Dabali News

माओ त्सेतुङ जिन्दावाद ! माओवाद जिन्दावाद !!

२६ डिसेम्बर, सन् १८९३ मा विश्व मानचित्रको एउटा विशाल भू–भाग ओगटेको पुँजीवादी तथा सामन्तवादी शक्तिद्वारा पिल्सिएको जर्जर रोग र भोकले छटपटाएको चीनको स–सानो गाउँमा जन्मनुभएका महान् योद्धा कमरेड माओको नामले आज संसारभर प्रसिद्ध छ । माओ शोषक लुटेराहरूको ज्यानीदुश्मन र गरिब मिहिनेतकश जनताका मुटुको धड्कन बन्नु मात्र भएन कि उहाँ प्रत्येक राष्ट्रको स्वाधीन आन्दोलन र हरेक देशका जनताको मुक्ति आन्दोलनसँग गहिरोगरी गाँसिनुभएको छ । आज उहाँ विश्वभरमा चलाइने जनक्रान्तिको पर्याय बन्नुभएको छ । साम्राज्यवादी, सामाजिक साम्राज्यवादी र विस्तारवादी तथा एकाधिकार पुँजीवादी शक्तिहरूको प्रभावबाट राष्ट्रलाई मुक्त गर्न, उत्पीडित जनतालाई सामन्तवादी तथा अन्य प्रतिक्रियावादी तत्वको दमन र शोषणबाट मुक्त गर्न कमरेड माओ संसारभरका मुक्ति–आकाङ्क्षी जनताका लागि प्रेरणा र महत्वपूर्ण रणनीतिक हतियार बन्नुभएको छ ।

क्रान्तिकारी सिद्धान्तलाई जसरी लेनिन–स्तालिनले रुसमा व्यावहारिक रूपमा लागू गर्नुभयो; ठीक त्यसरी नै माओले तेस्रो विश्वको पिछडिएको मुलुक चीनमा लागू गर्नुभयो । उहाँले माक्र्सवाद–लेनिनवादलाई विकास गरेर सर्वहारा अधिनायकत्वलाई सुदृढ बनाउँदै पुँजीवादी पुनस्र्थापना रोक्ने विधिको विकास गर्नुभयो । माक्र्सवाद–लेनिनवादको विकसित रूप नै आजको माओवाद हो । माओवाद नेपाली जनक्रान्तिको मार्गदर्शक सिद्धान्त पनि हो । सेप्टेम्बर ९, सन् १९७६ मा विश्व सर्वहारावर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको निधनपछि विश्वभरका शोषित–पीडित जनता शोकमग्न भइरहेको बेलामा मुट्ठीभरका चिनियाँ प्रतिक्रान्तिकारीले भित्रभित्रै तिनका विषाक्त हतियारहरूलाई तिखारेर षड्यन्त्रको जालो बुन्न थाले । माक्र्सवाद–लेनिनवाद–माओवादका सच्चा अनुयायीलाई चयन गरेर चिनियाँ समाजवादी व्यवस्थालाई थप समृद्ध लैजानुको साटो उल्टै पुँजीवादी व्यवस्था लागू गर्नका लागि चिनियाँ संशोधनवादी गुटले माओको मृत्युको महिना दिन पनि नपुग्दै चियाङ चिङ, च्याङ चुङ चियाओ र अन्य क्रान्तिकारीहरूमाथि ‘कथित चार गुट’ का रूपमा आरोपित गर्दै गिरफ्तार गरेर प्रतिक्रान्तिको बीजारोपण ग¥यो । त्यहीक्रममा चिनियाँ संशोधनवादी गुटले सर्वप्रथम माओ विचारप्रति अत्यन्तै बफादार, राजनीतिक रूपले परिपक्व तथा सिद्धान्तप्रति निष्ठावान चिनियाँ सेनालाई पुनर्गठन गरेर सेनाका सबै जवानलाई पार्टी, सरकार र त्यसका पछिल्ला पुँजीवादी नीतिहरूप्रति बफादारीको सपथ लिन लगाइयो ।

