Dabali News

प्रधानमन्त्रीलाई पीटरको जवाफः बौद्धिकहरु सत्ताको फरमाना स्वीकार्दैनन्, बरु फासीलाई स्वागत गर्दछन्

२० मंसिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी वर्गलाई ‘थला’ पारिदिने भन्दै बहसको लागि चुनौति दिएपछि बुद्धिजीवी पनि जुर्मुराएका छन् । प्रधानमन्त्रीले आफ्नो आलोचना गर्ने बौद्धिक वर्ग आफूले जवाफ दिए थला पर्ने भन्दै खुला रुपमा चुनौति दिएका थिए ।

विशेष गरी एसिया प्यासिफिक समिटको विषयमा बुद्धिजीवीले गरेको आलोचनालाई प्रधानमन्त्रीले बुद्धिजीवीको सबै कुरा आफूले भनिदिने चेतावनी समेत दिएका छन् । उनको यो अभिव्यक्तिसँगै बुद्धिजीवीले खुला बहसको लागि आफूहरु तयार भएको बताएका छन् । बुद्धिजीवीहरुले प्रधानमन्त्रीले सत्ताको धम्की दिएको भन्दै त्यसबाट आफूहरु नडराउने जवाफ फर्काएका छन् ।

वामबुद्धिजीवी तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले बौद्धिकहरु सत्ताको फरमान नस्वीकार्ने बताउँदै बरु जेल, निर्वासन र फासीलाई स्वागत गर्ने बताए । पीटरले बालुवाटारबाट निस्केपछि ‘पादरी मुन’ बनेर फर्किने दाबी समेत गरे ।

पीटरले सामाजिक संजलमा प्रधानमन्त्रीलाई जवाफ फर्काउँदै लेखेका छन्, “प्रधानमन्त्री डा.खड्गप्रसाद शर्मा ओलीज्यूले बुद्धिजिवीहरूलाई चुनौति दिवक्सियो, बौद्धिकहरू सत्ताको फरमान स्वीकार्दैनन् बरू,जेल, निवार्सन र फासी स्वागत गर्छन् । तर,बुद्धिजिवहरू आफुसँग रहेका ज्ञान, विवेक र क्षमताको ब्यबसायीक उपयोग गर्ने ह्वाइट लेवर हुन् । आर्जन गरेका बुद्धी र सीपका प्रोफेसर, कवि, कलाकार,लेखक, वकिल, पत्रकार, शिक्षक, कर्मचारीका रूपमा प्रयोग गरेर जिविकोपार्जन गर्छन् । तर, उनीहरूले पनि विवेक बन्दगी राख्दैनन । लालदास बन्दैनन ।” उनले प्रधानमन्त्री ओलीलाई सत्तामा कति दिनसम्म रहनुहुन्छ भन्दै कसरी निस्कनुहुन्छ प्रश्न गरेका छन् ।

राजनीतिक विश्लेषक समेत रहेका पीटरले प्रधानमन्त्री ओली यसअघिका प्रधानमन्त्री जस्तो बालुवाटारबाट नभएर पादरी मुन बनेर निस्किने अभ्यास गरेको भन्दै राष्ट्रलाई अद्धम्य र कम्युनिस्ट आन्दोलनको लागि अपराध गरेको बताएका छन् ।

“मान्यवर डा. ओली सत्तामा को कति रहन्छ र बालुवाटारबाट कसरी निक्लनुपर्छ अब मोहन शमशेर, तुल्सी गिरी, सूर्यबहादुर थापा र गिरजाबाबुले भन्न पाउनु हुनेछैन् । तपाईँले पादरी मुन अभ्यास जे जसरी गर्नु भो, त्यो राष्ट्रलाई अछम्य र कम्युनिष्ट आन्दोलनको लागि अपराध हो” पीटरले लेखेका छन् ।

यसअघि राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले प्रधानमन्त्रीले मुलुकका सबैलाई दास ठानेको बताएका थिए । उनले यो भन्दो चर्को आलोचना नेपाली बुद्धिजीवीले सामना गरिसकेको भन्दै ओलीको धम्की हास्यस्पद भएको बताए । खनालले ओली प्रधानमन्त्री हुँदैमा बसहको लागि बुद्धिजीवी पछि नपर्ने भन्दै अगाडि भन्छन्, “स्वस्थ बहसका लागि त प्रधानमन्त्री हुँदैमा बुद्धिजीवी किन पछि पर्छन् र? उहाँसँग मज्जासँग खुलेआम बहस गर्न सक्छन् ।”

त्यसैगरी पूर्वाधारविज्ञ सूर्यराज आचार्यले पनि ट्वीट गर्दै प्रधानमन्त्रीको बहसको निम्तो स्वीकार गरेका छन् । आचार्यले सामाजिक संजालमा लेखेका छन्, “सामाजिक सञ्जालमा सरकार र प्रमज्यूको कार्यशैलीबारे ‘सभ्य’ टिप्पणी र आलोचना गर्ने नागरिक पनि थुप्रै छन् । संवादका लागि उनीहरूलाई पनि आमन्त्रण गर्दा प्रमको हितमै होला ।”

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]