Dabali News

रसुवा प्रलेस र स्मृतिका केही गोरेटाहरू

मुख्य काम थियो प्रगतिशील लेखक सङ्घ, रसुवाको सम्मेलनमा सहभागी हुनु । उसो त निर्धारित मिति, समय र अन्य बस्दोवस्तसम्बन्धी आवश्यक कुराहरूको तयारी पहिला नै भइसकेका थिए । नुवाकोट जिल्लाको त्रिशुलीवरिपरि यसअघि पुगिकेको भए पनि रसुवा जिल्ला नै जाने अवसर भने मिलिरहेको थिएन । त्यो भूगोलतिर जाने इच्छा अलि अघिदेखिकै थियो । त्यसकारण पनि त्यहाँको भूगोल, मार्ग र अन्य कुराको बारेमा केही पूर्व आधारभूत जानकारी लिएपछि र आवश्यक सामग्रीको जोरजामसहित निर्धारित समयमा १५ पुस, २०७५ को ठीक ११.३० बजे रसुवा जाने पासाङ्हामु यातायात सेवा समितिको डिलक्स बसमा चढेँ ।

बस यात्रीले लगभग भरिएको थियो । बालाजु माछापोखरीबाट १२.०० मा बस गुड्यो । त्यति धेरै वाधा उत्पन्न नभईकन छिट्टै धादिङको गल्छी पुगियो । गल्छी त मेरो लागि नौलो कुरा हुने भएन किनभने म धादिङमा जन्मेको मान्छे, चितवन स्थायी बसोबास भएपछि पनि आवत–जावत गर्ने मुख्य मार्ग नै त्यही थियो तर जब म सवार भइरहेको बस त्यहाँबाट उत्तरतर्फको कच्ची र धुलाम्मै सडक हुँदै त्रिशुलीतर्फ मोडियो, तब मेरा लागि ती ठाउँहरू नौला–नौला लाग्न थाले । म बसेको सिटसँगै एकजना नुवाकोटकै साथी त थिए तर तिनलाई आफ्नो जिल्ला र मुख्य–मुख्य ठाउँबारेमा खासै जानकारी रहेनछ । उनलाई एकपटक “झिल्टुङडाँडा कहाँनेर पर्छ” भनेर सोधेको थिएँ, उनले त “यो ठाउँ पनि नुवाकोटमा छ र” भनेपछि उनको बारेमा धेरै भन्नै परेन । बरु बेला–बेलामा बसका सहचालक भाइसित सोद्धै अघि बढियो । गोरु जुधाउने खेलले प्रसिद्ध भएको तारुकादेखि त्यहीका मुख्य–मुख्य ठाउँको परिचय बरु उनै सहचालक भाइले नै गराइदिए । त्यसले अलि–अलि भने पनि हल्का गरायो ।

मसँगै बसेका ती नुवाकोटे साथी देवीघाटमा झरे । ती साथी झरेपछि मन केही शान्त भयो । केको मन शान्त हुनु, फेरि अर्को आपत् आइलाग्यो । मसँगै रहेको जब सिट खाली भयो, पछाडि बसिरहनुभएकी एकजना मोटी दिदी त्यही सिटमा आएर बस्नुभयो । ती दिदीको शरीर मात्र त्यस्तो रहनेछ, स्वभाव पनि उस्तै रहेछ । बसबाट देखिएको अलि परको गाउँको बारेमा यसो सोध्न खोजेको त उहाँले बोल्न पनि पैसा पर्ला जस्तो गर्नुभयो । आखिर नुवाकोट न प¥यो, कतिखेर ओर्लूँ र लामो सास फेरूँ जस्तो भइरह्यो । तथापि निर्माणधीन बाटो भएर पनि चालकले राम्ररी नै नुवाकोटको त्रिशुलीबजार करिब ४ बजेतिर पुर्‍याए ।

