आज :

सुदर्शनको गिरफ्तारीविरुद्ध वैद्य र शुसीलको विज्ञप्ति, रिहाईको माग

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’को गिरफ्तारविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (माओवादी केन्द्र)ले विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

शनिबार क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ ले विज्ञप्ति निकालेर गिरफ्तारीको विरोध गरेका छन् । उनीहरुले राजनीतिक व्यवहार गर्न समेत सुझाव दिएका छन् ।

वैद्यले नेकपामाथि प्रतिबन्ध लगाउन फासिवादी व्यवहार भएको भन्दै निन्दा गरेका छन् । उनले सुदर्शनसहितका नेता कार्यकर्ता गिरफ्तार गर्ने र यातना दिने कार्य बढेको भन्दै रोक्न माग समेत गरेका छन् । वैद्यले वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
“सरकारद्वारा हालै विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित आठ जना कमरेडहरुलाई

गिरफ्तार गरिएको प्रकाशमा आएको छ । केही समययता सो समूहका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र यातना दिने क्रम बढ्दै गएको छ । साथै, सो समूहमाथि प्रतिबन्ध समेत लगाइएको छ । सरकारको यो फासिवादी व्यावहार निन्दनीय छ । र, हाम्रो पार्टी त्यसको कडा विरोध तथा भत्र्सना गर्दछ” वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गिरफ्तार र यातना दिने कार्य रोकेर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने भन्दै वैद्यले सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिन माग समेत गरेका छ ।

त्यसैगरी गोपाल किराती नेतृत्वको माओवादी केन्द्रका महासचिव सुशीलले जारी गरेको विज्ञप्तिमा पनि गिरफ्तार र धरपकडको विरोध गर्दै नेता सुदर्शनको रिहाईको माग गरेका छन् । उनले सरकारले आफ्नो असफलतालाई लुकाउन नेकपामाथि प्रतिबन्ध लगाएको आरोप समेत लगाए ।

“विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कमरेड हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लगायत ९ जना नेता–कार्यकर्ताहरु चैत ८ गते राति काभ्रेको खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकबाट सरकारद्वारा गिरफ्तार गरेका विषयले नेपाली राजनीतिमा तरंग सृजना गरेको छ । देशभरीमा नै भईरहेको धरपकडले संविधानले दिएको अधिकार समेत हनन् गरी जनविरोधी क्रियाकलाप प्रदर्शन गर्नु केपी ओली सरकारको असफलताको दिशातिर जान खोजेको प्रस्ट संकेत देखिन पुगेको छ” विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने थाहा हँुदाहुँदै सरकारले त्यही दिशामा बढेको भन्दै सुशीलले सरकारमाथि नै शंका व्यक्त गरे । “देश भष्टाचारले आक्रान्त बनेको, केन्द्र प्रदेश र स्थानीय तहबीच समन्वय नभई संघीयता चरम संकटमा परेको दक्षिणपन्थी शक्तिहरु, विदेशी शक्तिहरु, सरकारको संरक्षणमा रहेका शक्ति र संस्थाहरुले खुलेआम रुपमा धार्मीक द्वन्द्व सृजना गरेको, राष्ट्रियतामा आँच दिने समुहसित अस्वभाविक सम्बन्ध जोड्नुले देशको स्वाभिमानमाथि असर परेको छ । धार्मीक आन्दोलनलाई बैधानीकता दिने नेकपाको राजनैतिक आन्दोलनलाई प्रतिबन्ध लगाउनुले केपी ओली सरकार कसको मतियार भएर काम गर्दैछ भन्ने शंका सर्बत्र उत्पन्न भएको छ” विज्ञप्तिमा उल्लेख छ ।

क्रान्तिकारी आन्दोलन दमन धरपकटबाट नियन्त्रण गर्न नसकिने बरु सरकार आफै असफल हुने गरेको इतिहास हाम्रो सामु ताजै भएको बताएको बताउँदै सुशीलले राजनीतिक समस्या बार्ताद्वारा समाधान गर्न आग्रह गरको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal