Dabali News

स्वप्‍नहन्ताहरूका विरुद्ध क्रान्ति पक्षधर आशावादी सिर्जना

हजार माइलको लामो बाटो, एक पाइलाबाट सुरु हुन्छ
जित उसकै हुन्छ यहाँ जो जनतालाई माया गर्छ
हार उसैको हुन्छ यहाँ जो जनतालाई लुट्ने गर्छ
संसार हाँक्ने त्यही हुन्छ जो मृत्युलाई जित्न सक्छ
हरमोर्चामा छाउँछ त्यही जो बारुदमा रम्न सक्छ
गोलीको बीचमा ढल्छ शरीर विश्वास कहिल्यै ढल्दैन
मरे हाडखोर गल्छ तर विचार कहिल्यै गल्दैन

स्रष्टा सहिद रोहित कोइरालाका यी काव्यिक विचारलाई उचाइ दिँदै र व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आह्वानमा यही मङ्सिर ६ गते काठमाडौँमा राष्ट्रिय स्तरको कविगोष्ठी आयोजना गरियो । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा जनसांस्कृतिक महासङ्घको आह्वानमा ४० जना क्रान्तिकारी, प्रगतिशील, प्रगतिवादी-माक्र्सवादी कविले क्रान्तिकारी आशावाद, सपनाका हत्याराहरूविरुद्ध आक्रोश, विद्यमान दलाल राज्यसत्ताले देश र जनतामाथि लादेको कहरको अन्त्य र सुखी, समृद्ध, समानतामूलक समाज निर्माणको माग गर्दै कविता, गीत र गजल वाचन गरे । डा. रामप्रसाद ज्ञवालीले वर्तमान विसङ्गतिलाई छ्यालब्याल पारे । उनले ओली सरकारले अघि सारेका विकास र समृद्धिका नारा र कामलाई कडा व्यङ्ग्य पनि गरे ।

‘आऊ फेरि गरौँ’ शीर्षकमा छन्दोबद्ध कविता वाचन गरे :

हावामा बिजुली जहाज जलमा सम्भावना उन्नत
टुक्कामा र उखानमा बदलिँदै जान्छन् कि बन्दै गफ !
सल्लाहा पनि लिन्न विज्ञ जनको दम्भी छ रे ‘नायक’
घेराभित्र छ रे ‘गणेश’ सित यो टाढा छ रे ‘कार्तिक’ !
मात्रै गर्जिरहन्छ ‘बादल’ यहाँ, पार्दैन पानी रति
हुक्काँ गर्छ, दगुर्छ, कुद्छ बिचमै थच्चिन्छ थ्याच्चै बसी
गुन्डाकै सरि चल्छ ‘गोकुल’ अरे भन्छन् समाचारले
हक्की ‘पण्डित बाबु’ बन्दछ लुरे, बढ्दै निराशा छ रे !
सुन्नै छाडिसके अरे अब कुरा ‘गोकर्ण’ का कर्णले
गुड्डी हाँक्छ ‘रवीन्द्र’ पर्यटनका भन्छन् युवावर्गले
‘विद्यासुन्दर’ छैन सुन्दर कतै हावा कुरा गर्दछ !
खेती मुख्य हुने छ देश जनता भोकै यहाँ मर्दछ !
चिन्ता छैन कुनै बलात्कृत बनुन् रोउन् मरुन् जोसुकै
बाटा भत्किरहुन्, चलोस् न पहिरो, सीमा मिचोस् जोसुकै
रोक्छन् झैँ ‘सुनकाण्ड’ हुन्छ दिनमा, थुप्रिन्छ रे रातमा
हाँस्छन् ‘पप्पुहरू’ यिनैसित बसी ठेक्का लिँदै हातमा ।
खर्चिन्छन् जलपाननिम्ति ढुकुटी लाखौँ करोडौँ यहाँ !
खोकी लाग्नु हुँदैन हुन्छ यिनको जापानयात्रा नयाँ !
पाउन्नन् जनता त खान घरमा हालेर चिम्टी नुनै
थप्दै छन् सुविधा परन्तु यिनले किर्ना बनी ढाडिँदै !
खान्छन् रे घुस— तान्दछन् यदि मिले धोती र सारी पनि !
मान्दैनन् यिनका कुरा अब त्यसैले कर्मचारी पनि ।
अग्लो मञ्च चढेर खोक्दछ सधैँ नेता ठुलो भाषण !
नेताकै पछि लाग्छ हेर हनुमान् यो कार्यकर्ता गण !
उस्तै नै छ नि मालपोत अहिले, उस्तै छ मन्त्रालय
उस्तै छन् घुसखोर रक्तिम जुका, उस्तै छ शिक्षालय
उस्तै छन् जनता अभाव सहँदै यी खेतबारीसित
उस्तै नै छ युवा पलायन अझै बेरोजगारीसित ।
मान्दैनन् रति लाज यी नकचरा यी लोभका पिण्ड हुन्
आशा गर्नु छ व्यर्थ यीसित कुनै यी स्वार्थका झुन्ड हुन्
साना छन् कमिला तथापि तिनले मार्छन् फट्याङ्ग्रा मिली
हामी नै अब उठ्नुपर्छ नउठे उठ्दैन हाम्रो चुली ।
आऊ मार्ग बनाउँदै अब हिँडौँ आँधीहुरीझैँ सँगी !
फोर्दै पर्वतका कुना वन घना कोसी बगेझैँ बगी !
झाडी जङ्गल खोच पर्वत हुँदै बाटो बनाई नयाँ !
आऊ फेरि गरौँ नयाँ शिखरको यात्रा हिमाली यहाँ !