बस त्रिशुलीबजारबाट माथितर्फ लाग्यो । अझै सानो बाटो रहेछ । बेला–बेलामा जाम परिराख्ने । तैपनि बस आफ्नै रफ्तारमा अघि बढिरह्यो । बस वेत्रावती पुग्यो । त्यहाँ स–सानो लफडा परेको रहेछ । एउटा ट्र्कले घर भत्काएर त्यहाँ आएको रहेछ । त्यहाँ प्रहरीहरूको बाक्लो उपस्थिति थियो । त्यहाँबाट बस जति–जति उकालो लाग्दै थियो, उति–उति मन रमाउँदै थियो । पर–परका डाँडाहरू पनि देखिन थाले । कतिपय डाँडा हिउँले सेताम्मै थिए । बस जति माथि–माथि जाँदै थियो, उति–उति परपर डाँडामाथि रहेको घाम पनि बास बस्न ताउर–माउर गर्दै गरेको अनुभूति हुन्थ्यो । अलि माथि गएपछि बाटोमा केहीबेर रोकिनुपर्यो जामका कारण । त्यहाँ एक बालक भेटिए । ती बालकको दुवै गाला स्याउका दानाजस्तै थिए, सा¥है लोभलाग्दा । जिन्दगीमा त्यति हृष्टपुष्ट र सुन्दर बालक कमै देख्न पाइन्छ । त्यसपछि बस कालिका गाउँपालिका प्रवेश ग¥यो । मलाई तोकिएको ठाउँ मुख्य बजार भन्ने थियो, मैले त्यसैअनुसार सहचालक भाइलाई भनेको पनि थिएँ तर ती भाइले निकै माथि घुम्तीनेर पुगेपछि पो “तपार्ईं झर्ने यही हो सर” भने ।

पहिलोपटक रसुवाको माटोमा पाइला राखियो । घुम्तीमा झरेपछि उद्धव सरलाई सम्पर्क गरेँ । उहाँले “ओहो ! तपाईं त निकै माथि पुग्नुभएछ, तल पेट्रोलपम्प भएको ठाउँमा आउनुहोला” भन्नुभयो । म त्यहाँबाट फकेँ । चौकीको नजिकैबाट एकजना भाइले बाइकबाट रिसिभ गर्नुभयो । यसरी कपिल होटलमा उद्धवजीसत भेट भयो । उद्धजीसित अन्य साथीहरू पनि हुनुहँुदो रहेछ । परिचय भयो । कोही पुराना, कोही नयाँ साथीहरू हुनुहुन्थ्यो । निकैबरको कुराकानीपछि त्यही पकाइएको स्वादिलो खाना त्यही खाएर अलि तल रहेको कपिल होटेलमा रात बिताइयो । होटेल सञ्चालक आचार्यजी र भाउजुको आतिथ्यता नेपाली ग्रामीण जीवनको जिवन्त उदाहरण थिए, जुन कुरा क्रमशः दुर्लभ बन्दैछ ।

भोलिपल्ट बिहान सबेरै उठेर नित्यकर्म सिध्याएर माथि उक्लेर उही होटेलमा चिया पिएँ । एकछिन घुमफिर गर्न निस्किएँ । वरिपरिका सुन्दर वातावरणले मन निकै चङ्गा बनाएको थियो । अलि पर देखिने गणेश हिमाल हाँसिरहेको प्रतीत हुन्थ्यो । चारैतिर सुन्दर डाँडाहरूले घेरिएको ओरालो–ओरालो परेका कालिकास्थान प्राकृतिक हिसाबले पनि निकै सुन्दर मात्र थिएन, सफा पनि थियो । जिल्ला प्रलेसका निर्वतमान सचिव हेमनाथ खतिवडाले फोन गरेर बोलाउनुभयो । भूमिअधिकार मञ्चको घरमा जम्मा भइयो । त्यहाँ सम्मेलनको तयारीबारे सामान्य छलफल भयो । अन्य साथीहरू पनि रमाइला र फुर्तिला लागे । तल ओर्लेर खाना खाएपछि सम्मेलन हलतर्फ लागियो । सम्मेलनका लागि साथीहरू फाट्टफुट्ट आउन सुरु गरेका थिए । केहीबेरको पखाईपछि सम्मेलन सुरु भयो । २०६५ सालमा तत्कालीन नेकपा माओवादीका इन्चार्जका रूपमा रसुवामा रहँदा अनिल शर्मा ‘विरही’ (हाल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज) को पहलमा स्थापना भएको प्रलेस रसुवाको आफ्नो सापेक्षतामा राम्रो उपस्थिति थियो । सम्मेलन हलको मनोविज्ञान हेर्दा लाग्थ्यो, सबैमा एउटा आशा, एउटा उत्साह र केही जिज्ञासाले भरिएका छन् ।

