Dabali News

तालिम बिना केराखेतीमा जुते करमसिंह राना

१४ पुस

कञ्चनपुर । बेलौरी नगरपालिका-६ विद्यानगरमा २ किसानले ४ बिघा जग्गा भाडामा लिएर केराखेती गरेका छन् ।

स्थानीयवासी प्रतापसिंह राना र करमसिंह रानाले महाकाली बहुमुखी क्याम्पस र अन्य स्थानीयवासीको जग्गा प्रति बिगाको वार्षिक ५८ हजार देखि ६५ हजारमा भाडा तिर्ने गरी केराखेतीका लागि लिएका छन् ।

उनीहरुले भाडामा लिएको जग्गामा ६ हजार ५०० वटा जिनौ जातका केराका बोट रोपेका छन् । नगरपालिकाको कृषि शाखाले केराका बिरुवाको मूल्यको ५० प्रतिशत रकम अनुदानस्वरुप व्यहोरेको छ ।

भाडामा लिएको जग्गामा केराखेतीका लागि १५ लाख लगानी गरिएको कृषक प्रतापले बताए । २ बिगाहा जग्गामा केराखेती विस्तार गर्नका लागि जग्गा खोजीको कार्य भइरहेको उनीहरुको भनाई छ ।

केरा खेतीकै लागि बैंकबाट २५ लाख ऋण लिएको र जसमध्ये ४ बिगाहा जग्गामा रोपेको केरामा १५ लाख खर्च भएको छ । उन्नत जातको केरा भएकाले एक वर्षमै खर्च कटाएर २० देखि २५ लाख सम्म आम्दानी हुने भनाई छ ।

केरासँगै अन्तरबालीका रुपमा आलु र खुर्सानी रोपेर उनीहरुले अतिरिक्त आम्दानी गरेका छन् । विसं २०६२ देखि करमसिंहले भने केराखेती गर्दै आएका छन् । उनले विगतमा १२ विघा जग्गामा केरा खेती गरेर जिल्लामै पहिलो किसान बनेका थिए । भाडामा जग्गा नपाइदा थोरै जग्गामा केरा खेतीमा चित्त बुझाउनु परेको उनले बताए ।

“बाहिरको व्यक्ति भन्दा भतिजासँग मिलेर केराखेती गर्दा सहज हुने भएकाले यस वर्षदेखि आधुनिक तरिकाले केराखेतीलाई अगाडि बढाएका छौँ”, उनले भने ।

केरा गोडमेल, बगान व्यवस्थापन गर्न, मल राख्न, सिँचाइ गर्न, टुसा हटाउने लगायतका कार्य गर्नका लागि ज्यालादारीमा २० जना कामदारलाई उनीहरुले रोजगारी दिएका छन् । खेतमा रोपेको केरा १५ महीनामा बजारमा बेच्नका लागि तयार हुन्छ । केराको माग अधिक रहेकाले बजारमा सहजै बिक्री हुने गरेको छ ।

उत्पादन भएको काँचो केरा ३५ देखि ४० प्रति दर्जनका दरले कैलाली कञ्चनपुरसँगै डडेल्धुरासम्म बिक्रीका लागि व्यापारीले लैजाने गरेका छन् ।

केराखेतीमा संलग्न करमसिंहले भारतको उत्तरप्रदेशको लखनउका किसानले गरेको केराखेतीबाट पाठ सिक्दै तालिम बिना नै केराखेतीमा जुतेका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]