माओको क्रान्तिलाई लगातार अघि बढाउँदै उत्पादन बढाउने भन्ने क्रान्तिकारी विचारलाई तोडेर कथित ‘आधुनिकीकरणको कार्यक्रम’ द्वारा ‘उत्पादन बढाउने’ नारा दिन थालियो । ‘उत्पादन बढाउने’ नाउँमा संशोधनवादीहरूले क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली दिएर पुँजीवादी पुनस्र्थापनालाई जोड दिइयो । त्यसैअनुरूप वर्गसङ्घर्षलाई पूर्णरूपले परित्याग, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसभन्दा अगाडि पनि जफत गरिएका व्यक्तिगत सम्पत्ति ब्याजसहित फिर्ता, व्यक्तिगत स्वामित्वमा चल्ने उद्योगधन्दालाई छुट, ठूलो पैमानामा विदेशी पुँजीलाई चीनमा भित्र्याएर पर्याप्त नाफालाई विदेशमा रकम लैजान छुट, व्यक्तिगत रूपमा जमिनका प्लटहरूको वितरण, विदेशी अश्लील साहित्य नृत्य–फिल्मको प्रदर्शनद्वारा जनताको चेतनालाई विकृत र कुरूप बनाई क्रान्तिप्रति विमुख बनाउने तथा भौतिक प्रलोभनद्वारा जनतालाई भ्रष्ट पार्ने प्रयास गरेर चीनमा पुँजीवादी अधिनायकत्वलाई स्थापित गरियो । त्यहीक्रममा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई ‘गलत’, ‘दुर्घटनापूर्ण’ बताइयो । चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको विरोध गर्दै उत्पादनलाई जोड दिने चिन्तनलाई नेपालका क्रान्तिकारीहरूले चीनमा प्रतिक्रान्ति भएको ठोकुवा गर्न पुगे । यो सामान्य परिघटना थिएन ।

नेपालका क्रान्तिकारीहरूले क्रान्तिप्रति अटल विश्वास र सिद्धान्तप्रति दृढ आस्था राख्दै समाजवादी व्यवस्था–साम्यवादी विचारधारा ‘असफल’ भनेर चिल्लाएका विश्वभरका पुँजीवादी–संशोधनवादी तत्वहरूलाई ठाडो चुनौती दिनु शोषित–पीडित जनतालाई समाजवादी व्यवस्था तथा साम्यवादी विचारधाराप्रति अटल विश्वास जगाई क्रान्तिको लालझन्डा सदैव उठाइरहन प्रेरित गर्ने आकाङ्क्षाद्वारा अभिप्रेरणा थियो । यो कुनै पनि शक्तिसामु घुँडा नटेक्ने, आत्मसमर्पण नगरी क्रान्तिकारी सही सिद्धान्त र राजनीतिक विचारधारालाई बलियो गरी समातेर क्रान्तिलाई निरन्तर अघि बढाउने साहसिक दूरदर्शी प्रतिक्रिया पनि थियो ।

सर्वहारावर्गले पुँजीपतिवर्गबाट छिनेर सत्ता लिएपछि पनि निकै लामो अवधिसम्म समाजवादतर्फ सङ्क्रमणकालभरि मात्र होइन, समाजवादको निर्माण र विकासकालभरि वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पार्टी र सरकारभित्र तथा बाहिर रहेका पुँजीपन्थीहरूलाई कमजोर, तहस–नहस र अन्तमा निर्मूल नपारेसम्म सर्वहारावर्गले राज्यसत्तामाथि प्रतिक्रान्तिकारी हमला हरदम भइरहने खतरा हुन्छ । यही वास्तविकतालाई दृष्टिगत गरेर माओ सुरुदेखि नै पार्टीलाई सर्वहाराकरण गर्ने प्रयासमा लाग्नुभयो । महान् स्टालिनको निधनपछि पार्टीभित्र घुसेको नवसंशोधनवादी खुश्चोभ गुटले समाजवादी सोभियत रुसलाई पुँजीवादी रुसमा बदलेर माक्र्सवाद–लेनिनवाद र विश्व सर्वहारावर्गप्रति नै गद्दारी गर्‍यो । त्यसैअनुरूप पुँजीवादी बाटो लिएका सत्तासीनविरुद्ध सङ्घर्ष गरेर सर्वहारा अधिनायकत्वको सुदृढीकरण र समाजवादी व्यवस्थाको विकासको लागि समाजवादी ढाँचाअनुरूप नभएका शिक्षा, साहित्य, कला र संस्कृतिलाई सही रूप दिन माओले ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को सूत्रपात गरेर सामाजवादी व्यवस्थामा नयाँ आयाम थप्नुभयो । महान् सर्वहारा सांस्कृतिक क्रान्ति माओवादको सशक्त व्यावहारिक रूप हो । यो माक्र्सवाद–लेनिनवादको ज्ञानभण्डारमा थप योगदान र विश्व कम्युनिस्ट आन्दोलनको महान् उपलब्धि हो ।

