Dabali News

नेपाल कम्युनिस्ट पार्टीको ६९ बर्से यात्राः वर्ग सङ्घर्षको दस्ताबेज

रसियाली अक्टोबर क्रान्तिको ३२ वर्षपछि र चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको वर्ष अर्थात् सन् १९४९ मा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कमरेड पुष्पलालको नेतृत्वमा अप्रिल २२, वैशाख १०, २००६ मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी अब ६९ वर्षको भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ६९ बर्से यात्रा आफैँमा वर्गसङ्घर्षको दस्ताबेज हो । यस क्रममा यसले भित्री र बाहिर दुवै क्षेत्रमा सङ्घर्ष गर्नु पर्यो । यसको समग्र इतिहासलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति दुवैले प्रभावित पारेको छ र आन्तरिक रूपमा दक्षिणपन्थी संशोधनवाद र ‘वामपन्थी’ विचलनवादका विरुद्ध सङ्घर्ष गर्दै मालेमावादी क्रान्तिकारी धारको विकास र रक्षा गर्दै यो आजको स्थितिमा आइपुगेको छ ।

समग्र इतिहास हेर्दा यसले समयसमयमा ‘वामपन्थी’ विचलनका विरुद्ध पनि सङ्घर्ष गर्नु परेको भए पनि दणिपन्थी संशोधनवादी प्रवृत्तिका विरुद्ध यसको लडाइँ प्रधान बनेको छ । त्यसै गरी बाह्य तहमा सामन्त तथा दलाल पुँजीपति वर्ग र आन्तरिक तहमा संशोधनवादका विरुद्धको लडाइँ यसको प्रधान पक्ष बन्यो र अहिले पनि बनिरहेको छ । वर्तमान स्थितिको अभिरखाङ्कनअघि सङ्क्षिप्तमा यसको इतिहास प्रस्तुत गर्नु आवश्यक छ ।

ऐतिहासिक क्रमबद्धता

नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि आरम्भमा सैद्धान्तिक–वैचारिक र व्यावहारिक तीनै क्षेत्रमा यसको विकासको गति तीव्र भयो । राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुनु, प्रचारात्मक आन्दोलन बिस्तारै सहरबाट गाउँतिर पस्नु र ग्रामिण क्षेत्रमा किसान सङ्घर्ष विस्तारित हुनु र बौद्धिक क्षेत्रमा तीव्र वैचारिक सङ्घर्ष चल्नु नेपालको कम्युनिस्ट आन्दोलनको प्रारम्भिक चरणका विशेषताहरू हुन् ।

२०१० सालमा यसको प्रथम महाधिवेशन भयो । वैचारिक र राजनीतिक प्रचारप्रसारको क्षेत्रमा भएको तीव्रतम गतिसँगै कम्युनिस्ट पार्टीभित्रै विभिन्न किसिमका अन्तर्विरोधहरू देखापर्न थाले । यसमा आन्तरिक र बाह्य दुवै पक्ष कारकतत्व बनेर देखापरे । गठन हुँदाताका यसमा देखिएको सापेक्षित क्रान्तिकारी धारमा २०१२ नपुग्दै विचलनका प्रारूपहरू खुलेर सतहमा आउनथाले । तत्कालीन महामन्त्री मनमोहन अधिकारीले पार्टीलाई वैधानिक गराउने नाममा राजाको वैधानिक नायकत्व स्वीकार गरी शान्तिपूर्ण ढङ्गले काम गर्न राजालाई बिन्तीपत्र चढाउने जस्तो विसर्जनवादी–सुधारवादी बाटो अँगाले ।

नेपालको कम्युनिस्ट आन्दोलन आफैँमा शिशु अवस्थामा रहेको बेलामा देशभित्रको विशिष्ट पक्ष र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापर्न थालेको विभाजनको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा पनि बिस्तारै देखापर्न थाल्यो । खासगरेर रूसमा स्टालिनको मृत्यु र रूसी बीसौँ पार्टी काङग्रेससको ‘शान्तिपूर्ण सङ्क्रमण’ को राजनीतिसँगै देखापरेको स्टालिनविरोधी अभियान र चीनविरोधी चिन्तन र व्यवहारका कारण विश्वकम्युनिस्ट आन्दोलन प्रभावित भयो र यो पनि विभाजनको कारकतत्व बन्यो ।

नेपाल कम्युनिस्ट पार्टी राजावादी र गणतन्त्रवादी खेमामा विभाजित भएर विवाद र बहस चर्किरहेको अवस्थामा रूसी कम्युनिस्ट पार्टीको बीसौं पार्टी काङ्ग्रेसले लिएको वैचारिक र राजनीतिक नीति र कार्यक्रमको प्रभावले नेपाली कम्युनिस्ट आन्दोलनलाई पनि प्रभावित पार्यो । नेपाल मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलन नै र रूसी र चिनियाँ ध्रुवमा विभाजित भयो । यस्तै राष्ट्रिय र अन्तराष्ट्रिय परिवेशका बीच ‘राजा’ महेन्द्रले २०१७ सालमा सैन्य ‘कु’ मार्फत सम्पूर्ण सत्ता र शक्ति आफ्नो हातमा लिए । यस किसिमको परिस्थितिले जनसङ्घर्ष र वर्गसङ्घर्षका साथै सिङ्गो कम्युनिस्ट आन्दोलनमा असर पर्नु स्वाभाविक थियो । फलस्वरूप नेपालको कम्युनिस्ट आन्दोलनमा फूट, विभाजन, गतिहीनताका साथै नीतिगत र वैचारिक अस्पष्टता, विवाद र बहसका नयाँनयाँ रूपहरू देखापर्न थाले । क्रन्तिकारी कार्यनीति, कार्यदिशा र संशोधनवादी र सुधारवादी कार्यदिशाबीच मतभेद र सङ्घर्ष तीव्र बन्दै गयो । व्यवहारमा रूसी र चिनियाँ ध्रुव भनिए पनि सारमा यो विभाजन क्रान्तिकारी र संशोधनवादी चिन्तन र व्यवहारमा ध्रुवीकृत भयो र यसो हुनु स्वाभाविक पनि थियो । यो ध्रुवीकरणमा क्रान्तिकारीहरू माओले अघि सार्नुभएको ‘महान बहस’ र ‘आम कार्यदिशा’ को पक्षमा उभिए ।

