Dabali News

सुनिलको ह्याट्रिकमा हिमालयन शेर्पा विजयी, प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश

२८ फागुन

काठमाडौं । पाहुना टोली हङकङ नेप्लिज एकेडेमी विरुद्ध फराकिलो जित निकाल्दै हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौ माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।

सुनिल खड्काको ह्याट्रिक मद्दतले हिमालयन शेर्पाले १ का विरुद्ध ५ गोल अन्तरमा हङकङलाई पाखा लगायो । खेल सुरु भएको पहिलो मिनेटमा नै सुनिलको गोलले हिमालयनले अग्रता बनाएको थियो ।

हङकङका डिफेन्सले पोजिसन लिन नपाउँदै सुनिलले गोल गरेका थिए । गोलरक्षक अभिजित रोय अगाडी बढेको मौकामा सुनिल खड्काले हिमालयनलाई सुरुवाती अग्रता दिलाए । खेलको ९ औँ मिनेटमा सुनिलले अग्रता दोब्बर बनाए ।

हङकङका डिफेन्स र गोलकिप्परबीच तालमेल अभाव भएको अवस्थामा वानभर्सेस वानकै अवस्था अर्को गोल थपेका हुन् । ३७ औँ मिनेटमा विशन गुरुङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले जाली चुमेपछि पहिलो हाफमा हिमालयन शेर्पाले ३-० को फराकिलो अन्तर बनायो ।

दोस्रो हाफमासमेत दबाबमा परेको हङकङका लागि ४६ औँ मिनेटमा समीर लिम्बुले गोल फर्काए । ६३ औँ मिनेटमा सुनिलले गोल गर्दै ह्रयाट्रिक पुरा गरे ।

७५ औँ मिनेटमा कप्तान मानबहादुर तामाङले गोल गरेपछि हिमालयन शेर्पा ५-१ गोल अन्तरले विजयी बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । हङकङले पनि पहिलो हाफमा केही आकर्षक मूभ बनाएको थियो ।

दीपेश मोक्तानले हिमायलनको पेनाल्टी क्षेत्रमा पाएका लगातार ३ वटा अवसरलाई गोलमा परिणत गर्न सकेनन् । आशिष चापागाईको उत्कृष्ट प्रहारलाई हिमालयनका किशोर गिरीले मुस्किलले बचाएका थिए ।
दुवै टिमले ३-३ जना अफ्रिकन खेलाडीलाई मैदान उतारेका थिए । झापा गोल्डकपपछि इलाम उक्लिएको हङकङले मौसमका कारण खेलाडीले खुलेर खेल्न नपाएको प्रतिक्रिया दिए ।

‘खेलाडीको अस्वस्थतासँगै टिमवर्क समेत राम्रो बन्न सकेन,’ प्रशिक्षक गोपाल राईले भने । हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले योजना मुताबिक खेलाडीले राम्रो खेल पस्केको बताए ।

यो सिजन हिमालयन शेर्पाले वीरगन्जको विराट मेमोरियलमा सेमी फाइनलमा त्रिभुवन आर्मीसँग टाइबेकरमा पराजित हुनु परेको थियो ।

त्यस्तै पोखरामा आर्मीसँगै क्वाटर फाइनलमा पराजित हिमालयनले सिमरामा थ्रिस्टार र राइनो गोल्डकपमा च्यासलसँग पराजय भोगेको थियो । सोमबारको खेलमा हिमालयनका सुनिल खड्का म्यान अफ द म्याच घोषित भए ।

सेमी फाइनल प्रवेशका लागि हिमालयनले डिफेन्डिङ च्याम्पियन थ्रिस्टारको समना गर्नेछ । मङ्गलवार विभागीय टिम नेपाल पुलिस क्लबले युनाइटेड दार्जिलिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दार्जिलिङले उदघाटन खेलमा आयोजक माइभ्यालीलाई पन्छाएको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]