आज :

सुरक्षाकर्मीमाथि आक्रमण गर्दैनौ तर बन्दुकले दबाउन खोजे बन्दुक उठाउँछौं : भरत बम

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ता पनि आक्रोसित भएका छन् । उनीहरुले राज्यले दमन गरे प्रतिरोध गर्ने बताइरहेका छन् । यसैबीच नेकपाका पोलिट्ब्यूरो सदस्य भरत बम ‘रणवीर’ले सरकारले बन्दुकले दबाउन खोजे त्यसको जवाफ त्यसरी नै दिने चेतावनी दिएका छन् ।

एशियन डटकमसँग कुरा गर्दै बमले आफूहरु गिरफ्तार दिन र सहिद बन्न तयार रहेको बताएका छन् । सरकारी प्रतिबन्धले आफूहरु भूमिगत हुनु पर्ने अवस्था नरहेको बताउँदै पार्टीका नेता-कार्यकर्ताहरु जनताको बीचमा रहेको बताए ।

प्रस्तुत छ, बमसँग एशियन डटकमका संवाददाताले गरेको कुराकानीः

के छ खबर ?

ठिक छ । राम्रो छ ।

कता हुनुहुन्छ ?

देशभित्रै छु । जनताको बीचमा छु ।

भूमिगत हुनुभएको हो तपाईँ ?

भूमिगत भएको भए तपाईसँग कसरी कुराकानी हुन्थ्यो त ?

तपाईँहरु भूमिगत भएको हल्ला छ नी त काठमाडौंमा ?

वाईयात कुरा हो । हामी जनताका बीचमा छौं । हामी हिजो पनि जनतासँगै थियौं । आज पनि जनतासँगै छौं । हामी जनताको मुक्ति नहुँदासम्म जनतासँगै हुन्छौं । हामी जनताको वैज्ञानिक राज्यसत्ता स्थापना गर्न चाहान्छौं । भूमिगत भए भन्ने त प्रतिक्रियावादी दलाल राज्यसत्ताको हल्ला मात्र हो । हल्लाको पछि नलागौं ।

भूमिगत नभए, यो ठाउँमा छौं भनेर भन्न मिल्दैन र ?

यस्ता प्राबिधिक कुराहरुको पछि लागेर केही फाईदा छैन ।

ए ए । उसो भए तपाईँहरुलाई सरकारले त प्रतिबन्ध लगाईसक्यो । तपाईहरुको गतिबिधिमाथि नियन्त्रण गर्ने रे ? अब के गर्नुहुन्छ ?

हाम्रो पार्टी माथी सरकारले लाएको प्रतिबन्ध हास्यास्पद छ र यस्को डटेर प्रतिरोध गर्ने पार्टीको नीति हाम्रो पार्टीको महासचिवले सार्वजनिक गरिसक्नु भएको छ । पार्टी त्यही अनुरुप अगाडि बढछ । यहाँ प्रतिबन्ध त भ्रष्ट,दलाल,तस्कर, राष्ट्रघाती,जनघाती ,फासिवादी सत्ता र शासकलाई लाउनुपर्ने तर यस्का विरुद्ध लडिरहेको हाम्रो पार्टीमाथी प्रतिबन्ध लाउनु राज्यले विचारसंग हारेर युद्धको घोषणा गर्नु हो । यसको एकीकृत जनप्रतिरोध आवश्यक छ र हुनेछ । पार्टीले त्यसको कुशलतापूर्वक नेतृत्व गर्नेछ ।

तपाईँले एकिकृत जनप्रतिरोध गर्ने भन्नुभयो, यो कसरी गर्नुहुन्छ ?

हो । मैले बताए नि प्रतिबन्धविरुद्ध एकीकृत जनप्रतिरोध हुनेछ, किनभने हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेको छ । यो जनता, सेना र बिज्ञान प्रबिधि अनि गाउँ र शहर साथै राष्ट्रवादी र मध्यम वर्ग पनि एकीकृत गर्दै मध्यम दुरीमा सम्पन्न हुने गरी अगाडि बढ्छ र बढिरहेको छ ।

एकिकृत जनक्रान्ति गर्दा हिजोको जस्तै तरीकाले युद्ध गर्ने हो ? १० बर्षे जनयुद्ध जस्तै ?