नेपालको कम्युनिस्ट आन्दोलनमा बीसको दशक तीव्र वैचारिक सङ्घर्ष र विभाजनको दशक रह्यो । खासगरेर सन् १९६० को दशकको ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ले पारेको विश्वव्यापी प्रभावको आलोकमा भारतको दार्जीलिङ जिल्लाको नक्सलवाडी गाउँमा कमरेड चारु मजुमदारको नेतृत्वमा चलेको किसान आन्दोलनले तीव्रता लिएपछि यसको प्रभाव भारतमा मात्र नभएर पूर्वी नेपालको झापामा पनि पर्यो । ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ समाजवाद निर्माणका क्रममा चिनियाँ संशोधनवादका विरुद्ध र मार्क्सवाद–लेनिनवादको रक्षा र क्रान्ति र सर्वहारावर्गका पक्षमा गरिएको निरन्तर क्रान्तिको महान् अभियान थियो । यसले विश्वव्यापी रूपमा क्रान्तिको पक्षमा कि संशोधनवादको पक्षमा भन्ने पक्षधरता र प्रतिबद्धताको आन्दोलनका लागि तीव्र वैचारिक सङ्घर्ष चलायो । चीनमा लिउ साउचिलगायतका संशोधनवादीहरूका विरुद्ध आन्दोलन चलाएझैँ हरेक मुलुकभित्र संशोधनवाद र रूसी सामाजिक–साम्राज्यवादका विरुद्ध सङ्घर्ष तीव्र हुँदै गयो । यसै क्रममा मार्क्सवाद–लेनिनवाद र माओ विचारधाराको पक्षमा झापाका युवा क्रान्तिकारीहरूले विद्रोहको झण्डा उठाए । नेपालको कम्युनिस्ट आन्दोलनमा यसलाई ‘झापा विद्रोह’ को संज्ञा दिइने गरिएको छ । जडसूत्रवादी र यान्त्रिक किसिमका केही कमीकमजोरीका अतिरिक्त पनि यो एउटा बसन्ते गर्जन थियो । थुप्रै कमीकमजोरीका बाबजुद पनि सारतः यो क्रान्तिकारी उद्देश्य र अभिप्रायद्वारा अभिप्रेरित र उत्प्रेरित आन्दोलन थियो ।

‘झापा विद्रोह’ ले राजनीतिक क्षेत्रमा नयाँ लहर ल्याउनुका साथै एकता र पुनर्गठनको नयाँ जागरण पनि पैदा गर्यो । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को निर्माण भयो । मोहनविक्रम सिंह, भक्तबहादुर श्रेष्ठ, निर्मल लामा, मोहन बैद्य, ऋषि देवकोटा ‘आजाद’ सीपी गजुरेललगायतका नेताहरू यसैबेला जनताबीच परिचित बने । चौथो महाधिवेशन बनेपछि पनि त्यहाँभित्र पार्टी र क्रान्तिलाई कुन दिशातिर लैजाने भन्ने विषयमा तीव्र विवाद र बहसहरू निरन्तर रूपमा जारी रहे । यस क्रममा ‘नेपाल कम्युनिस्ट पार्टी चौथो केन्द्रीय समितिको प्रथम प्लेनम’ (२०३८) मा कमरेड भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ द्वारा प्रस्तुत प्रतिवेदनले विचार र राजनीतिको क्षेत्रमा अहम् महत्व राख्दछ । क्रान्तिकारी विचार र सारसङ्ग्रहवाद–सुधारवादविरुद्ध चलेको तीव्र वैचारिक सङ्घर्षका कारण २०४० सालमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) विभाजित भयो । निर्मल लामाले चौथो महाधिवेशन समूहलाई निरन्तरता दिए भने क्रान्तिकारी धारलाई अघि बढाउने उद्देश्यका साथ पुनर्ग्ठित भएको नेपाल कम्युनिस्ट पार्टी (मशाल) मा मोहनविक्रमको व्यक्तिवादी, छाडावादी र सारसङ्ग्रहवादी–फूटपरस्तवादी चिन्तनले गर्दा पार्टीले मोहनविक्रममाथि कार्बाही गर्यो । यस कार्बाहीपछि मोहनविक्रम र चित्रबहादुर केसीहरू नेपाल कम्युनिस्ट पार्टी (मसाल) अर्थात् पातलो मसालका नाममा विभाजित भए ।

२०४१ सालपछि नयाँ–पुराना कमरेडहरू भक्तबहादुर श्रेष्ठ, चन्द्रप्रकाश गजुरेल, ईश्वरी दाहाल, पुष्पकमल दाहाल, रामबहादुर थापालगायतका कमरेडहरूको सशक्त जमात कमरेड किरणको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) मा सङ्गठित भएर अघि बढ्यो । त्यसपछि वैचारिक, राजनीतिक र साङ्गठनिक हरेक क्षेत्रमा नीति, योजना र कार्यक्रमको प्रस्टतासहित माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति र रूसी संशोधनवादका विरुद्ध वैचारिक बहसलाई तीव्र पार्दै मार्क्सवाद(लेनिनवाद र माओ विचारधाराका पक्षमा नेकपा (मशाल) दृढताका साथ उभिएर वर्गसङ्घर्षको क्षेत्रमा सक्रिय भयो । यसले दीर्घकालन जनयुद्धको बाटो नै नेपाली क्रान्तिको बाटो भन्ने वैचारिक(राजनीतिक कार्यदिशा अघि सार्यो । यस क्रममा सन् १९८४ मा स्थापना भएको विश्वका क्रान्तिकारीहरूको अन्तराष्ट्रियतावादी सङ्गठन ‘रिम’ मा नेकपा (मशाल) आबद्ध भयो र मार्क्सवाद–लेनिनवाद–माओवादलाई नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त मानेर दीर्घकालीन जनयुद्धको पक्षमा दृढताका साथ उभियो । यसै बेलादेखि नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका सबैखाले अवसरवादका विरुद्ध निर्मम सङ्घर्ष गर्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ गति र दिशामा अघि बढाउने काममा पनि तीव्रता आएको हो ।

पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त सङ्घर्ष

२०३६ सालमा जनमतसङ्ग्रह गर्दा पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त र सशक्त किसिमले आन्दोलन बढाउन सकेको स्थिति थिएन । नेपाली कम्युनिस्ट आन्दोलन त्यसपछिका दिनहरूमा पनि टुटफुट, वैचारिक सङ्घर्ष र शुद्धीकरणका प्रयासहरूको प्रक्रियाबाट गुज्रियो । आआफ्नै किसिमले सामन्तवादविरुद्ध वैचारिक र राजनीतिक आन्दोलन चलाइरहेको अवस्थामा २०४५र४६ सालमा पुग्दा पञ्चायती व्यवस्थाका विरुद्ध संयुक्त भएर कसरी जान सकिन्छ भन्ने विषयमा बहस र छलफलको थालनी हुनथाल्यो । एकथरी राजनीतिक शक्तिहरू नेकपा (माले), नेकपा (चौम), मनमोहन समूह ‘वाम मोर्चा’ का नाममा नेपाली काङ्ग्रेसको सेरोफेरोमा केन्द्रित भए भने क्रान्तिकारी शक्तिहरू गोलबद्ध भएर ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ को नाम दिएर संयुक्त मोर्चाका साथ क्रियाशील भए । नेपाली काङ्ग्रेस र ‘वाम मोर्चा’ ले चलाएको आन्दोलन करिबकरिब विसर्जनतिर पुगेको अवस्थामा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ को नेतृत्वमा भएको आन्दोलनले नयाँ गति लियो । २०४६ साल चैत्र २४ को विशाल जनउभार यसैको परिणाम थियो । यस आन्दोलनले पहिलोचोटि राजतन्त्रका विरुद्ध गणतन्त्रको नारा र उद्देश्य प्रकट गर्दै सिंहदरबार र राजदरबारविरूद्ध जनसागरको नेतृत्व गर्यो ।

‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ ले नेतृत्व गरेको आन्दोलन अग्रगामी गति र दिशातिर सक्रिय हुन थालेपछि काङ्ग्रेस–‘वाममोर्चा’ र राजदरबारबीच राजनीतिक सम्झौता भयो । संवैधानिक राजतन्त्रात्मक व्यवस्थाको पक्षमा भएको यस सम्झौतालाई ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ को नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (मशाल) लगायतका पार्टीहरूले धोकापूर्ण सम्झौताको संज्ञा दिँदै आन्दोलनका सकारात्मक पक्षहरूको रक्षा र विकास गर्दै सङ्घर्षलाई आमूल परिवर्तनको दिशामा अघि बढाउनुपर्ने कुरामा जोड दिए ।
क्रान्तिकारीहरूबीच ध्रुवीकरणको प्रक्रियाः एकताकेन्द्रको निर्माण

फेरिएको परिस्थितिमा क्रान्तिकारी आन्दोलनलाई नयाँ किसिमले अघि बढाउन आधारभूत सिद्धान्तमा समानता भएका विभिन्न घटक तथा समूहहरूसित कार्यगत एकता र पार्टीएकता गरेर अघि बढ्नु आवश्यक थियो । नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले यसको अगुवाइ गर्यो र फलस्वरूप कमरेड निर्माण अर्थात् प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाई नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) को निर्माण भयो । यसमा नेकपा (मशाल), नेकपा (चौम), मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) बाट विद्रोह गरी बनेको हरिबोल गजुरेल ‘शितलकुमार’ को नेतृत्वको ‘मसाल’ र रूपलाल विश्वकर्माको नेतृत्वको ‘सर्वहारा श्रमिक सङ्गठन’ समूहहरू सम्बद्ध थिए ।

एकताप्रक्रियासँगै यसले विचारधारात्मक प्रस्टता, प्रधान अन्तर्विरोधको किटान, संयुक्त मोर्चाको आवश्यकता, वर्गसङ्घर्षको दिशा र नयाँ जनवादी क्रान्तिको कार्य्दिशाका बारेमा प्रस्ट भएर नयाँ किसिमले अघि बढनुपर्ने कुरामा जोड दियो । मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथ प्रदर्शक सिद्धान्त मान्दै सशस्त्र सङ्घर्षद्वारा सत्ता कब्जा गर्ने मूल दिशालाई अँगालेर त्यसमा पनि ग्रामिण वर्गसङ्घर्षमा जोड दिएर दीर्घकालीन जनयुद्धको बाटोमा अघि बढ्नुपर्छ भन्ने धारणालाई एकताकेन्द्रभित्रका क्रान्तिकारीहरूले जोड दिए । तर, सशस्त्र सङ्घर्षभन्दा वैधानिक सङ्घर्ष, ग्रामिण वर्गसङ्घर्षभन्दा सहरिया आन्दोलनलाई जोड दिने एकताकेन्द्रभित्रको निर्मल लामा समूहले एकताकेन्द्रभित्रको क्रान्तिकारी पक्षले अघि सारेको क्रान्तिकारी कार्यनीतिको गति, दिशा र महत्वलाई आत्मसात गर्न सकेन । विवादहरूलाई सम्मेलनमार्फत समाधान गरी एकताकेन्द्र क्रान्तिकारी दिशामा अघि बढ्यो । यसलाई पार्टी दस्ताबेजमा यसरी उल्लेख गरिएको छ – “एकता महाधिवेशनमा पार्टीका तमाम कम्युनिस्ट क्रान्तिकारीहरूको सामूहिक प्रयासद्वारा क्रान्तिकारी राजनीतिक कार्य्दिशा पारित भएपछि त्यसलाई व्यवहारमा उतार्ने प्रक्रियामा निर्मल लामा, रूपलालासमेतले नेतृत्व गरिरहेका सुधारवादी र विसर्जनवादी पक्षबाट प्रत्यक्ष व्यवधान खडा गरियो । ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिको विशिष्ट अवस्थामा गरिएको पहिलो संसदीय निर्वाचनको सीमित उपयोगलाई संशदवादी धारमा मोडन चाहने यो सुधारवादी र विसर्जनवादी प्रवृत्तिसँग निर्णायक सङ्घर्ष नगरी पार्टीकार्य्दिशाको कार्यान्वयन हुन नसक्ने कुरा स्पष्ट थियो । यो विसर्जनवादी पक्षका पार्टीबाहिरका गलत तत्त्वहरूसँग समेत साँठगाँठ गरी पार्टीका सम्पूर्ण गोपनीयता भङ्ग गर्ने, खुलेआम गुटबन्दी र षडयन्त्र गर्नेजस्ता अनैतिक क्रियाकलापले पार्टी कार्यदिशाको कार्यान्वयनलाई असम्भव बनाइरहेको थियो । महाधिवेशनपछिको करिब तीन वर्षसम्मको अतन्त्य कठोर सङ्घर्षपश्चात् विसर्जनवादीहरूलाई निष्काशन गर्न पार्टी सफल भयो । …यसरी प्रथम राष्ट्रिय सम्मेलनमार्फत दक्षिणपन्थी विसर्जनवादीहरूलाई निष्काशित गरिएपछि पार्टी कार्य्दिशा कार्यान्वयनको व्यावहारिक ढोका खुल्यो । राष्ट्रिय सम्मेलनले सिङ्गो पार्टीमा उत्साह र क्रान्तिकारी कार्यदिशा कार्यान्वयन गरीछाड्ने सङ्कल्पमा गुणात्मक वृद्धि गरायो । सम्मेलनले पार्टीलाई जनयुद्धको तयारी र पहलमा ध्यान केन्द्रित गर्न निर्देशित गर्यो ।”

त्यसपछि २०५१ सालमा भएको पार्टीको तेस्रो विस्तारित बैठकले एकदमै नयाँ, महत्त्वपूर्ण र युगान्तकारी निर्णय गर्यो । यस बैठकले ‘एमाले प्रतिक्रियावादमा पतन’ र मोहनविक्रमले नेतृत्व गरेको नेकपा (मसाल) ‘नवसंशोधनवादमा पतन’ भनेर तिनका बारेमा ठोस धारणा बनाउँदै पार्टीको क्रान्तिकारी परिचयलाई व्यवहारमा समेत मूर्तीकृत गर्न पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्यो र जनयुद्धको तयारीमा आफूलाई केन्द्रित गर्यो ।