ठीकै समयमा सम्मेलन सुरु भयो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ३ का इन्चार्जको हैसियतबाट सम्मेलनको प्रमुख आतिथ्यताको जिम्मा मेरै थियो । सम्मेलनको अध्यक्षता प्रलेस अध्यक्ष उद्धव रिजालले गर्नुभएको थियो । सञ्चालनको जिम्मेवारी प्रलेस सचिव हेमनाथ खतिवडाले लिनुभएको थियो भने स्वागत प्रलेस उपाध्यक्ष राजेन्द्रले पौडेलको गर्नुभएको थियो । प्रमुख अतिथिको हैसियतबाट ब्यानर पढेर प्रगतिशील लेखक सङ्घ, रसुवाको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गरियो । प्रमुख अतिथिको रूपमा बोल्दै प्रगतिशील विचारलाई भुइँतहसम्म पुर्याउन प्रलेसको आवश्यकता रहेको कुरामा बढी जोड दिएँ । प्रलेस सत्ताको तावेदारी होइन, खबरदारी गर्ने प्रतिरोधी साहित्यिक संस्था हो । यसको प्रतिरोधी क्षमताको विकास गर्न आवश्यक छ ।

राजनीतिक रूपमा हामीबीच ठूलठूला समस्या भए पनि साहित्यिक–सांस्कृतिक मुद्दाका न्यूनतम आधारमा हामी एकैसाथ उभिएका छौँ । मेरो थप भनाइ थियो— प्रगतिशील लेखक सङ्घ सबै वामपन्थी तथा प्रगतिशील लेखक तथा साहित्यकारहरूको साझा मोर्चा भएकाले यसलाई साझा थलोकै रूपमा विकास र संरक्षण गर्दै लैजानुपर्ने कुरमा मेरो जोड रह्यो । लेख्ने कलाको विकास गर्न, आफ्नो विचारहरूलाई तल्ला तहसम्म पु¥याउन र वामपन्थी तथा प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउनको लागि यो प्रगतिशील लेखक सङ्घले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो प्रक्रियालाई अझ निरन्तरता र तीव्रता दिन आवश्यक छ ।

यसैले रसुवा जिल्लामा पनि क्रियाशील रूपमा अघि बढ्नको सङ्घले विभिन्न गतिविधिहरू नियमित रूपमा गरिरहन आवश्यक छ । इतिहासको एउटा कालखण्डमा एउटा आवश्यकताले श्यामप्रसाद शर्माहरूको पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको प्रलेस सबै प्रगतिशीलहरू लेखक–साहित्यकारहरूलाई जोड्ने पुल पनि हो । यसलाई जनताका पक्षमा, क्रान्तिको पक्षमा, परिवर्तनको पक्षमा, अग्रगमनको पक्षमा लैजान आवश्यक छ । यसको निम्ति लेखक–साहित्यकारहरूले भौतिकवादी विश्वदृष्टिकोण अँगाल्न आवश्यक छ ।
सम्मेलनमा विशिष्ट अतिथिका रूपमा बोल्नुहुँदै माधव लामिछाने ‘समिर’ ले साहित्यिक–सांस्कृतिक आन्दोलनको विषयमा निकै महत्वपूर्ण भनाइ राख्नुभयो । समिरले रसुवा जिल्लामा विचार, सूचना आदान–प्रदानका लागि सञ्चार–माध्यमको अभाव खट्किएको कुरा पनि बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न समयमा प्रकाशनमा आएका साप्ताहिक, मासिक र त्रैमासिक पत्रिकाहरू पनि आर्थिक अभावको कारण नियमित हुन सकेनन् । यसले गर्दा जिल्लाका जनता सूचना पाउने अधिकारबाट समेत बञ्चित हुन पुगेका छन् ।”

