Dabali News

आठ मंसिर, सपना र अनुभूतिहरु

आरम्भिकी,

माओवादी आन्दोलनको इतिहासमा फागुन १ र मंसिर ८ विशेष महत्वका दिनहरु हुन् । समर्पण, त्याग, विरता र वलिदानको धरोहरकारुपमा उभिएका यि दुई दिनहरुले समग्र माओवादी मुल्यलाई आफुमा संकेन्द्रित गरेकाछन् ।फागुन एक गते जनयुद्धको उद्दघोष गरीएको थियो । मंसिर आठ २०५८ का दिन भने जनमुक्ति सेना र केन्द्रीय जनसत्ताको घोषणा गरीएको थियो । विशेषतः जनमुक्ति सेनाको घोषणा गरीएको दिन भएकोले त्यहि महत्वबोधसहित मंसिर ८ लाई त्यसपछि जनमुक्ति सेना दिवसको रुपमा स्थापित गरीयो । सोहि रुपमा सम्मान र सम्झना गर्न थालियो ।

विश्व इतिहासमा जनताको बीचबाट जनताको आफ्नै सेना निर्माणको ऐतिहासिक श्रृंखला निरन्तर चलिरहेको छ । सामाजिक अग्रगमनको यहि निरन्तरता अन्तर्गत नेपालमा जनताको बीचबाट सेना निर्माणको पटक पटकका प्रयासहरु भएकाछन् । लखन थापा(सन् १८७७), नेपाली काँग्रेस (वि.सं. २००७), भिमदत्त पन्त (वि.सं. २००९), झापा विद्रोह(वि.सं. २०२८) यसका दृष्टान्तहरु हुन् । यहि निरन्तरता अन्तर्गत पछिल्लो चरणमा माओवादीपार्टीको नेतृत्वमा(वि.सं. २०५२) जन सेनाको गठन प्रक्रिया अघि बढ्यो । नेपाली इतिहास र सर्वहारा वर्गिय आन्दोलन दुबै पक्षबाट हेर्दा यो एक ऐतिहासिक पहलकदमी थियो । लडाकु दल (२०५२), छापामार दल (२०५४), छापामार प्लाटुन (२०५५) र छापामार कम्पनी (२०५७) तहको संरचनालाई २०५८ मा वटालियन तहमा विकसित गरियो । जनसेनालाई छापामार शक्तिको रुपमा मात्र नभएर एक नियमित सेनाको रुपमा जनमुक्ति सेनाको घोषणा गरियो ।

जनमुक्ति सेनाको त्यो घोषणा माओवादी पार्टीको सैन्य संरचना मात्र विकास थिएन । सैन्य रणनीतिको समेत विकास र उच्चता थियो । जनयुद्धको समग्र अवधिमा अग्र भूमिकामा रहेको जनमुक्ति सेनालाई २०६३ मंसिरमा आईपुग्दा ‘न्युट्रलाईजेसन’ मा राखियो । २०६५ मंसिर देखि जनमुक्ति सेना दिवसको अन्त गरियो । तत्कालिन माओवादी पार्टीका अध्यक्ष्य तथा जनमुक्ति सेनाका सुप्रिम कमाण्डर ‘कमरेड’ प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेपछि मंसिर आठलाई जनमुक्ति सेना दिवसको रुपमा नमनाउने निर्णय गरियो । त्यसको कारण के भने ०५८ मंसिर ८ गते दाङ जिल्लाको घोराहीस्थिति नेपाली सेनाको ब्यारेकमाथि जनमुक्ति सेनाले आक्रमण गरेर सफलतापूर्वक कब्जा गरेको थियो । यद्यपि त्यो दिन देशब्यापी अरु हजारौं कार्वाहीहरु पनि भएका थिए । तर, नेपाली सेनामाथि पहिलो पटक त्यो पनि सफल आक्रमण गरेकोले नेपाली सेनालाई त्यसले राम्रो पार्दैन भन्ने तर्कसहित त्यो निर्णय गरिएको थियो । त्यसपछि फागुन एकलाई नै जनयुद्ध दिवस र जनमुक्ति सेना दिवसको रुपमा मनाउने निर्णय भयो । सिंगो पार्टी पंक्तिले त्यो निर्णय बेरोकटोक लागु गर्यो । जनमुक्ति सेना त्यसको अपवाद हुने कुरै थिएन ।

