Dabali News

प्रचण्ड सुकुटेबाट फर्कदै, १० बजे बालुवाटारमा निर्णयक वार्ता, यी हुन् मिल्न नसकेका कुरा

३ वैशाख

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निर्णयक छलफल हुँदैछ । अाइतबार साँझ हुने भनिएको वार्ता प्रचण्ड सुकुटेतिर लागेपछि हुन सकेको थिएन ।

अध्यक्ष प्रचण्ड सुकुटेबाट सिधै बालुवाटार जाने बताइएको छ । विहान १० बजे बालुवाटारमा शिर्ष नेताहरुबीच एकताबारे छलफल हुँदैछ ।

यही बैशाख ९ गते एकता गर्ने भनिएपनि मिल्न नसकेका विषयमा कुनै प्रगति भएको छैन । अाजको छलफल निर्णयक हुने अपेक्षा गरिएको छ ।

एमाले-माकेबीच मिल्न नसकेका ४ कुरा

१. चुनाव चिन्हः एकीकृत पार्टीको चुनाव चिन्ह के हुने भन्नेमै दुबै पार्टीका नेताहरुले आ–आफ्ना अडान छोडेका छैनन् । एमाले नेताहरुले सूर्य नै चुनाव चिन्ह हुनुपर्ने बताउँदै आएका छन् भने माकेका नेताहरुले सूर्यभित्र हसियाँ हथौडा हुनुपर्ने बताएका छन् । सूर्य चिन्ह भए एकता नभएर पार्टी प्रवेश गरेजस्तै हुने भनाई छ भने चुनावअघि प्रचण्डले सूर्य चिन्ह स्वीकार गरिसकेका कारण यसमा दायाँबायाँ नहुने एमाले नेताहरुको धारणा छ ।

२. जनयुद्धः जनयुद्ध शब्द पनि एकताको लागि बाधक भएको छ । प्रस्तावनामा जनयुद्ध शब्द राख्नुपर्ने माकेका नेताहरुका माग छ भने यो कुरा एमालेले स्वीकार गर्न नसकिने बताउँदै आएको छ । पार्टी एकता संयोजन समितिमा सहमति हुन नसक्दा यो विषय ओली र प्रचण्डसमक्षमा पठाइएको छ तर सहमति हुन सकेको छैन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टीको आन्तिरक छलफलमा पनि माओवादीले १० वर्षसम्म चलाएको जनयुद्ध नभएको बताउँदै ‘जनयुद्ध’ शब्दले एकीकृत पार्टीमा कुनै स्थान नहुने धारणा राख्दै आएका छन् ।
यसैगरी माओवादी केन्द्रका नेताहरुले पनि जनयुद्धलाई एमालेले स्वीकार गर्नुपर्ने भन्दै विधान र राजनीतिक प्रतिवेदनमा समेटिनु पर्ने धारणा राख्दै आएका छन् । उनीहरुले जनयुद्ध शब्द नसमेट्दा माओवादी एमालेमा विलय हुने अर्थ लाग्ने तर्क गरिरहेका छन् ।

३. बाराबरीः अर्को महत्वपूर्ण कुरा संगठनमा बराबरीको कुरा हो । माओवादी केन्द्रले पछिल्लो पटक संगठनमा बराबरीको नयाँ प्रस्ताव अगाडि सारेको छ । चुनाव र सरकार निर्माणमा करिब करिब ६०÷४० र ७०÷३० स्वीकार गरेको माकेले पार्टी संगठनमा भने बराबरी मागेको हो । यो प्रस्ताव एमालेको लागि मान्य हुने कुरै छैन । उसले आफू ७० र माके ३० प्रस्ताव अगाडि सारेको छ ।

पार्टी निकट विद्यार्थीको एक कार्यक्रममा प्रचण्डले बराबरी नभए पार्टी एकता नै हुँदैन समेत भनेका थिए । त्यसैगरी बालुवाटारमा ओलीले आफू निटक नेताहरुसँगको छलफलमा बरु एकता हुँदैन तर एमालेको हैसियत माओवादीलाई दिन नसकिने बताएका थिए ।

४. प्रधानमन्त्रीको व्यवहारः प्रधानमन्त्री ओलीले आफूमाथि राम्रो व्यवहार नगरेको माओवादी केन्द्रका मन्त्रीहरुले पार्टीमा रिर्पोटिङ गरिसकेका छन् । भारत भ्रमण, सचिव सरुवा हुँदै दैनिक काम कारवाहीमा आफूहरुमाथि प्रधानमन्त्रीले अपमानजनक व्यवहार गरेको भन्दै माकेका मन्त्रीले पार्टी अध्यक्ष प्रचण्डलाई गुहार गरिसकेका छन् । यो व्यवहारिक पाटो भएपनि कहिले कही महत्वपूर्ण भएर आउँछ । यसले अन्तरघुलमा अवरोध गर्छ ।

चुनाव चिन्ह, जनयुद्ध शब्द राजनीतिक हुन् भने बराबरी सांगठानिक । त्यसैगरी ओलीको व्यवहार भावनात्मक वा व्यवहारिक पक्ष ।राजनीति, संगठन र भावनात्मक कुरामै एक मत भइनसकेको अवस्थामा बैशाख ९ गते नै पार्टी एकता भइहाल्नेमा प्रश्न खडा भएको छ ।

नेपालको राजनीतिमा रातारात ठूलो परिवर्तन भएको धेरै उदाहरण छन् । त्यसैले एमाले र माकेका नेताहरुबीच फेरिपनि रातारात सहमति नहोला भन्न सकिदैन । तर, सबै नेताहरुको व्यवस्तालाई हेर्दा पार्टी एकताको विषय ओझेलमा परेको देखिन्छ । त्यसैगरी दुबै पार्टीका केही नेताहरुले एकता नचाहेको कुरा त पटकपटक सार्वजनिक हुँदै अाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]