आज माओवाद सामन्तवाद, संशोधनवाद रसाम्राज्यवादविरुद्ध लड्ने आधारभूत सिद्धान्त बनेको छ । आज विश्वभरका प्रतिक्रान्तिकारी–संशोधनवादीहरूले माओ र माओवादमाथि निरन्तर आक्रमण गरेर साम्राज्यवादी–सामाजिक साम्राज्यवादी शक्तिलाई खुला सहयोग पु¥याइरहेका छन् । यसले एकातिर विश्वस्तरमा अन्तर्विरोधलाई झन् चर्काएको छ भने अर्कोतिर हरेक देशका शोषित–पीडित जनताले चलाउने जनक्रान्तिलाई दबाएर साना राष्ट्रलाई आफ्नो नियन्त्रणमा राख्ने साम्राज्यवादी तथा सामाजिक साम्राज्यवादी शक्तिबीचको होडबाजी झन् बढेको छ । माओको “विश्वमा दुईवटा सम्भावनाहरू छन् कि त क्रान्तिले युद्धलाई रोक्नेछ कि युद्धले क्रान्तिलाई जन्माउनेछ” भन्ने भनाइ निकै मननीय प्रतीत हुन्छ ।

आज हामी अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता तथा विचारक माओको १२६ औँ जन्मजयन्ती मनाइरहेका छौँ । हामी उहाँको जन्मदिनलाई उत्सवको रूपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा न्यानो अभिवादन गर्न चाहन्छौँ । छिमेकी चीनको हुनान प्रान्तको साओसान गाउँमा एक मध्यम किसान परिवारमा जन्मनुभएका माओ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँ चीनको बहुचर्चित लामो अभियान, जापान विरोधी युद्ध (सन् १९३७–४५) र मुक्ति युद्ध (सन् १९४६–४९) का नेता एवम् नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक हुनुहुन्थ्यो । क्रान्तिपछि चीनलाई समाजवादी बाटोमा लैजाने वा पुँजीवादी बाटोमा भन्ने प्रश्न टड्कारो बनिरहेको बेला सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको वास्तविक नेता पनि हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजस्र स्रोतसमेत हुनुहुन्छ । आज माओ विश्वइतिहासकै महापुरुषहरूमध्ये एक बन्न पुग्नुभएको छ । माओले दर्शनका क्षेत्रमा विकास गर्नुभएको ‘विपरीतहरूको एकता–सङ्घर्ष–रूपान्तरण’ को नियम, ‘दुई एकमा संयोजन होइन, एक दुईमा विभाजन हुन्छ’ भनी द्वन्द्ववादको उक्त नियमको विस्तार, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा रुसी समाजवादी मोडेलका कतिपय नीतिको आलोचना एवम् ‘दुई खुट्टामा टेकेर हिँड्ने अर्थनीति’, ‘राजनीतिलाई पक्र, उत्पादन बढाऊ’ भन्ने मान्यता र वैज्ञानिक समाजवादको क्षेत्रमा दीर्घकालीन जनयुद्धको सैनिक रणनीति, नयाँ जनवादी राज्यव्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए ।

