Dabali News

पहिलो पटक ट्रम्पद्वारा राष्ट्रको नाममा सम्बोधन

२६ पुस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।

अमेरिका र मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्नका लागि माग गरेको बजेट संसदले स्वीकृत नगरेपछि १८ दिनदेखि आंशिक रूपमा सरकार बन्द भएको परिवेशमा सम्बोधन गरेका हुन् ।
ओभल अफिसबाट टेलिभिजनमार्फत राष्ट्रको नाममा गरिएको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने उनको लामो समयअघिको प्रतिबद्धता लागि बजेट आवश्यक पर्ने बताए । यद्यपि उनले यसअघि संकटकाल लगाउने भनेर दिएको अभिव्यक्तिलाई भनेर लागू गरेनन् ।
उनले सम्बोधनका क्रममा संकटकाल घोषणा गरेनन् । यदि उनले संकटकाल घोषणा गरेको भए विपक्षी डेमोक्रेटको नियन्त्रण रहेको देशको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ लाई बाइपास गरिन्थ्यो ।
डेमोक्रेट नेताहरुले भने राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई बन्धक बनाइरहेको आरोप लगाएका छन् । रिपब्लिकन राष्ट्रपति ट्रम्पले अमेरिका-मेक्सिको सीमामा स्टिल तारबार लगाउनका लागि ५७ अर्ब अमेरिकी डलर माग गरेका छन् ।

यद्यपि डेमोक्रेट नियन्त्रण रहेको देशको तल्लो सदनले भने राष्ट्रपतिको सो मागलाई पारित गरेको छैन । आफ्नो महत्वाकांक्षी योजनामा आवश्यक पर्ने रकम संसदले उपलब्ध नगराउने देखिएपछि राष्ट्रपति ट्रम्पले देशको बजेटसमेत पारित गरेका छैनन् ।

जसका कारण संघीय सरकारका कैयौं कार्यालयहरु आशिंक रूपमा बन्द भएको १८ औं दिन भइसकेको छ । नोभेम्बर महिनामा भएको मध्यावधि निर्वाचनपछि देशको तल्लो सदनमा नियन्त्रण प्राप्त गरेको डेमोक्रेटहरुले भने राष्ट्रपति ट्रम्पको अमेरिका-मेक्सिको सीमामा पर्खाल लगाउने योजनाको विरोध गर्दै आएका छन् ।

बजेट अभावमा संघीय सरकारका एक चौथाई निकाय बन्द भएका छन् । यो अमेरिकी इतिहासमै भएको दोस्रो आंशिक सरकारी कार्यालय बन्दको घटना हो । जसका कारण हजारौं सरकारी कर्मचारीले तलब सुविधा पाएका छैनन् ।

राष्ट्रपति ट्रम्पको मंगलबार साँझको ८ मिनेट लामो सम्बोधन अमेरिकाका लगभग सबै प्रमुख टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए ।

सम्बोधनका क्रममा उनले आंशिक रूपमा संघीय सरकार बन्द हुनुको दोष डेमोक्रेटमाथि लगाए । मध्य अमेरिकी देशहरुबाट अमेरिका प्रवेशका लागि आएका हजारौं आप्रवासीका कारण अमेरिका-मेक्सिको सीमामा भइरहेको अहिलेको अवस्थामाथि पनि उनले बोले ।

उनले भने, ‘यो मानवीय संकट हो, सो संकट मुटु र आत्माको संकट हो ।’
‘नर्थ अमेरिकन फ्रि ट्रेड अग्रिमेन्ट (नाफ्टा)’ मा भएको पुनः सहमतिअनुसार अमेरिका-मेक्सिको सीमामा पर्खाल लगाउनका लागि मेक्सिकोले पैसा तिर्ने ट्रम्पले सम्बोधनका क्रममा बताए ।

यद्यपि नाफ्टामा भएको पुनः सहमतिका विषय अमेरिकी संसदबाट पारित हुन बाँकी नै रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुदेखि नै अमेरिका-मेक्सिको सीमामा पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेट मेक्सिकोले तिर्ने बताउँदै आएका थिए ।

जुन विषयलाई अर्थविदहरुले विरोध गर्ने गरेका थिए । ट्रम्पले यस्तो दाबी गरे पनि मेक्सिकोले भने पर्खाल निर्माणका लागि पैसा तिर्ने विषयलाई सदैव अस्वीकार गर्दै आइरहेको छ ।

अमेरिकामा बेचविखन हुने हेरोइनमध्ये ९० प्रतिशत मेक्सिको हुँदै आउने भएकाले पनि २ देशबीच पर्खाल निर्माण गर्नुको विकल्प नरहेको सम्बोधनका क्रममा उनले बताए । दुई देशबीच भौतिक छेकबार लगाउनुपर्ने विषयमा डेमोक्रेटहरुले यसअघि सहमति जनाए पनि अहिले बोली फेरेको ट्रम्पले बताए ।

उनले निर्दयी आप्रवासीहरुले कैयौं अमेरिकी नागरिकको हत्या गरेको भन्दै त्यस्तो कार्य कहिलेसम्म हुन दिने भन्दै प्रश्नसमेत गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]