मंसिर आठको गौरवमयि इतिहासका आज १७ बर्ष पूरा भएका छन् । जनमुक्ति सेना दिवस मनाउन छोडेका ११ बर्ष वितेका छन् । जनमुक्ति सेनाको विघटनका समेत ५ बर्ष वितिसकेका छन् । समयको यहि उतारचढाबबीच मंसिर ८ कै संजोग पारेर कमरेड नेत्रबिक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको हाम्रो पार्टी नेकपाको जब २०७१ मंसिर ८ कै दिन पारेर पुनर्गठन भयो त्यसपछि मंसिर आठको पुनःस्मरण गर्न थालियो । यो पुनर्गठन प्रचण्डपथिय दक्षिणी यात्राका बिरुद्धको विद्रोह थियो । यसलाई हामिले माओवादी इतिहासको गौरवपूर्ण निरन्तरता र इतिहास रक्षाको विशिष्ट पहलकदमी भनेका छौं ।

मंसिर ८ साँच्चै एक सपना थियो । एक महान सपना । एक सुन्दर सपना । सुतेर देखेको सपना त्यो थिएन । न तन्द्राको सपना थियो । त्यो त एक संकल्प थियो । एक सचेत र ज्युदो प्रतिवद्धता थियो— राष्ट्रको स्वाधिनता, जनताको उन्नति र समृद्धि अनि सामाजिक समानता र सद्भावको । राष्ट्रघात, भ्रष्टाचार, व्यभिचार, महंगि र अपमान (वेरोजगारी) को रसातलमा डुबेको÷डुबाईएको हाम्रो देश र समाजको आजको यो अवस्था, अहाँ ! यसको अलिकति पनि कल्पना गरीएको थिएन ।

मंसिर आठको मुल मर्म थियो— राज्यसत्ताको पुनर्संरचना । त्यसका लागि सुरक्षा क्षेत्रको पुनर्संरचना । संसारभरीको इतिहासमा सुरक्षा क्षेत्रको पुनर्संरचना बिना नयाँ सामाजिक प्रणाली (नयाँ सत्ता) कहिँ पनि स्थापित भएको छैन । हो, त्यसका लागि मुलतः युद्धको जित हारले टुंगो लगाएको छ । तर, नेपालमा पहिला युद्ध र पछि शान्ति प्रक्रियाको फरक विधिबाट त्यसलाई परिभाषित गरीयो ।शान्ति प्रक्रियाको शुरुआत २०६२ मंसिरमा भएको बाह्र बुँदे सहमतिबाट भएता पनि यसको लिखित सहमति पनि मंसिर ५ मंसिर ०६३ का दिन भएको थियो । विस्तृत शान्ति सहमति भनिएको उक्त सम्झौता अनुसार दुबै पक्षका सेनाको समान सहभागितामा सुरक्षा निकायको पुनर्संरचना गर्ने अर्थात्‘नेपाली सेनाको लोकतान्त्रिकरण’ र ‘जनमुक्ति सेनाको व्यवसायिकरण’ गर्ने भन्ने थियो । जुन एक घोषित र हस्ताक्षेरित सार्वजनिक सहमति थियो । तर, कालान्तरमा जनमुक्ति सेनाको निश्चित संख्या बाहेक एक जना व्यक्ति पनि नेपाली सेनामा ‘भर्ति’ हुन पाउदैन भनेर बखेडा झिक्न थालेपछि र माओवादी शिर्ष नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामहरुले समेत ‘हामि जित्न नसकेर पो शान्ति प्रक्रियामा आईएको हो’ भन्ने जस्ताबिचलनकारी अभिव्यक्ति दिन शुरु गरेपछि शान्ति प्रक्रिया जसलाई प्रारम्भमा परिभाषित गरीएको थियो त्यसको ठिक उल्टो भयो ।देश भित्र नेपाली काँग्रेस र नेकपा(एमाले) जस्ता नेपाली राजनीतिक दलहरुले बबाल गरेकै थिए उता भारतीय पूर्व जनरल अशोक मेहता, तत्कालिन बहालवाला जनरल दिपक कपुर र नेपाली सेनाका तत्कालिन प्रधान सेनापती रुक्माङ्गत कटुवाल समेतले सार्वजनिकरुपमै सेना समायोजनबिरुद्ध बोल्नुले यसको ‘कनेक्सन’ र ‘डिजाईन’स्पष्ट हुन्छ । सपाट कुरा यो थियो कि‘शान्ति प्रक्रियाको डिजाईन अन्तर्गत पुरानो सत्ता र सेनालाई जस्ताको तस्तै(राज संस्था बाहेक)पुनस्र्थापित गरेर माओवादी पार्टी र जनमुक्ति सेनालाई निमिट्यान्न गराउनु !’

