Dabali News

नेपालको चारैतिरका सिमानामा काँडेतार लगाउँछौँ

(नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले माघ ८ गते चितवनको माडी नगरपालिकामा पर्ने नेपाल भारत सिमाक्षेत्रमा काँडेतार लगाएको थियो । नेपाल र भारतको खुल्ला सिमाका कारण नेपालीभूमी अतिक्रम हुँदैआएको, सिमाक्षेत्रमा अपराधिक घटनाहरु घट्ने गरेकोलगायत कारण खुल्ला सीमा बन्द गर्नुपर्ने माग राख्दै सिमाक्षेत्रमा तारबार गरिएको उक्त संगठनले जनाएको छ । काँडेतार केही समयपछि प्रहरीले हटाएको थियो । सोही बिषय र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सेरोफेरोमा रहेर अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालसँग अनलाइन डबलीको लागि उमाकान्त यूकेले गरेकाे कुराकानी)

तपाईँहरुले चितवनको नेपाल-भारत सीमा क्षेत्रमा पुगेर काँडेतार लगाउँनुभएछ । यसको उद्देश्य के हो ?

हाम्रो संगठनको पछिल्लो बैठकले सीमा बचाउ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप हामिले चितवन जिल्लाको माडीस्थित सोमेश्वरगढी नजिकै ४५२/४५ नम्बर सिमास्तम्भले संकेत गरेको नेपाल-भारत सिमानामा काँडेतार लगाएका हौं । अन्तर्राष्ट्रिय कानुनअनुसार सिमानामा दशगज क्षेत्र छोडेर नेपालीभूमीमा काँडेतार लगाएका छौं । यसका केही उद्देश्य र कारणहरु छन् ।

नेपाल र भारतबीच खुल्ला सिमाना भएको कारणले नेपाल र नेपालीले थुप्रै समस्या भोग्नु परेको छ । भारतीय पक्षले ७१ भन्दा बढी ठाउँमा सीमा अतिक्रम गरेको छ । यसबाट करिब ७८ हजार हेक्टर भन्दाबढी नेपालीभूमी गुमेको छ । यदि हामीले सीमाक्षेत्रमा पर्खाल वा काडेँतार लगाएनौं भने राती सुत्दा नेपाल बिहान उठ्दा भारत हुने जुन खालको अवस्था भोग्नुपरेको छ, त्यो बढ्दै जाने निश्चित छ । भूमी बचाउँदै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि बढाउनु हाम्रो प्राथमिक कर्तव्य हो ।

अर्कोतिर खुल्ला सीमाका कारण सीमा क्षेत्रमा हत्या हिंसा, बलात्कार, चोरी, लुटपाट, तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पनि सीमालाई नियन्त्रण गर्न जरुरी छ । त्यसैगरी दुईवटा सार्वभौम राष्ट्रहरुको बीचको सिमानामा पर्खाल लगाउने, काँडेतार लगाउने आम परम्परा र प्रचलनको कुरा पनि हो ।

यो तपाईँहरुको सांकेतिक कार्यक्रम हो कि अभियानात्मक कार्यक्रम नै हो ?

हेर्नुस्, यो हाम्रो कुनै आवेगात्मक, उत्तेजित र क्षणिक कुरा होइन । तत्कालको सांकेतिक कुरा मात्रै पनि होइन । यो त हाम्रो राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधीनता लडाइँको एउटा अभिन्न पाटो हो । जुन अभियानात्मक कार्यक्रम नै हो । जुनजुन ठाउँमा सीमा विवाद छ त्यहाँ पुगेर हामी काडेँतार लगाउँछौँ ।

तपाईँहरुले लगाएको काडेँतार प्रहरी हटाइसकेको  छ । अन्य ठाउँहरुमा पनि पनि लगाउनुभयो भने अबरोध होला नि ?

