Dabali News

Ad

एउटै झण्डामुनि गोलबद्ध हुन् न्युक्लिअसले क्रान्तिकारीहरुलाई गर्यो यस्तो अपिल (पूर्ण पाठसहित)

(विगतमा विभिन्न माओवादी समूहसित आवद्ध भएका तर, आफू सम्बद्ध सङ्गठनमा देखिएको वैचारिक तथा राजनीतिक विचलनका विरद्ध विद्रोह गर्दै अलग भएका माओवादी नेता तथा कार्यकर्ताहरूको हालै दाङमा भएको भेलाले कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन गरेको छ । मालेमा तथा नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध यस न्युक्लिअसले अपिलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै “सही अर्थका माओवादी क्रान्तिकारीहरूको एउटै केन्द्र बनाउने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने यस अभियानमा समाहित हुन क्रान्तिकारी शक्तिहरू लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायमा हार्दिक अपिल गर्दछौँ”, भनेको छ ।)

  • साम्यवादीहरू आफ्ना विचार र उद्देश्यहरू लुकाउनु आफ्नो सानको विपरित ठान्दछन् । सम्पूर्ण विद्यमान  सामाजिक व्यवस्थालाई बलपूर्वक ढालेर मात्र आफ्नो उद्देश्य पूरा गर्न सकिन्छ भनेर उनीहरू खुल्लमखुला घोषणा गर्दछन् । साम्यवादी क्रान्तिद्वारा शासक वर्गलाई त्राहीमाम हुनदेऊ । सर्वहारावर्गसँग गुमाउनको लागि हत्कडी बाहेक अरू केही छैन, जित्नका लागि संसार छ ।

कम्युनिस्ट पार्टीको घोषणापत्र, १८४८

  • उत्पीडित वर्गले हतियार चलाउन र हतियार प्राप्त गर्न सिक्दैन भने, ऊ केवल दासको व्यवहार गर्न लायक छ ।

लेनिन :  ‘सर्वहारा वर्गको सैन्य कार्यक्रम’, १९१६

  • राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ भन्ने सत्यलाई हरेक कम्युनिस्टले राम्ररी बुझनैपर्दछ । हाम्रो सिद्धान्त के हो भने पार्टीको आदेश अनुसार बन्दुक चल्नुपर्दछ र कुनै हालतमा पनि बन्दुकको आदेश अनुसार पार्टी चल्न हुँदैन । तर हाम्रा हातमा बन्दुक भएको खण्डमा हामी पार्टी सङ्गठनहरू निर्माण गर्न सक्छौं, उत्तरी चीनमा आठौं मार्ग सेनाले निर्माण गरेका शक्तिशाली पार्टी सङ्गठनहरू यसका सबुत–प्रमाणहरू हुन् । यसरी नै हामी कार्यकर्ता तयार गर्न सक्छौं, जनआन्दोलनहरू  सङ्गठित गर्न सक्छौं, संस्कृतिको निर्माण गर्न सक्छौं । बन्दुक  कब्जा गरेर एनानका सारा चीजहरूको निर्माण गरिएको हो ।  सबै थोकको जन्म बन्दुकको नालबाटै हुन्छ । राज्यसत्ता सम्बन्धी मार्क्सवादी सिद्धान्त अनुसार सेना राज्यसत्ताको मुख्य अङ्ग हो । जसले राज्यसत्ता कब्जा गर्न  र त्यसलाई आफ्नो हातमा राखीराख्न चाहन्छ, उसँग एउटा बलियो सेना हुनैपर्दछ । केही मानिसहरू  “युद्धको सर्वशक्तिमानता” का पक्षपाती भनेर हाम्रो खिल्ली उडाउने गर्दछन् । हजूर, हामी क्रान्तिकारी युद्धको सर्वशक्तिमानताका पक्षपाती हौं; यो एउटा असल कुरा हो, खराब कुरा होइन, यो त मार्क्सवादी कुरा हो । रूसी कम्युनिस्ट पार्टीका बन्दुकहरूले सामाजवादको निर्माण गरे । हामी जनवादी क्रान्तिको निर्माण गर्नेछौं । साम्राज्यवादी युगको वर्गसङ्घर्षको अनुभवले हामीलाई के शिक्षा दिन्छ भने मजदुर वर्ग र श्रमिक जनसमूहले बन्दुकको बलले मात्र सशस्त्र पुँजीपति वर्ग र जमिनदारलाई पराजित गर्न सक्छन् । यस अर्थमा हामी के भन्न सक्छौं भने बन्दुकको सहाराले मात्र संसारलाई रूपान्तरण गर्न सकिन्छ । हामी युद्धको उन्मूलनका पक्षपाती हौं, त्यसैले बन्दुकबाट छुट्टी पाउनका लागि बन्दुक उठाउनु जरुरी छ ।