यो गुरु योजनामा जुन शक्तिहरु लागेका थिए उनिहरु सफल नै भए । तर, सामाजिक अग्रगमनको नियम अनुसार यो उल्टो (प्रतिगामि) कदमथियो । बडो विचित्रको कुरा त यो भयो कि जनमुक्ति सेनाको विघटनमा स्वयम् उसकै सुप्रिम कमाण्डर अहोरात्र लागि पर्यो ।

त्यसक्रमका केहि प्रासांगिक अनुभूतिहरु यस्ता थिए—

ट्रकका ट्रक हतियार र बिटाका बिटा पैसा

क्यान्टोन्मेन्तको शुरुआति दिनमा, भक्तपुरको कुनै गेष्ट हाउसमा हो जनमुक्ति सेनाको तत्कालिन ब्रिगेड तहदेखि माथिका नेतृत्वको सहभागितामा एउटा प्रशिक्षण सम्पन्न भयो । त्यहाँ मुख्यतः जनमुक्ति सेनाका सुप्रिम कमाण्डर प्रचण्ड र शिर्ष माओवादी नेता बाबुरामसहित माथिल्लो तहका अरु केहिनेताहरुको सहभागितामा कार्यक्रम शुरु भयो । कार्यक्रम दुई दिनसम्म चल्यो । प्रशिक्षणको मुख्य केन्द्र थियो– शान्ति प्रक्रियामा किन आईयो ? अब के गर्ने ? जनमुक्ति सेनाको भावि भूमिका कस्तो हुन्छ ? के साँच्चै हामी जित्न सक्छौं ? इत्यादि । त्यसको जवाफमा कमरेड प्रचण्डको प्रशिक्षण थियो– “क्रान्ति नक्कल गरे जस्तो हुदैन । हामि निकै मौलिक तरीकाले नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न गईरहेका छौं । हामिलाई ट्रकका ट्रक हतियार र बिटाका बिटा पैशा आउनेवाला छ । वाईसिएल्मा निस्किने कमरेहरुले चित्त नदुखाउनुहोला । क्यान्टोन्मेन्त त रिजर्व फोर्स हो । एसल्ट फोर्स वाईसिएल् हो । अब भित्र सात डिभिजन र बाहिर एक्काईस डिभिजन बनाउने हो ।”

वास्तवमा परिणाम उल्टो भयो । हतियार र पैसा दिने कुन शक्ति थियो ? किन दिएन ?या किन लिईएन ? अहँ, त्यसको कहिल्यै पत्तो भएन । बरु, एक्काईस डिभिजन बनाउने वाईसिएल् कै बिघटन गर्नुपर्यो । त्यति भएपछि क्यान्टोन्मेन्ट भित्रको सात डिभिजन बच्ने कुरै थिएन । त्यो पनि बिघटित भयो ।

मुखमा चुनाव दिमागमा विद्रोह

जतिबेला संविधानसभाको पहिलो चुनाव हुदैथियो त्यसको ठिक अगाडि प्रत्येक माओवादी कार्यकर्ताको मुखमा झुण्डिएको नारा थियो– “मुखमा चुनाव दिमागमा बिद्रोह ।” त्यसको मुख्य प्रवर्तक थिए पार्टी अध्यक्ष कमरेड प्रचण्ड । उनको ‘स्कुलिङ्’ थियो– “कमरेडहरु संविधानसभाको चुनाव हुदैन । यो किन हुदैन भने उनिहरु(संसदवादी÷प्रतिक्रियावादी) को संविधान लेखिने भयो भने हामिले चुनाव गर्न दिदैनौं । हामिले संविधान लेख्ने भईयो भने उनिहरुले चुनाव गर्न दिदैनन् । त्यसकारण चुनाव हुदैन । बरु त्यहि विन्दुमा विद्रोह हुन्छ । तर हामी चुनाव बिरोधि देखिनु त भएन ।सबै कमरेडहरुले मुखमा चुनाव राख्न पर्यो । तर, दिमागमा चाहिँ विद्रोह राख्न पर्यो । अहिलेको मुख्य कुरा यहि हो ।”