हामीले देशको अखण्डता, सीमा सुरक्षाको पक्षमा काम गर्दा सरकारले त सहयोग पो गर्नुपर्ने हो । तर, बिडम्बनाको कुरा हामीले आफ्नो देशको, माटोको, सीमाको रक्षार्थ अन्तर्रास्ट्रिय कानुनअनुसार नै काडेँतार लगाउँदा प्रहरी पुगेर तारबार उखेलेर फर्किन्छ । यो त सरकार आफैले गर्नुपर्ने काम हो । सरकार आफु गर्दैन नागरिक स्तरबाट भएको अभियानलाई अबरोध गर्न आउँछ । यसबाट स्पष्ट हुन्छ कि हाम्रो देशको सरकार, गृह प्रशासनले कसको पक्षमा काम गर्छ भनेर । हामी सबै प्रकारका अबरोधलाई चिर्दै अभियानमा निरन्तर अघि बढ्छौं ।

तपाईँहरुले आफ्नै ढंगले तारबार गर्नुभयो । भोलि अर्कोले गर्ला, यसले त छिमेकीहरुका बीचमा अराजकता र असमझदारीको अवस्था आउँदैन ?
हाम्रो अभियानले कुनै अराजकता ल्याउँदैन । एउटा मान्यता नै छ कि असल छिमेकीले बलियो बाँध बनाउछ भनेर । यदि हामीले काँडेतार लगाएको सरकारलाई मन पर्दैन भने आफै लगाओस् न त । संसारमा कुनै पनि मुलुकले आफ्नो भुमिको रक्षा गर्न नपाउने भन्ने कुरा आउँदैन । फेरि यो कुनै नयाँ बिषय पनि होइन । दशकौंदेखि नेपाली जनताले विभिन्न ढंगले उठाउँदै आएको कुरा हो । हामीले त्यहीँ कुरालाई आजको सन्दर्भमा एउटा उचाइमा अगाडि बढाउने प्रयत्न गरिराखेका छौं ।

काँडेतार लगाउने कार्यक्रम तपाईँको संगठनको तहबाट तय भएको हो कि मातृपार्टीको ?

सीमा बचाउ अभियान हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको निर्देशनमा नै सुरु गरिएको हो । भारत र नेपालको बीचमा मात्र होइन चीन र नेपालको बीचमा पनि सीमा विवाद देखापरेको ठाउँमा हामी काँडेतार लगाउन जान्छौं ।

अब प्रसंग बदलौं, त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरिरहेको छ । तपाईँहरुको धारणा र तयारी के छ ?

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नका लागि आफ्ना आंगिक क्याम्पसहरुलाई सर्कुलर गरेको जानकारी हामीले पायौं । नेपाली विद्यार्थी आन्दोलननको महत्त्वपूर्ण हिस्सेदार हाम्रो संगठनसँग कुनै छलफल नगरेर त्रिभुवन विश्वविद्यालयले एकतर्फी रुपमा जुन ढंगले सर्कुलर जारी गरेको छ यसमा त हाम्रो आपत्ति नै छ । तथापि स्ववियु निर्वाचन गर्ने त्रिभुवन विश्वविद्यालयको प्रयत्नलाई सकारात्मक रुपमा लिएका छौं । यसबारेमा हामीले अन्य ८ विद्यार्थी संगठनहरुसंग छलफल गर्दै प्रेस बिज्ञप्ति जारी गरेर संयुक्त धारणा सार्वजनिक पनि गरेका गरिसकेका छौं । स्वतन्त्र र निश्पक्ष वातावरणमा स्ववियु निर्वाचन होस् र यसले विद्यार्थी एजेन्डामा काम गरोस् भन्ने हाम्रो चाहना हो ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा कता पुग्यो ?

हामीले बिगत लामो समयदेखि स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गरिरहेका छौं । ब्यक्ति होइन संगठन लड्ने र निर्वाचित हुने प्रक्रियाको पक्षमा हामी छौं । आजको दिनमा पनि हामी आफ्नो एजेन्डामा दृढतापुर्वक लागिरहेकै छौं । हामी समानुपातिक निर्वाचन प्रणाली स्थापित गरेर छोड्छौँ ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू भएन भने के तपाईँहरु निर्वाचन बहिष्कार गर्नुहुन्छ ?

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा निर्वाचन हुनेगरी हामी निर्वाचनमा सहभागी हुन्छौं ।

स्ववियु भन्नेबित्तिकै त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसलाई हेर्ने गरिन्छ । तर, आज विद्यार्थीको ठूलो हिस्सा नीजि तथा सामुदायिक कलेजमा छ । त्यहाँ स्ववियु आवश्यक छ कि छैन ?