होइन, यो एकीकृत जनक्रान्ती १० बर्षे जनयुद्ध जस्तो हुँदैन, नयाँ हुन्छ । मैले केही त माथिनै स्पष्ट भनिसके । थप हामीले युद्ध गर्ने हैन, क्रान्ति गर्ने हो । यो नयाँ किन हुन्छ भने आजको मानव समाजका नयाँ विशेषता छन् र यी विशेषतलाई ध्यान दिएन भने क्रान्ति सफल हुँदैन, विगतमा त्यही भयो । त्यसैले हामीले क्रान्ति सफल पार्ने नयाँ कार्यदिशा लिएकोले फरक हुन्छ ।

नयाँ तरीका भनेको के हो भन्ने आम चासोको बिषय हो ? त्यो कसरी हुन्छ ? प्रष्ट पार्नुहोस् न ?

यो नयाँ तरिका कस्तो हुन्छ भन्ने सबैतिर जनचासो छ भनेर ठिक भन्नुभयो । यो छ र हुनुपर्छ । यो नयाँ तरिका भनेको सरल, जनप्रिय, बैज्ञानिक र सफल तरिका हो । क्रान्ति भनेको एकदमै जटिल बिषय नभएर जनताले बुझ्ने र भाग लिने सरल हुनुपर्छ । अनि त्यो जनतालाई मन पर्नुपर्छ । हेर्नोस्त अहिले एडिसन दर्लामी मगर भन्नेले गित बनायो नि त “ठोक्न सके ठोक विप्लव” भन्ने कति सरल र जनप्रीय बन्दैछ क्रान्ति । विगतको असफलताबाट पाठ सिकेर सफलताको सुनिश्चितता हुनुपर्छ र त्यसको लागी सामाजिक क्रान्तिको बैज्ञानिक नियम पछ्याएको हुनुपर्छ । यसरी नयाँ तरिकाले क्रान्ति हुन्छ र भईरहेको छ ।

तर त्यसो गर्दा पनि राज्यले त सबै संयन्त्र प्रयोग गरेर तपाईहरुलाई नियन्त्रण गर्ने भनिरहेको छ नी त ? त्यसो गर्दा बल प्रयोग हुने त देखियो नी है ?

हो, राज्यले सबै संयन्त्र प्रयोग गर्ने त भनेको छ । तर, पहिलो कुरा यो एकीकृत र प्रभावकारी रूपमा प्रयोग हुँदैन । दोस्रो कुरा, जहाँ जुन मात्रामा दमन हुन्छ ,त्यहाँ त्यही मात्रामा प्रतिरोध हुन्छ । तेस्रो जति राज्य फासिवादी दमनका साथ अगाडि आउँछ , त्यति त्यो विनाशको नजिक पुग्छ र अन्ततः एकदिन त्यो राज्यको अन्त्य भएर क्रान्ति सफल हुन्छ । नयाँ बैज्ञानिक समाजवादी ब्यबस्थाको उदय हुन्छ ।

तपाईँले वैज्ञानिक जनसत्ता प्राप्त गर्ने भनेर बल प्रयोग गर्ने भन्नुहुन्छ । सरकार नियन्त्रण गर्न राज्यका संयन्त्र प्रयोग गर्छ । यस्तो अबश्थामा फेरि नेपाली नेपालीबीच लडाई हुने भयो नी त ?

पहिलो कुरा क्रान्तिका लागि बल प्रयोग अनिवार्य हुन्छ । बल प्रयोगको महत्व जति बढी बुझ्यो ,त्यति बढी सफलता हात लाग्छ । आजको शासकले त्यही गरेर त टिकेको छ भने क्रान्तिकारीले त झन गर्नैपर्छ नि । दोस्रो कुरा अबको लडाइँ नेपाली नेपालीको बिचमा होइन ,नेपाली र दलालको बीचमा हुन्छ । नेपाली अनुहारको बिदेशी दलालको पहिचान गरि तिनको अन्त्य नगरी नेपाल र नेपालीको मुक्ति र समृद्धि सम्भव छैन, अनि क्रान्ति पनि ।

क्रान्ति त शान्तिपूर्ण तरीकाले पनि गर्न सकिन्छ नी हैन । शान्तिपूर्ण बाटो अबलम्बन गर्दा हुँदैन ?