यो पनि ठिक उल्टो भयो । बिद्रोह मुखौटे भयो भने चुनाव वास्तविक बन्यो । एक ठाऊँबाट उठ्दा हारिन्छ भन्ने भयले प्रचण्ड र केहि नेताहरु दुई दुई ठाऊँबाट उठे । संविधानसभाको दोस्रो चुनावसम्म त विद्रोह भन्ने कुरा हावाले उडायो, पानीले बगायो ।

क्यान्टोन्मेन्ट‘तेह्रौं बर्षे गुप्त बास’

पालुङ्टार बैठक माओवादी आन्दोलनमा एक चर्चित परिघटना हो । त्यसको लगतै काठमाण्डौंको नयाँ बजार इलाकामा एउटा तेक्वान्दोको डोजो हलमा क्यान्टोन्मेन्ट भित्रको ब्रिगेड तह माथिका कमाण्डरहरुको भेला बोलाईयो । त्यति बेला प्रचण्ड निवास पनि नयाँ बजारमै थियो । कार्यक्रममा प्रचण्ड लगायत ‘डेपुटि कमाण्डर’हरु उपस्थित थिए । उक्त भेलामा प्रचण्ड कमरेडले निकै भावमय पाराले महाभारतको प्रसङ्ग उल्लेख गर्दै भन्नु भयो– “कमरेडहरु हामीले बाह्र बर्षे वनवास पुरा गरीसक्यौं । तपाईहरुको क्यान्टोन्मेन्ट, यो तेह्रौं बर्षको गुप्तवास हो । उच्च धैर्यता र संयमताको खाँचो छ यो बेला ।” उनको संकेत फेरी पनि विद्रोह तिरै थियो । तर, त्यो कुरा केवल भन्नको लागि मात्र भनेका थिए । किनकि, उता काँग्रेस–एमालेलगायतका शक्तिहरुसँग कथित समायोजनको नाममा जनसेना विघटनको तीब्र तयारी पनि चलिरहेको थियो ।
दाजुसँग सक्दिन, भाउजुलाई छोड्दिन

जब पालुङ्टार बैठक सकियो, जनमुक्ति सेनाको ब्यारेकमा प्रचण्ड पक्षिय हेडक्वार्टरले एउटा आन्तरीक निर्देशन जारी गर्यो– “किरण पक्षिय कमाण्डरहरुलाई हतियार र कन्टेनरको जिम्मेवारी विल्कुल नदिने ।” सोहि निर्देशन बमोजिम किरण पक्षिय भनेर चिनिएका र शङ्का लागेका कमाण्डरहरुको जिम्मेवारीमा रहेका हतियारहरु विभिन्न बहानामा खोस्न थालियो । अर्कोतिर त्यहिबेला अयोग्य भनिएका जनमुक्ति सेनाका केहि कमरेडहरुलाई क्याम्प निकाला गरिँदै थियो । उता समायोजनको बारेमा बिल्कुल ‘भर्ति’ को मापदण्ड लागु हुँदै थियो । घाईते र अयोग्य भनिएका कमरेडहरुको भाविश्यबारे कुनै चिन्ता र चासो थिएन । त्यसका बारेमा प्रचण्ड हेडक्वार्टर विल्कुल बेखवर थियो । बरु चिन्ता थियो भने कतै कन्टेनर तोडेर किरण पक्षिय टोली बाहिर निस्कन्छ कि ? भन्नेमा । यतिसम्म कि किरण पक्षिय कमाण्डरहरुलाई ‘तपाईँहरु कन्टेनर तोड्ने योजनामा हुनुहुन्छ रे नि, कहिले हो ?’ भन्दै केरकार गर्ने, घोचपेच गर्ने हुन थाल्यो । यो त नेपाली उखान ‘दाजुसँग सक्दिन भाउजुलाई छोड्दिन’ भने जस्तै थियो ।