लामिछानेको थप भनाइ थियो, “जिल्लाका नेतृत्वले पनि प्रगतिशील लेखक सङ्घलाई क्रियाशील गर्ने र राजनीतिक विचार जनतासामु पु¥याउनका लागि विभिन्न प्रकाशनका लागि सहयोग गर्न आवश्यक छ ।” उक्त सम्मेलनमा प्रगतिशील लेखक सङ्घ, नुवाकोटका अध्यक्ष नवदीप अजनवी, साहित्यकार धर्तिचन्द्र यात्री, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति सदस्य रामकुमार न्यौपाने, अनेरास्ववियुका अध्यक्ष अर्जुन पौडेललगायत अतिथिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनले अध्यक्ष उद्धव रिजालले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन गडगडाहट तालीका साथ पारित गरेको थियो ।

प्रमुख अतिथि एवम् प्रदेश इन्चार्जको हिसाबले प्यानल प्रस्तुत गर्ने जिम्मा पनि मेरै थियो । मैले नयाँ कार्यसमिति, सल्लाहकार समिति र राष्ट्रिय सम्मेलन प्रतिनिधिको नामावली प्रस्तुत गरेँ । त्यसलाई हलले एक मतका साथ ताली पिटेर पास गरेको थियो । सम्मेलनले उद्धव रिजालको अध्यक्षतामा ११ सदस्यीय प्रगतिशील लेखक सङ्घ, रसुवा जिल्ला समिति चयन गर्यो । अन्य पदाधिकारीहरूमा उपाध्यक्ष राजेन्द्र पौडेल, सचिव विश्वास नेपाली र कोषाध्यक्ष शुष्मा न्यौपाने रहनुभयो ।

सम्मेलनद्वारा निर्वाचित अन्य सदस्यहरूमा हेमनाथ खतिवडा, शिशिरकुमार न्यौपाने, नारायणप्रसाद देवकोटा, तारानाथ न्यौपाने, कविता स्याङ्वा, जयराम आचार्य र एक सदस्य पछि थप्ने गरी रहनुभएको छ । उक्त सम्मेलनले माधव अर्याल, इन्द्र गौतम, माधव लामिछाने, चेरुङ र धर्तिचन्द्र यात्री रहनुभएको सल्लाहकार समिति पनि निर्माण ग¥यो । सम्मेलनले ११ औँ राष्ट्रिय सम्मेलनको लागि नारायणप्रसाद देवकोटा, भगवती न्यौपाने, हेमनाथ खतिवडा, विश्वास नेपाली, जयराम आचार्य, शिशिर न्यौपाने, राजेन्द्र पौडेल र शुष्मा न्यौपाने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिको छनौट पनि गर्यो । सो सम्मेलनमा प्रगतिशील लेखक सङ्घ, नुवाकोटका अध्यक्ष नवदीप अजनवी, सचिव रामहरि गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति सदस्य एवम् नौकुण्ड गाउँपालिका सचिव रामकुमार न्यौपाने, कालिका गाउँपालिका इन्जार्च अर्जुन देवकोटालगायत सहभागी थिए । सम्मेलन सम्पन्न भएपछि केही तस्बिरहरू लिइयो । केही नयाँ कार्यक्रम गर्ने अवधारणासहित र पुनः भेटिरहने अपेक्षासहित काठमाडौं प्रस्थान गरियो । जब यात्रा काठमाडौंतिर मोडियो, तब मनमा रसुवाका विविध विषय उर्लन थाले ।

