Dabali News

छोरी हुर्काइमै विभेदको शिकार

हाम्रो नेपाल कस्तो नेपाल ! कानुन भएको की नभएको नेपाल ! हामी महिलाको के कुरा गरौं, कहाँबाट शुरु गरौं आज केही शब्द लेख्न बाध्यछु ।

जुन अंगबाट जन्मेको छोरा जुन दुध खाएर हुर्केको छोरा ठूलो भएपछि त्यही अंगमा आँखा लगाई छेदबिच्छेद बनाउँछ भने ९ महिना आफ्नो जीउज्यानको प्रवाह नगरी ५ वर्ष दुध चुसाई धर्तीको सच्चा सपूत बनोस् भनेर जन्म दिने म आमा कपूत बन्छ । त्यसको बारेमा यी शब्द लेखिरहँदा मन भक्कानिएर आउँछ ।

सायद हामी हाम्रो समाजको देन यही हो या यो नालायक युग हो सोच्नै, चिन्नै गाहृो भएको छ । यही परिस्थितीमा प्रहरीसम्म नआउने घटना त कत्ति हो कत्ति ! उजुरीलाई नै आधार मान्दा पनि प्रत्येक दिन महिला बलात्कृत भएका छन् । त्यसमा पनि बालिका, वृद्धा र अपांग अझ प्रताडित छन् । वास्तविकता भयावह छ । बलात्कारविरोधी आन्दोलन हुन्छन्, नारा जुलुस हुन्छन् तापनि किन घट्नुको साटो बढिरहेको छ ।

बलात्कारप्रतिको हाम्रो आधारभूत बुझाइ नै गलत छ । बलात्कारको घाउ मुटुमा छ । तर, हामी हातको अप्रेसन गर्न खोजिरहेका हुन्छौँ, यो जति उपचार गरे पनि निको हुँदैन । किनकी बलात्कृत महिलालाई हेप्ने, प्रतिशोध साँध्ने र शक्तिको प्रयोग गर्ने प्रधान अस्त्र हो, न कि पुरुषमा हुने यौन चाहना पूर्ति गर्ने माध्यम । त्यसो हुन्नथ्यो भने केटीहरु किन बलात्कार गर्दैनन् ? जबकि, केटाभन्दा केटीमा यौन चाहना बढी हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

हो, केटीलाई आँटै हुन्न किनभने शारीरिक र सामाजिक रूपमा म कमजोर छु भन्ने आभास हुन्छ, तर केटा दम्भले भरिएको हुन्छ । त्यसैले यौनको माध्यमबाट केटीमाथि आफ्नो शक्ति र नियन्त्रण सिद्ध गर्न खोज्छ । अन्य शारीरिक आक्रमणबाट पनि उसले रिस, बदला वा कथित पुरुषत्व देखाउन नसक्ने होइन । तर, किन बलात्कारमै उन्मुख हुन्छ त ? यसको जवाफ छ बलात्कारलाई सामाजिक र सांस्कृतिक रूपमा सबैभन्दा तुच्छ स्तरको बेइज्जती मानिन्छ ।

त्यसैले टाउको फुटाएर वा हातखुट्टा भाँचेर होइन, यौन आक्रमणमार्फत आजीवन यातना दिएर सन्तुष्टि खोज्छ पुरुषले । यस्तो निर्दयी पुरुष उत्पादन हुने कारखाना कहाँ छ ? यो कसरी उत्पादन हुन्छ ? यसभित्रको कथा लामो छ, हामीले नजरअन्दाज गरेको तर जानी र नजानी दिनदिनै भोगिरहेको । जति आधुनिक र शिक्षित भने पनि हाम्रो समाज पितृसत्तात्मक सोचले अभिशप्त छ ।