जब आमाले नै सन्तानको घाँटी थिचिदिएपछि

आफुले जन्म दिएको सन्तानको घाँटी थिचेर मार्ने आमाका दर्दनाक कथाहरु बेलाबखत नेपाली समाजले नबेहोरेको होईन । जनमुक्ति सेना पनि त्यस्तै एक कथाको पात्र बन्न पुग्यो । जुन नेतृत्वले जनसेनाको जन्म दियो, लालन–पालन गर्यो, हुर्कायो, बढायो अन्तमा, उहि नेतृत्वले नेपाली सेनाको फौज पठाएर जनसेनाको ब्यारेक कब्जा गर्न लगायो । २०६८ चैत्र २८ गतेको राती क्यान्टोन्मेन्टहरुमा नेपाली सेनालाई आकस्मिक प्रवेश गराएर जनमुक्ति सेनालाई निशस्त्र पारियो । यद्यपि, त्यो त अन्तिम परिणाम मात्रै थियो । जनमुक्ति सेनाको विघटनका तमाम योजनाहरु शान्तिप्रक्रिया यतादेखि निरन्तर बनिरहेका थिए । ति तमाम योजनाहरुको नेतृत्व जनमुक्ति सेनाकै सर्वोच्च कमाण्डर कमरेड प्रचण्ड र बौद्धिक नेता बाबुराम भट्टराईले गरेका थिए । जतिबेला जनमुक्ति सेनाको अन्तिम बिघटन गरियो त्यो बेला कमरेड प्रचण्ड पार्टी अध्यक्ष तथा कमरेड भट्टराई प्रधानमन्त्री थिए ।

डुङ्गा मोड्न सजिलो, जहाज मोड्न जटिल

प्रचण्ड कमरेडसँगको अन्तरसंघर्षका बेला कहिलेकाहिँ उहाँले भन्ने गर्नुहुन्थ्यो– “कमरेडहरु, विद्रोह भन्ने कुरा भन्ने बित्तिकै भईहाल्ने चिज कहाँ हो त ? हाम्रो आन्दोलन डुङ्गा होईन नि ! यो त जहाज पो हो त ! जहाज मोड्न समय लाग्छ ।” लोकतन्त्रको बन्दरगाहबाट शुरु भएको उहाँको यात्रा अध्यात्मवाद र भौतिकवादका नयाँनयाँ पखेटा उमार्दै आज जनताको बहुदलीय जनवादको बन्दरगाहमा बिश्राम लिएको छ । फागुन एक र मंसिर आठको खेऊ अब त उहाँले फर्केर हेर्दा पनि नदेखिने भईसकेको छ । उहाँको जहाज भने तिब्रतामै हुईकिरहेको छ ।

बिसाउनी,

मंसिर आठ, नेपाली धर्तीमा श्रमजिवि जनताको सेना ‘जनमुक्ति सेना’ घोषणा गरिएको दिन हो । भलै त्यो दिन तत्कालिन शाही नेपाली सेनामाथि पहिलो पटक आक्रमण गरेको दिन अवश्य हो । तर, शाही नेपाली सेनामाथि आक्रमण गर्नुको कारणभन्दा पनि जनमुक्ति सेनाको घोषणा दिन भएकोले मंसिर आठ माओवादी आन्दोलनमा विशेष स्मरणिय छ । श्रमजिवि जनताको कोखबाट जन्म भएको जनसेना उत्पिडित जनताको सच्चा सेवक र राष्ट्रको सच्चा पहरेदार थियो ।