रसुवा नेपालको मुख्य प्रशासनिक केन्द्र काठमाडौंबाट नजिकै भएर पनि विभिन्न समस्याहरूसित जुधिरहेको देखिन्छ । यो ६० प्रतिशतभन्दा बढी तामाङ जातिको बसोबास रहेको हिमाली जिल्ला हो । तिब्बत–चीनसँग नेपाल र भारतको प्राचीन प्रमुख व्यापारमार्ग र मुख्य घाँटी रसुवागढी यसको मुख्य आकर्षण हो । रसुवागढीको नामबाट यो जिल्लाको नाम रसुवा रहेको मानिंदो रहेछ । तामाङ भाषामा ‘र’÷‘रा’ को अर्थ बाख्रा तथा भेडा, च्याङ्ग्रा र सेवाको अर्थ पालन भन्ने हुँदो रहेछ । त्यसैले ‘रासेवा’ को अर्थ बाख्रा, च्याङ्ग्रा, भेडा पाल्ने खर्क भन्ने हुँदो रहेछ । त्यही ‘रासेवा’ शब्दबाट रसुवा भएको बताइन्छ ।

यहाँका जनताले बेला–बेलामा ठूल–ठूला विद्रोह गरेको इतिहासमा पनि पढ्न पाइन्छ । १५१२ वर्गकिलोमिटरमा फैलिएको र ६१४ देखि ७१३४ मिटरको उचाइमा रहेको यो जिल्ला सामरिक तथा रणनीतिक हिसाबले पनि निकै महत्वपूर्ण रहेको कुरामा कुनै शङ्का छैन । विविध विशेषतायुक्त यो जिल्ला २०७२ सालमा आएको विनासकारी भूकम्पद्वारा क्षतविक्षतको अवस्थाबाट अझै पनि तङ्ग्रिसकेको देखिँदैन । यो जिल्ला यतिखेर तमाम समस्याका बीचमा अनेकौँ सम्भावना बोकेर पर्खिरहेको छ । यहाँ प्रगतिशील लेखक–साहित्यकारहरूका बीचमा उचित र उयिुक्त हार्दिक ऐक्यबद्धताको विकास गर्दै यो क्षेत्रमा रहेका सबै प्रगतिशील लेखक–साहित्यकारलाई समेटेर सिर्जनात्मक तथा विचारधारात्मक कार्यलाई तीव्रता र निरन्तरता दिन आवश्यक रहेको पनि महसुस भयो । यहाँको सामाजिक, सांस्कृतिक तथा साहित्यिक उन्नयन अब नयाँ ढङ्गबाट गर्नुपर्दछ ।

रसुवागढी जोड्ने यो बाटो नै जिल्लाको एक मात्र लाइफलाइन रहेछ । उत्तरी नाका रसुवागढी, रसुवाको मुख्य भूभाग र काठमाडौंसित जोड्ने सडकको हालत नाजुक देखिन्छ । यो सडकमा दैनिक हजारौँ मानिस जोखिमयुक्त यात्रा गर्न बाध्य छन् । सडकको जीर्ण आवस्थाका कारण यातायातसहित अन्य व्यवसायीहरू पनि चिन्तित देखिन्छन् । त्यसतर्फ सम्बन्धित तथा सरोकार पक्षले समयमै ध्यान दिन आवश्यक छ । यो जिल्ला पर्यटनलगायत जडीबुटी, कृषि, पशुपालनमा अग्रणी भूमिकामा छ । लाङटाङ, गोसाइँकुण्डदेखि रेडपाण्डा, हिमचितुवा पनि यहाँका आकर्षणका केन्द्र रहेछ तर पनि यसको विकासमा ध्यान विशेष दिइएको देखिएन । यो जिल्लामा गरिबीको पीडा चर्को रहेछ, भूमिहीनहरूको अत्यासलाग्दो अवस्था पनि उस्तै रहेछ । यहाँको जनताको जीवनस्तर उठाउन राज्यले विशेष कार्ययोजनाको घोषणा आवश्यक छ । यहाँका बासिन्दामा यहाँका स्रोतसाधनमाथिको अधिकार सुनिश्चित गरिनुपर्दछ । यहाँको हाइड्रोको उचित विकास र त्यसको प्रतिफलको पहिलो अधिकार यहाँकै जनतामा हुनु आवश्यक छ ।

