Dabali News

गैरआवासीय नेपालीद्धारा पञ्चासे केबलकारमा ४० करोड लगानी गर्ने प्रतिबद्धता

१९ फागुन

काठमाडौं । केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माणका लागि गैरआवासीय नेपालीले ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा लगानी गर्न प्रतिबद्धता जनाएका हुन् ।

संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न लागेका हुन् ।

पोखरा महानगरपालिका-३३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ ।

केबलकार गण्डकी प्रदेशकै सबैभन्दा ठूलो परियोजना भएकाले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

देश समृद्ध बनाउने राम्रो एजेण्डामा उनीहरुको सकारात्मक प्रतिबद्धतासहित लगानीका लागि अग्रसर रहेको आफूले पाएको शर्माको भनाई रहेको छ ।

उनले दिएको जानकारीअनुसार अष्ट्रेलियामा बस्ने पर्वतेलीले २० करोड, बेलायत लगायतका युरोपेली देशबाट १० करोड र पर्वत समाज कतारबाट २ करोड, पर्वत समाज बेल्जियमबाट १० करोड लगानीको प्रतिबद्धता आएको छ । कास्की समाजसँगसमेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलेसमेत परियोजनाको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । ११ अर्ब ५० करोड लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ ।

परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर संकलन गर्ने लक्ष्य रहेको छ । ४ अर्ब ५५ करोड शेयरमध्ये २ अर्ब ७३ करोड प्रवद्र्धक शेयरबाट संकलन गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । १ अर्ब ८२ करोड भने शेयर निष्कासनबाट संकलन गर्ने लक्ष्य छ । विसं २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ ।

पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करीब ३ हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ ।

परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजारलाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । सोही समूहले तनहुँको बन्दीपुरमा पनि केबलकार निर्माण गरिरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]