Dabali News

ओली सरकार नबोलेरै लम्पसार परेको छः मैनाली

२३ फागुन

काठमाडौँ । नेकपा (माले) का महासचिव सी.पी. मैनालीले वर्तमान सरकार लम्पसार पर्दै गएको बताएका छन् । उनले कोही बोलेर लम्पसार पर्ने र कोही नबोलेरै लम्पसार गर्ने गरेका बताए ।

“कोही बोलेर लम्पसार पर्छन्, कोही नबोलेरै लम्पसार पर्दछन् ओली सरकार नबोलेरै लम्पसार पर्न थालेको छ । यो पनि एक प्रकारको लम्पसारवाद हो” मैनालीले भने । विहीबार राजधानीमा आयोजित ‘माथिल्लो कर्णाली परियोजनामा जीएमआरको म्याद थप नगरियोस्’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव मैनालीले सरकार कुरा ठूलाठूला गरेको तर व्यवहारमा सानोभन्दा सानो काम पनि गर्न नसकेको बताए ।

लिपुलेक प्रकरणमा दुई पटक चीन भ्रमणमा गएरपनि कुरा नउठाएको तथा माथिल्लो कर्णाली परियोजनामा अनावश्यक रूपमा जीएमआरको म्याद पटकपटक थपेको भन्दै मैनालीले विरोध जनाए । उनले अहिले राष्ट्रियतामा बढी चोट पुगेको बताउँदै सम्पूर्ण देशभक्तहरुको एकता अहिलेको आवश्यकता रहेको धारणा राखे ।

सम्पूर्ण देशभक्त र कम्युनिस्ट शक्तिहरुको बीचमा एकता भएर आन्दोलन गर्नु पर्ने बताउँदै मैनालीले नेपालमा भारत र पश्चिमाहरुको चासो बढ्दै गएको बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटान भारतमा पर्दछ भनेको गल्तीले नभएको बताउँदै भने, “त्यसको अर्थ यदि नेपालले इन्डो–प्यासिफिक रणनीतिमा चीनविरुद्ध नउभिए नेपालको सार्वभौमिकता विलीन हुन सक्छ भन्ने सन्देश दिनु थियो ।” उनले नेपालको स्वतन्त्रता अहिलेसम्म पनि ग्यारेन्टेड नभएको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि भैरवराज रेग्मीले जति दुःख पाएपनि देशभक्तिपूर्ण भावना कायम राखिराख्ने विज्ञ–विशेषज्ञहरु धन्यवादयोग्य भएको बताए । “सत्तामा पुगेपछि राष्ट्रघात गर्ने नेपालको राष्ट्रिय चरित्र नै बनेको छ । त्यसो हुनुको कारण देशको चरित्र अहिले पनि अर्धसामन्ती हुनु नै हो” रेग्मीले भने । उनले देशभक्त शक्तिहरुको हातमा राजनीति नआउँदासम्म यस्तो विकृति कायमै रहने बताए ।

समाजवाद उन्मुख भनेको समाजवाद होइन, राष्ट्रिय अर्थतन्त्रको कुरा भएको बताउँदै रेग्मीले कुनै समय राजा महेन्द्रले पनि राष्ट्रिय अर्थतन्त्र अगाडि बढाउन खोजेको स्मरण गरे । रेग्मीले माथिल्लो कर्णालीजस्ता परियोजना राष्ट्रले नै बनाउँदा राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताउँदै स्वदेशी पुँजीबाटै माथिल्लो कर्णाली बनाउनु पर्नेमा जोड दिए ।

नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले तत्कालै सफलता प्राप्त भएन भनेर जनआन्दोलन, जनसङ्घर्ष नै नगर्ने दृष्टिकोण गलत भएको बताए । “कम्युनिस्टहरुको लक्ष्य त साम्यवाद हो, अहिले नै साम्यवाद आएर भनेर कम्युनिस्टहरु हात बाँधेर बस्ने ? अपरकर्णालीजस्ता आन्दोलनले जनचेतना उठान गर्दै जनमत निर्माण गर्दछ र त्यो जनमतले एउटा निकास दिन्छ” पुरीले भने । उनले आफ्नो क्षमता र पहुँचअनुसार सबैले आ–आफ्नो क्षेत्रबाट जनआन्दोलनलाई अगाडि बढाउन पहल गर्नुपर्ने बताए ।

माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाहीले अवधारणापत्र, त्यस्तै पुल्चोक इन्जिनियरिङ कलेजका प्रोफेसर हरि पण्डितले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको व्यापक सम्भाव्यता र जलश्रोत अभियन्ता रतन भण्डारीले जीएमआरको दिवालिया हुन थालेको वित्तीय स्थितिका बारेमा प्रोजेक्टरमार्फत् विषयवस्तु प्रस्तुत गरेका थिए ।

सोही विषयमाथि टिप्पणी गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, प्रा.डा. सुरेन्द्र केसी, राष्ट्रिय जागरण परिषदका संयोजक साध्यबहादुर भण्डारी, पूर्वजलश्रोत सचिव डा. द्वारिकानाथ ढुङ्गेल र नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख सन्तबहादुर पुनले गरेका थिए ।

जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभाषराज काफ्लेको अध्यक्षता, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाहीको सञ्चालन र नेकपा (माले) का सचिवालय सदस्य कुमार बेलबासेको स्वागत मन्तव्य राखेका थिए ।

नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान र राष्ट्रिय जागरण परिषद नेपालले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।

  • प्रकाश थापामगरबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]