Dabali News

राष्ट्रघाती संविधान संशोधन नगर्न मोहनविक्रमको चेतावनी

१० फागुन

काठमाडौँ । संघीय समाजवादी फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनुपर्ने शर्त राखेको प्रति एमाले सकारात्मक भएको भन्ने समाचारप्रति ने.क.पा. मसालको गम्भीर ध्यान आकर्षित भएको पार्टीले जनाएको छ ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडान विपरित संविधानमा संशोधन गर्ने नीति अपनाए भने त्यो जनताले उनीहरुमाथि गरेको विश्वाससित विश्वासघात र गम्भीर गल्ती हुने बताएका छन् ।

त्यस प्रकारको कुनै पनि कदमको हाम्रो पार्टीले कडा विरोध गर्ने विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, पहिले प्रथम संविधान संशोधनका बेलामा ओलीको सरकारले सम्झौतापरस्त नीति अपनाएर त्यसलाई पारित गराएको थियो । तर दोस्रो संविधान संशोधनका बेलामा त्यसले त्यसका विरुद्ध दृढ नीति अपनाएको थियो । एमालेले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिहरुका विरुद्ध तथा चीनसितको सम्बन्ध विस्तारको पक्षमा स्पष्ट अडान लिएको थियो । एमाले र माओवादीका त्यस प्रकारका नीति र भूमिकालाई हाम्रो पार्टीले समर्थन गरेको थियो । उनीका त्यस प्रकारका नीति र भूमिकाका कारणले नै चुनावमा उनीहरुले जनताबाट ठूलो समर्थन प्राप्त भएको थियो । उनीहरुको त्यस प्रकारको पूर्व नीति वा अडानमा पुनः विचलन आउने छैन भन्ने हामीले आशा गरेका छौं ।

विज्ञप्तिमा संविधानमा संशोधन एउटा सामान्य प्रक्रिया भएको र आवश्यकतानुसार त्यस प्रकारका कैयौं संशोधनहरु गर्दै जानुपर्ने भएपनि मधेशवादीहरुले जोड दिइरहेका संशोधनहरुको प्रकृति राष्ट्रघाती प्रकारको रहेको पार्टीले ठहर गरेको छ । त्यसकारण तिनीहरुलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट र निश्चित मत छ, विज्ञप्तिमा उल्लेख छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]