Dabali News

नेविसंघमा महामन्त्रीसहित ७ जना पदाधिकारीले बुझाए राजीनामा

२७ पुस

काठमाडौं । नेविसंघका ७ जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् ।

३ उपाध्यक्ष, १ महामन्त्री र ३ सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्ष सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् । महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

राजीनामा बुझाउन नेविसंघ पदाधिकारीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरु सबै देउवा निकटकै मानिन्छन् । ७ पदाधिकारीको राजीनामाले नेविसंघ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा परेका छन् ।

उपाध्यक्ष यादवले भने,‘तोकिएको मितिमा अधिवेशन गर्न सकिएन, यस्तो अवस्थाले नेविसंघ चल्दैन, त्यसैले निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्त रुपमा राजीनामा बुझाएका हौं ।’

नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले ३ महिनाको समय अवधि थपिएको थियो ।

थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः २ महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको २ महिनाको म्याद माघ २ गते सकिँदैछ । ५ महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए ।

तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]