Dabali News

सिएमसीबाट काम नहुने निष्कर्षमा मेलम्ची

२९ पुस

काठमाडौं । जनवरीको पहिलो साता फर्किने वाचासहित नयाँ वर्ष मनाउन स्वदेश गएका प्रतिनिधि पठाउनुको सट्टा सर्तसहितको पत्र पठाएपछि सिएमसी दी रेभेन्नाबाट बाँकी काम नहुने निष्कर्षमा मेलम्ची खानेपानी आयोजना पुगेको छ ।

सिएमसीले दाबी गरेको क्षतिपूर्तिसहित बाँकी सबै वक्यौता चुक्ता गरेपछि मात्रै आयोजनाको बाँकी काम गर्न सक्ने सर्तसहितको पत्र पठाएको हो । उसले वार्तामा बस्न तयार रहेको, तर नेपालबाहिर वार्ता गर्नुपर्ने सर्त राखेको पनि आयोजना स्रोतले जनाएको छ ।

सिएमसीको सर्त मान्न सकिने खालका नभएकाले आज (आइतबार) बैठक बसेर बाँकी काम सक्ने उपायबारे छलफल गरिने मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रामप्रसाद खरेलले बताए ।

उनले भने,‘तोकिएको समयमा नेपाल फर्केर काम सुचारु गर्नुको साटो नाजायज सर्तसहितको पत्र पठाएको छ । कम्पनीको सर्तबारे छलफल गर्न भोलि (आइतबार) बैठक बस्दै छौँ । तर, पुरानै ठेकेदार कम्पनीबाट काम सम्पन्न हुने देखिएन । छलफल गरेर छिटै वैकल्पिक निर्णयमा पुग्छौँ ।’

सिएमसीले भूकम्प पर नाकाबन्दीका वेला काममा असर परेको भन्दै एक अर्ब ६५ करोड क्षतिपूर्ति मागेको छ । तर, मेलम्ची आयोजना ३५ करोड मात्र दिन सहमत छ । अहिलेसम्म गरेको सबै कामको भुक्तानी गरिसकेको पनि आयोजनाले जनाएको छ ।

तर, सिएमसीले भने बाँकी कामबापत पाउनुपर्ने रकम पनि शुरुमै दिए मात्रै काम गर्ने सर्त राखेको छ । इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजना सम्पन्न गर्न नसक्ने भन्दै १७ डिसेम्बरमै मेलम्ची आयोजनालाई ठेक्का रद्द गर्न लेटर टु टर्मिनेसन बुझाएको थियो ।

तर, आयोजनाले नबुझेपछि उनीहरू सिन्धुपाल्चोकबाट स्वदेश फर्किन काठमाडौं आएका थिए । भाग्न खोजेका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको टोलीलाई प्रहरीले लाइसेन्स जफत गरेर रोकेको थियो । पछि इटालियन दूतावासको पहलमा आयोजनाको बाँकी काम सम्पन्न गर्न कम्पनी सहमत भएपछि सरकारले ग्रेसहित सबै २७ प्रतिनिधिलाई नयाँ वर्षमा घर जान अनुमति दिएको थियो ।

सिएमसीले नेपाली बैंकमा राखेको धरौटी रकममध्ये ६० लाख युरो (७७ करोड ५६ लाख रुपैयाँ) मेलम्ची खानेपानी आयोजनाले जफत गरिसकेको छ । कम्पनीले भने सप्लायर्स र कामदारलाई १ अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन दिन बाँकी छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]