Dabali News

टोटेनह्याम प्रिमियर लिगको दोस्रो स्थानमा, फुलह्याममाथि आर्सनलको फराकिलो जित

१८ पुस

काठमाडौं । कार्डीफ सिटीलाई ३-० ले हराउँदै टोटेनह्यामले इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा पुर्याएको छ ।

कार्डीफको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनह्यामको जितमा ह्यारी केन, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा टोटेनह्यामले केनको गोलमा अग्रता बनाएको थियो । अघिल्लो खेलमा उल्भ्ससँग ३-१ को आश्चर्यजनक हार ब्यहोरेको टोटेनह्यामले गएराति भने राम्रो खेल खेलेको थियो । १२ औं मिनेटमा एरिक्सन गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि २६ औं मिनेटमा ह्युङ मिनले टिमका लागि तेस्रो गोल गरेसँगै टोटेनह्यामले ३-० को अग्रता लिएको थियो । त्यसपछि दुवै टोलीबाट कुनै गोल नभएपछि टोटेनह्यमले खेलमा बाजी मारेको हो ।
केही मौकालाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । जितपछि टोटेनह्यामको २१ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको ५४ अंक छ । पराजित कार्डीफ भने १८ अंकका साथ १६ औं स्थानमा छ ।

त्यस्तै घरेलु मैदानमा रातिनै भएको अर्को खेलमा आर्सनलले फुलह्यामलाई ४-१ ले पराजित गरेको छ । अघिल्लो खेलमा लिभरपुलसँग ५-१ को फराकिलो हार ब्यहोरेको आर्सनलले गएराति भने रेलिगेसन जोनमा रहेको फुलह्यामविरुद्ध भने उत्कृष्ट खेल पस्केको थियो ।
आर्सनललाई जित दिलाउन ग्रानिट जाका, अलेक्सान्द्रे लाकाजेटी, एरोन राम्से र पिएरे एमरिक औबामेयाङ्ले गोल गरे । पराजित टोलीको लागि अबुबाकर कमाराले एक गोल फर्काए ।

खेलको २५ औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको आर्सनलका लागि ५५ औं मिनेटमा लाकाजेटीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

६९औं मिनेटमा फुलह्यामका अबुबाकर कमाराले गोल गर्दै अग्रता २-१ मा झारेका थिए । तर, ७९औं मिनेटमा राम्से र ८३ औं मिनेटमा औबामेयाङ्ले गोल गर्दै आर्सनललाई ४-१ को सहज जित दिलाएका थिए ।

जितसँगै २१ खेलबाट ४१ अंक जोडेको आर्सनल लिगको पाँचौं स्थानमा छ । फुलह्याम भने १४ अंकका साथ १९ औं स्थानमा रहेको छ ।

त्यस्तै अर्को खेलमा एभर्टनमाथि १-० को कठिन जित निकाल्दै लेस्टर सिटी प्रिमियर लिगको सातौं स्थानमा उक्लिएको छ । लेस्टरको जितमा एक मात्र निर्णायक गोल खेलको ५८ औं मिनेटमा रिकार्डो परेराको पासमा जेमी भार्डीले गरेका थिए ।

जितसँगै लेस्टरको ३१ अंक छ । पराजित एभर्टन भने २७ अंकका साथ दशौं स्थानमा रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]