Dabali News

विद्यादेवी म्याडम् पदको लिसोः पूर्वडीआईजी पार्वती थापा

२३ फागुन

काठमाडौँ । पूर्वडीआईजी पार्वती थापामगरले विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहोर्याउन खोज्नु गलत भएको बताएकी छन् । एउटै व्यक्ति पटक पटक सोही पदमा दोहोर्याउँदा अरु जेलनेल खाएकाहरुले अवसर नपाउने थापाको तर्क छ ।

नेकपा एमालेले मंगलबार मध्यराति वर्तमान राष्ट्रपति भण्डारीलाई पुनः राष्ट्रिपति उम्मेदवार बनाउनु निर्णय गरेपछि सामाजिक संजालमा लेख्दै थापाले लेखेकी छन्, “हालका नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सोही पद दोहोर्याउन खोज्नु भनेको अलि स्वार्थीपना जस्तो देखिएन र ? उहाँभन्दा अगाडिदेखि पार्टीलाई बढि योगदान दिएका, जेलनेल खाएका र योग्य व्यक्तिहरूको ताती पनि लामै होला नी ।”

थापाले जीवनमा एक पटक राष्ट्रिपति हुनु नै विद्यादेविको लागि ठूलो उपलब्धी भएको बताउँदै अब यतिमै सन्तुष्ट हुनुपर्ने बताएका छन् । उनले राष्ट्रपति भण्डारीले आफूमात्रै खाउँ लाउँ भन्दा सहिद परिवारको आशुको श्राप लाग्ने समेत बताएकी छन् ।

“राष्ट्रपति पदमा विराजमान हुन पाउनु पनि जीवनमा यति ठूलो उपलब्धी प्राप्ति हो । यतिकैमा सन्तुष्ट हुँदा राम्रो हुन्छ होला भण्डारी म्याडम । होइन भने अन्य तपाईँजस्तै हजारौं शहिदका परिवारको आशुको श्राप लाग्ला चेतना भया” थापाले लेखेकी छन् ।
यही सन्दर्भमा उनले आफूलाई कसरी प्रहरी प्रमुख हुनबाट रोकिएको थियो भन्ने खेलबारे पनि केही कुरा लेखेकी छन् ।

यस्तो छ उनको लामो स्टाटसः

सन्दर्भ नेपालको राष्ट्पति को होला भन्ने हो ?

संसारका मानिस स्वार्थी प्राणी मध्यको एक हो तर सबै एउटै प्रवृतिका हुन्छन् भन्ने छैन । मैले मेरो युवा जोश जागर सबै खर्चेर नेपाल प्रहरी सेवामा समर्पित भएर तीस वर्ष काम गर्दा जहिले पनि कामलाई प्राथमिकता दिने क्रममा पाँच वर्षको बच्चालाई पुलीस बोडिङ साँगामा राखेर काम गरेँ । त्यहि लगनशीलता र तपस्याले गर्दा नै नेपाल प्रहरीको डीआईजीसम्म पुगे । म भन्दा पहिला कोही पनि महिला डीआईजीको पदसम्म पुगेको थिएनन् । तीस बर्ष सेवा अवधि पुग्न दुई महिना बाँकी थियो । आईजीपी हुने मौका त दिएनन् दिएनन् तर सातवटा सिट एआईजीपीको खाली नै राखेर मलाई रिटायर्ट गराए । एआईजी पनि दिएनन् खिले रेग्मी र माधव घिमिरे (जो त्रिशुली नदीमा दुई भाईहरूसहित लिएर पसेका छन्) ले तात्कालीन अवस्थामा पकेटको पद बनाएका थिए । दुई महिनाको लागि आईजीपी बनेपछि स–सम्मान् घर जाने मैले मानसिकता बनाई सकेको थिए ।

