Dabali News

बेपत्ता रहेका चर्चित आरोही पेट्रोको खोजीकार्य तिव्र

चीनले पहिलो पटक नेपालको हेलिकोप्टर उडाउन ४ दिनका लागि दियो अनुमति

१ जेष्ठ

काठमाडौं । सहयोगीविना नै १० वटा हिमाल आरोहण गरेका बुल्गेरियाका पर्वतारोही बोयान पेट्रो तिब्बतको सिसापाङ हिमाल चढ्ने क्रममा हराएका छन् ।

उनी हराएको १० दिनसम्म फेला परेका छैनन् । काठमाडौंको मकालु एडभाञ्चर प्रालिमार्फत गएका उनी अप्रिल २९ तारेखदेखि सम्पर्कविहीन छन् ।

सिसापाङ हिमालको पहिलो आधार शिविरबाट शिखरतर्फ एक्लै अगाडि बढेका उनी आरोहण गरेर फर्किनुपर्ने अनुमानित समयसम्म नआएपछि खोजी सुरु गरेको मकालु एडभेञ्चर प्रालिका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिएका छन् ।

अप्रिल २९ तारेखमा पहिलो आधार शिविरबाट अगाडि बढेका उनी दोस्रो, तेस्रो आधार शिविर हुँदै शिखरमा पुगेर कम्तीमा मे महिनाको ४ वा ५ तारेखमा पहिलो आधारशिविरमा आइसक्नुपर्ने थियो । तर उनी नफर्किएपछि उद्दारकर्ता र हेलिकोप्टरमार्फत खोजी सुरु गरिएको बताइएको छ ।

उनले भने, ‘हाम्रो अनुमानमा मे ३ तारेखमा समिट गरेर ४ तारेखमा फर्किसक्नुपर्ने थियो, ५ तारेखसम्म नझरेपछि खोजी सुरु गरेका हौं ।’ हिँडेको ४ दिनपछि शिखरतर्फ गएको हंगेरीको एक टोलीले तेस्रो आधार शिविरमा पेट्रोको टेन्ट र म्याट फेला पारेको थियो । उक्त टोली खराब मौसमका कारण हिमाल आरोहण नगरी आधार शिविरमा फर्किसक्दा पनि पेट्रो फर्किएनन् । ‘हामीले पहिलो प्रयासमा शेर्पाहरुको टोली माथि पठायौं, तर हिउँ परेपछि उक्त टोली फर्कियो’ लम्सालले भने ‘त्यसपछि हेलिकोप्टर पठाउन डिप्लोम्याटिक च्यानलमार्फत प्रयास र्गयौं ।’ उनको उद्दारमा नेपालबाट पहिलो पटक हेलिकोप्टर पठाइएको छ ।

चीनले नेपालको निजी क्षेत्रलाई पहिलो पटक ४ दिनका लागि २ वटा हेलिकोप्टर उडाउन अनुमति दिएको छ । चीन सरकारले हराएका आरोही पेट्रोको उद्दारका लागि मे महिनाको १०, ११, १२ र १३ तारेखमा सिम्रिक एयरको २ वटा हेलिकोप्टर तिब्बतमा उडाउन अनुमति दिएको छ ।

४ दिनसम्म २ हेलिकोप्टरले सिसापाङ हिमालको शिखरदेखि १० मिटर तलसम्म पुगेर खोजी गर्दा पनि पेट्रोबारे कुनै समाचार ल्याउन सकेको छैन । पेट्रो नभेटिनु दुखद भए पनि तिब्बतमा नेपालबाट हेलिकोप्टर लगेर उद्दार गर्न पाउनु नेपाली पर्यटन क्षेत्रका लागि सुखद खबर भएको लम्सालले बताए ।

हाल तिब्बती भूमिबाट नेपाल र तिब्बतकै हिमाल चढ्नका लागि ३ देखि ४ हजार पर्यटक जाने गरेका छन् । पेट्रोको खोजीका लागि चीन सरकारले हेलिकोप्टर उड्न अनुमति मात्र होइन, १० जनाको उद्दार टोली नै पठाइ दियो । मे १३ तारेखमा चीनका १० जना उद्दारकर्ताले सिसापाङ हिमालको टुप्पोभन्दा १५ मिटर तलसम्म पुगेर खोजी गरेका थिए । तर त्यतिबेला आधारशिविरमा रहेको पेट्रोको टेन्टसमेत फेला नपरेको लम्साल बताउँछन् ।

आरोही पेट्रो मधुमेहका विरामी थिए । खाना खानुअघि आफैंले इन्सुलिन लगाउँथे । उनले मकालु एडभेञ्चरलाई आफूलाई चिनीरहित खानेकुराको व्यवस्था गरिदिन भनेका थिए । ‘हाम्रा कुकहरुलाई त्यही अनुसार व्यवस्था गर्न लगाएका थियौं’ लम्सालले भने ।

तर, पहिलो आधार शिविरबाट सहयोगीविना नै अघि बढेका थिए । ८ हजार मिटर भन्दा अग्लो १० वटा हिमाल आरोहण गरेका पेट्रो ११ औं आरोहणका क्रममा उनी सम्पर्कविहीन भएका हुन् । उनले आरोहण गर्न अप्ठेरो मानिएको पाकिस्तानको माउन्ट केटू र नेपालको धौलागिरी हिमालसमेत सहयोगी विना नै आरोहण गरेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]