माओ : ‘युद्ध र रणनीतिका समस्याहरू’ १९३८ ।

माथि उल्लेखित पहिलो उद्धरणको संश्लेषण हुँदा सारा युरोपेली प्रतिक्रियावादीहरूले प्रतिपक्षीहरू  सबैलाई ‘कम्युनिस्ट’ को आरोप लगाउँथे । मार्क्स-एङ्गेल्स जस्ता क्रान्तिकारी कम्युनिस्टहरूले त्यतिबेलासम्मको समाजको संश्लेषण गरी कम्युनिस्ट घोषणापत्र लेखेका थिए । त्यतिबेला युरोपमा पुँजीवादका विरुद्ध मजदुर वर्गले क्रान्तिकारी आन्दोलन अघि बढाएको थियो । दोश्रो उद्धरण संश्लेषण हुँदा प्रथम विश्वयुद्ध चलिरहेको थियो र दोश्रो कम्युनिस्ट अन्तर्राराष्ट्रियका धेरैजसो समाजवादी पार्टीहरू र दोश्रो अन्तर्राष्ट्रियका मुख्य नेताहरू कार्ल काउत्स्की, एडवर्ड बर्नस्टिन र प्लेखानोव लगायतका नेताहरू अन्धराष्ट्रवादमा पतन भएका थिए । साम्राज्यवादीहरूले दोश्रो विश्वयुद्ध चलाइरहेका थिए भने दोश्रो अन्तर्र्राष्ट्रियका नेता र स्विट्जरल्यान्ड लगायतका स्क्याण्डेनेभियाली देशहरूले ‘निशस्त्रीकरण’ को नारा लगाइरहेका थिए । तेश्रो उद्धरणको संश्लेषण हुँदैगर्दा सोभियत सङ्घलाई मुख्य निसाना बनाउँदै विश्व सम्राट बन्ने महत्वाकाङ्क्षासहित हिटलरले जर्मनीबाट दोश्रो विश्वयुद्धको तयारी गर्दैथियो भने सोभियत कम्युनिस्ट पार्टी (बोल्सेविक)का सर्वोच्च नेता स्टालिन विश्व सर्वहारा वर्गका नेताका रूपमा स्थापित हुनुहुन्थ्यो । चीनमा माओ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित नयाँ जनवादी क्रान्तिले जापानी साम्राज्यवादलाई हावाकावा पारिरहेको थियो । त्यसैबेला माओले जोड दिनुभयो–“बन्दुकबाट छुट्टी पाउन बन्दुक उठाउनु अनिवार्य छ ।”

