृष्टिकोणले कालातीत भइसकेको र त्यसको उपयोग साम्राज्यवादी देशहरुले गरिरहेको कुरालाई निकै राम्रोसित स्पष्ट पारिएको छ ।

यसैगरी माओले पहिलो विश्वयुद्ध र १९१७ को अक्टोबर क्रान्ति पश्चात् विकसित नयाँ युगको सन्दर्भमाथि ध्यानदिंदै तीन प्रकारका गणतन्त्रको उल्लेख गर्नुभएको छ, ती हुन्– पुँजीपति वर्गको अधिनायकत्वको गणतन्त्र, सर्वहारा वर्गको अधिनायकत्वको गणतन्त्र र सबै क्रान्तिकारी वर्गहरुको अधिनायकत्व अन्तर्गतका गणतन्त्र । यहाँ माओले पहिलो प्रकारको गणतन्त्रलाई पुराना लोकतान्त्रिक राज्यसँग सम्बन्धित गणतन्त्र बताउनु भएको छ र त्यो गणतन्त्र लोकतान्त्रिक गणतन्त्र हो । अर्थात् त्यो पुरानो युगको गणतन्त्र हो । दोस्रो प्रकारको गणतन्त्र रुसमा स्थापित सर्वहारा समाजवादी गणतन्त्र हो भने तेस्रो गणतन्त्र चीनमा स्थापित नयाँ जनवादी गणतन्त्र हो । यसरी हेर्दा एमाले तथा माके दुवै र अहिले तिनको पार्टीले नयाँ युगको नयाँ जनवादी तथा सर्वहारा समाजवादी गणतन्त्रलाई परित्याग गरी पुरानो युगको साम्राज्यवादले उपयोग गरिरहेको लोकतान्त्रिक गणतन्त्रलाई नयाँ युगको नयाँ मान्यताका रुपमा प्रस्तुत गर्न पुगेका छन् । यो निर्लज्ज प्रकारको पश्चगमन हो ।

पाँचौंः वर्गीय आत्मसर्मपणवाद । वर्गसंघर्ष तथा वर्गीय अधिनायकत्वको सिद्धान्तलाई परित्याग गरी विशुद्ध लोकतन्त्र वा सबै वर्गका लागि जनवादको कुरा गर्नु पश्चगामी वर्गका सामु सैद्धान्तिक तथा व्यावहारिक दुवै दृष्टिले लम्पसार पर्नु हो । यसलाई वर्गीय आत्मसमर्पणवादका रुपमा लिनु पर्दछ । पहिलेको एमाले तथा पछिको माके र अहिले यी दुवै मिलेर बनेको पार्टीले यही वर्गीय आत्मसमर्पणको बाटो पकडिसकेका छन् । उनीहरु दुवैले वर्गसंघर्ष तथा सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई परित्याग गरी वर्गसमन्वयवाद र पश्चगामी वर्गको अधिनायकत्वलाई स्वीकार गरिसकेका छन् । यो वर्गीय आत्मसमर्पणवाद र सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदायको मुक्तिप्रति गरिएको गद्दारीको कुरुप नमुना हो ।

छैटौंः शान्तिपूर्ण संक्रमणको सिद्धान्त । मार्क्सवादले बल प्रयोगको सिद्धान्तलाई सार्वभौम मान्दछ । बल प्रयोगको सार्वभौम सिद्धान्तका विरुद्ध शान्तिपूर्ण संक्रमण तथा संसदीय चुनावी प्रतिस्पर्धाको सिद्धान्त अवलम्बन गर्नु दक्षिणपन्थी संशोधनवाद हो । हिजो एमालेले र आज माकेले क्रान्तिको साधन तथा बाटोका सन्दर्भमा यही दक्षिणपन्थी संशोधनवादलाई अवलम्बन गरेका छन् । उनीहरु एकीकृत पार्टीको सिद्धान्त पनि यही नै हो ।