कार्यक्रमका बीचबीचमा स्रष्टा सहिद इच्छुक, चुनु गुरुङ, अन्जान विरहीलगयतका गीत र कविताका अंशहरू वाचन गर्दा स्रष्टाहरूका आँखामा क्रोधका ज्वालाहरू लपलपाएको देख्न सकिन्थ्यो ।महासङ्घले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि कविता गोष्ठी शीर्षकमा आयोजना गरेको गोष्ठीका प्रमुख वक्ता गुणराज लोहनीले सांस्कृतिक मोर्चा युद्ध र क्रान्तिको शक्तिशाली हतियार भएको बताउँदै स्रष्टाहरूलाई क्रान्तिकारी सिर्जना गरिरहन प्रोत्साहन गरे । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य र रातो खबर प्रकाशनगृहका निर्देशकसमेत रहेका स्रष्टा-समालोचक लोहनीले पुरानो दलाल पुँजीवादी सत्तासँग जस्तोसुकै लडाइँ लड्न पनि आफ्नो पार्टी तयार रहेको धारणा राखे । स्रष्टाहरूले एकीकृत जनक्रान्ति सम्पन्न गर्ने धारिला सिर्जनाहरू प्रस्तुत गरेको विषय पार्टीमा रिपोर्ट गर्ने भन्दै उनले स्रष्टाहरूको उच्च प्रशंसा पनि गरे । सहिद परिवारकी स्रष्टा खुमा सुवेदीले स्वाभिमानका प्रतीक तिमी शीर्षक कवितामा भनिन् :

प्रत्येक बिहानीसँगै आउने प्रभाती किरणमा
तिम्रो अटल र अमर अनुहार देखिरहेकी छु
प्रेरणाका पुञ्ज तिमी
स्वाभिमानका प्रतीक तिमी