सन् १८७१ को पेरिस कम्युनबाट सुरु भएको कम्युनिस्ट क्रान्तिको विजय अभियान सन् १९७५ मा भियतनाम जस्तो सानो देशले अमेरिका जस्तो विशाल र वैभवशाली साम्राज्यवादलाई धुलो चटाइदिएपछि रोकियो । १९७६ मा माओको निधन भयो र संशोधनवादीहरूले चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ राज्यसत्ता कब्जा गरेका थिए । बर्मा, मलाया, लाओस, चिली, इन्डोनेसिया फिलिपिन्स, टर्की, निकारागुआ, पेरू, नेपाल लगायतका देशमा विजयको सन्निकट पुगेका क्रान्तिहरू असफल भए । यस सन्दर्भमा भियतनाम जस्तो सानो देशले अमेरिकी साम्राज्यवादी विशेष सेना मेरिनलाई समेत हराएपछि कम्युनिस्ट क्रान्तिको झन् विजय पो हुँदै जानुपर्ने हो, किन त्यसपछि कतै पनि कम्युनिस्ट क्रान्तिहरू  सफल भएनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।  यसको उत्तरमा भन्न सकिन्छ : भियतनामले अमेरिकालाई हराएपछि र माओको मृत्युपछि पुँजीवादी साम्राज्यवादीहरूले हारबाट सिके र आफ्नो विचारधारा तथा विधिमा विकास गरे भने कम्युनिस्टहरूले कमजोरीबाट सिक्तै विचारधारा तथा विधिमा विकास गर्ने काममा गम्भीरता देखाएनन् । उनीहरूमा सिर्जनशीलताको अभाव देखियो । यसका सन्दर्भमा यति छोटो र सपाट उत्तरले मात्रै पुग्दैन तापनि, अब पछाडि फर्केर इतिहासको अध्ययन, अनुसन्धान र संश्लेषण गर्नु आवश्यक भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ४६ वर्षपछि हामीले जनयुद्धको पहलकदमी लियौं । जनयुद्धको पहलदेखि सफलता प्राप्त गर्दै नयाँनयाँ योजना निर्माण र कार्यान्वयनले मालेमावादको वैज्ञानिकतामा पुनर्पुष्टि र नयाँ विचारशृङ्खला पनि हाम्रो आन्दोलनसित जोडियो । असार २०६४ साल असार, तद्नुसार जुलाई २००६ मा नेकपा (माओवादी) ‘शान्तिवार्ता’ मा प्रवेश गर्यो । १२ बुँदेदेखि सुरु भएको ‘राजनीतिक सहमति र सम्झौता’ ‘बृहद् शान्तिवार्ता’ मा पुग्दा सम्झौतावादमा फस्यो । अब पार्टिभित्र सिद्धान्त, राजनीति र विचार विकासको बहसलाई संविधानसभा सदस्य र मन्त्रीमण्डलको  लुछाचुडीले खायो । नेपाल कम्युनिस्ट पाटी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र मसाल)को कथित एकताबाट बनेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले हिजो विकासका सन्दर्भमा हामीले अगाडि सारेको विचार–शृङ्खलाको स्थगनका साथै माओवादसित विचारधाराको पुच्छर जोडेर माओवादको ऐतिहासिक मूल्य र सान्दर्भिकतामाथि नै घात गर्यो  ।  वैचारिक क्षेत्रमा देखापरेको विचलन, सङ्गठनात्मक अस्तव्यस्तता र व्यवहारमा देखापर्दै गएको आत्मसमर्पणवादले  पार्टीभित्र दुई लाइन सङ्घर्ष सुरु हुनु स्वाभाविक थियो । फलस्वरूप २०६८ साल असार तद्नुसार जुलाई २०१२ मा पार्टीमा दुई चिरा पर्यो  ।