हो, क्रान्ति शान्तिपूर्ण हुन्छ त्यसको लागि क्रान्ति रोक्ने राज्य र बन्दुक हुनु हुँदैन । तर राज्यको जन्म नै बन्दुकबाट भएको हुन्छ र बन्दुकमै टिकेको हुन्छ भने त्यो परिवर्तन गर्ने क्रान्ति कसरी शान्तिपूर्ण हुन सम्भव हुन्छ ? हाम्रो क्रान्ति शान्तिको लागि हो । शान्ति त्यतिबेला हुन्छ जब राज्य र बन्दुकको अन्त्य हुन्छ । हो त्यसैले कम्युनिष्ट क्रान्ति वास्तविक शान्तिको लागि हुन्छ ।

अब हिजोको जस्तै पुलीस, आर्मीमाथि आक्रमण गर्ने, चौकी कब्जा गर्ने गर्नुहुन्छ की नाई ?

हिजोको जस्तो क्रान्ति हुँदैन । नयाँ हुन्छ भनेर भनी सकियो । अबको क्रान्तिमा दलालको रक्षा गर्न प्रहरी सेना विगतमाझैं हामीविरुद्ध आइलाग्छन भन्ने छैन । यदि आइलागे भने जाइ लाग्ने मानव स्वभाव र अधिकारको कुरा भयो ।राज्यले बन्दुकले दबाउन खोजे, हामी पनि बन्दुक उठाउँछौं,यो त स्वभाविक हो नी ।

तपाईँहरुले जनमुक्ति सेनामा भर्ती पनि खुलाउनु भयो रे हो ? फेरि जनमुक्ति सेना , जनसत्ता पनि गठन गर्नुभएको हो र ? अनि हतियार पनि तयार गर्नुभएको हो र ?

हो । हामीले अहिलेको दलाल पुजीवादी राज्यब्यबस्था अस्विकार गरेका छौं । र विकल्पमा बैज्ञानिक समाजवादी ब्यबस्था अगाडि सारेका छौं । त्यसको लागि आम नेपाली जनतालाई हार्दिक अपील पनि गरेका छौं । । परिणामस्वरूप जनसेना भर्ति र जनसत्ता अगाडि आएको हो ।क्रान्तिका लागी आबश्यक पर्ने सबै खाले कुराहरुको तयारी हुन्छ नै ।

तपाईँका कुरा सुन्दा त हिजोको जस्तै युद्ध हुन्छ की भन्ने त्रास पो देखियो नी त ?

हो । हिजोको जस्तो हुन्छ भनेर राज्यले त्रास फैलाइरहेको छ । किनकि क्रान्तिबाट भ्रष्ट दलाललाई त्रास छ र हुनुपर्छ । जनतालाई क्रान्ति त्रास होइन, उत्साह र गौरवको बिषय हो र हुनुपर्छ । त्यस्तै भएको छ । म फेरि भन्छु त्यो मगर भाइको गीत हेरौ र नाचौं ।

तपाईँहरुको असहमति खासगरि अहिलेको राज्यसत्तासंग के कुरामा हो ?

अहिलेको राज्यसत्ता दलाल पुजिपती बर्गको अधिनायकवाद भएकोले यसको वर्गीय चरीत्रप्रती हाम्रो असहमति छ । यसले श्रमजीवी वर्गको नेतृत्व गर्न सक्दैन र गरिरहेको छैन ।

त्यसो भए वार्ताबाट समस्या समाधान गर्न सकिन्न ?

वार्ता सापेक्ष कुरा हो, यो निरपेक्ष कुरा हैन । राज्य त्यसको लागि तयार छैन ।

सरकारले त वार्ताका लागी आह्वान गरेको छ नी तपाईँहरुलाई ?

सरकार वार्ताको लागि तयार छैन । उसको आह्वान नक्कली हो, युद्धको तयारीको रणनीति अनुरुप वार्ताको कुरा गर्दैछ । घटनाक्रमले पनि त्यही देखाएका छन । नेता, कार्यकर्ता पक्राउ गर्ने, पार्टीलाई प्रतिबन्ध लाउने अनि वार्ता भन्ने यसरी पनि कहिँ वार्ता हुन्छ र ? यो भ्रामक कुरा हो वास्तवमा सरकार वार्ताको लागि तयार छैन ।

वार्ताको लागी भनेर नै सरकारले तपाईको पार्टीको पक्राउ परेका प्रबक्ता खडगबहादुर विश्वकर्मा लगायतका नेता कार्यकर्तालाई छोडेको होइन र ? तर तपाईँहरु वार्ताबाट भागेर ठाउँठाउँमा बम विस्फोट गर्नुभयो । जहाँ निर्दोष मान्छेको ज्यान गयो । म्यानपावर व्यवसायी रोहण गुरुङको घरमा आक्रमण गर्नुभयो । अनि सरकारलाई आरोप लगाएर हुन्छ ?