माओवादी नामाङ्कन र जनयुद्धको तयारी

क्रान्तिकारी कार्यदिशालाई शब्द र कर्ममा आत्मसात नगर्ने र पार्टीलाई गति दिन नचाहनेहरूलाई पार्टीबाट निष्काशन गरेपछि रूप र सारमा एकरूपता र गुणात्मकता ल्याउन माओवादी पार्टी विचार र व्यवहारमा नयाँ ऊर्जाका साथ अघि बढ्यो । यसैक्रममा यसले ग्रामिण वर्गसङ्घर्षलाई जोड दिँदै ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने माओवादी अवधारणालाई क्रियात्मक रूप दिन जनयुद्धको तयारीमा आफूलाई घनिभूतरूपमा केन्द्रित गर्यो । दुस्मन र प्रतिक्रियावादीहरूले बढी दमन गरेका क्षेत्रहरू, विगतमा वर्गसङ्घर्षको अनुभव प्राप्त गरेका क्षेत्रहरूलगायत सङ्घर्षमा अग्रणी भूमिका खेल्न सक्ने क्षेत्रहरूको चयनका क्रममा क्षेत्रहरूलाई क, ख, ग मा विभाजित गरी पार्टी जनयुद्धको तयारीमा जुट्यो । पार्टीले वैचारिक–साङ्गठनिक तयारी र प्राविधिक तयारी गर्नुका साथै विभिन्न रूप र माध्यममार्फत जनमत सिर्जना गर्ने र जनतालाई गोलबद्ध गर्ने कामलाई पनि तीव्रताका साथ अघि बढायो । यसका लागि सांस्कृतिक क्षेत्रलाई गतिशील र जुझारू बनाउनुका साथै प्रकाशनको भूमिकालाई पनि प्रभावकारी तुल्याउनमा ध्यान केन्द्रित गर्यो ।

२०५२ साल मङ्सिरमा काठमाडौंमा भएको ‘संयुक्त जनमोर्चा नेपाल’ को पहिलो राष्ट्रिय सम्मेलनले सामन्ती निरङ्कुशतन्त्र र काङ्ग्रेसी आतङ्कविरुद्ध जनमत सिर्जन गर्न ठूलो सहयोग पुर्यायो । यसैक्रममा जनमोर्चाले विविध मागहरू राखी २०५२ माघ २१ गते प्रधानमन्त्री कार्यालयमा ४० बुँदे मागपत्र पेस गरेर त्यसलाई र आमजनतासम्म पुर्यायो । ती मागहरू मूलतः राष्ट्रियता, जनतन्त्र र जनजीवीकासित सम्बद्ध थिए ।

यस्ता मागहरूका बारेमा बहस र छलफल चल्दाचल्दै काङ्ग्रेसी सरकारले रोल्पा(रुकुमखासगरेर रोल्पामा भीषण दमन र आतङ्क मच्चायो । ‘रोमियो अप्रेसन’ नामको यस आतङ्कमा काङ्ग्रेसी सरकारले नेकपा (मशाल) सम्बद्ध मोर्चा ’राष्ट्रिय जनमोर्चा’ का कार्यकर्तामाथि व्यापक दमन गर्यो । हत्या, लूटपाट र बलात्कारका अनगिन्ति घटनाहरू भए । रोल्पाका निर्धानिमुखा जनतामाथि संयुक्त जनमोर्चाको समर्थक भएकै कारण सरकारले असाध्यै वर्वरतापूर्ण दमन गर्यो । मुलुकमा एकातिर दमन र राज्यआतङ्क तीव्र बनेको थियो भने अर्कोतिर भ्रष्टाचार, लूटतन्त्र र राष्ट्रघातका घटनाहरू पनि एकपछि अर्को गरेर घटिरहेका थिए ।

नेपाली काङ्ग्रेसको सरकार जनताको चित्त बुझाउनेतिर भन्दा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई खुसी पारेर सत्तामा टिकिरहने योजनामा लागेको थियो । जनचाहनाको उपेक्षा, फरक मत र विचार राख्नेहरूमाथि दमन र हत्या, सहिद परिवारहरूको अपमान, राष्ट्रघाती कार्यहरू र विदेशी हस्तक्षेपलाई प्रोत्साहनजस्ता जनविरोधी घटनाले जनतामा काङ्ग्रेसी सरकारप्रति आक्रोस र घृणा झन्झन् बढिरहेको थियो । वस्तुगत स्थिति नयाँ किसिमले विकसित भइरहेको थियो । जनताप्रतिको यसै जिम्मेवारी बहन गर्न र नेपाली क्रान्तिको आवश्यकता पूरा गर्न माओवादी पार्टीले २०५२ साल फागुन १ गते नेपाली महान् जनयुद्धको थालनी गर्यो ।

जनयुद्धको आरम्भदेखि ‘शान्तिप्रक्रिया’ सम्मः  सङ्क्षिप्तावलोकन

माओवादी जनयुद्ध जुन गति र दिशाका साथ अघि बढ्यो, यो प्रतिक्रियावादीहरू तथा संशोधनवादीहरूका लागि मात्र नभएर माओवादी जनयुद्धको पहलकर्ताहरूलाई समेत आश्चर्यमा पार्ने खालको थियो । साँच्चै यो चमत्कारी रूपमा अघि बढेको थियो । यसको तीव्रता र गुणात्मककतासँगै यसका विरुद्ध देशीविदेशी शक्तिहरू साँठगाँठ गर्दै जनयुद्ध दबाउन अनेक षड्यन्त्र र दमनका साथ आउनु स्वाभाविक थियो । जनयुद्धको विकासको गतिसँगै पार्टीमा पनि अनेक किसिमका विचलन र विसङ्गतिहरू देखिन थाले । प्रतिक्रियावादी शक्तिहरूले अगाडि सारेका पात्रहरूले गरेझैँ पार्टी्भित्र एक थरीहरूले अनेक बखेडा निकालेर र गत्यावरोध उत्पन्न गर्नथाले । यसमा पोलिट ब्युरो सदस्य बाबुराम भट्टराई ‘लालध्वज’ अग्र पङ्क्तिमा देखापरे ।

पार्टीको चौथो विस्तारित बैठकमा देखापरेको अन्तर्विरोधको स्वरूप विचार र सङ्गठन दुवै क्षेत्रमा भाइरसझैँ भएर विस्तारित भयो । जनयुद्ध हाँकिरहेको पार्टीको सैद्धान्तिक तथा व्यावहारिक तहमा नेतृत्वको केन्दीकरण आवश्यक थियो । तर यो पक्ष पनि नयाँ अतिमा विकसित भयो । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डको भूमिकाको उच्च मूल्याङ्कन गर्ने नाममा उनलाई माओको हाराहारीमा राखेर पार्टीको पथ प्रदर्शक सिद्धान्तमा मालेमासहित ‘प्रचण्डपथ’ थपियो र सँगसँगै विश्वकम्युनिस्ट आन्दोलनका कमीकमजोरीबाट शिक्षा लिने भन्ने नाममा ‘एक्काइसौ शताब्दीको जनवाद’ लाई अघि सारियो । यथार्थत यहँबाट नै सिङ्गो पार्टीमा विचलनको विजारोपण भएको थियो । एकैचोटि व्यक्तिवाद र दक्षिणपन्थी अवसरवादका लागि वातावरण तयार भयो । ‘एक्काइसौ शताब्दीको जनवाद’ पार्टीलाई गलत दिशा दिनका लागि योजनाबद्ध रूपमा खोलिएको ढोका थियो । यो प्रचण्ड(बाबुरामको भावी योजनाको उपज रहेछ भन्ने कुरा समयक्रममा प्रस्ट पनि भयो । पार्टी्भित्रका क्रान्तिकारीहरू समयमै यसप्रति गम्भीर नहुनु उनीहरूको गम्भीर कमजोरी थियो । नेतृत्वको केन्द्रीकरण हुँदै ‘प्रचण्डपथ’ सम्मको यात्राले प्रचण्डलाई महामानवीकरणको स्थितिमा पुर्यायो ।

जनयुद्ध, जनसत्ता र राजनीतिको विकास र विस्तारसँगै पार्टी्भित्र विदेशी शक्तिका लागि काम गर्नेहरू सक्रिय हुनथाले र एकपछि अर्को गरेर क्रान्तिकारीहरू पक्राउ पर्नथाले । क्रान्तिकारीहरूलाई पक्राउ नगरी पार्टीलाई गलत दिशा दिएर संसदीय राजनीतितर्फ मोड्न सम्भव थिएन । कमरेड किरण र गौरवको पक्राउ यसैको उपज थियो । पछि पटनामा क्रान्तिकारी धारका कमरेडहरू मात्रै पक्राउ पर्नु यसैको निरन्तर शृङ्खला थियो । यसको मूल उद्देश्य पार्टीमा क्रान्तिकारी धारलाई वैचारिक र साङ्गठनिक किसिमले कमजोर पार्नु र घरेलु तथा विश्वपरिस्थितिको हवाला दिँदै अनेक बहाना बनाएर पार्टीलाई संशोधनवादी विसर्जनावादी धारतिर लैजानु थियो । चुनवाङ बैठक यसैको उपज थियो । यो पार्टीको दोस्रो राष्ट्रिय सम्मलेनबाट आरम्भ गरिएको वैचारिक योजनाबद्धताको उपज थियो । पार्टीलाई मिहिन पाराले संसदीय धारतर्फ प्रवृत्त गराउनका लागि थालिएको यो अभियानको पहिलो चरण ‘एक्काइसौँ शताब्दीको जनवाद’, स्टालिनको विरोध, किरण कमरेड लगायतका कमरेडहरूको गिरफ्तारी हुँदै चुनवाङ बैठकका निर्णयसम्म पुगेको थियो र चुनवाङ बैठकको निर्णय यसको गुणात्मक रूप थियो ।

यसपछि नै रणनीतिक आक्रमणको स्थितिमा पुगेको पार्टी लोकतान्त्रिक गणतन्त्रको नारा र व्यवहारमा पछाडि फर्केको थियो । चुनवाङ बैठकको निर्णयले नै ‘सात पार्टीबीचको १२ बुँदे’ सहमति भएको थियो । कार्यनीतिक प्रश्न भनेर कार्यकर्तालाई ढाँटे पनि यो ‘सहमति’ रणीतिक उद्देश्यसहित पछाडि फर्केको अभियान रहेछ भनेर पछिल्ला घटनाक्रमहरूले प्रमाणित गरे । चुनवाङ बैठकको वैचारिक आयोजनाको परिणाममा गरिएको ‘सहमति’ जनयुद्धप्रति, सहिदहरूको बलिदानप्रति ठूलो धोका थियो ।

‘१२ बुँदे’ ‘सहमति’ पछिको राजनीति सबैका सामु प्रस्ट छ । कथित शान्तिसम्झौता, जनयुद्धको स्थगित, लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता र संसदीय राजनीतिसितको आबद्धता, जनमुक्ति सेनाको विसर्जन सबै कुराले ‘सहमति’को राजनीतिलाई प्रस्ट्याउँछन् । विश्व कम्युनिस्ट आन्दोलनमा नेतृत्व तहबाट भएको यो भन्दा निःकृष्ट र घिनलाग्दो गद्दारीको इतिहास अन्यत्र पाइँदैन । अहिले बाबुराम घोषित रूपमै माक्र्सवाद विरोधी कित्तामा छन् भने प्रचण्ड नव–संशोधनवादको बाटो हुँदै नव–प्रतिक्रियादमा पतन भएका छन् । बाबुराम भारतीय स्वार्थमा काम गर्ने पात्र हुन् भनेर पार्टीमा गरिएको आशङ्का समयले सही साबित गरिदिएको छ । उनले आफ्नो जिम्मेवारी र निर्देशन राम्रोसित पालना गरेर तीर्थाटनको बाटो रोजेका छन् । पार्टीको उच्च तहमा रहेर प्रचण्डले जसरी बलिदानको इतिहासप्रति, नेपाली जनताको मुक्ति अभियानप्रति जे(जस्तो किसिमको घात गरे यो पीटादायी त छ नै ‘ऐतिहासिक’ पनि छ । प्रचण्डको गद्दारी विश्वकम्युनिस्ट आन्दोलनमा देखापरेको जनघात र राष्ट्रघातको पछिल्लो कडी हो र यो नकारात्मक शिक्षाको सबल उदाहरण हो । पीडादायी भए पनि क्रान्तिकारीहरूले यसबाट शिक्षा ग्रहण गरेर अघि बढ्नुको विकल्प छैन ।

इतिहासको समीक्षा र क्रान्तिकारीहरूको विद्रोह

नेकपा (माओवादी) भित्रको प्रचण्ड–बाबुराम गुटले जनताको बलिदानीपूर्ण इतिहासका विरुद्ध गद्दारी गरेर देशीविदेशी प्रतिक्रयावादीहरूद्धका सामु आत्मसमर्पण गरे पनि पार्टीभित्रका इमानदार र क्रान्तिकारी धारले कहिले देखिने गरी र कहिले मिहिन पाराले पार्टीभित्रका गलत पद्धति र प्रक्रियाविरद्ध सङ्घर्ष गर्दैआयो । यो जति व्यवस्थित र सङ्गठित किसिमले हुनुपर्थ्यो, यो जति योजनाबद्ध किसिमले हुनुपर्थ्यो, त्यो त्यति व्यवस्थित किसिमले हुन सकेन । जनयुद्धकालमा बाबुरामको विस्तारवादपरस्त र दक्षिणपन्थी विसर्जनवादी प्रवृत्तिविरुद्ध जुध्ने क्रममा प्रचण्डभित्र हुर्केको व्यक्तिवादी(अवसरवादी प्रवृत्ति विरुद्ध जुध्ने काममा काममा कमजोरी भयो । वैचारिक सङ्घर्षका कतिपय पक्षहरू प्रधान दुस्मनविरुद्ध लड्ने र पार्टीभित्र एकता बनाइराख्ने नाममा सम्झौतावादमा सीमित भए । यो पक्ष पनि विचारणीय र समीक्षायोग्य छ
चुनवाङ बैठकका निर्णयसम्म पार्टीलाई पुर्याएर संसदीय धारमा ल्याउन किरण लगायतका कमरेडहरूको गिरफ्तारी भएको रहेछ र सबै योजनामा भएको रहेछ भन्ने कुरा समयले प्रमाणित गरेको छ । जसरी प्रचण्ड रातारात गद्दारमा परिणत नभई एउटा निरन्तर शृङ्खलामा गुज्रेर गद्दारमा परिणत भएका थिए, त्यसैगरी पार्टी पनि रातारात र अचानक नव–संशोधनवादमा परिणत भएको थिएन । यो पनि एउटा शृङ्खलामा भएको थियो ।