एकीकृत पार्टीमा विभाजन आइसकेपछि दोश्रो संभिधानसभाको चुनावमा एमाओवादीको लज्जाजनक हार भयो । बोल्सेविक पार्टीले रूसमा अक्टोबर क्रान्तिलगत्तै संविधानसभाको चुनावमा भाग लियो र ७०० स्थानमा १६८  सिट प्राप्त गरेको थियो । सम्पूर्ण सत्ता सोभियतलाई भन्दै आएका बोल्सेविकहरूलाई बुर्जुवाहरूले जवाफ दिए : सम्पूर्ण सत्ता संविधानसभालाई । लेनिनले आफैँले गरेको अक्टोवर क्रान्तिपछि आफ्नै सरकारको नेतृत्वमा भएको संविधानसभाले समेत यस्तो नतिजा बेहोर्नुपरेको कुरा नबुझीकन नेपालको पुरानो राज्यसत्तालाई जस्ताको तस्तै राखिएको अवस्थामा संविधानसभाबाट राज्यसत्तै पल्टाउंछु भन्नु प्रचण्डको सपनाको पुलाऊ मात्र थियो । रूसमा संविधान सभामा बुर्जुवा वर्ग बहुमतमा हुँदा पनि बोल्सेविकहरू त्यसलाई विघटन गर्न सक्षम भए भने नेपालमा पहिलो संविधानसभामा माओवादीले बहुमत ल्याउँदा पनि उल्टै बुर्जुवाहरूले विघटन गरिदिए । यसबाट अन्तत: राज्यसत्ता कसको हातमा रहेछ भन्ने कुराकै पुष्टि भएको छ ।

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) विघटन भएपछि त्यसबाट अहिले माओवादी आन्दोलनमा दुई धारा देखा परेका छन् । मुख्य गुटको नेतृत्व गरिरहेका प्रचण्ड र त्यस गुटबाट पनि बाहिरिएर कम्युनिस्ट आन्दोलनको कित्ता समेत परित्याग गरी ‘नयाँ शक्ति’ अभियान चलाइरहेका बाबुराम भट्टराईले एउटै सारतत्व र लयको गीत गाइरहेका छन् ।  यता कमरेड मोहन बैद्य ‘किरण’ले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी–माओवादीले मालेमावादको रक्षाको प्रश्न उठाइरहेको छ भने  कमरेड मोहन बैद्य ‘किरण’ले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट सम्बन्ध विच्छेद गरी  कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी, माओवादीले वर्गसङ्घर्षको व्यावहारिक प्रयोगले नै विचारधाराको रक्षा र विकास हुने कुरा बताइरहेको छ ।

यहाँ सङ्क्षिप्तमै भए पनि प्रचण्ड र बाबुराम गुटको विश्लेषण गर्नु आवश्यक छ । यी दुवै गुट सिद्धान्त र व्यवहारमा समान छन् । बाबुरामलाई साम्राज्यवाद र भारतीय विस्तारवादले बढी पत्याउँछ, प्रचण्डलाई केही कम, यिनीहरूबीचको फरक भनेको यति मात्र हो । देखावटी रूपमा भए पनि प्रचण्ड कम्युनिस्ट पार्टीको झण्डामुनि छन् भने बाबुराम कम्युनिस्ट  खोल च्यातेर हिँडेका छन् ।

यथार्थत: प्रचण्ड र बाबुराम बराबर छन् भन्ने कुरा पुष्टि भएको छ । प्रचण्डले चुनवाङ बैठक र अझ बढी रोल्पाको राङ्सीको  प्रशिक्षणमा मार्क्सवादमा  द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद बाहेक अरू केही सत्य छैन भनी बोलिसकेका थिए भने अहिले आएर बाबुरामले त्यही बोलिरहेका छन् । यही प्रसङ्गमा उनीहरूमाथि प्रश्न उठ्नु आवश्यक छ : आजको समाजमा वर्गहरू छन् कि कि छैनन्, वर्गहरू छन् भने वर्गसङ्घर्ष हुन्छ कि हुँदैन, वर्गसङ्घर्षको छिनोफानो गर्ने सशस्त्र जनक्रान्ति नै हो कि अरू केही आविस्कार गरिएको छ ? यदि सशस्त्र क्रान्ति नै आवश्यक छ भन्ने ठानिन्छ भने त्यसपछि प्राप्त जनसत्ता बचाउन जनताको जनवादी अर्थात् सर्वहारा अधिनायकत्व चाहिन्छ कि चाहिँदैन ? प्रचण्ड र बाबुराम दुवैले मार्क्सवादको यस आधारभूत विचारशृङ्खलालाई कुल्चेका छन् र उनीहरूले  ख्रुस्चेवको शान्तिपूर्ण सहअस्तित्व, सबै जनताको पार्टी र शान्तिपूर्ण सङ्क्रमणको बाटो रोजेका छन् ।  यो सरासर सर्वहारा वर्गप्रतिको विश्वासघात हो ।