पार्टी निर्माणको सवालमा ‘एउटा क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित र माक्र्सवादी–लेनिनवादी पद्धतिमा आधारित पार्टीबिना श्रमजीवी वर्ग र जनसमुदायको व्यापक हिस्सालाई नेतृत्व प्रदान गर्न र साम्राज्यवाद र त्यसका पाल्तु कुकरहरूलाई पराजित गर्न सम्भव छैन’ भन्ने मान्यता अघि सार्नुभयो । साथै, वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सही कुराको निर्धारण गर्दछ भन्ने मान्यता अघि सार्दै नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका निम्ति माओले ‘पुँजीवादी अड्डामाथि बम वर्षाऊ’, ‘विद्रोह गर्नु जनताको अधिकार हो’ भन्ने नाराका साथ पार्टीको उच्च ओहोदामा पुग्न सफल भएका संशोधनवादी गद्दारहरूका विरुद्ध सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गर्नुभयो । त्यस्तै, माओले ‘माक्र्सवाद लागू गर संशोधनवाद होइन’, ‘खुला र स्पष्ट होऊ छलछाम र षड्यन्त्र नगर’, ‘एकताबद्ध होऊ नफुट’ अर्थात् ‘तीन गर, तीन नगर’ भन्ने साङ्गठानिक क्षेत्रमा महत्वपूर्ण प्रस्तावना अगाडि सार्नुभयो ।

पार्टीभित्र चल्ने अन्तर्विरोधलाई पार्टीको जीवन बनाउनुहुने माओले पार्टीमा उत्पन्न भएका दक्षिणपन्थी विसर्जनवाद र उग्रपन्थी दुस्साहसवादका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष चलाउनुभयो भने विश्व कम्युनिस्ट आन्दोलनभित्र खु्रश्चोभी नवसंशोधनवादका विरुद्ध महान् बहस चलाउनुभयो र त्यो प्रक्रियामा माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको प्रतिपादन गर्नुभयो । त्यसैले त आज संसारभरका क्रान्तिकारीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा अपनाउँदै आएका छन् ।

हामी नेपालका क्रान्तिकारीहरूलाई क्रान्तिको नयाँ लहरको नेतृत्वका लागि तयार रहन आह्वान गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । साहसका साथ अघि बढेमा सबैखाले साम्राज्यवादीहरू घातक हतियारको आडमा जतिसुकै बलमत्त भएर नेपाली शोषित पीडित जनताको विरुद्धमा जति जाइलागे पनि केही हुनेवाला छैन । यो राष्ट्र शोषित–पीडित नेपाली जनताको नै हो । मालेमावादी मर्मलाई द¥हो गरी समातेको खण्डमा यस्ता प्रतिक्रान्तिकारी हमलाले जनताको क्रान्तिकारी वेगलाई रोक्न सक्नेछैन । क्रान्तिकारी कार्यदिशाको अवलम्बन गर्दै देशीय सामन्तवाद, सबै किसिमका साम्राज्यवादविरुद्ध जोडदार सङ्घर्ष चर्काउँदै नेपाली जनक्रान्तिलाई सफल पार्न एकजुट भएर क्रान्तिमार्गमा लाग्नु नै क्रान्तिकारीहरूको मूल दायित्व हो । दस वर्षको महान् जनयुद्धलाई इतिहासको कष्टकर कथाका रूपमा होइन; अग्रगामी र सुन्दर भविष्यको प्रेरणाका रूपमा लिनैपर्दछ । माओलाई सम्झनुको अर्थ क्रान्तिमार्गमा अघि बढ्नु हो ।

माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी गरी क्रान्ति सम्पन्न गर्नुभयो, समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाउनुभयो । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा गर्नुभएको योगदान सार्वभौमिक छन् । त्यसैले एकपटक सबैले समवेत स्वरमा भनौँ — माओ त्सेतुङ जिन्दावाद ! माओवाद जिन्दावाद !!

१० पुस, २०७५

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]