जनयुद्धका महान् सहिदहरूलाई प्रेरणाका पुञ्ज र स्वाभिमानका प्रतीकका रूपमा चित्रण गर्दै खुमाले वाचन गरेको कविताले बलिदानको मूल्य महान् र आवश्यक छ भन्ने विचार उजागर गरेको छ । खुमा आफैँ पनि सहिदपत्नी हुन् । त्याग, शौर्य र बलिदानको बाटोबाट आएका कयौँ पात्रहरू वैचारिक, राजनीतिक, सांस्कृतिक रूपमा पतीत भएर गएको वर्तमानमा खुमाले त्याग, शौर्य र बलिदानको बाटोमा लागिरहन आह्वान गरिन् । कवि बन्धु चन्द नेत्री पनि हुन् । जनयुद्ध लडेकी बन्धु युद्ध लड्ने क्रममा बालबालिकालाई जनताको घरमा छोडेर मोर्चामा सामेल भइन् । उनले युद्धकालीन विगत सम्झिँदै ‘युद्धयात्राबाट छोरालाई सन्देश’ दिँदै युद्धकालीन कविता सुनाइन् :

मैले त यसबेला तिमीलाई
बमका गर्जन र बारुदको धुवाँसँगै
पौँठेजोरी खेल्दै
चट्याङका चिराहरू र वर्षाका भेलहरूसँगै
लुकामारी गर्दै रणसमरको यात्राबाटै
यो सन्देश पठाउँदैछु
जीवनलाई सङ्गीनको टुप्पोमा राखेर
व्यक्तिगत इच्छा र आकाङ्क्षालाई
किनारा लगाई तिमीदेखि
टाढा हुनुको कारण बताउँदैछु छोरा
अरूले जस्तै तिमीलाई
धेरै माया दिएर, काखमा हुर्काएर
पलनपोषण गर्न त म पनि सक्थेँ होला
तिम्रा लागि भौतिक सुविधाका केही चाहनाहरू
पूरा गरिदिन त म पनि सक्थेँ होला
तर, तर छोरा
हजारौँ कुपोषणले पीडित बच्चाहरूलाई
आँखा चिम्लिन लगाई तिमीलाई
पौष्टिक आहार खुवाउन सकिनँ
चप्पलको नमोनिशान खुट्टामा नपरेका
बालकहरूको जमातमा
घोडामा चढ्ने मामाहरूको
कविता पढाउन सकिनँ

बन्धुको कविताले जनयुद्धमा लामबद्ध भएका आमाबाबा र तिनका सन्ततिहरूले भोगेको तीतो यथार्थ (नयाँ यथार्थ) र एकीकृत जनक्रान्तिमा लामबद्ध भएका आमाबाबा र सन्ततिहरूको मर्मलाई बोध गराएको थियो ।

काले कामीको डायरी शीर्षकमा कविता वाचन गर्ने त्रिभुवनचन्द्र वाग्लेले आरनमा धातु गालेर भगवान्को मूर्ति निर्माण गरेको बिम्बको सहारा लिएर श्रमिक-सपनाका हत्यारा अर्थात् स्वप्नहन्ता अग्रजहरूमाथि राम्रैसँग प्रहार गरे । कवि मुकुन्द न्यौपानेले चेतना भया शीर्षकमा जनतामा अझै रातो र तातो रगत बाँकी भएकाले कमजोर नठान्न नेताहरूलाई चेतावनी दिए । सहिदको सपना देख्दै कवि झनक श्रेष्ठले देश र जनताको मुक्तिका लागि बलिदान गर्ने सहिदहरूलाई सलाम गरे भने कवि अतृप्त पाण्डेयले सपना शीर्षक कवितामा आफ्ना सपना यसरी प्रस्तुत गरे :

हो, म देख्छु सपना
हो, बाँचुन्जेली देखिरहन्छु सपना मै
आँखाभरिभरि सजाएरै सपना अनगिन्ती
नभई, हुँदै नभई जीर्ण अगस्ती
गाउँछु, गाइरहन्छु मै
प्रत्येक क्षण सपनाहरूका गीत
नमरुन्जेल सजाएर, टुसाएर सपनाहरूका गीत
र नमरुन्जेल देख्छु, देखिरहन्छु मै
इन्द्रेणी सपनाहरूका गीत…!