यही सामाजिक संरचनाले महिलालाई ३ ढंगले व्याख्या गर्छ । महिला शारीरिक र बौद्धिक रूपमा कमजोर हुनु, महिला पुरुषको भोग्य वस्तु बन्नु, महिला सुन्दर प्रजाति हो । हरेक पुरुष यही सोचबाट प्रशिक्षित भएकाले जब यौन वा अन्य चाहना महिलाले अस्वीकार गर्छन्, तब बलात्कार गर्न उद्यत भइहाल्छन् । सुन्दा सैद्धान्तिक वा कठोर लागे पनि तीतो सत्य । जसको सुरुवात अन्तः होइन, परिवारबाटै हुन्छ ।

जस्तो छोरालाई बच्चैबाट खुला वातावरण प्रदान गरिन्छ । यौनांग देखाउँदासमेत अभिभावकले गाली नगर्ने, बरु हाँसेर हौसाला दिने । यही काम छोरीले गर्दा सातो लिइन्छ । छोराले गल्ती गर्दा माफी पाउँछन्, ढाकछोप गरिन्छ । छोरी सधैँ गालीका भागीदार हुन्छिन्, निश्चित घेरामा रुमल्लिनुपर्छ । फलतः छोरामा ‘म बलशाली हुँ’ भन्ने घमण्ड पैदा हुन्छ ।

सन्तान हुर्काइ पद्धतिमा रहेको यही विभेदले बलात्कारलाई प्रश्रय दिन्छ । किनभने, देख्दा यौन हिंसा मात्र लाग्छ तर बलात्कार महिलामाथिका तमाम दुव्र्यवहार र अपमानको सार हो ।

विभेदको भुमरी छ, उचित अभिभावकत्व र सामाजिकीकरणबाट वञ्चित, बाल्यकालमा दुव्र्यवहार भोगेका र देखेका पुरुष अझ हिंस्रक हुने र महिलामाथि खनिने विभिन्न घटनाले देखाएका छन् । छोराछोरीबीचको भेद घरबाटै प्रारम्भ हुन्छ । नतिजा बलात्कार जस्ता घटनाको अचानोमा पर्नुपर्छ, हुर्काइमै विभेदको सिकार भएकीछे छोरी ।

देख्दा व्यक्ति मात्र दोषी लाग्छ तर त्यस्तो होइन । समाजकै भूमिका हुन्छ । समाजको रुखो व्यवहारले संवेदना हराउँछ र हिंस्रक बनाउँछ । मानसिक रूपमा विक्षिप्त प्रायः यस्तै कुकृत्यमा संलग्न हुन्छन् । हालत यस्तो, अनि सजाय तोकेर मात्र बलात्कार रोकिन्छ त ? जबर्जस्तीकरणी समाजकै उत्पादन हो ।

महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने र हेप्नुपर्छ भन्ने मानसिकता अन्त्य नभएसम्म बलात्कार रोकिन्न । शरीर ढाक्ने पहिरन लगाउँदा बलात्कार हुन्न थियो भने बुर्का लगाउने मुस्लिम महिला, बालिका र वृद्धा किन सबैभन्दा धेरै सिकार हुन्छन् ? समुद्री तटमा बिकिनी लगाउने युवती किन बलात्कृत हुँदैनन् ?

त्यसो त, बलात्कार यही कारणले हुन्छ भनेर ठोकुवा गर्न सकिन्न । व्यक्तिको स्वभाव, मनोविज्ञान र प्रकृतिमा भर पर्छ । यत्तिचाहिँ हो, आवेगमा कहिल्यै बलात्कार हुन्न । पहिलेदेखि पहिचान गरेर, कमजोरी पत्ता लगाएर योजनाबद्ध ढंगले नै महिलामाथि आक्रमण हुने गर्छ ।

जब त्यो बलात्कारीको पहिलो बलात्कारको प्रयास सफल हुन्छ, केटीले विरोध जनाउँदिनन् वा सामसुम पारिन्छ, अपराधीले फेरि त्यही ‘ट्रिक’ अपनाउँछ र पटक-पटक बलात्कार गरिरहन्छ । बलात्कारपछि मार्ने नै योजना नहुन सक्छ । तर, एउटा गल्तीलाई ढाकछोप गर्ने क्रममा अर्को अपराध हुन्छ, आवेग बढ्दै जान्छ र त्यो हत्यासम्म पुग्छ । अध्ययनहरूले यस्तै देखाएका छन् ।