दोस्रो कुरा, यी दुवै ‘सुरवीर’हरूले नेपालमा दलाल पुँजीवादी लोकतन्त्रलाई उन्नत राजनीतिक व्यवस्था मान्दै आर्थिक क्रान्ति एवं आर्थिक सम्बृद्धिको कुरा  गरिरहेका छन् । उनीहरूले यो ‘क्रान्ति’ यही बनिबनाऊ राज्यसत्ता अन्तर्गत गर्न कस्सिएका छन् । उनीहरूको समाजवादी क्रान्तिको आधार दलाल पुँजीवादी संविधानमा हातखुट्टा बाँधिएको ‘समाजवाद’ उल्लेख हुनु हो । यो वास्तवमा भद्दा र दुनियाँको आँखामा छारो हाल्ने काल्पनिक समाजवाद हो । उनीहरूको यो ‘अभियान’ कुनै नयाँ कुरा होइन , बरु १९५६ मा चीनमा  ल्यु साओ–ची र देङ सियाओ–पिङद्वारा “उन्नत राजनीतिक व्यवस्था र पिछडिएको अर्थतन्त्र भएकोले अझै पुँजीवादको विकास गरौँ” भनी समाजवादलाई रोक्न ल्याइएको सिद्धान्तको भद्दा नेपाली आयाम मात्र हो । साथै दुवै महानुभावको तेश्रो कुरा, “हामी चीन र भारतजस्ता उदाउँदो अर्थतन्त्र भएका महाद्वीपीय आकारका देशहरूको बीचमा छौं । त्यसकारण त्रिदेशीय सम्झौता गरेर देशको आर्थिक समृद्धि गर्नुपर्दछ” भन्ने पनि रहेको छ  । यसबाट उनीहरूको प्रधान पक्ष भनेको पराश्रित दलाल पुँजीवाद हो भन्ने कुरा स्पष्ट हुन्छ ।

दुवैले भनिरहने चौथो कुरा भनेको आदिवासी जनजाति, मधेसी, महिला, दलित, उत्पीडित क्षेत्र स्वायत्त र अधिकार सम्पन्न हुनुपर्छ भन्ने हो । तर यो नारा पनि उनीहरूको मत तान्ने मैना–गीत मात्र हो भन्ने कुरा समयले पुष्टि गरिसकेको छ ।

एउटा आकँडा अनुसार सन् २०१२ को विश्व हिंसामा ९५ खर्ब अमेरिकी डलर खर्च भएको छ । विश्वको सरकारी फौजी खर्च सन् २००० मा ३५९ अर्ब अमेरिकी डलर थियो भने २०१२ सम्म त्यो बढेर ९०३  अर्ब अमेरिकी डलर भएको छ । अनि कसरी क्रान्तिकारी हिंसाबिना अथवा सशस्त्र क्रान्तिबिना जनक्रान्ति सम्भव हुन सक्छ ? निशस्त्रीकरण एवं शान्तिपूर्ण सङ्क्रमणका पक्षपाती बाबुराम भटराई र पुष्ककमल दाहालले स्पष्ट जवाफ दिनुपर्दछ । यी दुवै ‘नाम चलेका’ (branded) नेताले कम्युनिस्ट सिद्धान्त र क्रान्तिको बाटो परित्याग गरी जनताका दुस्मनका सामु आत्मसमर्पण गर्दा जनताका बैरीहरूको मनोवल बढेको छ र जनताका बीच अविश्वासको बादल मडारिएको छ । फलस्वरूप समयले क्रान्तिकारी दोस्रो पुस्ताका सामु चुनौती र सम्भावना दुवै प्रस्तुत गरेको छ ।