कवि आस्था घिमिरेले बा म घर आएँ शीर्षकमा आशावादी भएर क्रान्तिमार्गमा लामबद्ध हुँदाहुँदै स्वप्नहन्ताहरूले सपनाको हत्या गरिदिएपछि फेरि क्रान्ति आरम्भ हुँदाताका विद्रोह गर्दा छोडेर हिँडेको बा-आमाको घर अर्थात् पुरानै अवस्थामा फर्किन चाहेको धारणा व्यक्त गरिन् । उनले हारेर वा थाकेर बाको घर फर्किन लागेको अर्थ पनि दिने र फेरि पुरानै ठाउँबाट नयाँ विद्रोहको आरम्भ गर्न बा-आमा अर्थात् जनताको घरमै फर्किएको अर्थ पनि दिने भाव व्यक्त गरिन् । यो उनको भन्दा पनि क्रान्तिमार्ग समात्ने कि प्रतिक्रान्तिकारी मार्गमा हिँड्ने भन्ने द्विविधामा रहेका मानिसहरूको मनोदशाको प्रस्तुति हो । क्रान्तिकारीहरूले क्रान्तिको झोला बिसाएर सामान्य जीवनमा होइन, फेरि जनताको घरआँगनबाट विद्रोही बन्दै क्रान्तिमार्गमा लम्कनु आवश्यक छ ।

कवि भुवन शिवाकोटी चौघरेले अनुत्तरित प्रश्नहरू राख्दै क्रान्तिको बाटो छोडेका हिजोका अगुवाहरूलाई प्रश्नको पेटारो तेस्र्याए–
हे सरदार जबाफ देऊ
रित्तो आएर तिमी सम्पूर्ण भयौ
भरिपूर्ण भएर पनि तिमीले के गुमायौ ?
खाली खुट्टा रथासन ग¥यौ
आज शासक भएर उदायौ गणहरूको तन्त्रमा
तर हाम्रो माटोले के पायो ?
हाम्रो स्वाभिमानको मृत्युमा !

छन्दकवि ओमप्रसाद कोइराला ‘गरे सबैथोक छ’ भन्दै परनिर्भर जीवन बाँच्ने शासकहरूलाई ललकार्दै यसरी गर्जिए :
व्यर्थैव्यर्थ अनर्थ हुन्छ बुझ लौ यो देश बिर्सेपछि
अर्काको भर पर्नु हुन्न कहिल्यै भोगिन्छ है आपति
आफ्नै जाँगरले कमाउन सके बढ्नेछ पक्कै गति
चोखो भाव विचारले सकलको बन्नेछ राम्रो मति ।
पानीमा बिजुली छ बाल्न सकिए बल्ने सधैँ झल्मल
बढ्दै जानु छ राष्ट्रसेवक बनी के गर्दछौ अल्मल
सोचौँ शुद्ध विचारले हृदयमा सच्चा बनी मानव
जस्तो भाव कुभाव को छ बहुतै त्यो हुन्छ है दानव ।

कवि शोभा दुलालले पनि सपनाकै कुरा गरिन् । उनले सपनाको गोरेटो शीर्षकमा भनिन् ः
एक दिन फेरि जाग्नैपर्छ
सपनाको कुनै गोरेटो हुँदैन
कुखुराले कहिल्यै आकाश चुम्दैन
धरापका विरुद्ध
एन्टीधराप नथापेसम्म
विचारको धराप शक्तिशाली नभएसम्म
छातीमा माटो नदुखेसम्म
सपनाको सफा गोरेटो हुँदैन
गोब्रेकीराको आफ्नो आकाश हुँदैन ।

