Dabali News

सकियो भ्रमणः ओलीले मोदी पाए, मोदीले अरुण नदी पाए

२९ बैशाख

कठमाडौँ । भारतीय प्रधानमन्त्री दुई दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । राजकीय भ्रमण सकेर मोदी शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गरे ।

शुक्रबार जनकपुरबाट मोदीले आफ्नो भ्रमणको सुरु गरेका थिए । जानकी मन्दिरमा विशेष पूजासहित भ्रमण सुरुवात गरेका मोदीलाई जनकपुरमा नागरिक तर्फबाट प्रदेश नम्बर दुईको सरकारले अभिनन्दन समेत गरेको थियो । अभिनन्दन कार्यक्रममा बोल्दै मोदीले प्रदेशको विकासको लागि भन्दै १ अर्ब सहायता दिने आश्वासन दिए । जनकपुर जयनगर रेल यो वर्षभित्र पूरा गर्ने, नेपाललाई भारतको रेल सञ्जालमा जोड्ने बताउँदै मोदीले रक्सौल काठमाडौं रेलका साथै जलमार्गबाट पनि जोड्न चाहेको बताए ।

मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाल अभियान आफ्नो आफ्नो ‘सवका साथ साबका विकास अभियान’सँग मेल आएको भन्दै सफल बनाउन भारतले सहयोग गर्ने आश्वासन दिए ।

मोदीको भाषण यतिमा मात्रै सिमित रहेन । उनले नेपाल भारत सम्वन्ध राजनीति, कूटनीतिसँग देव नीतिले पनि बाँधिएको चर्चा गरे ।
मोदी जनकपुरबाट काठमाडौँ आएर खाना खाए । र, भेटवार्ता सुरु गरे । पहिलो उपराष्ट्रपतिलाई भेटेका मोदीले राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि भेटे । मोदी र ओलीबीच तारे होटलमै गोप्य वार्ता भयो । सबैलाई नेपालको विकासमा सहयोग गर्ने बचन दिए ।

जनकपुरदेखि आश्वासन दिँदै आएका मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले अरुण–३ जलविद्युत आयोजनाको शिलन्यास समेत गरे । ९ सय मेगावाट क्षमताको यो अायोजना राष्ट्रहितमा नभएको भन्दै जनस्तरबाटै उठेको विरोधलाई बेवास्ता गर्दै ओलीले सुम्पिए । विजुलीभन्दा पनि अरुण नदी हात पार्ने मोदीको मुख्य योजना थियो । अरुण त देखिएको हो, नदेखिएका सम्झौता के भए भन्ने कुरा खुल्दै जालान् ।

भ्रमणको दोस्रो दिन मोदीले मुक्तिनाथको पूजा गरेर सुरु गरे । शनिबार विहानै मुक्तिनाथ पुगेका मोदीले पूजा गरे । मुक्तिनाथको अहिलेसम्म गोप्य राखिएको क्षेत्रमा भारतीय संचारमाध्यमहरुलाई प्रवेश दिएर प्रत्यक्ष प्रसारण गर्न पनि मोदी सफल भए । नेपाली मिडियालाई निषेध गरिएपनि भारतीय मिडियाले मन्दिरका सबै ठाउँको प्रत्यक्ष प्रसारण गरेर अहिलेसम्मकै गोपनियता भंग गरिदिए । मोदीको मुख्य मिशन पूजा भन्दापनि मुक्तिनाथको गोप्य कुरा बाहिर ल्याउने रहेको बताइन्छ ।

त्यसपछि मोदी पशुपतिनाथ पुगे । पशपतिलाई चार वर्ष पहिलो २५ करोड सहयोग घोषणा गरेका थिए । सहयोग नपुग्दै दोस्रो पटक पशुपतिनाथमा पुगे । ‘नकचरा’ मोदीले पहिले घोषणा गरेको सहयोग नपुगेपनि फेरि सहयोगको आश्वासन दिए ।

दिउँसो मोदीले राजनीतिक पार्टीका नेताहरुसँग भेटवार्ता गरे । नेताहरु मोदीलाई भेट्न तारे होटल पुगे । भेटमा सीमालगायतका विषयलाई प्रचण्डले केही मात्रामा उठाए पनि अरु नेताले हस् भन्दै फर्किएको बताइन्छ । त्यसैगरी काठमाडौँ महानगरले नागरिकको नाममा गरेको अभिनन्दनमा मोदीले भाषण गरे । राष्ट्रिय सभागृहमा गरिएको सम्मानमा नेपाल सरकारलाई सहयोग गर्न भारत शेर्पा बन्ने बताए । सगरमाथा चढ्दा शेर्पाले गरेको सहयोग जस्तै नेपालको विकासको लागि भारत शेर्पा बन्ने बताए । काठमाडौँको चाबी हात पारेका मोदीले यहाँ पनि झुटो आश्वासन दिए ।