खासगरेर नेकपा (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलनमा योजनाबद्ध ढङगले अघि सारिएको छद्म संशोधनवादी नारा ‘२१औँ शताब्दीको जनवाद’ र ‘प्रचण्डपथ’ गलत थियो भनेर फरक मत अथवा बहसको स्थिति निर्माण गर्ने काम क्रान्तिकारी पार्टीमा हुन सकेन । ‘२१औँ शताब्दीको जनवाद’ का सम्बन्धमा सामान्य टिप्पणीसम्म उठेको पाइएन । जिम्मेवार र अनुभवी कमरेडहरूले समेत यसमा गम्भीरता प्रस्तुत गरेको देखिएन । त्यसैगरी ‘प्रचण्डपथ’लाई विचारधाराकै रूपमा स्थापित गर्ने प्रयासहरू भए । यसमा तलभन्दा पनि माथि नै समस्या देखियो । मिहिन पाराले वैचारिक आयोजनासहित घरेलु तथा अन्तर्राष्ट्रिय परिस्थितिको हवाला लिएर पार्टीलाई दक्षिणपन्थी संशोधनवादी दिशातिर प्रवृत्त गराइँदैछ भन्ने कुराको समयमै आकलन गरेर ठोस कदम नचाल्नु गम्भीर कमजोरी थियो ।

किरण कमरेडहरू पक्राउ परेपछि चुनवाङ बैठककाच निर्णयहरू विरुद्ध सङ्गठित र योजनाबद्ध किसिमले आवाज उठ्नेरउठाउने काम त झन् नै भएन । स्थिति नै अर्कै भएको थियो । सबै कुरा दिल्लीमै तय भएर आएको र त्यहाँ प्रक्रिया मिलाउनु मात्र थियो भनेजस्तो भएको थियो चुनवाङ बैठक । सबै एकअर्कामा विलिन भएको घोषणा गरियो । थुप्रै कमजोरीहरू भए । कमजोरी कथित शान्तिप्रक्रियामा झन् बढी भए । यो यो कमजोरीहरू भए भनेर ठोसरूपमा नभने पनि नेकपा (क्रान्तिकारी माओवादी) को पोखरा सम्मेलनमा प्रस्तुत दस्ताबेजमा कमरेड किरणले विगतमा आफूहरूकाट पनि गल्तीकमजोरी भए भनेर उल्लेख गर्नुभएको पाइन्छ । यो सकारात्मक पक्ष हो । चुनवाङ बैठकमा बादल विलय भएको र विप्लव पुरस्कृत भएर रमाएको अवस्था हो । त्यसैले पनि चुनवाङ बैठकमा गरिएका निर्णयहरू गलत थिए भनेर भनेर बिप्लवले कतै पनि भनेका छैनन् । नेकपा, माओवादीसित सम्बन्ध विच्छेद गर्दाको दस्ताबेजमा पनि र आठौँ महाधिवेशनको दस्ताबेजमा पनि उनले यो गलत थियो भनेर बोलेका छैनन्, बरु घुमाउरो पाराले त्यसको औचितय सही साबित गर्न खोजेका छन् । इतिहासको समीक्षा नगरी आगामी बाटो तय गर्ने कुरा सारसङ्ग्रहवादी र सम्झौतावादी मात्र हुन्छ र यसले ठोस गति र दिशा दिन सक्तैन ।

प्रचण्ड–बाबुरामको गद्धारीपछि कमरेड किरणको नेतृत्वमा विद्रोह गरेर पार्टी नयाँ गठन भए पनि पार्टीले गति लिन सकेन । यसमा बाह्य कारण भन्दा पनि आन्तरिक कारण नै प्रधान बनेका थिए । आधारभूत नीति, रणनीतिक उद्देश्यमा प्रस्ट हुँदाहुँदै पनि क्रान्तिकारी कार्यदिशाको किटान गर्ने तथा सङ्गठन परिचालनमा केही समस्या देखिए । पार्टीभित्र वैचारिक बहस र छलफल चलिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ सित सम्बद्ध समूहले रहस्यमय किसिमले सम्बन्ध विच्छेद गर्यो । र पछि कमरेड किरणसित रहेको एउटा समूह रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा पुन प्रचण्डसमूहमै फर्कियो । अहिले आएर प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्र र एमालेबीच एकता प्रक्रिया चलेको छ । वामपन्थीहरूबीच एकता, कम्युनिस्टहरूबीच एकता भनेर जति होहल्ला गरे पनि यो एकता भनेको कम्युनिस्ट नाम राखेका तर सिद्धानत र व्यवहारमा प्रतिक्रियावादमा पतन भएका पार्टीहरूबीचको एकता हो । यो एकताले नव(प्रतिक्रियावादी क्याम्पलाई बलियो बनाउने छ । यो भनेको क्रान्तिकारीहरूका लागि थप चुनौतीको विषय हो ।

क्रान्तिकारीहरूबीच एकता र सहकार्यको सन्दर्भ

माके–एमालेहरू प्रतिक्रियावादमा पतन भए पनि नेपालका क्रानितहरूको अझै ठूलो सङ्ख्या छ र ती नयाँ किसिमले सङ्गठित तथा पुर्नगठित भएर नेपाली नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउन उद्यत् रहेका छन् । यसै क्रममा विभाजित र छरिएर रहेका क्रान्तिकारीहरूबीच एकता हुने तथा गोलबद्ध गर्ने कामको थालनी भएको छ ।

क्रान्तिकारीहरूबीच एकताको कुरा गर्दा थुप्रै कुरा गाँसिएर आउनु स्वाभाविक छ तापनि इतिहासको सम्यक समीक्षा पहिलो सर्त हो । एउटा समीक्षा जनयुद्धको आरम्भदेखि चुनवाङ बैठकसम्म, अर्को समीक्षा ‘शान्तिप्रक्रिया’ कालको र अर्को समीक्षा प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछिको समयको हुनु आवश्यक छ । प्रचण्ड–बाबुरामलाई गाली गरेर मात्र पुग्दो छैन, क्रान्तिकारी भनिएकाहरूबाट पनि कुनकुन समयमा, कहाँकहाँ, केकेमा गल्तीकमजोरी भए र कहाँ के पुगेन र भएन भन्ने कुरा प्रस्टताका साथ आउनु आवश्यक छ । यस्ता कुराहरूको समीक्षापछि नै क्रान्तिकारीहरूबीचको एकतालाई गति र दिशा दिन सकिन्छ । यसमा विचार, राजनीति, कार्य्दिशा, नीति, नेतृत्व सबै कुरा जोडिएर आउँछन् । लिपपोत तथा सम्झौताका आधारमा गरिने एकताको आयु लामो हुँदो रहेनछ भन्ने कुरा हाम्रै इतिहासले देखाएको छ ।

समीक्षाको पाटो

१. यतिखेर क्रान्तिकारीहरूका सामु थुप्रै चुनौती र जिम्मेवारीहरू छन् । नेपाली समाजमा सामन्त तथा दलाल पुँजीपति वर्गको प्रतिक्रियवादी शक्ति यथावत छ । त्यसैसित प्रतिस्पर्धा गर्दै अघि बढेको वामपन्थीको आवरणमा प्रतिक्रियावादमा पतन भएको शक्ति पनि छ र यी दुवै थरीका विरूद्ध सङ्घर्ष गरिरहेको क्रान्तिकारी माओवादी शक्ति पनि नेपाली समाजमा क्रियाशील छ । राजसंस्था हटे पनि सामन्त वर्गीय चिन्तन विभिन्न रूपमा क्रियाशील छ र अहिलेको सन्दर्भमा भन्नु पर्दा दलाल पुँजीपति वर्ग प्रधान बनेर आएको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले राजनीतिक कोणबाट मात्र नभई जात, क्षेत्र, धर्म र सबैलाई आफ्नो स्वार्थमा प्रयोग गरिरहेका छन् । योजनाबद्ध किसिमले वर्गीय प्रश्नलाई ओझेलमा पार्ने दुश्प्रयास भइरहेको छ । यो अहिलेको यथार्थ हो ।