गिरफ्तार गरेका प्रकाण्डलगायतका नेता कार्यकर्तालाई त सर्वोच्च अदालतको आदेशका रिहा गरिएको हो । कसरी सरकारले छोड्यो र ? सरकारले त पटकपटक गिरफ्तार गरि देशभर डुलाएको होइन् र । अनि कसरी सरकारले छोड्यो । अर्को कुरा जनताबाट कर उठाएर राज्यको सम्पति दुरुपयोग गर्ने एनसेललाई अँझै आक्रमण गर्ने हो । सरकारलाई कर तिर्नु पर्दैन एनसेलले । कर नतिर्ने भ्रष्टाचारी त हाम्रो आन्दोलनका निशाना नै हुन् । चाहे त्यो व्यक्ति होस् वा संस्था । हाम्रो कारबाही दलाल, भ्रष्टलाई नै हुन्छ । त्यस्तै म्यानपावरको नाममा मानव तस्कर गर्ने दलालको घरमा जनताले आक्रमण गर्नु त स्वभाविक हो । उनीहरुले जनताको श्रम शोषण गरिरहेका छन् ।

तपाईँहरु कति निर्दयी है । आफ्नै कुनै बेलाका अग्रज -सहयोद्धाहरुलाई मार्ने योजना बनाउनुभएको रहेछ ?

हाहाहा.. हाम्रो गाउँ घरमा भन्छन नि पाप धुरी बाट कराउँछ । हो, त्यस्तै भएको हो । पहिलो कुरा प्रचण्डको त्यो अपराधबोधको छट्पटी हो, दोस्रो कुरा, हामीलाई देखाएर अरु कसैले पनि त्यो सोँचेको हुनसक्छ । जेहोस्,राष्ट्र र जनताविरुद्ध अपराध गर्ने मानिसहरु जनताबाट जहिले पनि असुरक्षित हुन्छन् । केपी-पिके, बादलको हकमा पनि त्यही सत्य हो, उनिहरु प्रहरी र सेनाको घेरामा पनि सुरक्षीत हुन सक्दैनन् ।

ए उसो भए यसकुरामा तपाईँलाई गर्व छ ?

हो । दलालहरु जनताबाट डराएर मार्दैछन् भन्ने हल्ला फिजाउँदै हामीमाथि आक्रमण गर्न खोजीरहेका छन् । यो गलत हो । उनीहरुले आफूलाई मारिहाल्छन् भन्ने डरले हामीलाई आरोप लगाईरहेका छन् ।

तपाईँको पार्टीमा विवाद साम्य भयो अहिले ?

हाम्रो पार्टीमा विवाद छ भन्ने कुरा गलत हो । विवाद नै नभएको पार्टीमा के को साम्य हुने ?

ललितपुरको एनसेल घटनामा पार्टीबाट दुई फरक फरक विज्ञप्ति आए भन्ने छ नी ? 

ललितपुर एनसेलको कारबाहीमा त्यस्तो फरक धारणा आयो भन्ने कुरा सहि होइन, यसमा पार्टी एकीकृत छ । दुईटा विज्ञप्ती पनि आएको छैन ।

अन्तमा, तपाईँहरुलाई मर्ने मार्ने डर छैन ?

हामीलाई गिरफ्तार हुने, शहीद हुने चिन्ता छैन, क्रान्तिका लागि देश र जनता लागि बलिदान गर्न तयार छौं तर जो मान्छे आफ्नो लागि सोचिरहेका छन् । अझ केही पैसाको लागि काम गर्छन्, उनिहरुले भविश्‍यको बारे सोचुन्, भ्रष्ट दलाल शासकको लागि आफ्नो प्यारो जीवन खेर नफालुन् । सम्पूर्ण जनताहरु एकीकृत भएर यो सामाजिक दलाल फासिवादी सत्ताविरुद्ध एकीकृत जनक्रान्ती सफल पार्न सबैलाई सहयोगको लागि अपील गर्न चाहान्छु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal