Dabali News

बैदेशिक रोजगारका लागि जापान खुल्ला, नेपालीसहित ११ मुलुकबाट कामदार लैजाने

११ पुस

काठमाडौं । नेपाली कामदारका लागि जापान जाने बाटो खुला भएको छ ।

जापानको मन्त्रिपरिषदले विदेशी कामदार खुला गर्ने निर्णय गरेपनि नेपाली युवा पनि वैदेशिक रोजगारीका लागि जापान जान पाउने भएका हुन् ।

त्यहाँको मन्त्रिपरिषदले मंगलबार विदेशी कामदारसम्बन्धि १ सय २६ बुँदे नीति पारित गर्दै नेपालीसहित ११ मुलुकबाट कामदार लैजाने निर्णय गरेको हो ।

जापानले नेपालसहित कम्बोडिया, चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स, भियतनाम लगायतका देशबाट कामदार लैजाने निर्णय गरेको जापान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ औद्योगिक क्षेत्र तोकेको छ । पहिलो ५ वर्षमा यी मुलुकहरूबाट ३ लाख ४५ हजार १ सय ५० कामदार जापान जानेछन् ।

यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिइन्छ भन्नेबारेमा अझै यकिन भइसकेको छैन । नेपाल र जापानका अधिकारीहरूबीचको छलफलले संख्या निर्धारण गर्नेछ ।

कामदारका रुपमा जापान जान भने कुनै शुल्क लाग्ने छैन । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले जापान रोजगारीको मोडालिटी र सेवा सुविधाबारे टुंगो लगाउन चाँडै २ देशका प्राविधिक समितिको बैठक बस्ने बताए ।

जापानले आउँदो अप्रिलदेखि कामदार लैजाने जनाएको छ । यसअघि जापानका रोजगारदाताले फाटफुट रूपमा नेपालबाट प्रशिक्षार्थी कामदार लैजाने गर्थे भने कतिपय विद्यार्थी र पर्यटक भिसामा जापान पुगेकाहरूले उतै काम गर्थे । जापानले कामदार आपूर्तिकर्ता मुलुकको रूपमा नेपाललाई पहिलो पटक राखेको हो ।

विदेशी कामदारले जापानमा निर्माण क्षेत्र, रेष्टुरेन्ट, कृषि र वृद्धवृद्धाको स्याहारसुसारलगायतको काम गर्न पाउने सरकारी निर्णय छ । जापान जान त्यहाँको सरकारले निर्धाण गरेको औद्योगिक क्षेत्रमा काम गर्न आवश्यक सीप जानेको हुनुपर्छ ।

जापानको मन्त्रिपरिषदका मुख्य सचिव योशिहिडे सुगाले कामदार लैजाने एसियन मुलुकसँग द्विपक्षीय सम्झौता गरेपछि कामदार लैजाने प्रक्रिया सुरु हुने जानकारी दिए ।

नेपाल र जापानबीच भने यसअघि नै श्रम सम्झौता छ । नेपालले हालसम्म श्रम सम्झौता गरेका ८ देशमध्ये जापान एक हो । यद्यपि नेपालले संस्थागत रूपमा १ सय १० र व्यक्तिगत तवरमा १ सय ७२ देशमा श्रम स्वीकृति दिने गरेको छ ।

श्रम मन्त्रालयका अधिकारीहरूले अब जापानसँग पहिलाको सम्झौतालाई संशोधन गरी नवीकरण गरेपछि रोजगारी सुरु हुने बताएका छन् । श्रम सम्झौताका लागि जापानका विदेशमन्त्री २ सातापछि नेपाल आउने बताइएको छ ।

वैधानिक तवरले कामदार लैजाँदा विगतमा प्राविधिक, प्रशिक्षार्थी लगायत अन्य बहानामा जाने कामदारको संख्या कटौती भई शोषणमा पर्ने क्रम अन्त्य हुने जापानी अधिकारीहरूले जापान टाइम्सलाई बताएका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले आलोचनाका बाबजुद सरकारले विदेशी कामदार लैजाने नीति लिएको र सोही नीतिलाई राम्रोसँग कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषदका सदस्यलाई निर्देशन दिए ।

जापानको उक्त नीतिले विदेशी कामदारलाई बस्न र काम गर्न सहज हुने आवेको भनाइ छ । विगतमा जापानामा जिट्कोमार्फत प्रशिक्षार्थी कामदार जाने गर्थे । तर, जिट्कोमार्फत जापान गएका कामदारसँग रोजगारदाता सन्तुष्ट हुन नसकेपछि केही समययता त्यसरी कामदार पठाउने प्रक्रिया रोकिएको छ ।

