Dabali News

प्रधानमन्त्री ओलीसँग जापानी विदेशमन्त्री कोनोको भेटवार्ता

२६ पुस

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

नेपाल-जापान सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचार विमर्श भएको छ । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकोमा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनको विकास हुनुपर्नेमा जोड दिँदै मन्त्री कोनोले जापानले सहयोग गर्ने बताएका छन् ।

भेटमा सूर्यविनायक-धुलिखेल सडक विस्तार, कलंकी-नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको सल्लाहकार भट्टराईको भनाई छ ।

नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवर्दधन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता भएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]