भिकारी पारा देखाउने नेपालका नेताहरु मोदीका आश्वासनबाटै मख्ख छन् । जनकपुरमा मुख्यमन्त्री लालबाबु रावतले देखाएको भिकारी पारा र काठमाडौँमा विद्यासुन्दरले देखाएको पारा शब्दमा फरक भएपनि आशयमा एउटै छ ।

मोदीले दिने आश्वासन पूरा नगर्ने कुरा त भूकम्पीडितलाई सहयोग दिने भनेर गरेको घोषणा पूरा नगरेकाबाटै पुष्टि भइसक्दा पनि फेरि किन मख्ख पर्दा हुन् हाम्रा नेताहरु बुझिनसक्नु छ ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाई मोदीले फोन गरेर भूकम्प पीडितको लागि सहयोग गर्ने भनेर दिएको बचन पनि पूरा गरेनन् । भूकम्प भएकै दिन २०७२ शनिबार नै कोइरालालाई मोदीले फोन गरेका थिए । त्यसपछि नेपालले सहयोग जुटाउन होटल हिमालयनमा आयोजना गरेको कार्यक्रममा भारतको तर्फबाट घोषणा गरिएको सहयोग पनि अझै आएको छैन ।

मोदी फिर्ता भएलगत्तै सरकारले मोदीको भ्रमण सफल भएको बताएको छ । सरकारले मोदीको भ्रमण सफल भएको बतायो । ठिकै हो, मोदीको मिशन सफल भयो तर नेपालले के पायो ? भन्ने कुरा सरकारसँगै छैन । केबल झुटो आश्वासनका पाका ओली सरकारले पायो भने भारतले अरुण नदी पायो । मोदीले नेपालमा हतियारसहित आफ्नो सेनालाई परेड खेलाउन सफल भए, मुक्तिनाथको गोपनियताको भंग गर्न सफल भए, माथिल्लो मुस्ताङ पुग्न सफल भए । यी सबै सफलता भन्दा सबैभन्दा ठूलो सफलता भनेकै अरुण नदी कब्जा हो । अब भन्ने सकिन्छ कि, मोदीले झुटो आश्वासन दिए तर ओलीले अरुण नदी दिए । अझ यसो भनौं ओलीले मोदी पाए, मोदीले अरुण नदी पाए ।

ओलीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास गरेर राष्ट्रहित विपरित कार्य गरेको भन्दै सडकसम्मै विरोधका आवाज उठेका छन् । मोदीको भ्रमणको क्रममा भएका सम्झौताको विरोध गरेकै कारण देशभरबाट दर्जनौंलाई गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले शनिबारै सडकमै निस्केर विरोध प्रदर्शन गरिरहेका छन् । नेकपाले र क्रान्तिकारी माओवादीले काठमाडौँमै विरोध गरेका थिए । सोही क्रममा क्रान्तिकारी माओवादीको वरिष्ठ नेता सीपी गजुरेलसहित देशभरबाट ५४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले मोदीको भ्रमण राष्ट्रघातकै निरन्तरता भएको भन्दै आइतबार नेपाल बन्दको आयोजना गरेको । पार्टीका महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गरेर नेपाल बन्दको घोषणा गरेका हुन् । विप्लवले मोदीको भ्रमण राष्ट्रघातकै श्रंखला भएको बताएका छन् ।

यस्तो छ विप्लवको विज्ञप्ति

हाम्रो पार्टी नेपाल र नेपाली जनताको पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी संघर्ष गर्दैगर्दा हाम्रा कैयौं नेता र कार्यकर्ताहरुलाई यो सरकारले दिनदिनै गिरफ्तार गर्ने, बेपत्ता बनाउने, चरम यातना दिइरहेको छ । यसरी एकातिर यो दलाल संसदीय व्यवस्थाका पहरेदारहरुले उनीहरुले आफै बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई पनि कुल्चि रहेका छन् भनें अर्कोतिर आफूलाई राष्ट्रवादी भन्ने गरेको यो केपी प्रचण्डको सरकारले नेपालको राष्ट्रियता, राष्ट्रिय खण्डतामा गम्भीर आघात पुग्ने काम गरिराखेको छ । यसैको पछिल्लो ृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त, भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।

आज मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामू परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ÷संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ । मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले यही वैशाख ३० गते आइतबारका दिन नेपाल बन्दको घोषणा गरेका छ ।

केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ । उक्त नेपाल बन्दलाई सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीको सहयोग, समर्थन र ऐक्यबद्धताको अपेक्षा राखेका छौं ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]