Dabali News

प्रेमका अनकौं कथा,भ्यालेन्टाइन स्पेशल

२ फागुन

काठमाडौँ । धर्मशास्त्रमा उल्लेख गरिएको छ-भगवान शिवको प्यारमा समर्पित भएकी सतिदेवी आफ्नो प्रेमी नपाएको अवस्थामा दनदनी बलेको आगोमा आत्मदाह गर्न पुग्छिन् ।

यो कुरा शिवलाई थाहा हुन्छ । आफ्नी प्रेमिकाको त्यस्तो हालत देखेर आफूलाई सम्हाल्न सक्दैनन् र सतिदेवीको नश्वर शरीर बोकेर हिमाल-पहाड जताततै भौंतारिन्छन् ।

उनी प्रेममा यतिसम्म अचेत हुन्छन्,सतिदेवीको नश्वर शरीरका सम्पूर्ण अंग जताततै खसिसक्छन् । उनको हातमा एउटा अस्तुमात्र बाँकी रहन्छ । कस्तो पागल बनाउँछ प्रेमले !

उता, भगवान कृष्णकी भक्तिनी मीरा कृष्णप्रतिको प्रेममा भुतुक्क हुन्छिन् । हरेक समय उनी कृष्णलाई नै सम्झन्छिन् । मिराको कृष्णप्रतिको भक्तिबाट छुटाउन उनका परिवारले बारम्बार अवरोध सृजना गर्छन् तर केही लाग्दैन ।

अन्ततः मिरालाई विष मिलाएर मार्ने निर्णयमा पुग्छ उनको परिवार । र, एकदिन मिरालाई विष खुवाइन्छ । मिरा हाँसीहाँसी विष पिइदिन्छिन् र प्रेमको अघि विषले कुनै कामै गर्दैन, विष हार्छ र प्रेमले जित्छ ।

एकदिन विश्व विजयी नेपोलियन बोनापार्ट बन्दीगृहको निरीक्षणमा गएछन् । उनका सामु एक बन्दीलाई पेस गरियो र भनियो- ‘यो बेलायती सैनिकलाई भाग्न लाग्दा समातेका हौं ।’ यसलाई मारी दिऊँ ?’

नेपोलियनले बन्दीलाई सोधे-‘यहाँबाट भाग्न असम्भव छ र पक्राउ पर्दा मारिन सक्छु भन्ने जान्दा जान्दै किन भाग्न खोज्छौ ?

बेलायती सैनिकले भनेछ-‘पछिल्लो पटक बन्दी बनेर आएका मेरा सहकर्मीले मेरी आमा अन्तिम अवस्थामा हुनुभएको र मलाई हेरेरमात्र मर्छु भनिरहेको खबर ल्यायो । त्यही भएर आमाको अन्तिम इच्छा पूरा गर्न सक्छु की भनेर भाग्न खोजेको हुँ ।’

यो सुनिसकेर नेपोलियनले आदेश दिए-‘आमाको मायाका अगाडी यसलाई एउटा त के, हजारवटा नेपोलियनले पनि रोक्न सक्दैन, त्यसैले यसलाई रिहा गर ।’

मातृप्रेमको शक्तिलाई युद्धउन्मादीमा डुबेका हजार नेपोलियनले पनि जित्न सक्दैन । भयानक अपराध र घृणाभित्र पनि प्रेम उम्रेरै छाड्छ । त्यसैले प्रेमले हाम्रो ध्यान हत्यारा छोरातिर खिच्दैन, प्रेमिकाको समर्पणतिर खिच्छ ।

मुस्किलैले १९–२० टेकेकी एउटी बैशालु केटीलाई उस्तै २०-२२ को जवानीमा उक्लदै गरेको एउटा केटाले पिछा गर्दै गएर आखिरीमा मनमा दह्रो साहस बोकेर भन्यो-प्रियंका आइ लभ यु । प्रत्युत्तरमा प्रियंकाले लजाइ–लजाइ भनी, आइ लभ यु टु राकेश

