Dabali News

धरापमा अनमोलको स्टारडम, ठूलो अभाव खड्कीदै

३ फागुन

काठमाडौँ । एक वर्षअघि भारतमा कमेडियनद्वय कपिल शर्मा र सुनिल ग्रोबरबीच विवाद चुलिएको बेला बलिउड सुपरस्टार सलमान खानले स्टारडममाथि निकै घतलाग्दो अभिव्यक्ति दिएका थिए ।

कपिललाई सुुझावस्वरुप आफ्नो अनुुभव सुनाउँदै भनेका थिए, ‘मान्छेले सधैँ आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । म अहिले करिअरको यस्तो घडीमा छु कि अक्सर मान्छे मेरो काममा ‘हो मा हो’ मिलाउँछन् । यस्तो अवस्थामा कहिलेकाहीँ आफू सही दिशामा छु या गलत, मलाई ठम्याउनै मुस्किल पर्छ । त्यसैले म आफ्नो परिवार र साथीहरुको सुुझावलाई निकै गम्भीरतापूर्वक लिन्छुु किनभने उनीहरु नै हुन्,जसले मलाई जमिनमै टिकाइरहन्छन् हावामा उड्न दिँदैनन् ।’

नेपालमा अहिले जताततै अनमोल केसीको चर्चा छ । उनकै हाइहाइ छ । फिल्म इन्डस्ट्रीसँग जोडिएका बहुमत अहिले उनीसँग काम गर्न लालायित छन् । उनी नेपाली फिल्मका दर्शकलाई हलसम्म तान्ने चुम्बक बनेका छन् । उनलाई भेट्नसँगै फोटो खिचाउन युवायुवतीको ठूलो समूह मरिहत्ते गर्छन् ।

ढुक्कसाथ भन्न सकिन्छ–अनमोलले यस्तै फिल्म खेलिरहने हो भने उनको ओरालो गति निक्कै तीव्र हुनेछ । जहाँ ब्रेक लाग्दा आउने नतिजा पनि दुघर्टना मात्रै हो ।

वास्तविकता यही हो-अनमोल यतिखेर नेपाली फिल्मीनगरीका स्टार हुन् उनको गजबको स्टारडम देखिएको छ । यस्तो स्टारडमले फिल्मको अर्थतन्त्र एक्लै धान्न सक्छ ।

अघिल्लो साताबाट हलमा रिलिज भएको फिल्म ‘कृ’को यथार्थ पनि यही नै त हो । ‘कृ’ हेरिसकेपछि यति भन्न सकिन्छ– यो फिल्म अनमोललाई ‘एंग्री लुक्स’मा स्थापित गर्न मात्र बनाइएको हो ।

‘कृ’ अनमोलको पाँचौँ फिल्म हो । पाँचाँै फिल्मसम्म आइपुग्दा उनमा देखिएको ग्रोथ ‘लुक्स’मा मात्र हो । अघिल्ला फिल्ममा लगातार ‘चकलेटी लुक्स’मा देखिएका उनी यसमा ‘एंग्री लुक्स’मा छन् । पाँचौँ फिल्मसम्म आइपुग्दा अनमोलको अभिनयमा कुनै उन्नति देखिँदैन ।

‘कृ’ मा आफूलाई एक्सन अवतारमा उतार्न ज्यान बनाउन र एक्सन सिक्न उनले गरेको मिहिनेत पर्दामा देखिन्छ तर कथा र प्रस्तुतिका हिसाबले यो उनका अघिल्ला चार फिल्मभन्दा पनि कमजोर फिल्म हो ।

अनमोलको प्रयासमा गम्भीरता देखिन्छ तर फिल्मभरि केही हेर्नलायक कुरा छ भने त्यो अनमोलका केही एक्सन दृश्य मात्रै हुन् । बाँकी सबै ‘बोरिङ’ । फिल्ममा पटक–पटक भिलेनले चार करोडको माल गायब भएको भनेर रिसाइरहन्छ तर त्यो माल कसरी र के भएर गायब भयो फिल्म सकिदासम्म रहस्य खुल्दैन ।

‘लाहुरे’ अनमोलसँग बिहे गर्न एक हुल युवती उनकै घरमा लाम लागेर आउँछन् र अनमोलकै हजुरआमाले छान्न लगाउँछिन् । यो समयमा ‘मलाई छान न, मलाई’ भन्दै युवतीहरुले गरेको त्यस्तो आग्रह कति स्वभाविक देखिएला ? जब अनमोल आफ्नो बाल्यकालको प्रेमी हो भनेर केशरले थाहा पाउँछिन् उनी जिन्स प्यान्ट र टप लगाएर घरबाट दगुरेर कुदिछन् ।

चम्म, जब उनी घरबाहिर पुग्छिन् ड्रेस गायब । एकै पटक कुर्ता सुरुवालमा देखिन्छिन् । यस्ता दृश्य फिल्ममा धेरै छन् ।
सरोज खनालको अभिनय फिल्ममा जीवन्त देखिन्छ । रक्सी नपिइकन रक्सी पिएको अभिनय गर्नु त्यति सजिलो काम होइन तर उनी यसमा जीवन्त देखिएका छन् तर यही भूमिकामा अनमोल अस्वाभाविक लाग्छन् ।

‘कृ’ न दर्शकसँग जोडिन सकेको छ न यसले दर्शकको दिमागलाई व्यस्त राख्न नै । यति भन्न सकिन्छ, यो फिल्म नबनेको भए पनि नेपाली फिल्म क्षेत्रलाई घाटा हुने थिएन । अनमोलका लागि अर्को दुःखको कुरा, उनका डाइहार्ड फ्यानलाई पनि यो फिल्मले रिझाउन मुस्किलै छ । कारण, उनका अघिल्ला चार फिल्मभन्दा पनि झुर छ ‘कृ’ मा वास्तविकता यही हो ।

एउटा पर्फेक्ट अभिनेता हुनलाई आकर्षक लुक्स भएरै मात्रै पुग्दैन, ऊ ‘एक्सप्रेसिभ’ पनि हुन सक्नुपर्छ । निर्वाह गरिरहेको क्यारेक्टरलाई केले निर्देश गरिरहेको छ ? यसका आवश्यकता के-के हुन् ? यिनीहरु किन यसरी अभिनय गर्छन् ? चरित्रको व्यवहार बारेमा ऊसँग राम्रो अध्ययन हुनुपर्छ ।

राम्रो एक्टर उत्तिकै कल्पनाशील पनि हुनुपर्छ उसको काम ती मान्छेहरुको अनुकरण गर्नु हो, जो स्वयम् तिनीहरु होइनन् ।
त्यसैले नयाँनयाँ मान्छेहरुलाई हेर्नु, भेट्नु र उनीहरुको काम नियाल्नु, उनीहरु जे काम गर्छन् त्यो किन गर्छन् भनेर जान्न खोज्नु राम्रो अभिनेताको गुण हो । अनमोलका पाँचवटै फिल्मलाई नियालेर हेर्दा उनमा यसको ठूलो अभाव खड्किन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]