Dabali News

हुम्ला पनि पुग्यो सिंहदरवार ! मोटरबाटो नै नभएको ठाउँमा मोटर खरिदको टेन्डर

जनप्रतिनिधिलाई लखेट्‍ने युवाको तयारी

२९ माघ

हुम्ला । चुनावअघि नेताहरुले सिंहदरवारलाई गाउँगाउँ पुर्याउने नारा लगाएका थिए । चुनाव सम्पन्न भएको छोटै समयमै जुन विकृतिले सिंहदरवार भरिएको त्यो गाउँगाउँमा हुन थालेको छ । नयाँ गाउँपालिकाले गरिरहेको कामले सिंहदरवार गाउँमा पुगेको नभई भ्रष्टाचार र लुटपाट गाउँमा पुगेको प्रष्ट हुन्छ ।

पछिल्लो समय गरिएको एक अध्ययनले ४० प्रतिशतभन्दा बढी गाउँपालिका र नगरपालिकाका मेयरले डोजर खरिद गरेका छन् । साथै उनीहरुले गाउँमा कुनै मापदण्ड नै नबनाई र अरु प्रक्रिया नै पूरा नगरी आफैले सडक खन्ने र जग्गा प्लटिङ गर्न थालेका छन् । अर्काेतिर स्थानीय तहमा कर बढाएर चर्काे कर असुल्न थालेका छन् । यो नयाँ स्थानीय तहले गाउँमा गरेको लुटपाट भएको भन्दै केही राजनीतिक दलहरुले विरोध पनि गरिरहेका छन् ।

यसैबीच ६ नम्बर प्रदेश अन्तर्गत हुम्ला जिल्लामा यतिसम्म काम भएको छ कि एउटा गाउँपालिकाले मोटरबाटो नै नभएको ठाउँमा मोटर खरिदको टेन्डर आह्वान गरेको छ । हुम्लाको सिमकोट गाउँपालिकाले यस्तो टेन्डर आह्वान गरेको हो । उक्त गाउँपालिकाले गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि ठूलो विवाद सुरु भएको छ ।

सिमकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो । साथै त्यसका लागि गाउँपालिकाले ४३ लाख ५५ हजार २ सय ३० रुपैयाँ विनियोजन समेत गरिसकेको छ । जबकि हुम्ला जिल्लालाई नै मोटरबाटोले अहिलेसम्म छोएको छैन । राष्ट्रिय सडक सञ्जालको पहुँच नै नपुगेको जिल्लामा यसरी नयाँ गाउँपालिकाले मोटर खरिद गर्न बोलपत्र आह्वान गरेपछि सबै चकित परेका छन् ।

सिमकोट गाउँपालिकाले यसअघि पनि यस्तै विवादित काम गरेपछि चर्चामा आएको थियो । यो गाउँपालिकाले ७६ जना जनप्रतिनिधि, स्थानीय पदाधिकारी र कर्मचारीलाई ज्याकेट खरिद गरी वितरण गरेको थियो । जुन कुनै मापदण्डमा पर्दैन । त्यो ज्याकेट पनि अत्यन्तै महङ्गोमा खरिद गरेको देखाइएको छ । स्थानीय बजारमा दुई हजार ५ सयमा पाइने ज्याकेटलाई पाँच हजारमा खरिद गरिएको विल देखाइएको छ । ज्याकेट खरिदमा गाउँपालिकाले ३ लाख ८० हजार रुपैयाँ स्वाहा पारेको छ । त्यसरी महङ्गो मुल्यमा खरिद गरिएको ज्याकेट गाउँपालिकाका ४६ जना प्रतिनिधि र ३० जना कर्मचारीलाई वितरण गरिएको छ ।

गाउँपालिकाका प्रतिनिधिहरुले जनताको करबाट उठेको वजेट सिधै बाँडेर खाने काम गरेको भन्दै ज्याकेट खरिद गरी वितरण गर्ने कार्यको जिल्लामा व्यापक विरोध भएको थियो । तर उनीहरुले त्यसलाई सुनेको नसुन्यै गरे ।

स्थानीय सरकारको गठन पश्चात पनि स्थानीय सरकारले विकास बजेटलाई जनप्रतिनिधि तथा कर्मचारीलाई भ्रमण तथा दैनिक भत्तामा खर्च गरी चरम दुरुपयोग गरिरहेको पाइन्छ । विकासका लागि छुट्याइएको बजेट समेत जनप्रतिनिधिहरुले विभिन्न बाहानामा खर्च गर्ने गरेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]