अनि शुरु भयो उनीहरु प्रेम जिन्दगी र आयो फेब्रुअरी १४ अर्थात प्रणय दिवस । बल्ल आफ्नो बगैंचामा फुल्न खोजेको प्रेमको बाली उठाउन ती दुवै आतुर थिए र प्रेमको चिनो स्वरुप आपसमा केही साटे र एकान्तको अनभिज्ञतामा केही बेर खासखुस गरे ।

एकान्त र सुनसानले दुवैलाई केही घण्टा अँगालोमा बाँधिदियो अनि उनीहरुको प्रणय दिवस त्यस दिनलाई समाप्त भयो ।
भोलिपल्ट राकेश अर्कै प्रियंकासँग मस्त थियो वास्तविक प्रियंका चाँही सबै गुमाएर रुँदै भनिरहेकी थिइ ‘राकेश तिमीलाई मेरो प्रेमले श्राप दिनेछ र तिमीले जीवनभर कसैको साँचो माया पाउने छैनौं ।’

तर प्रेम फेर्न पल्किएको राकेश अर्की प्रियंकामा मस्त थियो किनभने वास्तविक प्रियंकाभन्दा पछिल्ली प्रियंकाले उसलाई बढी आनन्द दिइरहेकी थिइ । आजको राकेश र अनि दुई प्रियंका के गर्दैछन कसैलाई थाहा छैन ।

एउटा केटो एउटी केटीको प्यारमा फँसेछ, एकदिन केटीले आफ्नो प्रेमीलाई आफ्नै आमाको मुटु उपहार ल्याइदिन आग्रह गरिछ । प्रेममा पागल प्रेमीले पनि प्रेमिकाको आग्रहलाई नकार्न सकेनछ र उपहार ल्याइदिने बाचा गरेछ । ऊ सरासर उपहारका लागि आफ्नो घर गएछ ।

उसैका लागि खाना बनाउँदै गरेकी आमालाई काटकुट पारेर मुटु झिकेर पे्रमिकालाई उपहार दिन आएछ । बाटोमा आउँदै गर्दा ऊ ठेस लागेर लडेछ । आफ्नै खल्तीमा बोकिराखेको आमाको मुटु पर पुग्ने गरी उछिट्टिएछ । उछिट्टिएको मुटुले पनि भनिरहेको थियो रे ! ‘बाबु तिमीलाई चोट त लागेन ?’

एउटा निदर्यी प्रेमीले आफ्नी प्रेमिकालाई शंकाको दृष्टिले हेर्न थाल्यो र एकदिन प्रेमिकाको घाँटी अँठ्यायो । प्रेमिकाले अलिकति पनि प्रतिरोध गरिनन् ।

प्राणै जान लाग्दा पे्रमिकाले सकीनसकी प्रेमीको हात समातेर आफ्नो औंलाको औंठी फुकालेर प्रेमीको हातमा लगाइ दिइछन् ।

आक्रोशले पागल भएको प्रेमीले आफ्नी पे्रमिकाको मृत्यु र आफ्नो औंलामा औंठी एकसाथ देख्न पुगेछ । अनि प्रेमको वास्तविकता पत्ता लगाएछ ।

वास्तवमा प्रेम कति महान् र कति स्वार्थी हुन्छ भन्ने कुरा माथि उल्लेखित कथाका किस्साहरुले पुष्टि गर्छन् । यस्ता कथा अनगिन्ती छन्, जसले प्रेमको महानता र विकृती उसैगरी प्रष्ट्याउ छ ।

यस दिवसको इतिहास जति रोचक र भावुक छ, त्यक्ति नै आलोचित बन्दै गइरहेको छ ।

इतिहास महान हुँदाहुँदै पनि वर्तमान आधुनिकताको नाममा छाडापन संस्कृतिको पछि लागेको छ । विश्वका थुप्रै आदर्श प्रेमका उदाहरणहरुलाई छायाँमा राखेर वर्तमान पुस्ताले प्रेमलाई गलत प्रयोग गरिरहेका छन् ।

