
१५ चैत
कैलाली । घोडाघोडी सिमसार र चुरे क्षेत्रमा थप ७३ प्रजातिका चरा भेटिएका छन् ।
नेपाल पक्षी संरक्षण संघले हालै गरेको सर्वेक्षण अनुसार थप ७३ प्रजातिका चरा भेटिएका हुन् ।
नयाँ र पुराना गरी २९९ प्रजातिका चरा पुगेको संघका परियोजना अधिकृत हिरुलाल डंगौराले बताए । चरा विज्ञको टोलीले चैत १ देखि ६ सम्म सर्वेक्षण गरेको थियो ।
उनका अनुसार सन २०१२ मा २२६ प्रजातिका चरा फेला परेका र सन् २०१३ देखि २०१८ सम्मको अवधीमा ४६ प्रजातिको चरा चुरे क्षेत्र र बाँकी २७ प्रजातिका घोडाघोडी सिमसार क्षेत्र गरी थप ७३ प्रजाति पुगेका छन् ।
नयाँ भेटिएका प्रजातिमा राजलाचे, घेघरी घाँसे खिस्टे, राजधनेश, हिमाली गिद्ध, न्याउली चरीलगायत रहेका छन् । विश्वमै अति दुर्लभ मानिने प्रजातिमा कैले टाउको हाँस, डंगर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध, लघु महाचील, लोभीपापी गरुड, राजलाचे, घेघरी घाँसे खिस्ट रहेको छ ।
उक्त क्षेत्रमा संकटको नजिक रहेको मलाख हाँस, ठूलो धनेश, हिमाली गिद्ध, माछा कुल, खोले हुटीत्याउ प्रजातिका चरा पनि उक्त क्षेत्रमै पाइने गरेको छ ।