Dabali News

अन्तर्राष्ट्रिय सम्मेलन शुरु, बुद्ध उपदेशलाई आत्मसात् गर्नसके सबैखालका द्वन्द्वको अन्त्य हुने

१२ चैत

काठमाडौं । अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एसियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक २ दिने अन्तर्राष्ट्रिय सम्मेलन आज (मंगलबार) देखि लुम्बिनीमा सुरु भएको छ ।

नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा सुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बंगलादेश, नेदरल्याण्न्ड्स, इन्डोनेसिया, श्रीलंका, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्दै छन् ।

सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्ध धर्मको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रा. ह्युग मियल, ‘श्रीलंकामा युद्धपछिको धार्मिक कट्टरता’ का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दिगो धार्मिक सहिष्णुता’ का विषयमा डा.योगी सिंहनाथलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै, सहभोजले शान्ति स्थापनामा खेलेको भूमिका, नेपालको शान्ति र पुनर्मिलनलगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत् हुनेछ । बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले बताए ।

यसअघि, सम्मेलनको उदघाटन सत्रमा बोल्दै विज्ञले बुद्धका उपदेशलाई आत्मसात् गर्नसके संसारबाट सबैखालका द्वन्द्वहरुको अन्त्य गर्न सकिने बताए । त्यसका लागि संसारभरि बुद्धका उपदेशको प्रचार–प्रसार गर्न जरुरी रहेको बताइएको छ ।

नेपाललगायत दक्षिण एसियाका विभिन्न मुलुकमा लामो समय चलेका द्वन्द्वको समाधान भएको स्मरण गर्दै उनीहरुले दिगो शान्ति स्थापनाका लागि बुद्धशिक्षाको औपचारिक अध्ययन-अध्यापन जरुरी रहेको बताए ।

सो अवसरमा केन्ट युनिभर्सिटी बेलायतका प्रा.डा.मार्क वइन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, कोषका उपाध्यक्ष भिक्षुु मेत्तेयलगायतले बुद्ध धर्म र दर्शनको विविध पक्षमाथि प्रकाश पारे । हिन्दु, बुद्ध र इस्लाम धर्मका प्रतिनिधिले संयुक्त रुपमा सम्मेलनको उदघाटन गरे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]