किसानको छोरी हुँ सँगै पढेका साथीहरूलाई उनीहरूका अविभावकहरूले छोरीलाई धेरै पढाएर के गर्ने भनेर १४–१५ वर्ष मै विवाह गरिदिएपछि अहिलेसम्म उनीहरूले वन पाखामा घाँस दाउराको भारीलाई छोड्न सकेका छैनन् । तसर्थ डीआईजी पद पनि मेरो लागि ठूलो प्राप्ति हो । म न्यायको अनूयायी , न्याय संगत अधिकार प्राप्ति मात्र मेरो लक्ष्य थियो । दुई महिना आईजीपी भएपछि छोड्दैन भन्ने आशंकाले न्वारनदेखिको बल देखाएर म भन्दा एघार महिना जुनियर डीआइजी उपेन्द्रकान्त अर्यालले अनेक टिकडम गरेर मेरो दुई महिने आईजीपी पद हडपेर आफ्नो भागमा ल्पस गरेर ठूलै पुरूषार्थ देखाए । तर, म त्यति स्वार्थी छैन म आफ्नो भाग खाएर अरूको भाग हडप्नलाई अरू अवधि आफ्नो बढाउनलाई अरूलाई अन्याय गरेर अनावश्यक विवादमा फस्ने मेरो चाहाना पनि थिएन र मबाट कदापी त्यस्तो हुँदैन्थ्यो । सबैलाई एउटै टोकरीमा हालेर एउटै चश्माले हेर्ने प्रवृती कहिलेसम्म हावी भइरहने हो भन्ने सोचनिय विषय हो ।

राष्ट्रपति पदको प्रसंग 

हाम्रो जस्तो थोरै मात्र अवसर भएको देशमा एक जनाले कुनै एउटा उच्च तहमा एक पटक आसन्न हुने अवसर प्राप्त गर्नु भनेको ठूलै उपलब्धि मान्नु पर्दछ । तर त्यहि पदमा लिसो जस्तो भएर टासिएर बस्ने कुर्सी मोह साह्रै ठूलो सरूवा रोग जस्तो भएर देखिएको छ । गिरीजाले पार्टीको सभापति पद आर्यघाटसम्मै लगेझैं अरूपनि त्यहि पदचाप पछ्याउदै छन् । कुनैपनि पद तपाईँलाई आवश्यक होइन कि त्यो पदभारले तपाईलाई पछ्याउने स्थितिको सिर्जना तपाईँ त्यो पदभार बोकेर बस्दाको काम कारवाही र परिवर्तनले गर्न सक्नुपर्दछ । कुनैपनि पदमा रहेर फरक ढंगले काम गरेर उदाहरणिय बनेका व्यक्तित्वहरू जस्तै गोकर्ण विष्ट, लालबावु पण्डित, गगन थापा, जनार्दन शर्मा र कर्मचारी कुलमान घिसिडङजस्ता व्यक्तिहरूलाई त्यस्ता पदहरू आाफै पछ्याइरहेका हुन्छन् । तपाईँबाट जनताले अझ बढि सुधारको अपेक्षा राखेको र तपाईँको अभाव खड्किएको हुनुपर्दछ त्यस्ता पदहरूप्रति अरू भागीदार हुनलाई । त्यस्ता कुर्सीहरूलाई जागीर खाने र ऐस आरामको कुर्सी बनाइनु हुँदैन । ससम्मान निस्वार्थ ढंगले अरू साथीहरूलाइ आफ्नो कुर्सी छोडिदिँदा तपाईँप्रतिको सम्मान झन बढ्दछ । तर यहाँ यस्तो विडम्वना छ, बलवुताले भ्याएसम्म अनेक टिकडम अपनाएर पदलिप्त भईरहने कुरीकुरी पनि नमानेर ।

यस्तै परिस्थिती नजिकबाट नियाल्दै लेखे होलान् एक महान कविलेः

‘मै खाउँ मै लाउँ सुख सयल मै गरूँ
मै हाँसु मै बाचुँ
अरू सब मरून दुर्वलहरू…’ भन्ने कविताका हरफहरू सार्थक बनाउन खोजेझैं हालका नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सोही पद दोहोर्याउन खोज्नु भनेको अलि स्वार्थीपना जस्तो देखिएन र ? उहाँभन्दा अगाडिदेखि पार्टीलाई बढि योगदान दिएका, जेलनेल खाएका र योग्य व्यक्तिहरूको ताती पनि लामै होला नी । राष्ट्रपति पदमा विराजमान हुन पाउनु पनि जीवनमा यति ठूलो उपलब्धी प्राप्ति हो । यतिकैमा सन्तुष्ट हुँदा राम्रो हुन्छ होला भण्डारी म्याडम । होइन भने अन्य तपाईँजस्तै हजारौं शहिदका परिवारको आशुको श्राप लाग्ला चेतना भया ।

ओली सरबाट पनि यस्ता कुरामा विवेकशिल भएर आफ्नो इतिहास सुनौंला अक्षरले लेख्ने काम भएमा छवि अझ राम्रो हुनेमा दुइ मत छ र ?

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]