२.वामपन्थ र कम्युनिस्टको नाममा एमाले नामको पार्टी पहिलेदेखि नवप्रतिक्रियावादी अभ्यासमा थियो र अहिले माओवादी केन्द्र नामको डफ्फा पनि यस अभ्यासमा मिसिएको छ । प्रतिक्रियावादी संविधान र सत्ताको रक्षाको सपथ खाँदै उनीहरूले सरकारर सत्ताको बागडोर समालेका छन् र अब वर्गीय दृष्टिकोणले उनीहरूले दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्छन् । रणनीतिक दृष्टिले यी दुवैको काम क्रान्तिकारी शक्तिहरूलाई समाप्त पार्नु हो । नेपालका क्रान्तिकारीहरूका लागि यो जटिल र थप चुनौतीपूर्ण प्रश्न हो ‘लालझण्डाको विरुद्ध लालझण्डा’ को लडाइँ झन् जटिल हुन्छ । यो काम व्यापक जनताको सहभागितामा आधारित एकताबद्ध र सक्रिय क्रान्तिकारी पार्टीबाट मात्र सम्भव हुन्छ ।

३.चुनौती प्रतिक्रियावादी शक्तिहरूबाट मात्र नभएर कम्युनिस्ट आन्दोलनबाटै पनि छ । नेपाली समाजको वर्गसंरचना, प्रधान अन्तर्विरोध, क्रान्तिका चालक शक्तिहरू, क्रान्तिको न्यूनतम कार्यक्रम, कार्य्दिशा र अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी बुझाइमा क्रान्तिकारी भनिएकाहरूबीचमै पनि थुप्रै मतभिन्नताहरू छन् । मार्क्सवादका आधारभूत मान्यतामा उभिएर भन्दा आआफ्नो बुझाइअनुसार नेपाली समाज र क्रान्तिको स्वरूपबारे व्याख्या गर्नाले यस्तो भएको हो । आफ्ना गलत चिन्तनलाई सही साबित गर्न उनीहरू आफू अनुकूल नेपाली सामाज र सङ्घर्षको स्वरूपको व्याख्या गर्ने गर्छन् । क्रान्तिको कुरा गर्दागर्दै ‘समाज फेरिएको, क्रान्तिको बाटो फेरिएको’ भन्दै कोही दक्षिणपन्थी अवसरवादको बाटो समातेर अन्ततः नवप्रतिक्रियावदमा पतन हुने गरेका छन् भने कोही चाहिँ ‘नयाँ र समयअनुसारको क्रान्तिको दिशा’ भन्दै मार्क्सवादसित कतै मेल नखाने उट्पट्याङपूर्ण गतिविधि गरेर र प्रचारमोहमा लट्ठिएर विसर्जनको बाटोमा लागेका हुन्छन् । यसका विविध रूपहरू हामी नेपाली समाजमा देखिरहेका छौँ ।

४.नेपाली समाज हिजोभन्दा फरक छ भन्ने कुरामा विवाद छैन । २००७ सालभन्दा २०१७ मा पुग्दा फरक थियो । २०३६, २०४६÷४७, २०५२, २०६२/६३ र अहिले २०७५ सम्म आउँदा हिजोभन्दा फरक छ भन्ने कुरामा कतै विवाद छैन । बाहिरी रूप हेर्दा फरक लागे पनि आधारभूत र सारतः नेपाली समाज अझै अर्धसामन्ती र अर्ध (नव) औपनिवेशिक स्थितिमा रहेको छ र यहाँ हुने क्रान्तिको स्वरूप नयाँ जनवादी क्रान्ति हुनु स्वाभाविक छ । यो भनेको नेपाली समाजको विशिष्टतामा माओले देखाएको बाटोमा अघि बढ्ने कार्य हो । नेपाली समाज र क्रान्तिको स्वरूपका बारेमा यही नै सत्य–तथ्य हो । यसबाट विमुख हुनु भनेको एक वा अर्को वहानामा विचलनको बाटो समात्नु हो ।

५. नेपालको कम्युनिस्ट आन्दोलनमा समयक्रममा देखापरेका गलत चिन्तन, त्यसमा पनि संशोधनवानदी तथा पलायनवादी प्रवृत्तिका विरुद्ध क्रान्तिकारीहरूले वैचारिक सङ्घर्ष चलाउँदै र आवश्यक पर्दा विद्रोह गरेर क्रान्तिकारी धारलाई बचाउने र मार्क्सवादको झण्डालाई निरन्तरता दिने काम गर्दै आएका छन् र यो नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण पक्ष हो । परन्तु योसित अर्को विडम्बनापूर्ण पाटो पनि जोडिएको छ । जसले सही विचारका साथ सङ्घर्ष र विद्रोह गरेर विभिन्न कालखण्डमा क्रान्तिकारिताको परिचय दिएका छन्, समयक्रममा पछि तिनैले प्रतिक्रियावादी हरूसित सम्झौता गरेर सत्तासाझेदारीमा पुगेर मार्क्सवाद र आन्दोलनप्रति गद्दारी गरेका छन् ।

विद्रोह गर्ने, नेता बन्ने र पार्टीले अलि ठूलो आकार लिए पछि तिनले सङ्घर्षको उपजका रूपमा आफूहरूलाई उभ्याएर सत्तासाझेदारीको अंशियार बनेर पुरानै सत्तालाई बलियो बनाएका छन् । जेको विरुद्ध विद्रोह र सङ्घर्ष गरिएको थियो, फेरि त्यसैको साझेदार बन्ने एउटा गजबको शृङ्खला नेपालको कम्युनिस्ट आन्दोलनमा देखिन्छ । ‘झापा विद्रोह’ सित गाँसिएकाहरू तथा माओवादी आन्दोलनसित सम्बद्ध एक थरीको इतिहासले देखाएको सत्यतथ्य यही हो । नेपाली कम्युनिस्ट आनदोलनमा यो एउटा दीर्घ रोग बनेको समस्या हो । यसले जनतामा अविश्वासको वातावरण सिर्जना गर्नुका साथै टुटुफुट र विभाजनको शृङ्खलाले गर्दा आन्दोलनलाई कमजोर बनाएको छ ।