जब शासकहरू जनतालाई बन्दी बनाउँछन् र कोठाभित्र थुन्न थाल्छन् जनताले बन्द कोठाभित्रबाट जस्तोसुकै तयारी पनि गरिरहेको हुनसक्छ आफ्नो मुक्तिका लागि । कवि प्रकाश गुरागाईंले बन्द कोठाभित्र शीर्षक कवितामा भने :

दैलो थुनेर झ्याल बन्द गरेपछि
बाहिर बस्नेहरूलाई थाहा नहुन सक्छ
भित्र कोठामा उज्यालो छ वा अँध्यारो
कोठा रित्तो छ वा एकदमै सजिएको
मात्र अनुमान हुनसक्छ बाहिर बस्नेहरूसँग
जस्तो कि
खतरनाक मुर्दाशान्ति हुनसक्छ कोठाभित्र
खतरनाक आतङ्क हुनसक्छ कोठाभित्र
बन्द कोठाभित्र जे पनि हुन सक्छ…।

कवि प्रमोद स्नेही भने वर्तमान अवस्थालाई सराप परेको देश भन्दै व्यङ्ग्य गर्छन् र देशको आँखामा अझै डरको अँध्यारो बलिरहेको भन्दै त्यसलाई बेलैमा चिनेर क्रान्तिदियो बाल्नुपर्ने सुझाव दिन्छन् :
कहिले रगतले
कहिले नीलो आँसुले
यो देशको भूगोलमा कोरेका सीमारेखाहरूअझै
समयको हुरीले बढारेको छैन ।
लामो समय बन्धक परेर
भर्खरै ढोका फोरेर
उद्धार गरेको
दिग्भ्रमित मान्छेजस्तै
मेरो देशको आँखामा
डरको अँध्यारो बलिरहेछ
ह्वारह्वार्ती
बर्खामा पहिरोले पुरेको
शोकमग्न छ सपनाको तुइन
आधारातमा चुँडिएर
सम्बन्धविच्छेद भएको
चेपाङबस्तीजस्तै…

ललितकलाकर्मी अग्निराज पौडेल ‘अराप’ लाई विद्यमान असमानता, शोषण, दमन र बेथितिसँग विद्रोह गर्न रङ, कुची र क्यानभास मात्र अपुगअपुगझैँ लागिरहेछ । त्यसैले उनी विस्फोटक कविताहरू पस्किरहेका छन् । उनी रमिते शीर्षक कविताबाट वर्तमान सत्ता र विसङ्गतिलाई यसरी ललकार्छन् :

वद्चलन, कुलङ्गार, अलच्छिनी, कुलटा
समाजले दिएको शब्दबाणको उपहार
कारागारको चिसो छिँडी
भ्रूणहत्याको आरोपमा
सजाय काट्दै गरेकी युवतीको मलिन अनुहार
हेरिरहेका छौँ टुलुटुलु रमिते बनेर !
विद्यालय हिँडेकी बालिकाको बलात्कृत लास !!…
तिमीले उरालेका समृद्धिका नारा उपहार
लूट, भ्रष्टाचार र लम्पसारवादको पौरख
पटकपटक मूर्ख बनाइएका जनता
पीडित सर्वहारा वर्गका
आक्रोशित हुङ्कार र विद्रोह
अनि
तिम्रो ढाडमा बज्रेको चोटिलो मुड्की
हेरिरहनेछौ टुलुटुलु रमिते बनेर
सर्वहारा वर्गले कब्जा गरेको राज्यसत्ता !!

कवि चेतनाथ धमलालाई वर्तमान सत्ता र सत्ता सञ्चालकको गाडी सही सडकमा हिँडिरहेको अनुभूति भएको छैन । देश र जनताका विरुद्ध निर्णयहरू शुने र व्यभिचारहरू लादिने प्रशासनिक भवन सिंहदरबाटलाई उनी रामशाहपथको अज्ञात घरको संज्ञा दिन्छन् । रामशाहपथको अज्ञात घरभित्रबाट देश र जनताका विरुद्ध नानाथरी ऐलान गर्नेहरूका विरुद्ध उनी आक्रोशित छन् :

…बनिरहेछन् आवाज पिउने बधशालाहरू
सावधान !
युगको मान्छे
रामशाहपथको अज्ञात घरभित्र न्यायका होइन
बरु झुन्डिन्छन् प्रतिशोधका तराजुहरू
कसौँडीमा पकाउँछन् रङ्गीन खिचडी
र, कुटिल मुस्कान बोकेर उदाउँछन् बगरेहरू
कुनै अज्ञात रोगजस्तै फैलिन्छन् सुइँकोबिनै
तिनको दुस्साहसविरुद्ध उभिनुछ–
सिङ्गै सृष्टि उठाएर ।

पाका स्रष्टा झपेन्द्रराज वैद्यसँग युवाजोस कायमै छ । उनी वर्तमान शासकहरूलाई हिटलर र मुसोलिनीसँग तुलना गर्छन् र जनताको विद्रोहले तानाशाहहरूको अन्त्य अवश्यम्भावी रहेको घोषणा गर्छन् :

हिटलर गए, मुसोलिनी गए
निर्विकल्प के हुन्छ ?
जनता एकजुट भए
न्याय, स्वतन्त्रता र शान्ति हुन्छ ।
विद्रोह गर्ने अधिकार जनतामा हुन्छ
एकीकृत जनक्रान्तिबाट
जनताको जित हुन्छ
दलाल पुँजीवाद होइन
वैज्ञानिक समाजवाद हुन्छ ।

कवि केबी गाउँले क्रान्ति र मुक्तिका लागि दार्शनिक कार्ल माक्र्सलाई सम्झिन्छन् र उनको त्यागपूर्ण जीवनगाथाको चर्चा गर्छन् अमर माक्र्स शीर्षकमा :

दर्शनका दार्शनिक युगान्तकारी महानायक
वर्गदुस्मनको चिहान खन्ने
सर्वहारावर्गलाई मलामी भन्ने
अमर कार्ल माक्र्स ।

संसारभर क्रान्तिकारी मालेमावादीहरूले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकी मनाइरहेको समयमा कार्ल माक्र्सको औचित्य उत्तिकै रहेको र अझै बढिरहेको सन्देश दिने उनको कविताले कवितामा रूप पक्षभन्दा सार पक्ष अझ प्रबल हुनुपर्ने आवश्यकता औँल्याइरहेको थियो । कवि समीर यात्रीले हामी बाँचिरहेको समय खराबैखराब र अस्तव्यस्त मात्र नभएर क्रान्तिकारी आशावादले ओतप्रोत रहेको काव्यात्मक वाणी प्रस्तुत गरे ः

विश्वासघातको चुलेसीमा रेटिए पनि
मरेका छैनन् सपनाहरू
सम्झौताको कुटिल अचानोमा
गद्दारीको बन्चरोले काटिए पनि
हारेका छैनन् रहरहरू
जलाउँदै धमिराहरू
प्रज्वलित बन्दैछ निष्ठाको दीपशिखा
कुल्चिँदै झुसिलकीराहरू
वेगवान् बन्दैछ इमानको यात्रा ।

कवि अशोक सुवेदीले विद्यमान बेथितिको भण्डाफोर गर्दै ओलीराजलाई गोलीराजको उपमा दिए । उनले भने ः
मुलुकमा ओलीराज छ :

अर्थात् यसरी बुझौँ–
मुलुकमा फेरि गोलीराज छ ।
फरक यति मात्र छ–
हिजो पनि थिए विभिन्न नाम र थरका ओलीहरू
अर्थात् हिजो पनि थिए विभिन्न बहानाका गोलीहरू…
अर्थात् हिजो पनि ओलीहरू थिए,
विद्रोही जनतामाथि दाग्न
हिजो पनि उनीहरूसँग गोलीहरू थिए
हिजोका ओलीहरूका गोलीहरू
कृष्णलाल–गङ्गालालहरूका छातीमा बर्सिन्थे
चिनियाँकाजी र भीमदत्तहरूका छातीमा पोखिन्थे
आजाद र इच्छुकहरूका शिरमा बर्सिन्थे
आजका नयाँ ओलीहरू
अर्थात् केपी, पीके र रामबहादुर ओलीहरू
सनी खुनाहरूका छातीमा बर्सिन्छन्
निर्मला र शर्मिष्ठाहरूको मृत्यु बनेर आउँछन् र
छट्टु स्यालले आकाशतिर चिल देखाएर
भुइँको कुखुरा कुलेलम पारेझैँ
एउटा झूट्टो समाजवाद देखाएर
जनताको खुसी लुटिरहेछन्
विद्रोहीको जीवन लुटिरहेछन्
अर्थात् विदेशीहरू हिजोझैँ फेरि नयाँ ओली चलाइरहेछन् र
ओलीहरू हिजोझैँ फेरि गोली चलाइरहेछन् ।

कवि डिल्लीप्रसाद मुल्तिहुनले सम्पन्न होस् देश यो शीर्षक व्यङ्ग्य कविताका माध्यमबाट वर्तमान सत्ता र सरकारलाई सीधै चुनौती दिए ः

बाटो खन्छु भनौँ पटक्क नखनौँ खाल्डो खनौँ माझमा
चाँडै नै भलमल्ल होस् मुलुक यो बत्ती निभोस् साँझमा
सोझा हुन् लुटिने बलात्कृत हुने त्यस्तो भए बेस भो
भ्रष्टाचार बढोस् कुकर्म चुलियोस् सम्पन्न होस् देश यो
पैसा खोज्न विदेशतर्फ दगुरून् छोरा र छोरीहरू
बाँझो खेत बसोस् अनाज नफलोस् त्यो हुन्छ राम्रो बरु
नेपाली पहिचान गर्न सजिलो बेरोजगारी न हो
अर्काको भतुवा बसौँ अनि भनौँ सम्पन्न होस् देश यो

महासङ्घका महासचिव खेम थपलियाले सहिद इच्छुकको कविता वाचन गर्दै स्रष्टाहरू सिर्जनाप्रति इमानदार हुनुपर्ने बताएका थिए । कवि धनञ्जय बुढाले तिम्रा हुकुमी चाबीमा खिया लाग्दै गर्दा शीर्षकमा शासकहरूलाई राम्ररी ललकारे । त्यसैगरी वेदनाथ ढकाल, डिल्लीप्रसाद मुल्तिहुन, मुक्तान थेवा, बलराम तिमल्सिना, सङ्गीता पनेरू, नारायण नेपाल, गणेश बोहोरा, इच्छुक अनिश्चित, हरिबहादुर श्रेष्ठ, ढुण्डीराज अधिकारी, उमाकान्त यूके, प्रतीक चन्द, भावना न्यौपाने, छायादत्त न्यौपाने, मुकुन्द न्यौपाने, सेरापलगायत कविले पनि वर्तमानको कालो र उज्यालो दुवै पक्षलाई कविताका माध्यमबाट उजागर गरे र निरन्तर क्रान्ति अर्थात् एकीकृत क्रान्तिका माध्यमबाट प्राप्त हुने भविष्य अझै उज्यालो रहेको अभिव्यक्ति दिए । जनसांस्कृतिक महासङ्घ र अखिल नेपाल लेखक सङ्घले निरन्तर सांस्कृतिक क्रान्ति जारी राख्ने उद्घोष गरेका छन् र देशव्यापी सिर्जनाआन्दोलन जारी राखेका छन् । यो गोष्ठीले क्रान्तिकारी आशावाद जागृत गरेको छ ।

  • ईरातोखबरबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]