Dabali News

मेलम्चीका मजदुर तलबको तनाबमा, ठेकेदारले छोडे पनि सुरुङको बाँकी काम सरकारले नरोक्ने

५ पुस

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनीले सीएमसीले करिब १ हजार नेपाली मजदुरलाई २ महिनादेखिको पारिश्रमिक दिएको छैन ।

३ दिनदेखि काम गर्न नपाएका सुरुङ निर्माण सम्वद्ध २ सय मजदुरहरुले आफूहरुले पाउनुपर्ने पारिश्रमिक विवरणसहित बुधबार आयोजनाको मेलम्चीस्थित साइट कार्यालय घेराउसमेत गरेका हुन् ।

प्रोजेक्ट म्यानेजरसहितको टोली गत आइतबारदेखि साईट छाडेर हिडेपछि उनीहरु काम र तलबको तनाबमा परेका छन् । ठेकेदार भाग्न खोजेको चर्चापछि मजदुर अन्योलमा परेका छन् । साइट कार्यालय हेर्ने आयोजनाका उपकार्यकारी निर्देशक भोजबिक्रम थापाले भने,‘आफूहरुले पाउनुपर्ने पारिश्रमिक अब के हुने भन्ने चिन्ता उनीहरुमा छ ।’

उनका अनुसार मजदुरहरुले नोभेम्बर र डिसेम्बरकोे तलब पाएका छैन । ठेकेदार कम्पनीले काम नगर्ने अवस्था आएमा आफूहरुले पाउनु पर्ने तलव, भत्ताको सुनिश्चिता उनीहरुले उपकार्यकारी निर्देशक थापासँग खोजेका थिए ।

सुरुङमार्ग निर्माणमा ९ सयदेखि हजार कामदार संलग्न छन् । उनीहरु मुहानस्थल अम्बाथानदेखि सुन्दरीजलसम्मका क्याम्पमा बाँडिएका छन् । मजदुरहरुले पेश गरेको प्रारम्भिक विवरणअनुसार उनीहरुले तलव, भत्तामा मात्रै १ करोड भन्दा बढी पाउनुपर्ने देखिएको उपकार्यकारी निर्देशक थापाले जानकारी दिए ।

उनीहरुले पारिश्रमिक पाउन बाँकी रहेको जानकारी आयोजना र खानेपानी मन्त्रालयलाई दिएको उनले बताए । क्रिसमस मनाउने बाहानामा भाग्ने र सुरुङ निर्माण अलपत्र पार्ने नियत देखिएको भन्दै सरकारले आइतबार इटालियन ठेकेदार कम्पनी सिएमसी द रेभेनाका साइट प्रमुखसहित ८ अधिकारीको राहदानी जफत गरेको छ ।

आयोजनाका अनुसार काम गर्ने-नगर्ने विषयमा सरकार र ठेकेदार कम्पनीबीच राजधानीमा बार्ता भइरहेको छ । ठेकेदारले छोडे पनि सुरुङको बाँकी काम नरोक्ने निर्णयमा सरकार पुगेको छ ।

ठेकेदारका प्रतिनिधि पक्राउ परेपछि सिएसीका मानव स्रोत अधिकृतले काम रोक्न मजदुरलाई निर्देशन दिएका थिए । ३ दिनदेखि सुरुङको काम ठप्प छ । आयोजना स्थलमा ठेकेदारका २–३ नेपाली कर्मचारी मात्र बाँकी छन् ।

उनीहरुलाई साइट छोड्न रोक लगाइएको छ । उनीहरु प्रहरी निगरानीमा छन् । अधिकांश मजदुर जिल्ला बाहिरका छन् । थोरै संख्यामा स्थानीय छन् । स्थानीय कामदार घर जान सक्ने भए पनि पारिश्रमिक नपाएर बेखर्ची बनेका बाह्य कामदार व्यवस्थापनमा जटिलता थपिएको उनले बताए ।

उनीहरुलाई अहिलेलाई बसी आएको क्याम्प बस्न आग्रह गरिएको छ । ‘सीएमसीले छोडे पनि काम नरोक्ने निर्णयमा सरकार पुगेको छ,’ उनले भने, ‘त्यतिबेला पनि कामदार चाहिन्छ । यी मजदुर अनुभवी भएकाले काममा लगाउनु पर्छ ।’ सरकारले निर्णय नलिएसम्म मजदुर ‘होल्ड’ गरेर राख्न र खाने प्रवन्ध मिलाउन आयोजनालाई सुझाव दिएको उनले बताए ।

ठेकेदारले कामदारको पारिश्रमिक मात्र नभई विभिन्न आपूर्तिकर्ता र पेटी ठेकेदारलाईसमेत ठूलो रकम भूक्तानी गर्न बाँकी रहेको आशंका गरिएको छ । भूक्तानी नपाएपछि उनीहरुले बेला-बेलामा आन्दोलन गर्दै आएका थिए ।

विगतमा पनि मजदुरले समयमा तलब नपाएको भन्दै हड्ताल गर्ने गरेका थिए । आयोजना साइट कार्यालय स्रोतका अनुसार ठेकेदारले एउटै आपूर्तिकर्तालाई २ करोड रुपैयाँसम्म भूक्तानी दिनुपर्ने भेटिएको छ । भूक्तानी माग गर्दै आफूर्ति कर्ताहरु ठेकेदार भेट्न काठमाडौँ पुगेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]