शारीरिक रूपमा नजिक हुँदा स्वतः यौनभाव जागृत हुन्छ । त्यसैले छोराछोरीलाई निश्चित दूरीमा बस्न सिकाउनुपर्छ । तर, आमाबाबुलाई यसको हेक्कै हुन्न । उमेर नपुगी यौनइच्छा आयो भने हस्तमैथुनबाहेक योगा, उसु वा अन्य खेलमा संलग्न गराएर त्यसलाई व्यवस्थापन गर्न सिकाउनुपर्छ ।

हामीकहाँ यौन शिक्षालाई अझै पनि लाजको विषय मानिएको छ । बच्चामाथि परिवारको निगरानी फितलो त छँदैछ, ५-६ कक्षामा नपुग्दै सेक्स भिडियोमा पहुँच पुगेपछि त्यस्तो बच्चाले कस्तो संस्कार सिक्छ ?
जति पनि बलात्कारका घटना केलाए पनि, त्यहाँ व्यक्ति होइन, समाज नै जोडिन्छ । जो तनावमा हुन्छन्, काम हुन्न, परिवारप्रति उत्तरदायी हुन्नन्, पत्नी वा प्रेमिकासँग बेमेल हुन्छ, त्यस्ता मानिस बलात्कारतिर उन्मुख हुन्छ ।

पीडितहरु

प्रायः गरिब,दलित र कमजोर हुन्छन् जस्को प्रहरीसम्म पुग्ने पहुँच हुन्न । बल्लतल्ल पुगे पनि प्रहरीको केही अपवादबाहेक रुखो व्यवहारले थप हतोत्साही हुन्छन् । प्रहरी कार्यालयमा पुगेपछि छहारी होइन, उल्टै सास्ती, अझ मानसिक बलात्कारको सामना गर्नुपर्छ ।

पीडित महिलाले हवल्दारदेखि माथिल्ला अधिकृतसम्मलाई संवेदनशील अंग देखाउँदै बलात्कारको कथा पटक-पटक सुनाउनुपर्ने हुन्छ । तर, उजुरी दर्ता हुन्न, बरु मिलापत्र गर्न दबाब दिइन्छ ।

पीडक फलानो नेता वा व्यापारीको नातेदार हो भनेर डर देखाईन्छ । तराईमा यस्तो प्रवृत्ति अझ धेरै छ, बलात्कारमा उजुरी दर्ता गर्नै महाभारत हुन्छ । महिला सेल सबैतिर हुन्न । पुरुष प्रहरीलाई बलात्कारको घटना कहनु सजिलो होला र ? त्यसमाथि अनेक अव्यावहारिक र तुच्छ प्रश्नको सामना गर्नुपर्छ पीडितले ।

जस्तो एउटा केश दर्ता गर्न जाँदाको पिडा राती साथीको घरबाट आउँदा गाउँकै चिनेको मान्छेले एक जना महिलाको अस्मिता लुटेको थियो, शरीरमा घाउ थिए । तर, प्रहरीबाट सान्त्वना आएन । बरु उल्टै हकारेछन् । ‘राती-राती हिँड्ने हो त ? साँझ परेपछि घरमै बस्नु पर्छ नि !’ यस्ता प्रहरीबाट कस्तो न्यायको अपेक्षा गर्न सकिन्छ ? जल्दोबल्दो कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीको संलग्नताले अनेकौँ सवाल खडा गरेको छ ।

अर्को लाजमर्दो पक्षचाहिँ, बलात्कारी जोगाएको आरोपमा निलम्बनमा परेका एसपी विद्यानन्द माझी १९ भदौमा प्रबल जनसेवाश्री विभूषणबाट विभूषित भए, राष्ट्रपतिबाट ।

करणी भएपछि अनुसन्धान गर्नु प्रहरीको जिम्मेवारी हो । तर, बलात्कार हुनुमा चाहिँ प्रहरीलाई मात्र जिम्मेवार मान्न मिल्दैन, समाजकै उपज हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]