सातौंः मिलेराँवादी चिन्तन । प्रतिक्रियावादी राज्यसत्ताको मन्त्रिमण्डलमा जानु मिलेराँवाद हो । यसलाई मन्त्रिमण्डलवाद पनि भनिन्छ । मिलेराँ फ्रान्सिसी आन्दोलनमा अवसरवादी धाराका एक अगुवा थिए । उनले १८९९ मा प्रतिक्रियावादी बुर्जुवा सरकारमा सामेल भई पेरिस कम्युनको हत्यारासित सँगै मिलेर काम गरे । एमालेले लामो समयदेखि मिलेराँवादको बाटो पकड्दै आएको थियो । आज माकेले त्यही काम गर्न पुगेको छ । अहिले यी दुवै मिलेराँवादी बन्न गएका छन् र उनीहरुको एकीकृत पार्टी पनि मिलेराँवादी मान्यतामा आधारित छ ।

आठौंः समाजवादको विभ्रम । एमाले र माके दुवैले आफूलाई समाजवादको पक्षधर बताउँदै जनतामा ठूलो भ्रमको सृष्टि गर्न खोजिरहेका छन् । आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा संसदीय गणतन्त्रलाई संस्थागत गर्न गइरहेका र वर्गसंघर्ष तथा सर्वहारा अधिनायकत्वको सिद्धान्तलाई परित्याग गर्न पुगेका शक्तिहरु के समाजवादको पक्षधर हुन सक्तछन् ? समाजवाद धेरै किसिमका छन् –प्रतिक्रियावादी, सुधारवादी, काल्पनिक, वैज्ञानिक आदि । के उनीहरु वैज्ञानिक समाजवादका पक्षधर हुन् ? यी प्रश्नहरुको सकारात्मक जबाफ दिन सकिदैंन । वस्तुतः ती वैज्ञानिक समाजवाद पक्षधर होइनन् । रुसी अक्टोबर समाजवादी क्रान्तिका सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रको विरोध र सोभियत गणन्त्रबारे स्तालिन भन्नुहुन्छ– “दुई रसियाली क्रान्तिहरुको अनुभवको अध्ययनबाट र माक्र्सवादको सिद्धान्तको आधारमा, लेनिन कुन निष्कर्षमा पुग्नुभयो भने सर्वहारावर्गको अधिनायकत्वको लागि सर्वोत्तम राजनैतिक रुप संसदीय जनवादी गणतन्त्रबाट होइन, बरु सोभियतहरुको गणतन्त्र हो ।” (सोभियत संघको कम्युनिस्ट पार्टी (बोल्सेभिक) को इतिहास, अनु. कृष्णदास श्रेष्ठ, पृ.२८१, विविध पुस्तक भण्डार २०६२) । स्तालिनका उक्त भनाइ विशेष स्मरणीय रहेका छन् ।

नवौं : वाम तथा कम्युनिस्ट विभ्रम । हिजो एमालेले वाम, कम्युनिस्ट र साम्यवादको विभ्रम खडा गरी जनतालाई छक्याउने काम गर्दथ्यो । केही समययता माकेले ठीक त्यही गर्दै आयो । वस्तुतः ती दुवै र तिनको एकीकृत पार्टी न वाम हुन्, न कम्युनिस्ट नै र न त ती साम्यवादको पक्षमा नै छन् । आज जनतालाई भ्रमित पार्नका लागि उनीहरुको एकीकृत पार्टी पनि त्यही वाम तथा कम्युनिस्टको लेबल अर्थात् कलेबरमा पेश भएको छ ।

दशौं : साम्राज्यवाद तथा विस्तारवादको दलाली । एमाले र माके दुवै साम्राज्यवाद तथा विस्तारवाद परस्त रहिआएका छन् र हालै उनीहरुको एकीकृत पार्टी पनि त्यसै विरासतमा उभिएको छ । हिजो एमालेको पूर्ववर्ती मालेले पछिल्लो कालखण्डमा रुसी सामाजिक साम्राज्यवादलाई समाजवादी देख्दथ्यो । त्यसले भारतलाई विस्तारवादी होइन प्रभुत्ववादी भन्दथ्यो । एमालेकालको प्रारम्भमै त्यसले राष्ट्रघाती महाकाली सन्धि पारित गराउन ठूलो कसरत गरेको थियो । त्यसैगरी तत्कालीन नेकपा (माओवादी) को अवसरवादी हिस्साले केन्द्रीय समितिको चुनवाङ् बैठकको राजनीतिक प्रस्तावमा साम्राज्यवादसम्बन्धी लेनिन र माओको धारणा धेरैपछि परिसकेको कुरा बताएको थियो । त्यसले जनयुद्धको पछिल्लो कालखण्डमा भारतीय विस्तारवादी शासक वर्गसित देशको राष्ट्रिय स्वाधीनता र नेपाली क्रान्तिका विरुद्ध गम्भीर साँठगाँठ गर्दै आएको थियो । यसैक्रममा एमाले र माओवादीको एउटा हिस्साले माथिल्लो कर्णाली तथा अरुण तेस्रो भारतलाई सुम्पने काम गरेका थिए । यसै बिचमा भारतसित बिप्पा सम्झौता गरिएको थियो ।

२०७३ भदौ–असौजमा भारत भ्रमणको समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले २५ बुँदे राष्ट्रघाती सम्झौता गरी विगतमा भएका सबै असमान सन्धि सम्झौताहरुमा सहमति समेत जनाएका थिए । नाकाबन्दीको समयमा प्रधानमन्त्री केपी ओली राष्ट्रिय स्वाधीनताको पक्षमा केही सकारात्मक देखिए पनि अहिलेको निर्वाचन पश्चात् उनमा भारतभक्ति बढ्दै गएको र हालै गरिएको उनको भारत भ्रमण तथा मोदीको नेपाल भ्रमणका बेला जारी संयुक्त वक्तव्यमा पुराना सबै सन्धि–सम्झौतामा लाहाछाप ठोकेको कुरा स्पष्ट नै छ । ती दुवै पार्टीले आफूलाई वाम र कम्युनिस्ट भनेर जति भ्रम दिन खोजे पनि साम्राज्यवादी निजीकरण तथा नवउदारवादप्रति ती बफादार रहिआएको कुरा स्पष्ट नै छ र उनीहरुको एकीकृत पार्टीको सोंच पनि त्यही नै रहेको छ । यो उनीहरुको साम्राज्यवाद तथा विस्तारवादको दलाली र राष्ट्रिय आत्मसमर्पणवादको कुरुप नमुना हो ।

समग्रमा यसरी एमाले तथा माके र उनीहरुको एकीकृत पार्टीका सैद्धान्तिक मान्यता र विशेषताबारे जुन उल्लेख गरियो, त्यसको निष्कर्षका रुपमा के भन्नु उपयुक्त हुन्छ भने अब उनीहरुको एकीकृत पार्टी दक्षिणपन्थी संशोधनवादसम्म मात्र सीमित रहेन र उनीहरुको एकीकृत पार्टीको प्रतिक्रियावादीकरण हुन पुगेको छ । यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा निकै ठूलो दुर्भाग्य हो ।

दक्षिणपन्थी संशोधनवादीहरुले माक्र्सवादीहरुमाथि जडसूत्रवादको आरोप लगाउँदै कथित सिर्जनशीलताको राग अलाप्दछन् र माक्र्सवादको परित्याग गर्दछन् । हामीले ठीक यहींनेर जडसूत्रवाद र संशोधनवादबीचको अन्तरलाई बुझ्न आवश्यक छ । जडसूत्रवादले सिद्धान्तको रक्षाका नाममा क्रान्तिका विकसित अनुभवहरुमाथि ध्यानदिंदैन । संशोधनवादले सिद्धान्तलाई पन्छाएर खालि अनुभव मात्रका आधारमा सिर्जनात्मकताको कुरा गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा हिजो एमालेले ठीक यही गरेको थियो र केही समययता माकेले पनि ठीक यही काम गर्दै आएको छ । उनीहरुको एकीकृत पार्टी पनि यसै धरातलमा खडा भएको छ । माक्र्सवादले सिद्धान्त तथा व्यवहार अर्थात् दुवैको द्वन्द्वात्मक सम्बन्धमा जोड दिन्छ र जडसूत्रवाद तथा संशोधनवाद दुवैको विरोध गर्दछ ।

