Dabali News

सवारी दुर्घटना कम गर्न सडकमै चालकको आँखा परीक्षण, अधिकांश चालकमा प्रेसरको समस्या

२९ फागुन

काठमाडौं । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रुकुम पश्चिममा चालकको आँखा परीक्षण गरिएको छ ।

आँखा उपचार केन्द्र सल्लेले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा गाडीचालकको आँखा सडकमै परीक्षण गरेको हो ।

जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका-४ शीतलपोखरीमा बस, जिप, ट्रक, ट्र्याक्टर, पिकअप भ्यान, मोटरसाइकल लगायतका सवारीसाधनका चालकको आँखा परीक्षण गरिएको आँखा उपचार केन्द्र सल्लेका सहायक इन्चार्ज पहलसिंह ओलीले जानकारी दिए ।

आँखाका समस्याका कारण सवारी दुर्घटना हुन सक्ने भएकाले सवारीचालकको आँखा परीक्षण गरिएको उनले बताए । आँखासँगै चालकको ब्लडप्रेसर पनि परीक्षण गरिएको छ ।

१ सय ३५ जनाको आँखा तथा प्रेसर जाँच गरिएको ओलीले बताए । परीक्षण गरिएकामध्ये २ जनामा पूर्ण रूपमा रङ पहिचान गर्न नसक्ने र एक जना चालकमा आंशिक रूपमा मात्र रङ छुट्याउन सक्ने समस्या देखिएको छ ।

२० जना चालकले भने चस्माको प्रयोग गर्नुपर्ने देखिएको सहायक इन्चार्ज ओलीले बताए ।

त्यस्तै अधिकांश चालकमा प्रेसरको समस्या देखिएको छ । परीक्षण गरिएकामध्ये ९५ प्रतिशत चालकमा उच्च रक्तचापको समस्या देखिएको आँखा उपचार केन्द्रका इन्चार्ज मञ्जु बोहराले जानकारी दिइन् ।

शिविरमा चालकको आँखा र रक्तचाप परीक्षणसँगै आवश्यक औषधि पनि वितरण गरिएको छ । परीक्षण गराएका चालकलाई आँखा र रक्तचापको नियमित परीक्षण गर्नका लागि परामर्श दिइएको छ ।

पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्न थालेपछि आँखाको परीक्षण गरिएको हो । आँखा र रक्त परीक्षणले सवारी दुर्घटनामा कमी आउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भरतबहादुर भण्डारीले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]