प्रेमवादी लेखक जीवन शर्माकै शब्दमा भन्ने हो भने ‘हाम्रो समाजले प्रेमलाई केटा-केटीबीचको प्रेमलाई मात्र प्रेम ठान्यो र भ्यालेन्टाइन डेलाई त्यही रुपमा स्विकार्दै आएको छ, यो विल्कुलै गलत छ ।

आमाबाबु र छोराछोरी बीचको प्रेम, श्रीमान र श्रीमतिबीचको प्रेम, साथी साथीबीचको प्रेमी र प्रेमिकाबीचको प्रेम पनि प्रेम नै हो जहाँ आत्मीयता, घनिष्टता र निस्वार्थता रहन्छ त्यहाँ प्रेमले बास लिन्छ र त्यही प्रेम महान बन्छ ।’

प्रेमले श्रद्धा जगाउँछ र विश्वासको वातावरण बनाउँछ । त्यसैले संसारको सर्वोत्तम बस्तु नै प्रेम हो । तर यति हुँदाहुँदै प्रेम दिवसले समाजको नियम तोड्दै जान थालेको छ ।

समाजको आँखा छल्दै छाडा संस्कृतिको विकास दिनदिनै हुन थालेको छ । प्रणय दिवसलाई वंैशले उन्माद भएका कतिपय युवायुवतीहरुले आफ्नो अभिष्ट पूरा गर्ने दिनमा चित्रण गर्दै आएका छन् । यस्तो गर्नु सरासर गलत हो ।

रोमियो जुलियट, ममताज र शाहजहाँ, लैला मैजुनको प्रेम र नेपाली समाजका मुना र मदनका बीचको प्रेम आदर्श प्रेम हो । तर समाजले केटा र केटीबीच हुने प्रेमलाई मात्र प्रेम भन्नु उचित होइन ।

प्रेमीप्रेमिका बाहेक अरुप्रति गरिएको प्रेम ओझेलमा राखिएको छ । मुना र मदनका बीचको प्रेममा जति त्याग र बलिदान थियो, त्यत्ति नै त्याग भोटेको प्रेममा पनि पाइन्छ । तर समय क्रमले मुना र मदनको प्रेमलाई मात्र प्रेम ठान्यो र भोटेले मदनप्रति गरेको प्रेमलाई महत्व दिएन ।

कतिपयले प्रेमलाई गलत रुपमा व्याख्या गरेर पवित्र प्रेम दिवसलाई अपवित्र बनाउन खोजेको आरोप लगाइरहेका छन् ।

प्रेमस्वरुप कसैले कसैलाई उपहार दिन्छन् । उपहार सबैले सबैलाई दिन मिल्छ । प्रेमपूर्वक श्रद्धाभावले दिने उपहार सबैका लागि उत्तम ठहरिन्छ । प्रेम दिवसमा प्रेमी प्रेमिकाबीच गुलाफको फूल आदानप्रदानको संकोचित मान्यता मात्र राख्दैन ।

भ्रम यसमा छ- भ्यालेन्टाइन केटा र केटीका बीचको दिवस हो जहाँ प्रेमी र प्रेमीकाले मात्र प्रश्रय पाउँछन् । त्यसैले यस्तो संस्कार विकास हुँदै गएकोमा नेपालका कतिपय व्यक्तिहरु सन्तुष्ट छैनन् ।

प्रेम दिवस केटा-केटीबीचको माया र प्रेम साट्ने माध्यममात्र ठान्नु गलत हो । कसैले माया प्रेम र श्रद्धाले कसैलाई उपहार टक्र्याउँछ भने त्यो उसको समाजप्रतिको इमान्दारिता र मानवताप्रतिको सद्भाव नै हो ।

प्रणय दिवसलाई आपसी भाइचारा र मानवीय भावनाको विकासका लागि पनि मनाइनुपर्छ । मान्छेले मान्छेलाई गरिने व्यवहार र सद्भावलाई प्रेममय बनाउन सक्नु प्रेम दिवसको सान्दर्भिकता मान्न सकिन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]