हिराको टुक्राको रूपमा रहेको रसुवा जिल्लामा भारत र केही पश्चिमा राष्ट्रले निकै पहिलादेखि नै गिद्देनजर लगाउँदै आएका हुन् । उनीहरूले कैयौँ प्राकृतिक दोहन गरिसकेका पनि छन् । यहाँ बाँकी रहेका स्रोतहरूमा विभिन्न तबरबाट विभिन्न एजेन्ट खडा गरिरहेको तर्फ पनि यहाँका जनता विशेष चनाखो रहन आवश्यक छ । सुन तस्करीको हुने जिल्लाको रूपमा यो जिल्लालाई योजनाबद्ध रूपमा बद्नाम गराउन खोजिँदैछ । यसतर्फ यहाँका सबै नागरिक सजक रहनुपर्दछ । साथै, राजनीतिक पार्टीहरू आफैँ विचौलिया बन्नु पनि रसुवा जिल्लाको खास समस्या रहेछ, कसले कतिखेर पार्टी फेर्छ थाहै नहुने ! विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक मोर्चामा काम गर्ने मानिसहरूको पार्टी मूल्याङ्कनमा नराखिने समस्या यो जिल्लामा पनि रहेछ । अंशतः काम–कारबाही र त्यहाँबाट प्राप्त भएका उपलब्धिलाई समग्रतामा पुँजीकृत गर्ने पद्धतिको विकास गर्न यहाँका नेता तथा राजनीतिक पार्टी गम्भीर हुन आवश्यक छ ।

रसुवा जिल्लामा पनि एनजीओ र आईएनजीओको सघन प्रभाव परेको रहेछ । अन्य जिल्लामा जस्तै यो जिल्लामा पनि सहरमा बसेर गाउँको गफ चुट्नु, बर्थडे, धर्म परिवर्तन, ठेक्कापट्टा, कमिसनको खेलोमेलो, आदर्शवादी रुझान तथा भत्तावाला गोष्ठीमा मानिसहरूको चासो बढ्नु तर आफ्नै ठाउँको सामाजिक, सांस्कृतिक तथा साहित्यिक मूल्यबोध नहुनुजस्ता प्रवृत्तिगत समस्या रहेछन् । मलाई गहिरोगरी अनुभूति भयो कि प्रगतिशील लेखक सङ्घजस्ता रूपान्तरणकारी संस्थाहरूले मूल्यबोध गराउन विशेष पहल गर्नुपर्दछ । वैचारिक प्रकाशन यहाँको टड्कारो आवश्यकता बनेको रहेछ । मलाई यो कुरा पनि गहिरोगरी महसुस भयो कि रसुवा जिल्लालाई अब परम्परागत राजनीति–पद्धतिले अघि बढाउन सम्भव छैन । यसको चौतर्फी समस्या समाधान गर्न तथा रसुवा जिल्लालाई नयाँ रसुवाका रूपमा उठाउन क्रान्तिकारी हस्तक्षेप अनिवार्य छ । यो जिल्लाको मनोविज्ञान फेरिदिने सबैभन्दा राजनीतिसँगै भरपर्दो माध्यम भनेको सांस्कृतिक क्रान्ति नै हो । सांस्कृतिक क्रान्तिबिना नयाँ मान्छे बनिंदैन, नयाँ मानिस नबनीकन नयाँ समाज कसरी बन्छ ? नयाँ रसुवाली नबनीकन नयाँ रसुवा कसरी बन्ला र ! अपेक्षा छ, निकट भविष्यमै नयाँ रसुवाली र नयाँ रसुवा देख्न पाइनेछ ।

रसुवाको कालिकास्थानबाट त्रिशुलीबजारसम्म एउटा गाडीमा, त्रिशुलीबजारबाट बट्टारसम्म अर्को गाडीमा, बट्टारबाट गल्छीसम्म झन् अर्को गाडीमा र गल्छीबाट झनै अर्को गाडी हुँदै काठमाडौं ओर्लंदा रातको ११ ले पनि निकै उकालो काटिसकेको थियो ।
१८ माघ, २०७५

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]