वास्तवमा जनयुद्ध नेपाली सेनाका बिरुद्ध लडिएको थिएन । न त नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको लडाइँ थियो त्यो । लडाइँ पुरानो प्रतिक्रियावादी सत्तासँग थियो । पुरानो सत्ताको सुरक्षा निकाय भएकोले सेना–प्रहरीसँग लडाइँ हुनु एउटा अनिवार्य बाध्यता थियो । यदि माओवादी जनयुद्ध नेपाली सेना र प्रहरीकैबिरुद्ध लडिएको हुँदो हो त लडाइँ पश्चात् समातिएका नेपाली सेना र प्रहरीका जवान र अफिसरहरुलाई फूलका माला लगाएर बिदाई सम्भव थिएन । दुईजना जनमुक्ति सेनाका व्यक्तिको नियन्त्रणमा दर्जनौं सेना–प्रहरीहरु, त्यो पनि बिना हत्कडि कसरी सम्भव हुन सक्थ्यो र ? केहि दिन र महिना गुजारेर उनिहरुलाई बिदाई गर्दाको क्षण साँच्चै भावनामय र मित्रवत् संवेदनाले भरिएको हुन्थ्यो । यदि जनयुद्ध सेना र प्रहरीका बिरुद्धको हुन्थ्यो भने त्यो न सम्भव थियो न आवश्यक नै । जब कि उता कैयौं प्रहरी हिरासत र नेपाली सेनाका व्यारेकहरुबाट दर्जनौं माओवादी समर्थक, कार्यकर्ता र जनसेनाका व्यक्तिहरुलाई रातारात गोली हानेर, जिउँदै खाल्डोमा पुरेर मारियो । त्यति हुँदा पनि जनमुक्ति सेनाले त्यसको कहिल्यै प्रतिशोध राखेन । नेपाली माओवादी आन्दोलनमा व्यक्त यो एक उच्चतम् मानविय तथा ‘युद्ध धर्म’को संस्कृति थियो ।

जुन उद्देश्यका साथ माओवादी जनयुद्धमा जनसेना अर्थात् जनमुक्ति सेनाको गठन गरिएको थियो त्यो पुरा भएको छैन । नेपाली इतिहासमा जनसेना निर्माणको प्रयास लखन थापाबाट शुरु भएको हो । नेपाली काँग्रेसले त्यसलाई ठोस पहलकदमीका साथ अघि बढायो । तर, आफ्नो ऐतिहासिक दायित्वबाट नेपाली काँग्रेस चिप्लियो । अन्यथा २०६३ मा आएको गणतन्त्र २००७ मै सम्भव थियो । तत्कालिन झापाली समुहले २०२८ सालमा थालेको सशस्त्र संघर्ष पनि जनसेना गठनको एक महत्वपूर्ण पहल थियो । सत्ताको दमन सामु त्यो विल्कुल पराजित भयो । माओवादी जनयुद्ध यसक्रमको सबैभन्दा उच्चतम् अभिव्यक्ति थियो । माओवादी जनयुद्धमा जनमुक्ति सेनाको हजारौंको लामबन्दी र डिभिजन तहको संरचनागठन भएको थियो । यसले देशिविदेशि प्रतिक्रियावादीहरुको निद हराम गरेको थियो । उत्पिडित जनताको आशाको केन्द्र बन्न सफल भएको थियो । तर, जनयुद्धको मुल नेतृत्वमा पैदा भएको आत्मसुरक्षावादी बिचलनको कारण अन्तिममा त्यो पनि असफल हुन पुग्यो ।

पुँजीवादी शोषण र उत्पिडन रहँदासम्म जनसेना गठनको आवश्यकता निरन्तर भइरहन्छ । जुन आर्थिक–सामाजिक विषमताको कारण नेपालमा जनसेनाको गठन प्रक्रिया एकपछि अर्को हुन गयो, त्यसको वस्तुगत आवश्यकता आज पनि प्रशस्त कायम छ । माओवादी आन्दोलनको निरन्तरता तथा त्यसको नविनतम् विकासको रुपमा यो आवश्यकतालाई वर्तमानमा हाम्रो पार्टीले ‘एकिकृत जनक्रान्ति’को रुपमा संश्लेषण गरेको छ । अतःएकिकृत जनक्रान्ति नेपाली राजनीतिमा अग्रगमनको नयाँ पहलकदमी हो । यो नै मंसिर आठ र जनमुक्ति सेनाको सच्चा सम्मान पनि हो ।

२०७५ मंसिर १८

  • लेखक पूर्वजनमुक्ति सेनाको डिभिजन सहकमाण्डर थिए ।
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]