६.नेपालमा कम्युनिस्ट पार्टीको जन्म र विकास नेपाली समाजको आवश्यकता र अन्तर्रा्ष्ट्रिय प्रभावको उपज थियो । अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेका मतभेद र विभाजनले पनि नेपालको कम्युनिस्ट आन्दोलन प्रभावित भएको छ । दुई लाइन सङ्घर्षलाई सही किसिमले सञ्चालन नगर्दा पनि टुटफुट र विभाजन भएको छ । विचारको आवरणमा व्यक्तिवादको अभ्यास गर्ने प्रवृत्ति, सानै भए पनि एउटा समूहको नेता बन्ने लोभ, तीव्र महत्वाकाङ्क्षा, शीघ्र विजयको निम्न पुँजीवादी अधैर्य र आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न विदेशी प्रतिक्रियावादी शक्तिको गोटी बन्नसमेत पछि नपर्ने प्रवृत्तिका कारण पनि टुटफूट भएका उदाहरणहरू छन् । टुटफूटका सन्दर्भमा विश्व कम्युनिस्ट आन्दोलनमा देखिने प्रवृत्तिगत चरित्रहरू नेपालको कम्युनिस्ट आन्दोलनमा पनि देखापरेका छन् ।

७. मूल नेतृत्व र नेतृत्व तहमा रहेकाहरूले गलत बाटो लिएर गद्दारी गरेपछि सिङ्गो पार्टी र आन्दोलन विसर्जन हुने स्थिति नेपालको कम्युनिस्ट आन्दोलन भोग्दै आएको स्थिति हो । उत्तराधिकारीको निर्माण र हस्तान्तरणको समस्या पनि नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले प्रस्तुत गरेको यथार्थ हो । वास्तवमा नेतृत्व र उत्तराधिकारी निर्माणको प्रश्न विश्व कम्युनिस्ट आन्दोलनमा झैँ नेपालको कम्युनिस्ट आन्दोलनमा पनि अहम् प्रश्न बनेको छ । कुरा त ‘एकमा तिन’ गरिन्छ, तर व्यवहारमा यसप्रति गम्भीरता देखाइँदैन । एकपल्ट नेतृत्वमा पुगेपछि र आन्दोलन अघि बढाउन अक्षम साबित भएपछि पनि तल बस्न नचाहने, पार्टी फुटाएर भए पनि प्रमुख नै हुनुपर्ने निम्न पुँजीवादी प्रवृत्तिले पनि नेपालको कम्युनिस्ट आन्दोलनलाई कम नोक्सान पुर्याएको छैन ।

८.अहिलेको कम्युनिस्ट आन्दोलन भनेको माओवादी आन्दोलन हो र यो घरेलु तथा बाह्य प्रतिक्रियावादी शक्तिका विरुद्ध सम्झौताहीन सङ्घर्षप्रति प्रतिबद्ध भएकाले यसका विरुद्ध सबैखाले प्रतिक्रियावादी शक्तिहरू तथा संशोधनवादी शक्तिहरू एकजुट हुनु स्वाभाविक छ । विचारको अन्त्य, मार्क्सवादको अन्त्य, कम्युनिस्ट आन्दोलनको अन्त्य भनेर साम्राज्यवादले तीन दशकभन्दा अघिदेखि हल्ला गर्दै आएको हो । अनेक कुकृत्य गर्दा पनि यो समाप्त भएन र भएको छैन । अहिले नेपाललगायत विश्वका सबै क्रान्तिकारीहरूले आआफ्नो देशको विशिष्टतामा यी दुवै थरी प्रतिक्रियावादका विरूद्ध लडिरहेका छन् । यो नेपाली कम्युनिस्ट आन्दोलनको उज्यालो पक्ष हो ।

९.नेपालमा मालेमाको आलोकमा जनयुद्ध जसरी विकसित भयो, यो घरेलु तथा बाह्य प्रतिक्रियावादीहरूको लागि टाउको दुखाइको विषय हुनु स्वाभाविक थियो । नेपालमा माओवादीहरू समाप्त भए, सबैले संसदीय पुँजीवादी व्यवस्थालाई अँगाले भन्ने स्थिति निर्माण गर्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू हिजोदेखि नै लागेका भए पनि यिनका विरुद्ध सङ्घर्ष गर्दै नेपालका मालेमावादीहरूले निरन्तर रूपमा क्रान्तिको झण्डा उचालेको छन् । सङ्ख्यामा कमजोर भए पनि यो नेपालका माओवादी क्रान्तिकारीहरूको सकारात्मक र उज्यालो पक्ष हो । यसै अर्थमा गलतका विरुद्ध क्रान्तिकारी विद्रोह नेपाली कम्युनिस्ट आन्दोलनको आधारभूत चरित्र हो । आफूलाई कम्युनिस्ट भन्नेहरू, नयाँ जनवादी क्रान्तिको कुरा गर्नेहरू थुप्रै भए पनि मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर सशस्त्र सङर्ष अर्थात् जनयुद्धको बाटो अवलम्बन गर्नेहरू मात्र देशीविदेशी प्रतिक्रियावादीहरू र संशोधनवादीहरू विरुद्ध लड्न र माओवादको झण्डाको रक्षा र विकास गर्न सक्षम छन् र हुन्छन् भन्ने सत्य पनि नेपालका क्रान्तिकारीहरूले प्रस्तुत गरेको यथार्थ हो ।

निष्कर्ष

आरोहअवरोहका थुप्रै मोड र घुम्ती भएर गुज्रेको नेपाली कम्युनिस्ट आन्दोलनको ६९ वर्षको इतिहासले थुप्रै शिक्षा र अनुभव प्रदान गरेको छ । नेपाली समाजका सम्बन्धमा गलत बुझाइ र व्याख्या, क्रान्तिको स्वरूप र दिशाबारे अन्योल, दक्षिणपन्थी अवसरवादी प्रवृत्ति, व्यक्तिवादी(महत्वाकाङ्क्षा, निम्न(पुँजीवादी चिन्तन प्रवृत्ति र सम्झौतावादी विचलन र नेतृत्वको गद्दारी नेपाली कम्युनिस्ट आन्दोलनको ६९ वर्षको इतिहासको नकारात्मक पक्ष हो र यसका विरुद्ध विभिन्न कालखण्डमा क्रान्तिकारीहरूले गरेको सङ्घर्ष र विद्रोह यसको सकारात्मक पक्ष हो ।

हिजोका दिनदेखि प्रतिक्रियावादी तप्काको नेतृत्व गरिरहेको शक्तिसँगसँगै माओवादी जनयुद्धसित गाँसिएको एउटा हिस्सा पनि अहिले प्रतिक्रियावादमा पतन भएको छ र क्रान्तिकारीहरूका लागि यो स्थिति थप चुनौतीको विषय भएको छ । यस किसिमका चुनौतीहरूको सामना नेपालका क्रान्तिकारीहरूले कसरी गर्छन् भन्ने प्रश्न नै अहिलेको अहम् प्रश्न हो । समयले नयाँ क्रान्तिकारी केन्द्र निर्माणको आवश्यकता र औचित्यलाई अघि सारेको छ । ६९ वर्षको इतिहासले दिएको सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा र अनुभव हो र यो सिरान हालेर सुत्ने सम्पति नभएर व्यवहारमा लागू गरेर अघि बढ्ने सम्पति हो । यो यथार्थलाई आत्मसात गरेर दृढ इच्छाशक्तिका साथ अघि बढ्नु नै क्रान्तिकारीहरूको अगाडिको बाटो हो ।

  • जनमेल अनलाइनबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]