Dabali News

सडक छेउमै शवगृह, बेवारिसे शवको दुर्गन्धले आसपासका बासिन्दालाई सास्ती

२९ फागुन

काठमाडौं । नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ ।

पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ ।

दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको चपेटामा परेका छन् ।

गन्धकै कारण व्यवसायमा धक्का पुगेको र रोग फैलिन सक्ने स्थानीय व्यवसायीको गुनासो छ । इ-रिक्सा चालक भवानी खरेलले भने, “अस्पतालको जग्गा धेरै छ तर शव राख्ने ठाउँ साँघुरो छ, यसलाई व्यवस्थित गर्नुपर्छ, बेवारिसे शव राख्ने स्थान छुट्टै हुन्ुपर्छ । बुद्धचोकमै शवगृह हँुदा चोक नै गन्हाउने गरेकाले चोकमा बस्न नसकिने, नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ ।”

गन्धले गर्दा रिक्सा चालकलाई समस्या हुने गरेको तथा यात्रुलाई सेवा दिन पनि गाह्रो भइरहेको उनले बताए । अस्पतालले नगरवासीको समस्या बुझेर यसको छिटो व्यवस्थापन र बुद्धचोक भन्दा अन्यत्र सार्नुपर्ने सुझाव दिइएको छ ।

बेवारिसे शव सडेर गल्ने हुँदागन्ध आउने गरेको अस्पताल नजिक मेडिकल सञ्चालन गरिरहेका औषधि व्यवसायी मधुसुधन चौधरीको गुनासो छ । यसको गन्धले बिरामी नै पर्ने गरेको तथा नाक थुनेर सेवा दिनुपरेको उनले बताए ।

बेवारिसे शवलाई समयमा पहिचान गर्न प्रहरीले ढिलासुस्ती गर्नाले पनि शव धेरै दिन राख्दा गन्ध आउने गरेको छ । नजिकै रहेको लामिछाने मःम रेष्टुरेण्टका सञ्चालक पवित्रा लामिछानेले शवगृहको गन्धले होटलमा आउने ग्राहक पनि फर्कने गरेको गुनासो गरिन् ।

सकेसम्म शवघर बजारभन्दा टाढा सार्न स्थानीयवासीको माग छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट ड. अनन्त शर्माले शवगृहले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि सर्वसाधारण सबैलाई असर गरेको स्वीकार गर्दै वैज्ञानिक दृष्टिले पनि अहिले भएको शवगृहको स्थान उपयुक्त नभएको बताए ।

खासगरी वेवारिसे शवको ७२ घण्टासम्म पनि अनुसन्धान चल्ने र प्रहरीको निगरानीमा हुने भएकाले अस्पताललाईसमेत गाह्रो भएको अस्पताल प्रशासनको भनाई छ ।

रामग्राम नगरपालिकाले पनि बेवारिसे शवको व्यवस्थापन समयमै नगर्दा बजार नै दुर्गन्ध हुने गरेको अस्पतालले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]