Dabali News

फिल्मभन्दा क्रिकेटमा ध्यान मोडिएपछि बक्स अफिसमा ठूलो असर

२६ चैत

काठमाडौँ । क्रिकेटमा ब्याट्सम्यानले आफ्नो सतक रन पुरा गर्दा, फिल्मको ब्यापारले सय करोड नाघ्दा हर्षोल्लास मनाईन्छ ।

तर इन्डियन प्रिमियर लिग (आइपीएल) हुँदा भारतमा धेरै निर्माता तथा वितरकका लागि टाउको दुखाइको विषय बन्छ ।

सगरी आइपिएलकै सेरोफेरोमा फिल्म रिलिज हुँदा दर्शकको ध्यान फिल्मभन्दा क्रिकेटमा मोडिएपछि त्यसले बक्स अफिसमा ठूलो असर पर्याउने गरेकाले पनि फिल्मकर्मीका लागि टाउको दुखाइको विषय बनेको हो ।

आइपिएलका कारण रिलिजको तयारीमा रहेका फिल्मको ब्यापारको विषयमा अंकगणित सुरु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आइपीएलमा रिलिज भएका फिल्मको सप्ताहन्त कलेक्सन प्रभावित हुने गरेको छ । आइपिएलका महत्वपूर्ण खेलहरू प्रायः साताको अन्त्यमा राखिने भएकाले पनि दर्शकको ध्यान त्यो बेला फिल्ममा भन्दा क्रिकेटमा हुने गरेका छन् ।

शनिबारबाट सुरु भएको आइपिएलका कारण शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ब्ल्याकमेलको कलेक्सनमा असर देखिएको छ । फिल्मको कलेक्सनको दोस्रो दिन ३७ प्रतिशतले मात्र वृद्धि भयो । आइपिएल सुरु नभएको भए फिल्मको कलेक्सन आँकडा दोब्बर हुने बताईन्छ ।

बलिउडका फिल्म निर्माताहरू आइपिएल आसपास कुनै पनि फिल्म रिलिज गर्न चाहँदैनन् । आइपिएलको यो सिजनको अन्तिम प्रतिस्पर्धा मे २७ मा हुनेछ । यो समयमा झन्डै १० फिल्म रिलिजको तयारीमा छन् । यो समयमा अप्रिल १३ मा सुजित सरकारको फिल्म ‘अक्टुबर’ रिलिज हुँदैछ । फिल्ममा वरुण धवन र बनिता सन्धू प्रमुख भूमिकामा छन् । वरुणले आइपिएलको उद्घाटन कार्यक्रममा आफ्नो प्रस्तुति पनि दिएका छन् । उनले पहिलो खेल दर्शक दीर्घाबाट नियालेका थिए ।

फिल्म ‘अक्टुबर’ को १ सातापछि ४ फिल्म प्रदर्शन हुँदै छन् । यो साता सुधिर मिश्राको ‘दासदेव’, हंसल मेहताको ‘ओमर्टा’, माजिद मजिदीको ‘बियोन्ड द क्लाउड्स’ र फराज हैदरको ‘नानू की जानू’ प्रदर्शन हुँदै छन् । यी फिल्ममा ऋचा चड्डा, राजकुमार राव र अभय देवल जस्ता कलाकारको अभिनय रहेकाले फिल्म महत्वपूर्ण मानिएका छन् ।

त्यस्तै, अप्रिल २७ मा रजनिकान्तको प्रतीक्षित फिल्म ‘काला’ रिलिज हुँदैछ । यो फिल्मलाई वर्षकै ठूलो फिल्ममध्येमा हेरिएको छ । फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज हुँदैछ ।

यसैगरी मे ४ मा उमेश शुक्ला निर्देशित ‘१०२ नट आउट’ र अभिषेक शर्माको ‘परमाणु : द स्टोरी अफ पोखरण’ रिलिज हुँदैछ । ‘परमाणु’ जोन अब्राहमको होम प्रोडक्सनको फिल्म हो भने ‘१०२ नट आउट’मा अमिताभ बच्चन र ऋषि कपुर जस्ता स्टार देखिँदै छन् । मे ११ मा मेघना गुलजार निर्देशित ‘राजी’ र अभिषेक डोगराको फिल्म ‘फ्राइडे’ रिलिज हुँदैछ । फिल्म ‘राजी’मा आलिया भट्ट र विक्की कौशल प्रमुख भूमिकामा छन् ।

आइपिएलको फाइनल नजिकिँदै गएपछि फिल्म रिलिजको चाप भने बढ्दै गएको देखिन्छ । मे १८ मा कुनै पनि फिल्म रिलिजको लागि तयार नभए पनि त्यसको अर्को साता चाहिँ कुन फिल्म आउने भन्ने टुंगो छैन । विक्रमादित्य मोटवानेको ‘भावेश जोशी’ आउने चर्चा भए पनि हालसम्म फिल्मले रिलिज डेट सार्वजनिक गरेको छैन । फिल्ममा हर्षवर्धन कपुर लिड रोलमा छन् ।

सन् २०१७ को आइपिएल अप्रिल ५ देखि मे २१ सम्म भएको थियो । यो समयमा १६ फिल्म रिलिज भएका थिए । जसमा विद्या वालनको ‘बेगम जान’, सोनाक्षी सिन्हाको ‘नूर’ र रवीना टण्डनको ‘मातृ’ थियो । २ फिल्म ‘हाफ गर्लफ्रेण्ड’ र ‘हिन्दी मीडियम’ मात्र चले । बाँकी फिल्म बक्स अफिसमा फ्लप भए ।

सन् २०१६ को आइपिएल अप्रिल ९ देखि २९ मेसम्म भएको थियो । यो बेला पनि १९ फिल्म हलमा आए । तर टाइगर श्राफको फिल्म ‘बागी’बाहेक सबै फ्लप रहे । केहीलाई मात्र औसत भनियो । शाहरुख खानको फिल्म ‘फ्यान’ले आइपिएल प्रभाव टार्न सकेको थिएन । फिल्म असफल साबित भएको थियो ।

आइपीएलको नवौं संस्करणसम्मको प्रतियोगितालाई नियाल्दा यो समयमा बलिउडमा १४० फिल्म रिलिज भएका थिए । यीमध्ये १५ फिल्म सेमी हिट, ५ फिल्मको औसत व्यापार र ३ फिल्म मात्र सय करोड क्लबमा दर्ता भएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]