यद्यपि जापानीज भाषा सिक्न विद्यार्थी बनेर जापान जाने र रोजगारीमा रहने क्रम जारी छ । विद्यार्थी बनेर जापान जाँदा ठूलो लागत लाग्ने भएकाले नेपालले लामो समयदेखि जापानको रोजगारी खुलाउने प्रयास गर्दै आइरहेको छ ।

सोही प्रक्रिया अनुसार अघिल्लो वर्ष जापानका रोजगारदाता नेपाल आएर सम्बद्ध पक्षसँग छलफल गरेका थिए । व्यवसायी लगायत सरकारी निकायले जापानको रोजगारी सुचारु गर्न माग गरेका थिए । जापानले नेपाली कामदारलाई उच्च प्राथमिकतामा राख्नुलाई नेपालीहरूले जापान सरकारको सहानुभूति र नेपाली कामदारको इमान्दारीपनलाई लिएका छन् ।

‘जसरी जापानी नागरिकहरू कर्ममा विश्वास गर्छन्, नेपाली कामदारको व्यवहार पनि त्यस्तै हुन्छ भन्ने आम जापानी रोजगारदाताको बुझाइ पाइन्छ,’ एक म्यानपावर व्यवसायीले भने । जिट्कोमार्फत कामदारलाई जापान पठाउँदा दुई देशका रोजगारदाताबीचको सम्बन्धलाई प्रगाढ बनाइराख्न सकेको भए यतिखेर जापानमा लाखौं नेपाली पुगिसक्ने ती व्यवसायीको भनाई छ ।

‘जापानका रोजगारदाताले जस्ता कामदार चाहेका थिए, त्यस्ता कामदारको आपूर्ति गर्न नसक्दा जापानको रोजगारीबीचमै अलपत्र परेको थियो,’ उनले भने, ‘फेरि जापानले अर्को पटकलाई अवसर दिन खोज्दैछ । यसमा सबैको ध्यान जान जरूरी छ ।’ जापान मेहनत र परिश्रम गर्नेहरूको देश हो भनेर सबैले बुझ्नु पर्ने उल्लेख गर्दै उनले फेरि जापानको रोजगारी खुल्दा सीप नजानेका आफन्त, नातागोतालाई पठाउन खोजियो भने अर्को समस्या सिर्जना हुने बताए ।

जापानले दिएको अवसरबाट फाइदा लिन सरकारले अहिले नै जापानका कस्ता खाले श्रमिकको आवश्यकता छ, सोही अनुसार श्रमिकलाई सीप सिकाउन जरूरी रहेको बताइएको छ । जापानले नेपाली कामदारलाई उच्च प्राथमिकताको सूचीमा राखे पनि नेपालमा भने त्यसबारे खासै तयारी गरेको भने देखिँदैन । मन्त्रालयका अनुसार यतिखेर जापानका वैधानिक तवरले गएका नेपालीको संख्या करिब २६ हजार छ । बसाइँको दृष्टिकोणले जापान मानव अधिकारको पूर्ण प्रत्याभूति भएको मुलुक हो ।

त्यस्तै पारिश्रमिक पनि अन्य गन्तव्य मुलुकको तुलनामा जापानमा निकै राम्रो पाउने बताइन्छ । जापानमा रोजगारी गर्नेमध्ये अधिकांशको औसत मासिक पारिश्रमिक २ लाख रुपैयाँ हाराहारी हुने अपेक्षा गरिएको छ ।

हाल नेपालबाट वैदेशिक रोजगारीमा जाने युवामध्ये करिब ८७ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन् । ती मुलुकमा जाने श्रमिकको औसत मासिक पारिश्रमिक ४० हजार रुपैयाँ हुने गर्छ । जसले गर्दा सरकारलाई राम्रा गन्तव्य खोज्न सर्वसाधारणको दवाव रहँदै आएको छ ।

नेपाली श्रम बजारमा बर्सेनि प्रवेश गर्ने करिब ५ लाख युवायुवतीमध्ये ४ लाख जति वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, अधिकांश युवा राम्रो पारिश्रमिक पाइने मुलुकमा नजाँदा रेमिट्यान्स वृद्धि पनि हुन सकेको छैन ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष नेपालमा विभिन्न मुलुकबाट ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आर्थिक वर्षको ४ महिनामा (साउन-कात्तिक) ३ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । ती युवा राम्रो गन्तव्य मुलुकमा पुगेको भए अहिलेको भन्दा निकै बढी रेमिट्यान्स भित्रिने अनुमान गरिन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]