त्यसैले : १)नेपालमा विद्यमान कम्युनिस्ट नामका पार्टीहरू खासगरेर संशोधनवादी गुटहरूले कम्युनिस्ट आन्दोलनलाई विसर्जनतिर लगेको र जनतामा भ्रम, अविश्वास, आशङ्का र निरासासमेत उत्पन्न गराएको वर्तमान स्थितिमा, विभिन्न समूह तथा स्वतन्त्ररूपमा रहेका क्रान्तिकारीहरूबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी पुनर्निमाण अभियानको थालनी गर्न, २)नयाँ जनवादी क्रान्तिमार्फत वर्तमान दलाल पुँजीवादी तथा सामन्त वर्गीय राज्यसत्ता र दलाल पुँजीवादी अर्थतन्त्रका विरुद्ध सशस्त्र सङ्घर्ष गरी वैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि बढाउन,३) विश्व कम्युनिस्ट आन्दोलनका सकारात्मक तथा नकारात्मक पक्षको संश्लेषण गर्दै मालेमाको विकास र रक्षासित सम्बद्ध प्रश्नको अभिरेखाङ्न गर्न,४) आजको विश्व परिस्तिथिमा आर्थिक, राजनीतिक, सांस्कृतिक र सूचना भूमण्डलीकरणको स्थितिले उत्पन्न गरेको अवस्थाको वैज्ञानिक संश्लेषण गर्न, ५) प्रकृति विज्ञानमा भएका नयाँ आविष्कारहरूलाई लेनिनपछि टुटेको कडी जोड्न, ६)साम्राज्यवाद मूलतः अमेरिकी साम्राज्यवादको आडभरोसा पाएको घरेलु प्रतिक्रियावादी सत्ताका विरुद्ध जनयुद्ध चलाइरहेका भारत, फिलिपिन्स र टर्कीलगायतका माओवादी पार्टीहरूका अनुभव र आन्दोलनको गहिरो अध्ययन गरी  अन्तर्राष्ट्रिय सर्वहारावादको भूमिका निर्बाह गर्न, ७) विभिन्न कारणबस विघटनको अवस्थानमा रहेको क्रान्तिकारी अन्तराष्ट्रिय आन्दोलन (रिम) लाई नयाँ किसिमले सङ्गठित र पुनर्गठित गर्ने कार्यमा सक्रिय पहलकदमी लिन— क्रान्तिकारीहरूको सक्रिय क्रियाशीलता आजको आवशयकता हो ।

माथि उल्लिखित सन्दर्भहरूको गहन अध्ययनबाट नेपाली कम्युनिस्ट आन्दोलनको आम कार्यदिशा तय गर्दै माओवादी आन्दोलनलाई एकताबद्धताका साथ अघि बढाउने महान् उद्देश्यका साथ, मार्क्सवाद–लेनिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध इमानदार क्रान्तिकारीहरूको हालै सम्पन्न भेलाले कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन गरेको हो । सही अर्थका माओवादी क्रान्तिकारीहरूको एउटै केन्द्र बनाउने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने यस अभियानमा समाहित हुन क्रान्तिकारी शक्तिहरू लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायमा हार्दिक अपिल गर्दछौँ । आउँनुहोस्, क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध बनौँ ।

मार्क्सवाद–लेनिनवाद–माओवाद :  जिन्दावाद !

नयाँ जनवादी क्रान्ति :  जिन्दावाद !

महान् सहिदहरू : लाल सलाम  !

साम्राज्यवाद, भारतीय विस्तारवाद र घरेलु प्रतिकृयावाद : मुर्दावाद !

चैत २०, २०७२

 

 

 

 

 

 

 

 

 

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com