तपाईँले एउटा महत्त्वपूर्ण सन्दर्भ उठाउनुभयो । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा जम्मा ३० प्रतिशत विद्यार्थी मात्र अध्ययनरत छन् । बाँकी ७० प्रतिशत विद्यार्थी त्यसबाहिर अर्थात त्रिभुवन विश्वविद्यालयबाट एफिलिएसन लिएका नीजि र सामुदायिक कलेजमा अध्ययनरत छन् । बिगतमा आंगिक क्याम्पसमा मात्रै स्ववियु निर्वाचन गर्ने परम्परा छ । हामीले आंगिकसहित निजि र सामुदायीक कलेजहरुमा एकसाथ निर्वाचन हुनुपर्छ भन्ने प्रस्ताव गरेका छौं ।

विद्यार्थी राजनीतिले गर्दा आंगिक क्याम्पसको शैक्षिक वातावरण बिग्रेपछि निजि कलेजमा विद्यार्थी आक्रमण बढेको भनिन्छ । तपाईँहरु फेरि नीजि क्षेत्रद्वारा संचालित शैक्षिक संस्थामा राजनीति गर्न खोज्दैहुनुहुन्छ ?

यो गलत कुरा हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र विद्यार्थी राजनीतिले आंगिक क्याम्पसको शैक्षिक स्तरमा गिरावट आएको होइन । स्ववियु र विद्यार्थी आन्दोलन बदनाम भएको कुरा साँचो हो । अर्को सत्य कुरा के हो भने यो हाम्रो कारणले भएको हैन । बरु यो त सत्तारूढ दलहरुका विद्यार्थी संगठनका गलत क्रियाकलापले सिर्जित अवस्था हो । अर्को कुरा स्ववियु भनेको शैक्षिक वातावरण बिगार्ने कुरा होइन विद्यार्थीहरुले आफ्नो अधिकार प्रयोग गर्ने कुरा हो ।

स्ववियु निर्वाचनमा २८ बर्षे हदबन्दी परिमार्जन गर्ने बिषय पनि उठाउन खोजिदैछ । यसमा तपाईको धारणा के छ ?

स्ववियु निर्वाचनमा उम्मेदवार बन्नका लागि २८ बर्षको जुन उमेर हद निर्धारण गरिएको छ । अहिलेको सन्दर्भमा यो ठिकै छ जस्तो लाग्छ । यसलाई परिमार्जन गर्नु आवश्यक छैन ।

त्रिभुवन विश्वविद्यालयले उमेर हदको प्रस्ताव गरेपछि तपाईँहरुको पार्टी महासचिव विप्लवले एउटा अन्तर्वार्तामा जोडतोडले त्यसको बिरोध गर्नुभएको थियो । आज तपाईँहरु त्यसको वकालत गर्दैहुनुहुन्छ । यो त बिरोधाभाष भएन त ?

त्यस्तो हैन । हाम्रो पार्टीको आदरणीय महासचिव कमरेड विप्लवले भन्नुभएको र मैले भनेको कुरामा कुनै बिरोधाभाष छैन । एउटा मानिस अनन्तकालसम्म विद्यार्थी बन्न सक्छ । ज्ञान आर्जन गर्ने र सिक्ने कुरामा उमेरको कुनै परिधिले छेक्न सक्दैन । त्यसबेला हाम्रो महासचिवले भन्नुभएको एउटा भिन्न सन्दर्भमा हो । तर, जुन किसिमले स्ववियुको सभापति या पदाधिकारी बन्नका लागि दशौं बर्षसम्म पालो कुरेर कलेजमा बस्ने संस्कृति बिकास हुनथालेको थियो, त्यसलाई हटाउनका लागि उमेर हद एउटा उत्तम विकल्प हुनसक्छ । तर कुरा यो हैन कि उमेर हद नै सबै बिकृतिको अन्त्य हो ।

कृषि तथा वन विश्वविद्यालयले निजि कलेजलाई एफिलिएसन दिने बिषय विवादित बनेको छ । यसमा तपाईँको संगठनको धारणा के हो ?

कृषि तथा वन विश्वविद्यालयले निजि कलेजलाई बदनियतका साथ एफिलिएसन दिन खोजेको स्पष्ट छ । हामी सुरुवातबाटै यसको बिरोधमा छौं । र आन्दोलन पनि गर्दैआएका छौं । आज पनि हाम्रो मान्यता के हो भने शैक्षिक सवालमा निजि क्षेत्रलाई प्रवेश गराइनु हुँदैन । विवादिद एफिलिसनलाई तुरुन्त खारेज गर्नुपर्छ । जति यसलाई पेन्डिङमा राख्नुहुन्छ त्यसको सजाय उहाँहरुले भोग्न तयार हुनुपर्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]