जडसूत्रवाद र संशोधनवादबारे माओ भन्नुहुन्छ– “माक्र्सवादलाई अधिभूतवादी दृष्टिले हेर्नु र अलचिलो चीज ठान्नु जडसूत्रवाद हो । माक्र्सवादका आधारभूत सिद्धान्तहरुलाई नकार्नु र यसको विश्वव्यापी सत्यलाई नकार्नु संशोधनवाद हो । संशोधनवाद पुँजीवादी विचारधाराकै एउटा रुप हो । संशोधनवादीहरुले समाजवाद र पुँजीवाद बीचका भिन्नताहरुलाई सर्वहारा वर्गको अधिनायकतन्त्र र पुँजीपति वर्गको अधिनायकतन्त्र बीचका भिन्नताहरुलाई अस्वीकार गर्छन् । उनीहरुले जुन कुराको पुर्पच्छे गर्छन् वास्तवमा त्यो समाजवादी कार्यदिशा नभई पुँजीवादी कार्यदिशा नै हो । वर्तमान परिस्थितिमा जडसूत्रवादभन्दा बढी हानिकारक संशोधनवाद नै हो ।” (माओ त्सेतुङका संकलित रचनाहरु, भाग ५, पृ.३५५, अनु. खगेन्द्र संग्रौला, विश्व नेपाली पुस्तक सदन बागबजार २०६३) । माओका यी भनाइहरु वर्तमान सन्दर्भमा विशेष स्मरणीय रहेका छन् । आज एमाले र माके मिलेर बनेको दक्षिणपन्थी अवसरवादी पार्टीले जुन समाजवादी कार्यदिशाको कुरा गरिरहेको छ, त्यो वास्तविक अर्थमा समाजवादी कार्यदिशा नभई पुँजीवादी अर्थात् साम्राज्यवादी कार्यदिशा नै हो । वस्तुतः आज उनीहरुले साम्राज्यवादी कोणबाट जडसूत्रवादको विरोधका नाममा माक्र्सवादमाथि नै हमला बोलिरहेका छन् ।

पार्टी एकीकरण अर्थात् माकेको एमालेमा विलयको समयमा आयोजित कार्यक्रममा बोल्दै एमाले र माकेका दुवै अध्यक्षले पार्टी एकतालाई दुई पार्टीको मिश्रण नभएर यौगिक अर्थात् अन्तर्घुलन हो भन्ने कुरा बताएका थिए । यहाँनेर हामीले के बुझ्नु पर्दछ भने त्यसलाई मिश्रण वा यौगिक जे बताए पनि माकेको एमालेकरण नै हो । आफ्नो भाषणको क्रममा तत्कालीन माकेका अध्यक्ष प्रचण्डले यस प्रकारको घटनाक्रमलाई नयाँ युगको शुभारम्भ र गुणात्मक छलाङ बताएका थिए । वस्तुतः त्यो पुरानै युगतर्फको अतीतमुखी यात्रा र पश्चगामी छलाङबाहेक अरु केही होइन ।

अन्तमा हामीले कुन कुरामा विशेष जोडदिन जरुरी छ भने, क्रान्तिले गम्भीर धक्का खाएको र दक्षिणपन्थी संशोधनवादले प्रतिक्रियावादी स्वरुप ग्रहण गरेको वर्तमान अवस्थामा क्रान्तिकारी आशावादले समृद्ध भई नयाँ जनवादी क्रान्तिको तयारी र क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध तुल्याउने दिशामा दृढतापूर्वक अगाडि बढ्नु पर्दछ । वैज्ञानिक समाजवाद हुदै साम्यवादतर्फ अगाडि बढ्नु हाम्रो लक्ष हो । प्रतिक्रियावाद तथा संशोधनवादको पतन र क्रान्ति तथा माक्र्सवादको विजय अनिवार्य छ ।

  • मूलबाटोबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]